Monday, July 15, 2019

रेशमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

https://nayapatrikadaily.com/news-details/2510/2019-01-08

रेशमलाई थुनामुक्त गर्न  सर्वोच्चद्वारा अस्वीकार

२०७५ पौष २४ मंगलबार ०६:२३:००
सर्वोच्च अदालतले सांसद रेशमलाल चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले सोमबार जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको आदेश सदर गर्दै चौधरीलाई थुनामै राख्न आदेश दिएको हो ।
जिल्ला अदालत कैलालीले १४ फागुन ०७४ मा चौधरीले टीकापुर घटनामा कसुर गरेको विश्वास गर्न सकिने पर्याप्त र मनासिब आधार रहेको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २२ चैत ०७४ मा उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेको थियो । त्यसका विरुद्ध चौधरीले सर्वोच्चमा निवेदन दिएका थिए । 
चौधरीमाथि जाहेरकर्ताले किटानी पोल गरेको र सहअभियुक्तहरूले पनि चौधरीको निर्देशनमै घटनामा संलग्न भएको बयान दिएको आधारमा सर्वोच्चले तल्लो अदालतको आदेशलाई निरन्तरता दिएको जनाएको छ । टिकापुर घटनाका सहअभियुक्तहरू सुन्दरलाल कडरिया, प्रेमबहादुर चौधरी, रामकुमार कडरिया, रामप्रसाद चौधरीसमेतले अनुसन्धानका क्रममा रेशमलाल चौधरीकै निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए । 
थरुहट आन्दोलनका क्रममा नौजनाको हत्या भएको ७ पुस ०७२ को टीकापुर घटनामा संलग्न रहेको अभियोगमा सांसद चौधरीसहित ५८ जनाविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । १३ जनाको जाहेरीमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका–चोरीअन्तर्गत ५ असोज ०७२ मा मुद्दा दर्ता भएको थियो । ३१ अभियुक्त भने अझै फरार छन् । सांसद चौधरीसहित २५ जना पुर्पक्षका लागि थुनामा छन् । दुई बालकलाई अदालतको आदेशमा बाल सुधारगृहमा पठाइएको छ । 
घटनापछि फरार रेशम चौधरी भूमिगत अवस्थामै राजपाका तर्फबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट विजयी भएका थिए । १४ फागुन ०७४ मा जिल्ला अदालतमा आत्मसमर्पण गरेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला कारागारमा राखिएका उनलाई पछि काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागार पठाइएको थियो । उनले १९ पुसमा कारागारबाट प्रहरीको पहरामा सिंहदरबार पुगेर सभामुखसँग शपथ खाएका थिए । शपथपछि उनलाई कारागार नै पठाइएको थियो ।

No comments:

Post a Comment