Tuesday, November 27, 2018

स्याङ्जामा सुन्तला किसानको दुख : उत्पादन बढ्यो ब्यापारी आएनन्

http://annapurnapost.com/news/113827
स्याङ्जामा सुन्तला किसानको दुख : उत्पादन बढ्यो ब्यापारी आएनन्
स्याङ्जामा सुन्तला किसानको दुख : उत्पादन बढ्यो ब्यापारी आएनन्
स्याङ्जा, पुतलीबजारस्थित सुन्तला बगैंचा । तस्बिर : भवानी
भवानी अधिकारी
समाज
 ११ मङि्सर २०७५ १९:३४:००
स्याङ्जा : स्याङ्जामा सुन्तला उत्पादन अघिल्ला वर्ष भन्दा बढी भए पनि बजार नपाउँदा किसानहरु चिन्तित छन् । सुन्तला उत्पादक जिल्लाकै रुपमा चिनिने स्याङ्जामा यस वर्ष ऐतिहासिक रुपमा बृद्धि भएको अनुभवी किसानहरु बताउँछन् ।
तर मध्य मंसिरसम्म पनि व्यवसायीक रुपमा बिक्री हुन नसकेपछि किसानहरु चिन्तित बनेका हुन् । झण्डै ८० रोपनी क्षेत्रफलमा सुन्तला रोपेका जिल्लाकै सबैभन्दा धेरै सुन्तला बिक्री गर्नेमध्ये फणिनारायण अर्यालले अघिल्ला वर्षमा कात्तिकमै सुन्तला खरिद गर्न आउने व्यापारी अहिले मंसिरमा पनि नआएकोमा दुखेसो पोखे । ‘गत वर्ष ४० मेट्रिक टन सुन्तला फलेकोमा यस वर्ष झण्डै ६० टन भन्दा बढी उत्पादन भएको छ,’ उनले भने ‘उत्पादन बढ्यो, ब्यापारी आएनन् । चिन्ता थपियो ।’
यस्तै, पुतलीबजार नगरपालिका–११ का बोधराज अर्याल पनि सुन्तला खरिदका लागि ब्यापारी नआएकोमा चिन्तित छन् । मंसिरको दोश्रो साता बित्न लाग्दा पनि ब्यापारी नआउदा उनी चिन्तित भएका हुन् । सुन्तला सुरपरजोन संचालक समितिका अध्यक्ष समेत रहेका अर्यालले भने ‘सुन्तला उत्पादन बढ्यो, बजार पाउन सकेनौँ, केही ब्यापारी ४ वर्ष पहिलेको भाउमा अहिले सुन्तला खोज्छन् ।’
सुन्तलाबाट स्याङ्जामा वर्षेनी करोडौं रुपैयाँ भित्रिन्छ । यहाँका दर्जनौँ सुन्तला किसानले वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्छन् । १ लाखदेखि २५ लाखसम्म सुन्तलाबाटै आम्दानी गर्ने उनीहरुको भनाइ छ । अर्जुनचौपारीका फणिनारायण अर्यालले वर्षेनी १६ देखि २५ लाख रुपैयाँ सुन्तलाबाट आम्दानी गर्छन् । यसपटक भने समयमै ब्यापारी नआएकोमा चिन्तित बनेका हुन् । उनी जस्तै पुतलीबजार नगरपालिकाका मुक्तिप्रसाद अधिकारी, कृष्णप्रसाद अर्याल, रामबन्धु अर्याल, करेन्डाँडाका भूमिजंग केसी लगायत किसानले ८ देखि १२ लाख आम्दानी गर्छन् ।
शंखपुरका केशबहादुर गुरुङ, दार्सिङ् दहथृमका तीरमाया गुरुङ, खिलुङदेउरालीका शालिकराम अर्याल, मिनप्रसाद कोइराला, गिरीधारी कोइराला, एलादीका खेम गुरुङ, ठूलाहिडीका बिजय दोरंगा, नेमबहादुर गुरुङ लगायतले ५ देखि ७ लाख रुपैंयासम्म आम्दानी गर्छन् । वर्षेनी ३ देखि ५ लाखसम्म र एकदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्ने किसानहरु सयौंको संख्यामा छन् ।
भिरपाखामा समेत सुन्तला पाकेर पहेंलपुर छन् । उत्तर मोहडाका अधिकांश बारी, पाखा, बनमा समेत लटरम्मै सुन्तला झुलेका छन् । अझै केही सातासम्म पनि ब्यापारी नआए सुन्तला बिग्रनसक्ने चिन्तामा पनि छन् किसानहरु ।
यहाँ उत्पादित सुन्तलाको मुख्य बजार पोखरा, बुटवल, नारायणगढ, काठमाडौं लगायत सहर हुन् । स्याङ्जा, सेतीदोभान, हेलु बजार, बयरघारी, वालिङ, गल्याङ, मिर्मी, नागडाडा, राङखोला, बाडखोला लगायत स्थानीय बजार हुन् । दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र मानिन्छन् ।

No comments:

Post a Comment