पत्र पत्रिका बाट -साभार
http://himalkhabar.com/news/4666
सर्वोच्च शिखरको सीमांकन सम्झौता झण्डै ६० वर्षअघि भएको हो– आधा आधी गरी ।
कतारका राजदूतले ४ साउनमा सिंहदरबारस्थित
कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको तस्वीरभित्र भित्तामा
अर्को ठूलो तस्वीर देखिन्छ, सगरमाथाको (अर्थात् चोमोलोङ्मा या एभरेष्ट) ।
त्यो नेपालपट्टिको नभई सगरमाथाको उत्तरी मोहडा (अर्थात् तिब्बत–चीन
भू–भागमा पर्ने) को तस्वीर थियो ।
सरकारप्रमुखको अफिसमा यतातर्फको तस्वीर
नभएर उतापट्टिको टाँगेकोमा उदेक त लाग्ने नै भयो, तर त्यस ‘एपिसोड’ ले
हामीलाई यो कुरा फेरि पनि बुझायो कि (‘लुम्बिनी’ जस्तै) सगरमाथा र
हिमालयबारे हामी गर्व गर्ने मात्र रहेछौं– भूगोल, इतिहास र ‘करेन्ट अफेर्स’
पूर्वज पुस्ताहरूभन्दा कम चासो र थाहा रहेछ ।
त्यो तस्वीरको हकमा प्रधानमन्त्री देउवा
स्वयं, उनका कार्यालयका अधिकारी र त्यहाँ पुग्ने जो–कोही सचिव, डीजी,
व्यवसायी र नेता–कार्यकर्तालाई कतापट्टिको सगरमाथा हाम्रो, कतापट्टिको
चीनको भन्ने ज्ञान र पर्वाह पनि नभएको बुझ्नु पर्यो । नत्र त कुरा
उठिहाल्थ्यो होला नि, यो किन यहाँ राखेको ! यसले आफ्नो भूगोलको सामान्य
ज्ञानबारे वर्तमान खडेरीको संकेत गर्नुका साथसाथै ‘सगरमाथा–राष्ट्रियता’
कति कमजोर जगमा उभिएको रहेछ भन्ने दर्शाउँछ ।
वास्तवमा त्यो राष्ट्रियता असली हो जो
भूगोल र इतिहासको राम्रो जानकारीमा अडेको हुन्छ । ‘नेपाल सगरमाथाको देश’
भन्न नमिल्ने होइन, तर यति त बुझ्नुपर्यो कि यो हिमचुचुरो पूरै नेपाली
भागमा पर्दैन ।
प्रम कार्यालयको तस्वीरको चर्चा उठेपछि
सामाजिक सञ्जालमा जुन आश्चर्यचकित प्रतिक्रिया आयो, त्यसले पनि बतायो कि
स्कूल कक्षादेखि नै सामान्य ज्ञान र भूगोलको पढाइ कमजोर रहेछ । सगरमाथा
पूरै नेपालमा पर्छ भन्ने धेरैमा धेरैको बुझाइ रहेछ । कसैले सामाजिक
सञ्जालमा ठोकुवाका साथ लेखे कि पूरै चुचुरो नेपालमा पर्दछ किनकि
पाठ्यपुस्तकमा पढेका थिए, या सबै यसै भन्छन् । कसैको बुझाइ देखियो– ‘फेद
चीनको पनि पर्छ, टुप्पो पूरै नेपालको ।’ यतिका दशक उत्तरतर्फबाट सगरमाथा
आरोहण गरिएकोमा त्यो नेपालैबाट भएको कतिको बुझाइ रहेछ ।
केहीको भनाइमा त सगरमाथा आधी मात्र
नेपालको हो भन्ने विषय उठाइनु नै गलत । अर्थात्, सगरमाथाको केही अंश
तिब्बत/चीनमा छ भन्नु नै नेपाली राष्ट्रभावनाप्रति अन्तर्घात ।
जान्न जरुरी छ, पूर्वी नेपालको
भोट/चीनसँगको निर्धारित उत्तरी सिमाना भनेको हिमशृंखलाको पानीढलो
(‘वाटरशेड’) हो । यसरी, कञ्चनजङ्घादेखि मकालु, ल्होत्से र सगरमाथाहुँदै
चोओयू, गौरीशंकर (छिरिङ्मा), जुगल, लाङटाङसम्मका हिमशृंखलाको सबभन्दा
उच्चतम धारले दुई मुलुकको सीमा जनाउँछ । लाङटाङबाट त्रिशूली नदी पारिको
गणेश हिमाल आधाआधी कटेपछि हिमशृंखला सिमानाको रुपमा नरही नेपाल पस्दछ ।
त्यसभन्दा पश्चिमका हिमालहरू (मनास्लु, अन्नपूर्ण, धौलागिरि इत्यादि) पूरै
नेपालभित्र पर्दछन् ।
सगरमाथाको सन्दर्भमा, सन् १९६० मा बीपी
कोइरालाले माओत्सेतुङ र चाउएनलाईसँगको भेटमा सीमा सुनिश्चित गर्ने कुरा
थालेका हुन् । बीपीले त्यसबेला पूरै सगरमाथामाथि दाबी पनि गरेको बुझिन्छ,
तर माओले दक्षिण मोहडा नेपालको, अर्कोपट्टि चीनको सुझाए । त्यतिबेला गठित
सीमा निर्धारण आयोगले त्यसैअनुसार सगरमाथाको भागबण्डा गर्यो र महेन्द्रको
पालामा सीमा सन्धिमा हस्ताक्षर भयो ।
यसरी पानीढलोको सिद्धान्त अनुसार, मकालुको
चुचुराबाट भन्ज्याङ र उच्च हिमाली धार हुँदै सिमाना ल्होत्से–सार र
ल्होत्सेको चुचुरोहुँदै साउथ कोल (दक्षिण भञ्ज्याङ) मा झर्दछ अनि साउथ समिट
हुँदै सगरमाथा टुप्पो पुग्दछ । उतापट्टि वेस्ट रिज हुँदै ल्होला भन्ज्याङ
झर्दै दुईदेशीय सिमाना धारैधार चोओयू चुचुरोहुँदै पश्चिमतर्फ लम्कन्छ ।
सगरमाथाको बनोट सालाखाला त्रिकोण पिरामिड
भएकोले यसका तीन वटा मोहडा छन् । दक्षिण मोहडा नेपालको हो र त्यहाँ चढ्न
अरु मोहडा भन्दा सजिलो मानिन्छ– बेसक्याम्प र खुम्बु आइसफलदेखि वेस्टर्न
कुम हुँदै साउथ समिट अनि चुचुरोसम्म ।
बाँकी दुई मोहडा भने तिब्बत÷चीनपट्टि
पर्दछन् । पूर्वी मोहडाको नाम हो काङ्गशुङ फेस, जो काङ्गशुङ हिमनदीहुँदै
खार्ता उपत्यका झर्दछ । यो मोहडाबाट सगरमाथा चढ्न सबभन्दा खतरनाक मानिन्छ ।
उत्तरी मोहडालाई नर्थ फेस भनिन्छ ।
राणाकालमा नेपालमा पश्चिमाका लागि आवतजावत
र पर्वतारोहणमा रोक भएको कारण सन् १९२१ मा शुरू भएको सगरमाथा आरोहण प्रयास
भोटतर्फबाट हुनेगथ्र्यो । दार्जीलिङबाट आरोही दल धेरै दिनको पैदल यात्रा
गरेर टिंग्री मैदानहुँदै यतापट्टिको तेङ्गपुछे गुम्बा जस्तै उतापट्टिको
रोङ्गबुक गुम्बा पुग्दथे अनि रोङ्गबुक हिमनदीमार्फत सगरमाथाको फेदमा
पुग्थे । नर्थ कोल (उत्तर भञ्ज्याङ) र नर्थइष्ट रिज (उत्तरपूर्वी धार)
हुँदै चुचुरो चढ्न अनेकन् असफल प्रयास भएका थिए ।
सगरमाथा नेपालको हो भन्दा के भयो त भन्ने
धेरै छन् । चीनमा पनि हुने कतिपय प्रस्तुतिमा ‘चोमोलोङ्मा चीनको हो’ भन्ने
गरिन्छ । तर झण्डै ६० वर्ष सबैले मान्दै आएको पानीढलो सिद्धान्त अनुसारको
सगरमाथा सीमांकनको भने फरक–फरक व्याख्या हुन सक्दैन । फेददेखि चुचुरोसम्मै
सगरमाथा चीन र नेपालबीच बाँडिएकै छ– आधा उता आधा यता ।
No comments:
Post a Comment