पदमबहादुर महत, कृषि वैज्ञानिक-
काठमाडौंको अमृत साइन्स क्याम्पसमा पढ्दा मेचीदेखि महाकालीसम्मका साथीहरु थिए। 'म कर्णालीवासी' भन्दा उनीहरु अनौठो मान्थे। उनीहरुको बुझाइमा कर्णाली रोग, भोकले आक्रान्त भूगोल थियो। त्यसो त अझै पनि कर्णालीको बाहिरी पहिचान 'पिछडिएको' र 'अभावग्रस्त' ठाउँकै रूपमा स्थापित छ। तर म त्यही कर्णालीमा स्याउखेतीका भरमा सहज जीवनयापन गरिरहेको छु।
युवावस्थामा अरूबाट कर्णालीको दुःख सुन्दा र 'विचरा' भनेर कर्णालीप्रति ओठे-दया दर्शाएको पाउँदा गाउँमै बसेर केही गरुँ जस्तो नलागेको हैन। तर के गर्ने भन्ने ठम्याउन सकिरहेको थिइनँ। जब एकपटक घुम्दै भारतको शिमला पुगें, मैले त्यहाँ कर्णालीको सम्भावना फेला पारेँ। जुम्लाकै जस्तो हावापानी भएको शिमला स्याउ खेतीका कारण त्यतिबेलै समृद्ध भइसकेको थियो। शिमलाबाट फर्केपछि दायाँ-बायाँ केही नहेरी म स्याउखेती गर्न थालें।
मेरो पहिलो स्याउ बगैंचा आज ३० वर्ष पुरानो भइसकेको छ। काम गर्दै जाँदा कर्णालीको माटोसँग मेरो अति नै गहिरो विश्वास र घनिष्ठता कायम भयो। परिणामतः मलाई सरकारी अधिकृतको जागिर छोड्न पनि केही जस्तो लागेन। आज आफ्नो बगैंचामा विभिन्न किसिमका स्याउ र अन्य फलफूल देख्दा कर्णालीको माटोप्रतिको विश्वास अझ मजबुत हुँदैछ। आफ्नै पहलमा हाईब्रिड आलु उत्पादन गरेँ। गर्न सके के नहुने रहेछ र! एक रोपनी जग्गाबाट शुरु गरेको स्याउखेती आज ११० रोपनीमा फैलिइसकेको छ। स्याउ खेतीबारे बुझन र अनुसन्धान गर्न देशभरिका मान्छे यहाँ डोरिन थालेका छन् जसरी म ३० वर्ष पहिले शिमलातिर डोरिएको थिएँ।
हो, कर्णालीमा शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधारको अभाव छ। तर मेरो विचारमा सबैभन्दा ठूलो खडेरी माटोप्रतिको विश्वासमा छ। यहाँ हेर्दा उजाड लाग्ने भीरपाखा मात्र छैनन्। विश्वकै मीठो भात पाक्ने मार्सी चामल यही फल्छ। जडिबुटीको खानी छ। मूल्यवान् फलफूलको अपार सम्भावना छ। यहाँको माटोमा विश्वास मात्रै गरे पनि धेरै कर्णालीवासीहरु आफैं समृद्ध हुनसक्छन्। यस्ता सम्भावनाहरुलाई बेवास्ता गरेर पराइमुखी भइरहने हो भने त सधैँ तराईको चामल पर्खेर भोको पेट नै बाँच्नुपर्छ।
कर्णालीका धेरै हतास युवाहरु दिल्ली र हिमाञ्चलका गल्लीमा आफ्नो भाग्य खोजिरहेका भेटिन्छन्। जबकि म भन्छु, हामी कर्णालीवासी जति भाग्यमानी कोही छैन! हामीमा केवल नयाँ सोच, सीप र मेहनतको खाँचो छ। सिङ्गो कर्णालीलाई मेरो जस्तै बगैँचाले ढाक्न सकिन्छ। मेरो यौटा बगैंचाले २० जनालाई काम दिइरहेको छ। सिङ्गो कर्णालीलाई बगैंचा बनाउन सके सम्पूर्ण कर्णालीवासीलाई यहीँ रोजगारी जुर्छ। यो मेरो कर्णालीको माटोप्रतिको विश्वासको उपज हो।
कर्णालीका लागि कर्णालीवासीको मेहनतका अतिरिक्त राज्यले पनि केही गर्नुपर्छ। अहिलेको जस्तो कर्णालीको नाममा मीठा नारा जप्न छोडेर राम्रो सडक सञ्जाल, सीप र ज्ञान कर्णालीका बासिन्दालाई दिनै पर्छ। कर्णालीको माटोसँग त्यस्तो क्षमता छ, जसले सिङ्गो राष्ट्रलाई नै केही दिन सक्छ। तर कर्णालीको माटोको क्षमता बाहिर ल्याउन कर्णालीबासी र सरकारको हात मिल्नु जरुरी छ। अनि त्योभन्दा पनि पहिले कर्णालीवासीले आफ्नो माटो चिन्नु र त्यसमा विश्वास गर्नु आवश्यक छ।
विकासको प्राथमिकता अब कर्णालीको माटोमा उत्पादन बढाउने हुनुपर्छ। कर्णालीको माटोको विश्वासले नेपाललाई मात्र हैन, भारतको हिमाञ्चल र बिहार अनि चीनको तिब्बतलाई सम्म फलफूल र जडिबुटी आपूर्ति गर्न सक्छ। त्यतिबेला कर्णालीको माटोले कर्णालीलाई मात्र हैन, सिङ्गो देशलाई आर्थिक रूपले सबल बनाउँछ। यो मेरो तीस वर्षको अनुभवको निष्कर्ष हो, जुन मेरो जीवनको विश्वास पनि बनिसकेको छ।
No comments:
Post a Comment