Tuesday, July 9, 2019

रानीमहलमा पनि भूमाफिया, ३० रोपनी जग्गा अतिक्रमण

http://annapurnapost.com/news/131687

रानीमहलमा पनि भूमाफिया, ३० रोपनी जग्गा अतिक्रमण

रानीमहलमा पनि भूमाफिया, ३० रोपनी जग्गा अतिक्रमण
रानीमहल दरबार
author-image
सुरेन्द्र काफ्ले
समाज
 २५ असार २०७६ ०६:०४:००change font
काठमाडौं : ऐतिहासिक एवं पुरातात्विक महत्त्वको पाल्पास्थित रानीमहल दरबारको जग्गा अतिक्रमण भएको छ। मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको नाममा कायम गरिएको हो।
राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी जग्गा अतिक्रमणमा भएको देखाएको छ।
नापी विभागको नक्सामा कित्ताकाट नभएको जग्गा नापी कार्यालय पाल्पाको नक्सामा कित्ताकाट पाइएको केन्द्रका सूचना अधिकृत डालनाथ अर्यालले जानकारी दिए। साविकको बोधगुम्बा गाविस वडा नम्बर २ सिट नम्बर ०९९–०३२३ कित्ता नम्बर ४६५ को केही भाग र सिट नम्बर ०९९–०३२४ कित्ता नम्बर ४६५ मा रानीमहल छ। यो महलको जग्गा क्षेत्रफल नापी कार्यालयमा ५ रोपनी १२ आना २ दाम कायम छ। तर, यसको उत्तर साविक खानीगाउँ वडा २ को सिट नम्बर ०९९–०३२४ को कित्ता नम्बर १६० मा १५ रोपानी १० आना १ पैसा २ दाम र कित्ता नम्बर १६६ मा १३ रोपनी ९ आना २ दाम छ। २०६० साल मंसिर १६ मा यो जग्गा कित्ताकाट गरी दुई कित्ता बनाइएको छ। कित्ता नम्बर ६६० मा ५ रोपनी ३ दाम र कित्ता नम्बर ६६१ मा ८ रोपनी ९ आना १ पैसा १ दाम कायम भएको मालपोत कार्यालयको दर्ता किताबमा उल्लेख रहेको सतर्कताको छानबिनमा छ।
०६२ माघ १८ मा पाल्पा दरबारमा भएको आगलागीबाट मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएको थियो। कागजात नष्ट भएपछि रानीमहलको जग्गा नै गायब गरिएको छ। मालपोत, नापीसहित तत्कालीन गाविस समेतको मिलेमतोमा रानीमहलको जग्गा खुम्च्याइएको प्रतिवेदनमा उल्लेख छ। खानी गाउँ विकास समितिको कार्यालयको २०६३ असार ४ को सिफारिसमा रानीमहलको कित्ता नम्बर ६६० को ५ रोपनी ३ दाम जग्गा खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठको नाममा दर्ता कायम छ। कित्ता नम्बर ६६१ को ८ रोपनी ९ आना १ पैसा १ दाम च्रकपाणि पाण्डे, थमबहादुर थापा, दुर्गाबहादुर थापाको नाममा दर्ता छ। तर, यो जग्गाको हकमा हालसम्म        श्रेस्ता कायम गर्न सम्बन्धित पक्ष आएको देखिँदैन। कित्ता नम्बर ४६७ को १२ रोपनी ९ आना २ दाम जग्गा भने बोधगुम्बा रानी घाट गुठीका मोही थानबहादुर श्रेष्ठ को नाम दर्ता गरिएको छ। महलको दक्षिणमा रहेको कित्ता नम्बर ४६४ को ३० रोपनी १० आना ३ पैसा जंगल र कित्ता नम्बर ४६६ को १७ रोपनी १३ आना १ पैसा फूलबारी भनी दुवै कित्ता जग्गा सरकारी÷सार्वजनिक रहेको प्रतिवेदनमा उल्लेख छ। जंगल र फूलबारी बगैंचाको जग्गामा भूमाफियाले आँखा लगाएका छन्। महलको पश्चिमतर्फ कालीगण्डकी नदी छ।
प्रतिवेदनमा बोधगुम्बा २ को कित्ता नम्बर ४६५ को जग्गा रानीमहलको भएको तर त्यसको स्रेस्ता मालपोत कार्यालयमा फेला नपरेको उल्लेख छ। यो जग्गाको उत्तर साविक खानी गाउँ–२ कित्ता नम्बर १६० को जग्गा बगरमा कायम छ। बौधगुम्बा २ कित्ता नम्बर ४६६ बगैंचा र कित्ता नम्बर ४६४ जंगल भनी उल्लेख छ। सतर्कताको स्थलगत अध्ययनअुनसार कित्ता नम्बर ४६६ बगैंचा भनी उल्लेख भएको कित्तामा गाडी गुड्ने सडक र खाली जग्गा पाइएको छ। यो जग्गा सरकारी/सार्वजनिक नै कायम भए पनि नापी कार्यालयबाट प्राप्त नक्सामा छुट्टै कित्ताकाट गर्न वा के उद्देश्यले शंकास्पद रूपमा पेन्सिल लाइनको कित्ता बनाएको देखिन्छ।
कित्ता नम्बर ४६७ रानीघाट गुठीका मोही थानबहादुर श्रेष्ठ को नाम देखिएको, खानीगाउँ वडा नम्बर–२ कित्ता नम्बर १६६ जग्गाधनी खड्गभक्तेश्वर गुठीको २०६० जेठ २५ मा मिसिल नम्बर ३४० खडा भई ५ रोपनी ३ दाम मोही महालक्ष्मी श्रेष्ठ कायम गरिएको थियो। यो जग्गा २०७२ असोज ५ को मालपोतको निर्णयअुनसार मोहीको नाम नामसारी भएको छ।
यो नजरमान श्रेष्ठ , तारामान श्रेष्ठ र निलम श्रेष्ठ तथा तानसेन नगरपालिका–७ पाल्पाको नाममा स्रेस्ता कायम छ। मालपोत कार्यालयले पुरानो श्रेस्ता जली नयाँ स्रेस्ता कायम गर्दा अंशबन्डा, लिखतलगायत कागजात सम्बन्धित पक्षसँग माग नगरी खाली लालपुर्जाको आधारमा मात्रै स्रेस्ता कायम गरिएको प्रतिवेदनमा छ।
नामसारी गर्दा तानसेन नगरपालिकामा रहेका मोहीलाई समेत पत्राचार गरी जानकारी नगराएको पाइएको छ। गुठी जग्गा नामसारी गर्दा गुठी संस्थानसँग जानकारी नगराएको देखिएको छ। ‘नापी विभाग कित्तानापी महाशाखा, अभिलेख शाखामा रहेको नक्सामा कित्ताकाट भएको देखिँदैन’, प्रतिवेदनमा छ। पाल्पा दरबार जल्नुभन्दा अगाडिको अभिलेखका रूपमा रहेको तर हाल नापी कार्यालय पाल्पामा रहेको नक्सामा कित्ताकाट भएको देखिएकाले कित्ताकाट कुन मितिमा कसरी गरेको भन्ने स्पष्ट जानकारी नभएको उल्लेख छ।
थानबहादुर श्रेष्ठ कसरी मोही कामय भएको भन्ने स्पष्ट जानकारी छैन। खानीगाउँको यो स्थानमा डिजिटल नापी भइसकेको छ तर साविक कित्ता र नयाँ नापी कित्ता भिडाएको देखिँदैन।
खानीगाउँ गाविस–२ कित्ता नम्बर १६६ को नापी विभागबाट प्राप्त नक्सामा कित्ता नभएको तर नापी कार्यालय पाल्पाबाट प्राप्त नक्सामा कित्ता काट भएकाले यो विषयमा अनुसन्धान गर्नुपर्ने सतर्कता केन्द्रले जनाएको छ। बौधगुम्बा गाविस–२ कित्ता नम्बर २ को ४६६ को बगैंचामा शंकास्पद रूपमा पेन्सिल लाइनबाट कित्ता बनाइएको हुँदा थप अनुसधान गर्नुपर्ने देखिएको छ।
स्रेस्ता कायम भएको वा हुन बाँकी गुठी जग्गाका मोहीको सम्बन्धमा गुठी संस्थानसँग रेकर्ड नभिडाई नामसरी भएको देखिन आएको हुँदा यस्तो कार्य कानुनसम्मत छ भनी विश्वास गर्न सकिएन तसर्थ यस सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएको सतर्कताले जनाएको छ।
रानीमहलको जग्गा अतिक्रमणका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय भएको सतर्कता केन्द्रका सूचना अधिकृत अर्यालले जानकारी दिए।

No comments:

Post a Comment