Thursday, May 24, 2018

काठमाडौंमा ४ रुटमा यात्रु ओसार्न केबलकार, बौद्धनाथ-कालिमाटी खण्डमा तत्कालै !

https://www.onlinekhabar.com/2018/05/681314

काठमाडौंमा ४ रुटमा यात्रु ओसार्न केबलकार, बौद्धनाथ-कालिमाटी खण्डमा तत्कालै !

अनलाइनखबर


१० जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालनका लागि गृहकार्य थालेको छ । निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ ।
भर्खरै सकिएको विस्तृत सम्भाब्यता अध्धयनले काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखाएको छ । १५ अर्ब लगानी गर्दा काठमाडौं उपत्याकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन गर्न सकिने अध्ययन रिपोर्टले देखाएको हो ।
  प्रतिवेदनमा कालिमाटीबाट बसन्तपुर-रत्नपार्क-डिल्लीबजार-भन्डारखाल-चाबहिल हुँदै बौद्धनाथ पुग्न पहिलो केबलबार रुट प्रस्ताव गरिएको छ । यो ७ किलोमिटरको रुटमा ७ वटा स्टेशन राख्नुपर्ने उल्लेख छ । यसलाई तत्कालै पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने योजना छ ।
गोंगबुबाट बालाजु-सोह्रखुट्टे-कालिमाटी-बल्खु-त्रिभुवन विश्वविद्यालयसम्म पनि चलाउन सकिने भन्दै प्रस्ताव गरिएको छ ।
यस्तै कलंकीबाट टेकु-थापाथली हुँदै रत्नपार्कसम्म पनि केबलकार चलाउन सकिने अध्ययनले ठहर गरेको छ । लगनखेलबाट पुल्चोक-थापाथली-रत्नपार्कसम्मको रुटमा पनि केबलबार चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदनमा एउटा स्टेशनबाट केबलकार चढेपनि जुन ठाउँमा ओर्लिए पनि ४० रुपैयाँ भाडा लिने उल्लेख छ ।
मेट्रो तथा मोनो रेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउँदै गर्दा यही प्रतिवेदनलाई आधार बनाएर केबलकार सञ्चालनबारे पनि सरकारी स्तरमा छलफल सुरु भएको हो । सडकमा सवारी चाप घटाउन केबलकारको प्रयोग महत्वपूर्ण र वैज्ञानिक हुने ठहर प्रतिवेदनमा गरिएको छ ।
फ्रान्स सरकारको सहयोगमा तयार भएको सम्भाव्यता अध्ययन प्रतिवेदन फान्सेली कम्पनीहरु एमडिपी, पोमा र स्याष्ट्रासहित पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनले पाँच वर्ष लगाएर तयार गरेका हुन् । फ्रान्सेली कम्पनीहरु केबलकार निर्माण, व्यवस्थापन र सञ्चालनका मामिलामा अनुभवी हुन् ।
पोमाले ८० वटा देशमा ८ हजार केलबबार जडान गरिसकेको कम्पनी हो ।
फ्रान्स सरकारले तीन करोड ४० लाख खर्चिएर तयार पारेको प्रतिवेदन अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ । नेपालका लागि फ्रान्सका राजदूत ईभ कार्मोनाले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हस्तान्तरण गरेका थिए ।
प्रतिवेदन बुझ्दै मन्त्री महासेठले सरकारले केही साताभित्र प्रतिवेदनमाथि आवश्यक अध्ययन गरेर उचित निर्णय लिने बताएका छन् । उनले यो प्रतिवेदनबारे लगानी बोर्डसँग पनि छलफल गर्ने बताए ।
काठमाडौंमा मुस्किल बनेको ट्राफिक व्यवस्थापनलाई हेर्दा यो सबैभन्दा वैज्ञानिक विकल्प हुने मन्त्रालयका अधिकारी पनि बताउँछन् । ऊर्जा संकट नरहेकाले वातावरणीय प्रदुषण कम गर्ने सवालमा पनि केबलकार सञ्चालन गर्नु निकै महत्वपूर्ण हुने विश्वास सरकारको छ ।
केबलकार निर्माणका लागि स्टेशनहरु बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ । यो आयोजनालाई सार्वजनिक निजी साझेदारीको मोडलमा बनाउन सकिने प्रस्ताव पञ्चकन्या र कालिका कन्स्ट्रक्सनसहित फ्रान्सेली कम्पनीले गरेका छन् ।
अब यो परियोजनालाई लगानी बोर्डमार्फत अघि बढाउने तयारी छ ।
२०७५ जेठ १० गते १५:२० मा प्रकाशित

No comments:

Post a Comment