Thursday, November 29, 2018

आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु, सुविधा कसरी पाइन्छ ?

https://www.hamroeconomy.com/archives/40126?fbclid=IwAR1NobJdTU96W8hr9MzXVIPvAA4OgZIf5kvzH5ELi-m7o0OBYSnGNywdXko

आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु, सुविधा कसरी पाइन्छ ?

प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलवार
267 Shares
267

सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार (आज) प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन् ।

सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन, नियमावली र कार्यविधिसमेत निर्माण भइसकेका छन् । पहिलो चरणमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ ।

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको सञ्चयकोषबापत १० प्रतिशत रकम, उपदानबापत ८ दशमलव ३३ प्रतिशत आफैँले र श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी कुल ३१ प्रतिशत रकम कोषमा अनिवार्य जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । श्रमिकले कुनै कारण पारिश्रमिक नपाउने अवस्था आई नियमित रूपमा कोषमा रकम जम्मा गर्न नसक्ने भए तीन महिनासम्मको रकम सूचीकृत रोजगारदाताले नै व्यहोर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, त्यस्तो रकम रोजगारदाताले सम्बन्धित श्रमिकको पारिश्रमिक, भत्ता वा अन्य सुविधाबाट कट्टा गर्न सक्नेछ । श्रमिक नयाँ रोजगारदाताकहाँ काम गर्न गए पुरानो रोजगारदाताले समाजिक सुरक्षा योजनाबापतको रकम सम्बन्धित खातामा स्थानान्तरण गर्नुपर्नेछ ।

काठमाडौं उपत्यकाका श्रमिक ५ फागुनभित्र सूचीकृत हुनुपर्ने
जम्मा हुने रकमबाट कोषले चारै किसिमका सामाजिक सुरक्षा योजनामा सहभागी गराउनेछ । सामाजिक सुरक्षाबापतको सुविधाको रकम बैंक खाताबाट मात्रै भुक्तानी दिइने कोषले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदातालाई कोषमा सूचीकृत हुन सूचना प्रकाशित गरिसकेको छ । सूचनाअनुसार काठमाडौं उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताले ५ फागुनभित्रै कोषमा अनिवार्य रूपमा सूचीकृत भइसक्नुपर्नेछ ।

त्यस्तै, उपत्यकाबाहेक प्रदेश ३ का अन्य रोजगारदाताले १४ फागुन, प्रदेश १ का रोजगारदाताले फागुन मसान्तभित्र, प्रदेश २ का रोजगारदाताले १४ चैतभित्र, गण्डकी तथा प्रदेश ५ का रोजगारदाताले चैत मसान्तभित्र र कर्णाली तथा सुदूरपश्चिमका रोजगारदाताले १४ वैशाख ०७६ भित्र सूचीकृत भइसक्नुपर्ने उल्लेख छ ।

सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्रका श्रमिक, घरेलु कामदार र स्वरोजगार व्यक्तिहरूलाई समेट्न भने थप केही समय लाग्ने कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले बताए । ‘सरकारी कर्मचारी, सेना, प्रहरीलगायत कर्मचारीलाई पनि भविष्यमा यसै कोषमा आबद्ध गर्ने योजना छ,’ उनले भने ।

यस्ता छन् सामाजिक सुरक्षा योजना
१. औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

योगदानको अवधि : ६ महिना
सुविधा : योगदानकर्ताले यस योजनाअन्तर्गत चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क, रोगको परीक्षण तथा उपचारबापतको खर्च, औषधि खर्च पाउनेछन् । योगदानकर्ता वा योगदानकर्ताकी श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचारबापतको खर्च पाउनेछन् ।

अस्पतालमा भर्ना नभएको, तर उपचारका लागि अस्पतालमा आवतजावत गर्न नसक्ने भएर घरमै बसेर उपचार गराएकोमा परामर्श सेवाबापतको शुल्क पाउनेछन् । तर, मातृत्व सुरक्षाबापतको सुविधाका लागि भने १८ महिनाको अवधिमा १२ महिना योगदान गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

सुविधा कसरी पाइन्छ ?
अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रूपमा एक लाख रुपैयाँमा नबढ्ने गरी सम्बन्धित अस्पतालमा सीधै भुक्तानी गरिनेछ । मातृशिशु उपचार खर्च पनि एक लाखसम्म दाबी गर्न सकिने छ । अस्पतालमा भर्ना नहुने बिरामीले चिकित्सकको प्रेस्क्रिप्सनअनुसार वार्षिक २५ हजारसम्म प्राप्त गर्न सक्नेछन् । यद्यपि, यी तीनवटै सुविधामा योगदानकर्ताले कुल दाबी गरेको रकमको २० प्रतिशत आफैँले व्यहोर्नुपर्नेछ ।

महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताकी पत्नी प्रसूति भएको अवस्थामा कोषले प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिकबराबरको रकम उपलब्ध गराउनेछ ।

यस्तो सुविधा २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्मिएको अवस्थामा समेत पाउन सकिन्छ । श्रम कानुनले रोजगारदाताबाट पारिश्रमिकसहितको १२ दिन बिरामी बिदा पाउने व्यवस्था गरेको छ । योभन्दा बढी समय बिरामी बिदामा बस्न परे योगदानकर्ताले आफ्नो आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउँछन् ।

यसैगरी, रोजगारदाताबाट पारिश्रमिकसहितको प्रसूति बिदा पाउने अवधि ६० दिन तोकिएको छ । सोभन्दा बढी प्रसूति बिदा बस्नुपरे खाईपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशतका रकम कोषले दिनेछ । बिरामी तथा प्रसूति बिदा पाउने अवस्थामा रोजगारदाताको व्यवसाय बन्द भएर रोजगारी गुमे रोजगारदाताले दिनुपर्ने बिदा अवधिको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषले नै भुक्तानी गर्नेछ ।

२. दुर्घटना तथा अशक्तता सुरक्षा योजना 
योगदानको अवधि : सुरुकै दिनदेखि
यो योजनाअन्तर्गत योगदानकर्तालाई दुर्घटना र अशक्तताबापतको सुविधा उपलब्ध हुनेछ । रोजगारीजन्य दुर्घटनामा परी उपचार गर्नुपर्ने भए उपचारमा लाग्ने सम्पूर्ण खर्च कोषले व्यहोर्नेछ । योगदान सुरु गरेको मितिबाटै यो सुविधा लागु हुनेछ । अन्य दुर्घटनामा सात लाखसम्म उपचार खर्च पाइनेछ । प्राकृतिक दुर्घटना, सडक दुर्घटना वा अन्य बिमाले व्यहोर्ने अवस्थामा भने सामाजिक सुरक्षा कोषले कुनै खर्च दिनेछैन ।

सुविधा कसरी पाइन्छ ?
व्यवसायजन्य रोगका कारण असक्षमता भएको योगदानकर्ताले काममा नफर्कंदासम्म खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबर रकम पाउँछ । स्थायी अक्षमता भएको व्यक्तिलाई भने उसको अक्षमताको प्रतिशतका आधारमा जीवनकालभर निवृत्तभरण सुविधा उपलब्ध गराउनेछ ।

३. आश्रित परिवार सुरक्षा योजना
योगदानको अवधिः सुरुकै दिनदेखि
योगदानकर्ताको मृत्यु भए आश्रित पति वा पत्नीलाई निवृत्तभरण, सन्ततिलाई शैक्षिक वृत्ति, आश्रित बाबुआमालाई आर्थिक सहायता र परिवारलाई अन्तिम संस्कार खर्च उपलब्ध गराइनेछ ।

सुविधा कसरी पाइन्छ ?
दुर्घटना वा व्यवसायजन्य रोगका कारण योगदानकर्ताको मृत्यु भए आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम उसको पति वा पत्नीले जीवित रहेसम्म पाउनेछन् । तर, अर्को विवाह गरे वा वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा दिइनेछैन ।


मृत्यु हुने योगदानकर्ताको सन्तान १८ वर्षभन्दा कम उमेरको भए शैक्षिक वृत्तिबापत आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम पाउनेछन् । तर, एकभन्दा बढी सन्ततिले सुविधा पाउने अवस्था भए आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ । निरन्तर अध्ययनमा रहे यस्तो सुविधा एक्काइस वर्षको उमेरसम्म पाउन सकिन्छ । कुनै सन्तान शारीरिक वा मानसिक रूपमा काम गर्न अक्षम छ भने उमेरहद लागू हुँदैन ।

मृत्यु भएका योगदानकर्ताको एकाघरको आश्रित बाबुआमालाई उसको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर कोषले मासिक रूपमा दिनेछ । तर, बाबुआमा दुवै जीवित भए दामासाहीले दिनेछ । योगदानकर्ताको मृत्यु भए अन्तिम संस्कार गर्न परिवारलाई २५ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ ।

४. वृद्ध अवस्था सुरक्षा योजना
योगदानको अवधि : १५ वर्ष
निवृत्तभरण र अवकाश सुविधा दुईवटा योजना यसअन्तर्गत सञ्चालन हुन्छन् । १ साउन ०७६ पछि रोजगारीमा रहेका श्रमिकले निवृत्तिभरण सुविधा पाउनेछन् । यसअघिका श्रमिकले दुवै योजनामध्ये एउटा रोज्न सक्नेछन् । योगदान अवधि १५ वर्ष नपुगेकाहरूले अवकाश योजनाअन्तर्गत रकम एकमुष्ठ फिर्ता पाउनेछन् ।

सुविधा कसरी पाइन्छ ?
सेवाअवधिभर कोषमा जम्मा भएको रकम र कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल जोडेर आउने योगफललाई १८० ले भाग गर्दा आउने रकम योगदानकर्ताले हरेक महिना जीवनभर पेन्सनका रूपमा पाउनेछन् । सुविधा प्राप्त गर्ने उमेर नपुग्दै योगदानकर्ताको मृत्यु भए सो रकम हकवालालाई एकमुष्ठ दिइनेछ । त्यस्तै, निवृत्तभरण पाउने अवधिअघि नै अवकाश भए योगदानकर्ताले कोषमा जम्मा भएको रकम एकमुष्ठ पाउनेछन् ।

यस्ता छन् सामाजिक सुरक्षा योजना
१. औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना
योगदान अवधि : ६ महिना
२. दुर्घटना तथा अशक्तता सुरक्षा योजना
योगदान अवधि : सुरुकै दिनदेखि
३. आश्रित परिवार सुरक्षा योजना
योगदान अवधिः सुरुकै दिनदेखि
४. वृद्ध अवस्था सुरक्षा योजना
योगदानको अवधि : १५ वर्ष

No comments:

Post a Comment