Sunday, November 25, 2018

भारतबाट तीन महीनामा ५० अर्बको तेल, ३१ अर्बको गाडी, २४ अर्बको फलाम आयात

http://himalkhabar.com/news/9871
भारतबाट तीन महीनामा ५० अर्बको तेल, ३१ अर्बको गाडी, २४ अर्बको फलाम आयात

हिमालखबर
94 Shares


देशले तीन महीनामा भारतबाट रु. ४९ अर्ब ५९ करोडको पेट्रोलियम पदार्थको आयात गरेको छ ।
नेपाल राष्ट्र ब्यांकले ९ मंसीरमा सार्वजनिक गरेको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको असोज महीनासम्ममा पेट्रोलियम पदार्थको आयात ७१ दशमलव २ प्रतिशतले बढेको हो ।
गत वर्षको यही अवधिमा पेट्रोलियम पदार्थको आयात रु. २८ अर्ब ९६ करोडको मात्र थियो ।
असोजसम्ममा सवारी साधन तथा यसका पार्टपूर्जाको आयात पनि २२ दशमलव १ प्रतिशतले बढेर रु. ३० अर्ब ९३ करोड पुगेको छ ।
गत वर्षको यही अवधिमा सवारी साधन र यसका पाटपूर्जा रु. २५ अर्ब ३४ करोडको मात्र आएको थियो ।
राष्ट्र ब्यांकका अनुसार, भारतबाट असोजसम्ममा रु. १९ अर्ब ८० करोड मूल्यको एमएस बिलेट (फलाम तथा डण्डी बनाउन प्रयोग हुने) आयात भएको छ ।
यो अघिल्लो वर्षको यही अवधिमाभन्दा ४३ दशमलव ३ प्रतिशत बढी आयात भएको हो । त्यस्तै, एमएस वायर, रोड्स, बार (फलामे सामाग्री) को आयात ३३ दशमलव २ प्रतिशत बढेर रु. ४ अर्ब ६२ करोड पुगेको छ ।
तीन महीनाको अवधिमा भारतबाट रु. ७ अर्ब ६५ करोडको चामल, ४ अर्ब ४८ करोडको तरकारी आयात भएको छ ।
चामल र तरकारीको आयात गत वर्षको यही अवधिको तुलनामा क्रमशः ४२ दशमलव २ र ३९ दशमलव ४ प्रतिशतले बढेको हो ।
विलासी वस्तु मानिने सुनको तेस्रो देशबाट आयात ० दशमलव २ प्रतिशतले घटेको छ ।
असोजसम्ममा रु ७ अर्ब ५८ करोडको मात्र सुन आयात भएको छ । जबकि, चाँदीको आयात १६ प्रतिशतले बढेर रु. ३ अर्ब २४ करोड पुगेको छ ।
आयात अचाक्ली तर निर्यात न्यून हुँदा देशको समग्र अर्थतन्त्र नै कठिन स्थितिमा पुगेको राष्ट्र ब्यांकले तथ्यांकले संकेत गरेको छ ।
असोजसम्ममा नेपालले रु. २३ अर्ब ७४ करोडको निर्यात गर्दा आयात भने रु. ३ खर्ब ७३ अर्ब ५९ करोडको गरेको छ ।
यो अवधिमा वैदेशिक व्यापारमा नेपालले रु. ३ खर्ब ४९ अर्ब ८४ करोड घाटा व्यहोरेको छ ।

No comments:

Post a Comment