Thursday, May 24, 2018

https://www.karobardaily.com/news/country/5751

सम्पत्तिमा महासेठ, नगदमा खतिवडा धनी

सम्पत्तिमा महासेठ, नगदमा खतिवडा धनी
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५
728
२२ सदस्यीय मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री डा. युवराज खतिवडा सबैभन्दा धेरै धनी रहेको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार जग्गाजमिन, घर, गरगहना, सेयर लगानी, नगद मौज्दातका आधारमा महासेठ र खतिवडा धनी देखिएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा सबैभन्दा गरिब देखिएको प्रधानमन्त्री तथा कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । थापाले आफूसँग १ तोला सुन र १५ हजार नगदबाहेक अरु सम्पत्ति नरहेको विवरण पेश गरेकी छन् ।
सार्वजनिक विवरणअनुसार घरघडेरी र मौज्दात नगदका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली विगतको तुलनामा धनी देखिएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा कार्यालयले मन्त्रीहरूले विभिन्न मितिमा बुझाएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री ओलीको डेढ रोपनी जग्गामा तीन तले दुईवटा घर रहेका छन् । दुवै घर पत्नी राधिका शाक्यको नाममा रहेको ओलीले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्री ओलीको नाममा बैंकमा ४२ लाख र पत्नी राधिकाको नाममा १० लाख मौज्दात रहेको छ भने राधिकाको नाममा २५ लाख रुपैयाँ नेपाल राष्ट्र बैंकको बचतपत्रमा लगानी रहेको छ ।
आफूसँग १७÷१८ तोला सुन रहेको प्रधानमन्त्री ओलीको सम्पत्ति विवरणमा उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सम्पत्तिका आधारमा महासेठ जस्तै देखिएका छन् । महासेठको जनकपुर र ललितपुरको भैंसेपाटीमा अढाईतले घरका अलवा ललितपुर उपमहानगरपालिकामा ४ रोपनी ४ आना जग्गा छ । ५२ तोला सुनका धनी महासेठसँग जवाहरत पनि प्रशस्त रहेको उनले बुझाएको विवरणमा उल्लेख छ । महासेठले पत्नी सांसद् जुली महतोको नाममा विभिन्न बैंकमा ४० करोड १ लाख ५० हजार रुपैयाँको सेयर लगानी रहेको तथा धनुषामा आफू र पत्नीको नाममा प्रशस्त जमिन रहेको उल्लेख छ । यसबाहेक महासेठको नाममा बैंकमा ७२ लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।
नगद मौज्दातका आधारमा अर्थमन्त्री डा. युवराज खतिवडा धनी देखिएका छन् । खतिवडाको नाममा विभिन्न बैंकमा ९४ लाख ६८ हजार रुपैयाँ तथा ६२ हजार ७ सय ३ अमेरिकी डलर मौज्दात रहेको छ । यसबाहेक उनले विभिन्न व्यक्तिलाई २४ लाख रुपैयाँ ऋण दिएका छन् । अर्थमन्त्री खतिवडासँग काठमाडौंको धुम्बाराहीमा १ रोपनी ३ आना जग्गामा घर छ भने भक्तपुरको दुवाकोटमा आफ्नो र पत्नी कमलाको नाममा १ रोपनी ८ आना तथा काठमाडौंको कागेश्वरीमा पत्नीको नाममा ४ रोपनी १ आना जग्गा छ । मन्त्री बन्नुअघि नेपाल राष्ट्र बैंकमा अढाई दशक तथा संयुक्त राष्ट्रसंघमा केही समय काम गरेका खतिवडाले राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा काम गरेका खतिवडासँग सुन भने १० तोला मात्र रहेको छ ।
रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री गोकर्ण विष्ट, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री रविन्द्र अधिकारी र सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले काठमाडौं उपत्यकामा घर जोडेका छन् । रक्षामन्त्री पोखरेलको काठमाडौंको टोखामा १ रोपनी ७ आना जग्गामा तीनतले घर छ भने पत्नी मीरा र आफ्नो नाममा १२ लाख नगद तथा ८÷९ तोला सुन रहेको पोखरेलले चैत १२ गते बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । काठमाडौंको शंखमुलमा पत्नी सरस्वती ज्ञवालीको नाममा दुई तले पक्की घर बनाएका परराष्ट्रमन्त्री ज्ञवालीले कोठा थप्नका लागि ९ जनासँग १४ लाख ८५ हजार ऋण लिएको बताएका छन् । इमान्दार मानिने ज्ञवाली २२ सदस्यीय मन्त्रिपरिषद्मा सबैभन्दा कम गरगहना भएका मन्त्रीको सूचिमा छन् । उनले आफूसँग दुई तोला सुन रहेको उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद् कार्यालयमा बुझाएको विवरणअनुसार श्रममन्त्री गोकर्ण विष्टको नाममा ७३ लाख रुपैयाँ ऋण छ भने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो नाममा २५ लाख र पत्नी बिमलाको नाममा ३० लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन् । बिराटनगरमा पाँच कोठे घर बनाएका पण्डितले श्रीमतीको नाममा ललितपुरको भैंसेपाटीमा पैत्रिक सम्पत्तिवापतको ५ आना जग्गा र १० तोला सुन रहेको विवरण बुझाएका छन् । सवारीसाधनका नाममा भने आफूसँग पुरानो साइकल मात्र रहेको पण्डितले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पोखरामा सगोलमा ९५ रोपनी जग्गा तथा ६० तोला सुन छ । अधिकारीले आफूसँग २४ लाख ५७ हजार नगद रहेको तथा ३० लाख २६ हजार रुपैयाँ सेयरमा लगानी गरेको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री वीना मगरले आफ्नो र परिवारका सदस्यको नाममा काठमाडौं उपत्यकामा घर घडेरी नरहेको उल्लेख गरेका छन् । गृहमन्त्री थापाले ३ लाख नगद र ६ तोला सुन, ऊर्जामन्त्री पुनले १५ तोला सुन र १० लाख ५० हजार नगद, बस्नेतले १५ लाख नगद र ५ तोला सुन तथा मगरले ५ तोला सुन रहेको सम्पत्ति विवरण बुझाएका छन् । उद्योगमन्त्री मातृका यादवसँग ललितपुरको चापागाउँमा ३ रोपनी ४ आना तथा सिरहा र धनुषामा ७५ लाख मूल्यको जग्गा तथा १० तोला गहरगहना रहेको उल्लेख गरेका छन् ।
सम्पत्ति विवरण बुझाउन कर्मचारीको अटेरी
सरकारी ढुकुटीबाट तलबभत्ता खानेले हरेक आर्थिक वर्षमा आफ्नो सम्पत्ति विवरण कार्यरत कार्यालयमा बुझाउनुपर्ने भए पनि कर्मचारीहरूले सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने गरेको पाइएको छ । गत आर्थिक वर्षमा मात्र १३ हजार ३ सय ९० जना कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण बुझाउन अटेरी गरेका छन् ।
सम्पत्ति विवरण बुझाउन नमान्नेमा शिक्षकहरू धेरै छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार ७ हजार २५ जना शिक्षक, ४ हजार ५ सय २५ जना निजामति कर्मचारीसहित १३ हजार ३ सय ९० जनाले सम्पत्ति विवरण नबुझाएका हुन् । सम्पत्ति विवरण बुझाउन अटेरी गर्नेको सूचीमा डेढ दर्जन पूर्वसभासद तथा उपसचिव तहसम्मका कर्मचारी पनि रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । अख्तियारले राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्नेहरूलाई ५ हजार जरिवाना तिराउने निर्णय गरेको छ ।
जरिवानासहित एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन लगाउने निर्णय गरिएको प्रवक्ता दंगालले जानकारी दिए । सरकारी ढुकुटीबाट तलबभत्ता खानेलाई अस्वभाविक सम्पत्ति आर्जनमा लाग्न नदिनका लागि हरेक आर्थिक वर्षको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन लगाउने गरिएको हो । कर्मचारीहरूले बुझाउने विवरणका आधारमा अख्तियारले सम्पत्ति छानबिन गर्दै आएको छ । अख्तियारको छानबिनमा पर्ने भएका कारण पछिल्ला वर्षमा कर्मचारीहरूले परिवारका सदस्य वाहेकको नाममा सम्पत्ति थुपार्ने क्रम बढेको छ ।

No comments:

Post a Comment