https://www.kantipurdaily.com/news/2018/05/14/152630392068449006.html
फाइल तस्बिर
गोसाइँकुण्डमा केबलकार !
लुक्ला–नाम्चे रोपवे बन्ने
काठमाडौँ
— नुवाकोटको दुप्चेश्वरबाट लाङटाङ निकुञ्जको गोसाइँकुण्डसम्म केबलकार
निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । केबलकारको वातावरणीय प्रभाव
मूल्यांकन (ईआईए) अघि बढेको हो । प्रस्तावित क्षेत्र निकुञ्जभित्र पर्ने
भएकाले निर्माणअघि ईआईए अनिवार्य छ ।
नुवाकोट
दुप्चेश्वर गाउँपालिका १, घ्याङफेदीबाट गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने
ऐतिहासिक गोसाइँकुण्डसम्म केबलकार स्थापना गर्न घ्याङफेदी–गोसाइँकुण्ड
केबलकार कम्पनी प्रालि, महाराजगन्जले प्रस्ताव अघि बढाएको थियो ।
समुद्री
सतहदेखि १ हजार ५ सय ७५ मिटरको दुप्चेश्वरदेखि ४ हजार ६ सय मिटर उचाइको
गोसाइँकुण्डसम्म स्थापना गरिने केबलकार १० किलोमिटर लामो हुनेछ । उक्त
दूरीमा २ देखि ३ वटा टर्मिनल र २५ वटा टावर राखिने कम्पनीले जनाएको छ ।
केबलकारको
प्रवेश हुने घ्याङफेदी निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ भने अन्तिम
विन्दु गोसाइँकुण्ड निकुञ्जको कोरक्षेत्रमा पर्छ । गोसाइँकुण्ड पदयात्रीको
मुख्य आकर्षणको केन्द्र हो । यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व
पनि छ ।
हरेक वर्षको
जनैपूर्णिमा र जेठमा मेला भर्न हजारौंको संख्यामा भक्तजन र पर्यटक
सिन्धुपाल्चोक, रसुवा र नुवाकोटको बाटो भएर गोसाइँकुण्ड पुग्छन् । हजारौंको
संख्यामा भित्रिने विदेशी र धार्मिक पर्यटकलाई लक्षित गरी केबलकार स्थापना
गर्न लागिएको हो ।
उक्त
कम्पनीले केबलकार स्थापना गर्ने प्रस्ताव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु
संरक्षण विभागमा पेस गरेको थियो । प्रस्तावअनुसार विभागले निकुञ्जसँग
केबलकारको संरचना रहने ‘फिल्डको अनुगमन तथा प्रि–फिजिबिलिटी प्रतिवेदन’
मागेको थियो ।
निकुञ्जका
प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले ‘मोटरबाटो निर्माण गर्दा
वन्यजन्तुको बासस्थानमा असर पर्ने भए पनि केबलकारले वातावरणमा कम असर
गर्नुका साथै चोरीसिकार नियन्त्रण र नियमनमा पनि कमी आउने’ राय विभागलाई
दिएका छन् । ‘केबलकार बन्यो भने दुर्लभ वन्यजन्तुको चोरीसिकार नियमन गर्न
पनि सजिलो हुन्छ,’ रेग्मीले कान्तिपुरलाई भने, ‘पर्यटकलाई गोसाइँकुण्ड
पुग्न पनि सजिलो हुन्छ ।’ केबलकार बन्ने क्षेत्र हाब्रे (रेडपान्डा), हिउँ
चितुवा, कस्तुरी र तुवा मृग, घोरललगायत वन्यजन्तुको मुख्य बासस्थान हो ।
निकुञ्जले
केबलकार निर्माण हुने क्षेत्रभित्र गोब्रे र ठिंग्रे सल्ला, खस्रु,
भोजपत्रलगायत प्रजातिका रूख र पाँचऔंले, लौठसल्ला तथा पाखनबेदजस्ता जडिबुटी
भएकाले संरचनाले पार्ने र पार्न सक्ने असर थाहा पाउन ईआईएको सहमति दिन
विभागलाई सुझाएको छ । प्रमुख रेग्मीका अनुसार केबलकारका संरचना केही
मध्यवर्ती र धेरैजसो निकुञ्जको कोरक्षेत्रमा पर्छ । ईआईए अध्ययन पूरा भएपछि
मात्र निर्माणकार्य अघि बढ्नेछ ।
लुक्ला–नाम्चे रोपवे बन्ने:
सगरमाथा
निकुञ्जको लुक्लादेखि नाम्चेबजारसम्म रोपवे निर्माणका लागि ईआईए प्रक्रिया
अघि बढाउन सकिने सुझाव निकुञ्ज कार्यालयले विभागलाई दिएको छ।सगरमाथा रोपवे
प्रालिले सामान ढुवानी गर्न लुक्लाबाट नाम्चेबजारसम्म रोपवे
निर्माणसम्बन्धी प्रस्ताव अघि बढाएको थियो।
निकुञ्जका
प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले रोपवे निर्माण गर्दा वनक्षेत्र र
वन्यजन्तुको बासस्थानमा प्रतिकूल असर नपर्ने स्पष्ट पारेका छन् । ‘कृषिजन्य
उत्पादनको बजारीकरण गर्न, खच्चडबाट हुने प्रदूषण रोक्न, हेलिकप्टरको
अनावश्यक अवतरण नियन्त्रण गर्न परियोजनाले सहयोग पुर्याउने देखिन्छ,’
भट्टराईले विभागलाई लेखेका छन्, ‘स्थानीयको समेत सहभागिता हुने भएकाले श्रम
सिर्जना भई आर्थिक तथा सामाजिक अवस्थामा अनुकूल प्रभाव हुने देखिन्छ ।’
परियोजनाले
वातावरण र जैविक विविधतामा भविष्यमा पर्न सक्ने प्रतिकूल प्रभावबारे
विस्तृत जानकारी दिने भएकाले पनि ईआईए अनुमति दिन निकुञ्जको सुझाव छ ।
पछिल्ला केही वर्षयता निकुञ्ज र संरक्षित क्षेत्रभित्र पनि विकास निर्माणले
गति लिएको छ ।
No comments:
Post a Comment