Sunday, May 13, 2018

होमियोप्याथीले रोगका कारणको उपचार गर्छ

http://www.abhiyan.com.np/2018/05/11/203190

होमियोप्याथीले रोगका कारणको उपचार गर्छ

होमियोप्याथीले रोगका कारणको उपचार गर्छ
डा. विष्णुभक्त कवां
होमियोप्याथिक चिकित्सा प्रणालीप्रति नेपालमा पनि आकर्षण बढ्न थालेको छ । सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक सामुयल हनिम्यानले प्रतिपादन गरेको यो उपचारपद्धतिमा ‘साइड इफेक्ट’ नहुने भएकाले प्रभावकारिता बढ्दै गएको हो । भारत हुँदै नेपाल भित्रिएको यो उपचारपद्धतिबारे खासगरी भारतीय मूलका नेपाली परिचित छन् ।
हामियोप्याथीमार्फत छालाको समस्या, ग्याष्ट्रिक, दम, एलर्जी, पाइल्स, पत्थरी, पिनासमा खराबी, बाथ, हातखुट्टा पोल्ने, झमझमाउने लगायत सबै प्रकारको स्वास्थ्य समस्याको उपचार गर्न सकिने डा. विष्णुभक्त कवां बताउँछन् । हेल्थ असिष्टेण्टको रूपमा अनुभव सँगालेर जर्मन होमियोप्याथी एशोसिएशनबाट पाँचवर्षे कोर्स पूरा गरेका डा. कवांले विहार युनिभर्सिटीबाट बीएचएमएस पनि गरेका छन् । नेपालको प्रतिनिधित्व गरेर होमियोप्याथीसम्बन्धी लिगा सम्मेलनमा पेपर प्रिजेण्टेशन गरिसकेका उनी होमियोप्याथीमा पनि क्लासिकल पद्धति अपनाउँछन् । होमियोप्याथीमा पोली पद्धतिअन्तर्गत उपचार गर्दा १ भन्दा बढी औषधि दिइन्छ भने क्लासिकलमा बिरामीको पूर्ण विवरण लिएर एउटै औषधिबाट उपचार गरिन्छ । प्रस्तुत छ, डा. कवांसँग होमियोप्याथी उपचार पद्धतिका सन्दर्भमा आर्थिक अभियानका पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश :
होमियोप्याथी भनेको के हो ?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एक सर्वेक्षणअनुसार एलोप्याथीपछिको दोस्रो चिकित्सा पद्धति होमियोप्याथी हो । रोगको गुणसँग मिल्ने उस्तै समान गुण भएको औषधि सेवन गरी रोग निको पार्ने पद्धति होमियोप्याथी हो । रोगका लक्षण तथा चिह्न र रोगीको गुणसँग मिल्ने उस्तै गुण भएको औषधि सेवन गराई रोगलाई मात्र नभई रोगीलाई नै पूर्णरूपमा उपचार गर्ने विधिलाई होमियोप्याथिक उपचार पद्धति भनिन्छ ।
रोगलाई नभई रोगीलाई कसरी उपचार गरिन्छ ?
होमियोप्याथीमा एलोप्याथीमा झैं रोगको नामअनुसार उपचार गरिँदैन । होमियोप्याथीमा रोगका लक्षणहरूको गुणअनुसार उपचार गरिन्छ । उदाहरणका लागि, एलोप्याथीमा दमको रोग भएका बिरामीलाई दम रोगको आधारमा औषधि सेवन गर्न लगाइन्छ । अर्थात् दमका सबै रोगीलाई श्वास फेर्न सजिलो बनाउने औषधि सेवन गर्न दिइन्छ । तर, होमियोप्याथीका अनुसार दम भएका सबै बिरामीमा उस्तै स्वभाव र लक्षण हुँदैन भन्ने सिद्धान्तले उपचार गरिन्छ ।
होमियोप्याथीका उपचार क्षेत्र के के हुन् ?
होमियोप्याथीको क्षेत्र व्यापक छ । सामान्य रोगदेखि जटिलभन्दा जटिल एवम् पुराना रोगको सरल रूपमा उपचार हुन्छ । दम, बाथ, मधुमेह, उच्च रक्तचाप, चर्मरोग, यौन रोग, मुसा, पत्थरी, ढाड दुख्ने, झाडापखाला, मेनेञ्जाइटिस, मस्तिष्क ज्वरो, छारेरोग, हैजा, प्लेग, निमोनिया, पिनास, टाउको दुखाइ, क्यान्सर, मर्काइ, पक्षाघात, मस्तिष्काघात आदिको उपचार हुन्छ । यसबाहेक मुटुको रोग, पाठेघरसम्बन्धी रोग एवम् मानसिक रोग पनि यस पद्धतिबाट सरल रूपमा उपचार हुन्छ ।
यसका मुख्य विशेषता के के हुन् ?
होमियोप्याथीले रोगको कारण पत्ता लगाएर त्यस कारणको उपचार खोज्छ । यसले एउटै मात्र औषधि सेवन गर्न दिन्छ । कम मात्राको औषधि सेवन गर्न दिन्छ । नराम्रा असर प्रायः शून्य हुन्छन् । रोगलाई होइन, रोगीलाई नै निको पार्दछ । कम खर्चिलो छ । औषधि सेवन गराउन सजिलो हुन्छ । अप्रेशन गर्न नपर्नेगरी उपचार हुन्छ । इञ्जेक्शन दिनु पर्दैन । रोगलाई दबाउने गरिँदैन । रोगको मूल कारण निर्मूल गर्न खोज्छ ।
विश्व बजारमा यो उपचारपद्धतिको अवस्था कस्तो छ ?
अमेरिकामा होमियोप्याथिक औषधिको प्रयोग ५ सय प्रतिशत बढेको छ । यूरोपका ४० देशमा फैलिएको छ यो उपचारपद्धति । २९ प्रतिशत यूरोपियनहरू होमियोप्याथिक औषधिको प्रयोग गर्छन् । ब्रिटिश मेडिकल जर्नलका अनुसार ४२ प्रतिशत ब्रिटिश चिकित्सकद्वारा बिरामीलाई हामियोप्याथिक चिकित्सककहाँ रेफर गर्ने गरिएको र बेलायतमा होमियोप्याथिक औषधिको व्यापार प्रत्येक वर्ष २० प्रतिशत वृद्धि भइरहेको छ । फ्रान्समा भएको सर्वेअनुसार करीब ४० प्रतिशत फ्रान्सेली नागरिक होमियोप्याथिक उपचार सेवा लिन्छन् ।
८० भन्दा बढी देशमा प्रयोग र वैधानिक मान्यता प्राप्त गरेको छ । यो उपचारपद्धतिको प्रयोग हुनेमा भारत अग्रस्थानमा छ । भारतमा ५ दर्जन विश्वविद्यालयमा होमियोप्याथीको अध्यापन हुन्छ । होमियोप्याथीका आधिकारिक चिकित्सक करीब ३ लाख छन् ।
भारतमा कुल जनसङ्ख्याको १० प्रतिशतले होमियोप्याथिक औषधि मात्र प्रयोग गर्छन् । यसैगरी पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमा छुट्टै होमियोप्याथिक काउन्सिल छ । पछिल्लो समय अरब देशहरू, उत्तर अफ्रिका, जापान, कोरिया, मलेशिया, थाइल्याण्ड र चीनमा पनि यो उपचारपद्धतिको लोकप्रियता बढ्दै गएको छ ।
नेपालमा होमियोप्याथी उपचारपद्धतिको अवस्था कस्तो छ ?
होमियोप्याथिक उपचारपद्धति नेपालमा १९७० सालतिरै (जुद्धशमशेर राणाको पाला)मा भित्रिएको हो । २००४ सालमा ज्ञानेन्द्र मोहन मेमोरियल डिस्पेन्सरी स्थापना भएसँगै नेपालमा औपचारिक रूपमा होमियोप्याथी उपचारविधि शुरू भएको मानिन्छ । करीब ७ दशकअगाडि नै नेपालमा भित्रिएको यो उपचारपद्धतिको विकासका लागि छुट्टै होमियोप्याथी काउन्सिलको आवश्यकता छ ।
अहिले नेपालमा २ सय ५० दक्ष चिकित्सक छन् । करीब २ हजार होमियोप्याथिक चिकित्साकर्मी छन् । होमियोप्याथी र आयुर्वेद एउटै हो भन्ने भ्रमले यो उपचारपद्धतिको विस्तारमा समस्या भइरहेको छ । गौशालामा पशुपति होमियोप्याथी अस्पताल छ । विराटनगरमा बीएचएमएस कलेज बन्द अवस्थामा छ भने भक्तपुरको नागपोखरीमा एचएचए पढाइ भइरहेको छ ।
यो उपचारपद्धति अपनाउँदा तुरुन्त निको हुँदैन हो ?
हो । यो पद्धतिबाट उपचार गर्दा एलोपेथीमा जस्तो तुरुन्त निको भएको महसूस हुँदैन । रोगलाई दबाउने नभई रोगीको उपचार गर्ने र रोगको मूल जरा पत्ता लगाई कारणको निराकरण गर्ने भएकाले निको हुन स्वाभाविक रूपमा समय लाग्छ । तर, यस विधिबाट हुने उपचार दिगो हुन्छ । होमियोप्याथीको औषधिले मानिसलाई विस्तारै भोक, निद्रा, प्यास लाग्न थाल्छ । जीवन सहज अनुभव हुन थाल्छ । रिस कम उठ्न थाल्छ । अरूप्रति रिसराग हुँदैन । यसरी नै बिरामीमा सकारात्मक लक्षण देखा पर्दै जान्छन् ।
होमियोप्याथीको औषधि कसरी तयार हुन्छ त ?
होमियोप्याथी, एलोप्याथी वा आयुर्वेद, सबैको औषधिको प्रमुख स्रोत एउटै हो । वनस्पति, प्राणी र खनिज नै सबै उपचार पद्धतिका स्रोत हुन् । यो स्रोतको प्रशोधन र उपयोग गर्ने आधारमा औषधि बन्ने हो । होमियोप्याथीले यी स्रोतलाई शक्तिमा रूपान्तरण गरेर औषधि बनाउने गर्दछ । होमियोप्याथीमा औषधिको प्रयोग अत्यन्त सूक्ष्मरूपमा गरिन्छ । यी चिकित्सा विधिहरूमा वनस्पति, खनिज पदार्थ, पशुहरू तथा रोगजन्य विषबाट तयार गरिएका औषधि प्रयोगमा ल्याइन्छ । होमियोप्याथीमा प्रयोग हुने औषधिको परीक्षण स्वस्थ व्यक्तिहरूमा गरिन्छ । यसको औषधिको कुनै प्रकारको साइड इफेक्ट हुँदैन ।
होमियोप्याथीको औषधिको मात्रा पनि बिरामीको प्रकृति हेरेर दिइन्छ । बिरामी कुन चरणको छ, रोग कति पुरानो हो, त्यसमा नै औषधिको मात्रा निर्भर रहन्छ । उसलाई शरीर र दिमागको विचार गरेर औषधि दिइन्छ । यसको औषधि साना आकारका सेता गोली हुन्छन् र सानो बट्टामा बिरामीलाई दिइन्छ । एकपटकमा तीन–चारओटा गोली दुई–तीन महीना सेवन गरेपछि रोग निको हुन्छ । औषधिको मात्रा बीच बीचमा छुट्यो भनेर चिन्ता लिनुपर्ने अवस्था पनि हुँदैन ।
यो पद्धतिमा औषधिको मात्रा किन थोरै हुन्छ ?
होमियोप्याथीको अर्को प्रमुख सिद्धान्त थोरै मात्राको औषधि सेवन गराउनु हो । विभिन्न प्रक्रिया अपनाएर औषधिको न्यूनतम मात्रा बिरामीलाई सेवन गराइन्छ । यसरी औषधिलाई न्यूनतम मात्रा बनाउने तरीकालाई सशक्तीकरण भनिन्छ । सशक्तीकरण विधिअनुसार औषधि तयार गर्दा त्यस औषधिले नराम्रा असर हुन दिँदैन । होमियोप्याथी यस्तो उपचार पद्धति हो, जसमा निकै कम औषधिको प्रयोगपश्चात् शरीरभित्रै रहेको स्वउपचार प्रक्रियालाई क्रियाशील बनाइन्छ र रोगबाट मुक्तिको प्रयास गरिन्छ । रोगीलाई कुनै प्रकारको शारीरिक एवम् मानसिक कष्ट नदिईकन प्राकृतिक रूपले रोगबाट मुक्त गरी उसलाई स्वस्थ बनाइन्छ ।
जे रोग लागे पनि एउटै औषधि दिइन्छ भन्ने जनगुनासो छ नि ?
होमियोप्याथीमा सबै औषधि उस्तै हुन्छन् । होमियोप्याथिक औषधिहरूको एउटै किसिमको आकार प्रकार देखेर यो भ्रम उत्पन्न भएको हो । कुनै पनि रोगका लागि एकै प्रकारको (सेतो दाना) औषधिको रूपमा सबै रोगीलाई दिइन्छ । तर, वास्तवमा दाना (ग्लोबुल्स) स्वयम्मा कुनै औषधि होइन । यो त रोगीको शरीरमा औषधि पुर्‍याउने एउटा माध्यम मात्र हो । होमियोप्याथीमा तयार भएका औषधि (लिक्विड) डाइल्युशन सबै एकैनासको देखिन्छ । तर, यी औषधिको काम भने अलग अलग हुन्छन् । भौतिक रूपमा समान देखिए तापनि त्यस औषधिको प्रभाव उस्तै हुँदैन ।


No comments:

Post a Comment