Tuesday, August 31, 2010

भाषाको छातामा ओत लागेको बम

परमानन्दलाई कसैले यस बेला भाषाको सुकिलो छाता ओढाएर विनाशकारी बम बनाएर विष्फोट गराउनसक्छ भन्ने पक्षलाई भुल्नुहुन्न र यो मौका प्रेसले उनलाई कदापि दिनुहुन्न-कपिल काफ्ले


प्रेसले नसमातेको कुनै पनि विषय मुद्दा बनेर बाहिर आएको तपाईंले देख्नुभएको छ? प्रेसले वारम्बार दबाब नदिइकन सरकारले कुनै मुद्दा सुन्ने गरेको तपाईंलाई थाहा छ? कम्तीमा केही वर्षयताका घटना हेर्दा यस पक्तिकारलाई चाहिं छजस्तो लाग्दैन। समाजमा ठूलो प्रभाव पार्ने विषय पनि सञ्चारमाध्यममा आउन सकिरहेको छैन भने आम जनताले त्यसको तौल अनुभूत गर्न सक्तैनन्। नयाँ सँस्कार यसरी नै विकास भएको छ। कुनै उदाहरण नै हेरौं, एकल महिला (विधवा) को पुनर्विवाह हुनसकोस् भन्ने उद्देश्यका साथ सरकारले घोषणा गरेको ५० हजार रुपियाँको पारितोषिक दिने प्रसङ्ग प्रभावका दृष्टिले कमजोर थिएन। बजेट–घोषणामार्फत बाहिर आएको यस कार्यक्रमको विरोध र समर्थनमा आवाजहरु बाहिर ह्वात्त आए र दुई हप्ताभित्रै सामसुम भए। लाखौंको सङ्ख्यामा रहेका महिलासँग सम्बन्धित यो मुद्दा टारबारीबाट टिपेर ल्याएको तोरीको साग थिएन जो बिहान टिप्यो बेलुका ओइलाओस्। तरपनि किन ओइलायो भनेर खोजिपस्ने हो भने प्रेस जगतले यसलाई आफ्नो मुद्दा बनायो वा बनाएन भन्ने कडी फेला पर्नेछ। प्रष्ट छ, प्रेसले त्यसलाई 'हट–केक' ठानेन– प्रसङ्ग घाममा राखेको तोरीको सागजस्तै स्याप्प ओइलायो। आज सञ्चारमाध्यमको हातमा 'हट–केक' बनेर अवतरण भएको जेटको नाम हो– परमानन्द। उपराष्ट्रपति मरमानन्द झा हरेक दृष्टिले छोड्नै नहुने विषय बनेका छन्। एक वर्षअघि नै हिन्दीमा शपथग्रहण गरेर विवादमा आएका व्यक्तिको सोही सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला बेवास्ता गर्ने विषय हुन पनि सक्तैन। सर्वोच्च अदालतले 'उपराष्ट्रपतिले जागिर जोगाउने हो भने नेपाली भाषामा शपथग्रहण गर' भन्ने आशयको फैसला सुनाइदिएपछि उपराष्ट्रपति परमानन्द परम–छटपटीमा परेका छन्। जसले गर्दा उनको व्यवहार, निर्णय, बोली र योजना सबै समाचारका विषय बनेका छन्। यसलाई स्वाभाविक मान्नुपर्दछ। यो सबै अधिकांशतः अस्वाभाविक छैन। यहाँ 'अधिकांशतः' भन्ने शव्दलाई ख्याल गर्न पक्तिकार सबैमा अनुरोध गर्दछ। केही सञ्चारमाध्यले यस विषयलाई अस्वाभाविक रङ्ग दिने सङ्केत देखाइसकेका छन्। त्यसैले विषयको गाम्भीर्यलाई बुझेर संवेदनशीलताका साथ कलम चलाउनु नेपाल र नेपालीको हितका लागि अनिवार्य रहेको तथ्यप्रति सबैको ध्यानाकर्षण हुनु अनिवार्य भएको छ। कुनै पनि नागरिकका लागि भाषा, धर्म, सँस्कृति र परम्परागत सँस्कार अति संवेदनशील विषय हुन्छन्। नेपालमा हिन्दी मात्रृभाषा भएका नेपालीको सङ्ख्या नगण्य रहेको तथ्याङ्कले देखाएपनि 'तराईको सम्पर्क भाषा' भनेर केही राजनीतिक पार्टीले यसलाई राजनीतिकरण गरेका छन्। केही वर्षअघि तराईमा हिन्दी भाषाको त्यस प्रकारको स्थान रहेतापनि आज परिस्थिति बदलिइसकेको तथ्य ती दलहरुले बुझ्न चाहिरहेका छैनन्। नयाँ पुस्ता नेपाली भाषा स्कुलमा पढिरहेको छ र नेपालीमै मजाले लेख्छ। यो पुस्ताका केही अगुवाहरु आज राजनीतिक नेतृत्वमा आएर मन्त्रीसम्म भैसकेका छन्। उनीहरुको नेपाली भाषाप्रतिको ज्ञान र अभ्यास कुनै पनि पहाडीलाई टक्कर दिन पर्याप्त छ। पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले उखान, तुक्का र थेगोसमेत प्रयोग गरेर नेपाली बोलिरहँदा उनको मातृभाषा अर्कै हो भन्न सकिन्न। जेपी गुप्ता, हृदयेश त्रिपाठीआदि नेताहरु यसरी नेपाली भाषालाई खेलाइरहेका छन् कि, यसमा उनीहरुले असहज महसुस गरेको देखिन्न। त्यसैले हिन्दी भाषा आजको तराईमा सम्पर्कका रुपमा प्रयोग भैरहेको त छ तर त्यसको लोकप्रियतालाई नेपाली भाषाले उछिनिसकेको छ। विस्तारै नेपालमा भारुलाई नेरुले, हिन्दी गीतलाई नेपाली भाकाले विस्थापित गरिसकेको छ। शिक्षामा पनि अब नेपाली नागरिकहरु भारतीय प्रभावबाट बाहिर निस्किसकेका छन्। वनारस, दार्जीलिङ र नैनितालको भन्दा राम्रो शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना भैसकेको छ। यहींनिर नेपाली नागरिकमा विकास भएको सभ्यताको अर्को पक्ष पनि स्मरणीय छ– सीमापारिका भारतीय नागरिकलाई 'ओ मधेसिया, आलु किलोका कितना' भन्न छोडेर 'ए मधेशी भाइ, आलु किलोको कसरी हो,' भन्न थालिएको छ। भाषा नेपाली तर सम्मानजनक अभिव्यक्ति! नेपालको हिमाल, पहाड र उपत्यकाका नागरिकमा मात्र यस प्रकारको चेतना आएको होइन, आफ्नो पनका लागि तराईवासी नेपालीमा देखिएको परिवर्तन अझ उल्लेख्य छ। केही वर्षयता तराईवासी नेपालीले आफ्नो पहिचान र सम्मानका लागि जति वलिदान गरे, त्यो पहिला गरिएको थिएन। विनाचेतना यो सम्भव छैन। एकातिर तराईवासी नेपाली नागरिक परिस्कृत नेपाली भाषामा नेतृत्व गरिरहेका छन् र अर्कातिर पहिचानका लागि सङ्घर्ष पनि चलाइरहेका छन् भने, उनीहरु नेपाली भाषालाई महत्व दिइरहेका छैनन् भन्न सकिन्न। हिजो महत्व दिएका थिएनन् जसले गर्दा उनीहरुलाई माध्यमका लागि हिन्दीको शरणमा जानुपरेको थियो तर आज नेपाली भाषाप्रति उनीहरुको सम्मान छ र उनीहरु बोलि पनि रहेका छन्। एकताका लागि तराईवासी नेपालीले गरेको यस योगदानका लागि उहाँहरुप्रति हिमाल र पहाडले अभिनन्दन गर्नुपर्छ। तर उपराष्ट्रपति परमानन्द झाले नेपालीमा आएको यस परिवर्तनलाई बुझ्न सकेनन् र गत वर्ष जबरजस्ती हिन्दी भाषामा शपथग्रहण गरिदिए। करोडौं नेपालीको आत्मामा ठेस पुर्‍याए। आज सर्वोच्च अदालतले जब नेपाली भाषामा शपथ लिनुपर्छ भनेर संविधानसम्मत निर्णय गर्‍यो तब 'म लिदैलिन्नँ' भनेर अड्डी कसरे बसेका छन्। …म फेरि शपथ पनि लिन्नँ र कार्यालय पनि जान छोडि्दनँ' भनेर उनले निर्णय सुनाएका छन्। ३० वर्ष लामो अनुभव सँगालेको न्यायमूर्ति आज सर्वोच्चका प्रधानन्यायाधीश मीनबहादुर रायमाझी मेरा झगडिया हुन्, उनले मेरो मुद्दा हेर्न मिल्दैन, भनेर चोट खाएको बाघझैं जथाभाबी नङ्ग्य्राइरहेका छन्। यस सवाललाई प्रेस जगतले कसरी लिनेभन्ने विषय संवेदनशील हुन आएको छ। भाषासँग जोडिएको विषयले नागरिकको पहिचान र संवेदनालाई छुने भएकाले शव्द छानेर लेख्नुपर्ने दायित्व प्रेस जगतमा आएको छ। पत्रकारलाई नै उल्टै झम्टेर 'यो प्रश्न तपाईं मलाई मधेशी भएकोले गर्दैहुनुहुन्छ,' भन्दै धम्काउने उपराष्ट्रपतिले भाषाको लहरो समाएर तराईवासी नेपालीलाई भड्काउन हरसम्भव प्रयास गर्ने सम्भावना छ। यो मौका प्रेसले उनलाई कदापि दिनुहुन्न। परमानन्दलाई कसैले यस बेला भाषाको सुकिलो छाता ओढाएर विनाशकारी बम बनाएर विष्फोट गराउनसक्छ भन्ने पक्षलाई भुल्नुहुन्न। सर्वोच्च अदालतले यस बेला उपराष्ट्रपति झाको शपथग्रहणसम्बन्धी मुद्दाको फैसला गरेर ठीक गरेन। प्रधान सेनापति रुक्मांगद् कटवालबारे तत्कालीन सरकार र राष्ट्रपति रामवरण यादवले लिएको निर्णयसम्बन्धी मुद्दालाई प्राथमिकतामा राख्न नसक्ने सर्वोच्च अदालतले भाषा र धर्मजस्ता संवेदनशील विषयमा किन बोलिहाल्नुपर्‍यो? के संघीयताको विवादमा सर्वाधिक आधार बनेर रहेको सवाल नै भाषा हो र यस सम्बन्धमा केही बोल्नासाथ त्यसको तरङ्गले संविधान निर्माण प्रक्रियासम्म प्रभावित हुनपुग्छ भन्ने अनुमान गर्न न्यायमूर्तिहरु अक्षम थिए? जो जहाँ जति अक्षम भएपनि नेपाली सञ्चारमाध्यमले सक्षम हुनै परेको छ। सञ्चारमाध्यममा छापिएको वा प्रसारित भएको सामग्रीकै आधारमा पानी धमिलो बनाएर माछा मार्ने स्वार्थी तत्वलाई टाउको उठाउन दिनुहुन्न। प्रेसले कुनै मुद्दा कसरी उठाउँछ त्यहीअनुसार समाजमा तरङ्गहरु सिर्जना हुनेगर्दछन्। यति ठूलो प्रभाव सिर्जना गर्नसक्ने प्रेस जगतले 'चार भाइ ढलेपछि यक्षका प्रश्नको जबाफ दिन गएको युधिष्ठिर' बनेर बुद्धिमानी निर्णय लिनु आवश्यक छ। आवेशमा आएर कसैलाई ठाडो गाली गर्नु बुद्धिमानी हुनेछैन!

No comments:

Post a Comment