Wednesday, July 10, 2019

नेपालीभन्दा भारतीय तरकारी र फलफूलमा धेरै विषादी

https://www.nayapatrikadaily.com/news-details/19339/2019-07-10

नेपालीभन्दा भारतीय  तरकारी र फलफूलमा धेरै विषादी

भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादी

२०७६ असार २५ बुधबार १०:४९:००
टिपेको तीन दिनपछि काठमाडौं ल्याएर परीक्षण गर्दा पनि भारतीय तरकारी र फलफूलमा २२ प्रतिशतसम्म विषादी, तर टिपेकै दिन परीक्षण हुने नेपाली तरकारीमा बढीमा ८ प्रतिशत मात्रै
बजारमा उपलब्ध तरकारीमध्ये भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा अवशेष बढी देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाइले गरेको प्रयोगशाला परीक्षणमा भारतीय तरकारीमा विषादीको अवशेष बढी भेटिएको हो ।
इकाइका प्रमुख जग्यश्वर शर्माले भारतीय तरकारीमा विषादीको अवशेष तोकिएको मापदण्डभन्दा कम नै भए पनि नेपाली उत्पादनमा भन्दा बढी रहेको जानकारी दिए । ‘हामीले नियमित रूपमा परीक्षण गरेको तरकारीलाई हेर्दा भारतीयमा विषादीको अवशेष बढी देखिएको छ,’ उनले भने, ‘तुलनात्मक रूपमा नेपाली तरकारीमा कम विषादीको अवशेष देखिएको छ ।’ यतिवेला भारतबाट आलु र प्याज धेरै मात्रामा आइरहेको छ । दुवै तरकारीमा १० प्रतिशतभन्दा बढी विषादीको अवशेष भेटिएको छ । तर, यही अवधिमा नेपालका विभिन्न ठाउँबाट काठमाडौं भित्रिएका तरकारीमा औसतमा ३ देखि ४ प्रतिशत विषादीको अवशेष फेला परेको छ । 
३५ प्रतिशतसम्मको विषादी अवशेषलाई मान्यता 
बजारमा उपलब्ध आयातीत तथा स्वदेशी अधिकांश तरकारीमा विषादीको अवशेष देखिने गरेको प्राविधिकहरूले बताएका छन् । कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण इकाइका प्रमुख जग्यश्वर शर्माले परीक्षणका क्रममा थोरै भए पनि विषादी भेटिने गरेको बताए । ‘बजारमा उपभोगका लागि आएका तरकारी, फलफूलमा थोरै भए पनि विषादीको अवशेष भेटिने गरेको छ,’ उनले भने, ‘हामीले ३५ प्रतिशतसम्मको विषादी अवशेषलाई मान्यता दिएकाले सोभन्दा कम भएकालाई कुनै कारबाही गर्न मिल्दैन ।’ किसानले मूल रूपमा रोग लाग्न नदिन र किरा मार्नका लागि कार्बामेट र अर्गानो फस्फेट बढी मात्रामा प्रयोग गर्ने गरेका छन् । त्यसैले नेपालका ल्याबले सोही दुई प्रकारका विषादी मात्र परीक्षण गर्दै आएको छ ।
तरकारी परीक्षणविनै बजार पुग्छ
विषादी परीक्षणका लागि प्रयोगशाला राखिए पनि व्यावहारिक रूपमा निकै कम मात्र परीक्षण गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा राति १२ बजेपछि ट्रक आउँछन् । ती तरकारीलाई राति ३–४ बजेसम्म उपत्यकाबाहिरका साना थोक बजारमा पठाइन्छ । चोकमा ठेला राखेर तरकारी बिक्री गर्ने व्यवसायीले ५ बजेसम्म कालीमाटीबाट लगिसक्छन् । सरकारले स्थापना गरेको प्रयोगशाला भने बिहान ६ बजेपछि मात्र खुल्छ । ‘हामीले बिहान ६ बजे प्रयोगशाला खोलेर यहीँको थोक बजारबाट केही तरकारीको नमुना ल्याएर परीक्षण गर्छौँ,’ कालीमाटीस्थित प्रयोगशालाका प्रमुख शर्माले भने, ‘राति नै आएर परीक्षण गर्न सम्भव हुँदैन । बिहान परीक्षण गरेर तरकारीमा विषादीको अवस्था कस्तो छ भनेर विश्लेषण गर्ने हो ।’ कुनै तरकारीमा विषादीको मात्रा तोकिएभन्दा बढी पाइए नमुना संकलन गरेको थोक व्यापारीकहाँ गएर बिक्री हुन बाँकी रहेको परिमाण नष्ट गर्ने गरेको उनले बताए । ‘मापदण्डभन्दा बढी विषादी भेटिएको अवस्थामा सम्बन्धित व्यापारीलाई बोलाएर ऊसँग भएको परिमाण नष्ट गर्छौँ, यसो गर्दा एकपटकमा ३०–४० किलो तरकारी नष्ट गर्ने गरिएको छ,’ उनले भने ।
 तरकारीमा थोरै विषादी भए पनि स्वास्थ्यमा असर गर्छ । थोरै विषादीले थोरै असर गर्ने मात्र हो । कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता बढी हुन्छ, उनीहरूमा कम विषादीको असर कम देखिएला । कुरा यति मात्र हो । -जग्यश्वर शर्मा, प्रमुख विषादी अवशेष द्रुत विश्लेपषण इकाइ, काठमाडौं 
८५ प्रतिशत विषादी तरकारीमा प्रयोग
गत आर्थिक वर्ष ०७४/७५ को तथ्यांकअनुसार ६ सय मेट्रिकटन विषादी नेपालमा आयात भएको छ । यसको बजार मूल्य करिब ७५ करोड रुपैयाँ हुन आउँछ । नेपाल आयात हुनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्र प्रयोग हुने गरेको प्लान्ट क्वारेन्टाई तथा विषादी नियन्त्रण केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माले जानकारी दिए । ‘१५ प्रतिशत विषादी मात्र अरू बालीमा प्रयोग हुने छ । यसर्थ, खाद्यान्न धान, गहुँ, कोदो, मकै, फापर, गहुँलगायतका बालीमा न्यून विषादी प्रयोग हुने भएकाले आमनेपाली सुरक्षित छन् भन्न सकिन्छ,’ उनले भने । 
कृषिमा सबैभन्दा बढी व्यावासयिक भएको क्षेत्र तकारी हो । ‘जुन बालीमा व्यवसायीकरण हुन्छ, त्यसमा कृषकले आफ्नो बाली जोगाउन विषादी प्रयोग गर्छ,’ शर्माले भने, ‘नाफाका लागि बाली संरक्षण गर्न किसानले विषादी प्रयोग गर्ने गरेका छन् ।’
भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादी
कालीमाटीमा प्रयोगशाला स्थापना भएपछिको परीक्षणमा भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको छ । सरकारले ३५ प्रतिशतसम्मको अवशेषलाई मात्र मापदण्डभित्रको मान्यता दिएको छ । ५ माघ, ०७३ मा कालीमाटीमा भित्रिएको भारतीय टमाटरमा अर्गानो फस्फेट विषादीको अवशेष ८३.१८ प्रतिशत फेला परेको थियो । सोही दिन भारतीय टमाटरको अर्को नमुना परीक्षण गर्दा ७९.२० प्रतिशत विषादीको अवशेष फेला परेको हो । 
सो प्रयोगशालाले हालसम्म फेला पारेको सबैभन्दा बढी विषादीको मात्रा यही हो । त्यस्तै ४ माघ ०७३ मा भारतबाटै आएको काँक्रोमा ४९.०६ प्रतिशत अर्गानो फस्फेट विषादीको अवशेष भेटिएको थियो । ६ माघ ०७३ मा भारतबाटै आएको टमाटरमा ६४.६४ प्रतिशत विषादीको अवशेष भेटिएको थियो । त्यस्तै ७ माघ ०७३ मा भएको परीक्षणमा नेपालकै बारामा उत्पादित टमाटरमा ७९.३५ प्रतिशत विषादीको अवशेष देखिएको थियो । चितवनबाट काठमाडौं ल्याइएको काउलीमा ७२.०९ प्रतिशत विषादीको अवशेष फेला परेको थियो । यसरी विषादीको अवशेष फेला परेका सबै तरकारी नष्ट गर्ने गरेको कालीमाटीस्थित प्रयोगशालाका प्रमुख जग्यश्वर शर्माले जानकारी दिए ।


No comments:

Post a Comment