Monday, September 6, 2010

खाना पकाउने ग्यास ==गुणराज भट्ट

खाना पकाउने ग्यासका कारण नेपालमा धेरै मानिसको मृत्यु भइसकेको छ । २०६६ सालमा मात्रै नौजनाको मृत्यु भयो । यसपालि पनि तीनजनाको मृत्यु भयो । संविधानसभाका निर्वाचित सदस्य रामकुमारी यादवको दुःखद निधनले फेरि एकपटक नेपालका सम्पूर्ण सञ्चारमाध्यम ताते । ग्यास चुहिएर यादवको मृत्यु भएको थियो । ढिलै भए पनि ग्यास उद्योगहरूले सुरक्षामा ध्यान नदिएको बारे यसपालि धेरै हल्लीखल्ली भयो । अकालमा कसैको पनि ज्यान जानु हुँदैन ।

दाउरा र मट्टतिेललाई विस्थापित गरेर खाना पकाउने इन्धनको रूपमा ग्यास संसारभरि स्थापित छ । अघिल्ला दुई इन्धनको तुलनामा ग्यास अति सजिलो माध्यम हो । ग्यास जति सजिलो छ, त्यत्तिकै खतरनाक पनि छ । ग्यासका राता सिलिन्डर बम पडकिए झैँ उपभोक्ताका भान्सामा पड्कन्छन्, यदि होस पुर्‍याइएन भने ।

पृथ्वीको गर्भमा रहेको कच्चा तेल प्रशोधन गरेर पेट्रोल, डिजेल, मट्टतिेल र हवाई इन्धन निकालिन्छ । खनिज इन्धन सफा गर्ने क्रममा निस्कने ग्यासलाई अंग्रेजी भाषामा 'लिक्विफाइड पेट्रोलियम ग्यास' भनिन्छ । यसलाई छोटकरीमा एल.पि.ग्याँस भन्ने गरिएको छ । नेपालीमा एल.पि. ग्यासलाई तरलीकृत पेट्रोलियम ग्यास भनिन्छ । रिफाइनरीबाट निस्किएको ग्यासलाई विशेष प्रविधिले चिसो पारी तरल बनाई चापको प्रयोगद्वारा रिफाइनरीको परिसरमा राखिएका ठूला ठूला भकारीमा भण्डार गरिन्छ । यसरी भण्डार गरिएको ग्यास गाडीमा जडान गरिएका टयाङ्कीबाट ढुवानी गरी ग्याँस भर्ने उद्योगमा रहेका सतही टयाङ्कीमा जम्मा गरिन्छ । ग्यास भर्ने उद्योगहरूले राता सिलिन्डरमा १४.२ किलोग्राम ग्यास भरेर ग्यास उद्योगका डिलरकहाँ पठाउँछन् । ग्यास डिलरबाट उपभोक्ताले किनेर आˆना भान्सामा पुर्‍याउँछन् ।

खाना पकाउने ग्यास अति प्रज्वलनशील पदार्थ हो । असाध्यै सजिलोसँग यो ग्यास बल्छ । अत्यन्तै खतरायुक्त छ । त्यसैले एल.पि.ग्यास भर्ने साना सिलिन्डरमा रातो रङ्ग लगाई खतराको सङ्केत गरिएको हो ।

नेपालमा एल.पि.ग्यास उत्पादन हुँदैन । नेपालका लागि ग्यासको स्रोत भारत हो । भारतका विभिन्न राज्यमा भएका रिफाइनरीबाट हामी ग्यास आयात गर्छौँ । बिहारको बरौनी रिफाइनरीबाट अधिकांश ग्यास आयात गरिन्छ । ग्याससँग सम्बन्धित पक्ष धेरै छन् । रिफाइनरी, नेपाल आयल निगम, ग्यास भर्ने उद्योग, डिलर, ग्यास ट्याङ्की ड्राइभर अनि हामी उपभोक्ता । उपभोक्ताका भान्सामा ग्यास पुग्नु अगाडिका सबै पक्षले खलनायकको भूमिका निर्वाह गरेको पाइन्छ । त्यसैले ग्यासबाट खाना पकाउने नेपाली उपभोक्ताले राहतभन्दा बढी आहत पाइरहेका छन् ।

खाना पकाउने ग्यास कति परिमाणमा आयात गर्ने, कसरी र कसले गर्ने भन्ने जिम्मेवारी नेपाल सरकारले नेपाल आयत निगम भन्ने सरकारी संस्थालाई दिएको छ । नेपाल आयल निगम उपभोक्तामुखी छैन । पेट्रोलियम पदार्थ आयात र वितरण गर्ने कामको जिम्मा निजीक्षेत्रलाई दिने हल्ला सरकारले पिटाएको धेरै वर्ष भए पनि निजी क्षेत्रलाई दिइएको छैन । पेट्रोलियम पदार्थ आयात गरी वितरण गर्ने काम पूर्णरूपमा निजीकरण नभएसम्म उपभोक्ताले यथार्थमा राहत पाउँदैनन् ।

नेपाल आयल निगमले ग्यासको कोटा वितरण गरेर आˆनो जिम्मेवारी समाप्त भएको ठानिरहेको छ । अन्य उपभोग्य वस्तु वितरण गर्ने थोक बिक्रेताले कमिसन खाए झैँ नेपाल आयल निगमले पनि कमिसन खाएपछि आˆनो दायित्व बाँकी नरहेको सम्भिmएको छ । उपभोक्ताको हित तथा सुरक्षामा निगमको ध्यान गएको देखिँदैन ।

कहिले निगमका कर्मचारीले ग्यास उद्योगीसँग मिलेर र कहिले ग्यास ट्याङ्की ड्राइभरसँग मिलेर ग्यासको अभाव सिर्जना गर्छन् । कहिले उद्योग, कहिले डिलर र कहिले ड्राइभरले छुट्टाछुट्टै अनेक माग राखेर हडताल गर्छन् । भारतमा ५०० रुपियाँमा बिक्री भइरहेको खाना पकाउने एल.पि. ग्यास नेपालमा एक हजार २५० मा बिक्री गर्दा पनि नेपाल आयल निगम ३०० रुपियाँ अझै घाटा छ भनिरहन्छ । आपूर्ति सचिव अध्यक्ष भएको सरकारी निकायले नेपाली उपभोक्तालाई गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराएको छैन । उसले निर्धारण गर्ने ग्यासको मूल्यमा पारदर्शिता पनि छैन । निगम निकै ठूलो घाटामा छ तर निगमले 'बोनस' ख्वाउने निर्णय गर्छ ।

ग्यास भर्ने उद्योगमा खाना पकाउने ग्याससँग सम्बन्धित पूर्वाधार नै नभएका उद्योगलाई नेपाल आयल निगमले उद्योग सञ्चालन गर्ने अनुमति दिएको छ । सञ्चारमाध्यमले नौवटा उद्योगमा प्रेसर जाँच गर्ने प्रविधि नभएको प्रसार गरेको तीतो सत्यले पनि नेपाल आयल निगम उपभोक्तामैत्री नभएको प्रमाणित हुन्छ ।

संसद्ले पाँचौँ पटकसम्म प्रधानमन्त्री चुन्न नसकेकाले दुई महिनासम्म कामचलाउ सरकारले काम गर्न बाध्य हुनुपरेको र अझै कति समयसम्म कामचलाउ सरकार रहिरहने हो, एकिन गर्न सकिँदैन । यस्तो जटिल परिस्थितिमा स्थायी सरकार भनिने कर्मचारी प्रशासन सामान्य अवस्थाभन्दा बढी प्रभावकारी हुनुपर्नेमा प्रभावहीन देखिएको छ । बजारमा नेपाल आयल निगमले स्वीकृति नदिएका साना आकारका सिलिन्डर छ्यापछ्याप्ती भेटिएका छन् । कसले भरेर यस्ता ग्यास सिलिन्डर बजारमा आए ? ग्यास जस्तो संवेदनशील पदार्थ अनधिकृतरूपमा खुला बिक्री हुँदा पनि सरकारी निकाय मौन हुनुलाई के भन्ने ? बजारमा करिब एक लाख साना आकारका सिलिन्डर छन् भनिन्छ । यस्ता सिलिन्डर कसले बनायो, कहाँबाट

आए ? सम्बन्धित निकायलाई उपभोक्ताको सुरक्षाको चासो छैन ? कम गुणस्तरको 'भल्ब' बजारमा छापा मारिएको खबर पनि आएको छ । खाना पकाउने ग्यास सिलिन्डरमा सबैभन्दा महत्त्वपूर्ण अङ्ग 'भल्ब' हो ।

"ग्यास उद्योगलाई कारबाही गर्न ऐन, कानुनको अभाव छ"- एकजना जिम्मेवार सरकारी अधिकारीले भने भन्ने खबर पनि सञ्चारमाध्यमले प्रचार गरेका छन् । सम्पूर्ण उपभोक्तालाई जानकारी रहोस् कि अवैध काम गर्ने ग्यास उद्योगहरूलाई कारबाही गर्न कानुनको अभाव छैन, बरू नियमन निकायको प्रतिबद्धता, इमानदारी, संवेदनशीलता, लगनशीलता, निरन्तरताको खाँचो छ । "स्टान्डर्ड नाप र तौल ऐन- २०२५", "नेपाल गुणस्तर

-प्रमाण चिहृन) ऐन- २०३७", "उपभोक्ता संरक्षण ऐन- २०५४", "प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन- २०६३", खाना पकाउने ग्यास सिलिन्डरको आचारसंहिता" जस्ता कानुनको सही कार्यान्वयन हुनसके उपभोक्ताको हित अवश्यम्भावी छ ।

संसारको सबैभन्दा महँगो ग्यास किनेर पनि अकालमा ज्यान गुमाउनुपर्ने, तोकिएकोभन्दा कम तौलको ग्यास किन्न बाध्य हुनुपर्ने, तोकिएका आवश्यक सुरक्षाजाँच नगरिएका ग्यास सिलिन्डर भान्सामा राखी सधैँ त्रासमा खाना पकाउनुपर्ने जटिल परिस्थितिमा रहेका उपभोक्ताले निम्न कुरामा ध्यान दिनसके ज्यूज्यान र सम्पत्तिको रक्षा होला कि ?

१) नेपालमा १४ किलोग्राम २०० ग्राम खाना पकाउने एल.पि. ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध छन् । अधिकांश सिलिन्डरमा १४.२ किलो ग्यास भरिएको पाइँदैन । ग्यास कम हुन्छ । बिक्रेताले ग्यास तौलेर बेच्नुपर्छ तथा उपभोक्ताले तौलेर किन्नुपर्दछ । बिक्रेताले अनिवार्यरूपमा तौलने मेसिन राख्नुपर्छ ।

२) पानी नचुहिने ठाउँबाट पनि ग्यास चुहिन्छ । तसर्थ ग्यास सिलिन्डरमा ग्यास चुहिने ठाउँ भनेको 'भल्ब'बाटै हो । गुणस्तरीय 'भल्ब' प्रयोग गर्नुपर्छ ।

३) बजारमा पठाइने प्रत्येक ग्यास सिलिन्डरमा हाइड्रोस्टाटिक परीक्षण २/२ वर्षमा गर्नुपर्छ । परीक्षण गरिएको मिति स्पष्टरूपमा सिलिन्डरमा लेखिनुपर्दछ । आगामी जाँच मिति पनि उल्लेख गर्नुपर्छ ।

४) ग्यास सिलिन्डर प्रयोग गर्दै जाँदा खिइन्छ । खिइएपछि तौल पनि घट्छ र सिलिन्डर विस्फोट हुने खतरा हुन्छ । यस्ता सिलिन्टरमा उद्योगले ग्यास भर्नुहुँदैन । उपभोक्ताले खाली सिलिन्डर तौलेर हेरेमा खतरायुक्त सिलिन्डरबारे जानकारी हुन्छ । यस्ता सिलिन्डरलाई कबाडी -स्क्राप) बनाएर ˆयाँक्नुपर्छ ।

५) ग्यास सिलिन्डर अग्लो ठाउँमा र चुल्हो होचो ठाउँमा राख्नुहुँदैन । अग्लोमा चुल्हो र होचोमा ग्यास सिलिन्डर राख्नुपर्छ ।

६) ग्यास प्रयोग गरिसकेपछि चुल्हो र सिलिन्डर दुवै ठाउँमा बन्द गर्नुपर्छ ।

७) पहिले सलाई बाल्ने अनि मात्र चुल्हो खोल्नुपर्छ ।

८) ग्यास बाल्ने कोठा अर्थात् भान्सा कोठाको सबै झ्याल खोली प्रशस्त मात्रामा हावा आउने गराउनुपर्छ ।

९) ग्यास चुहिएको अवस्थामा सलाई, लाइटर, बिजुली बत्तीको स्वीच बाल्नुहुँदैन । तुरून्तै चुहिने ग्यास सिलिन्डरलाई घरबाहिर खुला ठाउँमा राखेर सम्बन्धित प्राविधिकसँग सम्पर्क गर्नुपर्छ ।

१०) अटोमेटिक ग्यास चुल्होबाट चुरोट, मैनबत्ती बाल्नुहुँदैन ।

११) ग्यास ढुवानी गर्दा सिलिन्डर घोप्ट्याएर, गुडाएर ल्याउनुहुँदैन ।

१२) ग्यास भरिएको सिलिन्डर घाम वा सजिलैसँग आगो लाग्ने वस्तुहरूको नजिक राख्नुहुँदैन ।

१३) भान्सामा काम गर्ने व्यक्तिले सुतीको कपडा मात्र लाउनुपर्छ । नाइलनको कपडा लगाएर कहिल्यै पनि ग्यास बाल्नुहुँदैन ।

१४) ग्यासलाई तरल पारी सिलिन्डरमा राखिने हुनाले सिलिन्डरभित्र फोहरको लेदो जम्दै जान्छ फोहरका कारण खाली सिलिन्डरको तौल बढ्दै गई उपभोक्ताले १४.२ किलोग्राम ग्यास पाउँदैनन् । तसर्थ ग्यास भर्ने उद्योगले प्रत्येकपटक ग्यास भर्नु अगाडि खाली सिलिन्डरको तौल अनिवार्य रूपमा जाँच गर्नुपर्छ । सिलिन्डरको तौल बढेमा 'भल्ब' खोली सिलिन्डर सफा गरेर मात्र ग्यास भर्नुपर्दछ । उपभोक्ताले आफूले ग्यास प्रयोग गरी खाली भएको सिलिन्डर तौलेर हेरेको खण्डमा सिलिन्डरभित्र फोहरको लेदो भए नभएको थाहा पाइन्छ । ठगिनबाट बच्न उपभोक्ता चनाखो हुनुपर्छ ।

१५) ग्यास भरिएको सिलिन्डरलाई चिसो, सुखा र राम्ररी हावा वहने कोठामा राख्नुपर्छ ।

१६) ग्यास चुल्होमा जोड्ने 'होज पाइप' एक मिटर ५० सेन्टिमिटर भन्दा लामो हुनुहुँदैन । योभन्दा लामो पाइप चाहिएमा 'सी ग्रेड'को 'एम एस ट्युब' प्रयोग गर्नुपर्छ ।

१७) खाना पकाउँदा ग्यास सिलिन्डर हल्लाएर, सुताएर, घोप्टो पारेर वा ढल्काएर कहिल्यै बाल्नुहुँदैन ।

१८) ग्यास चुहिएको शङ्का लागेमा चुहिएको ठाउँमा साबुन पानीको घोल हालेर जाँच गर्नुपर्छ ।

१९) ग्यास चुल्हो प्रयोग गर्ने उपभोक्ताको ज्यूज्यान वा सम्पत्तिको नोक्सानी ग्यासको चुहावटबाट हुन गएमा प्रत्येक उपभोक्तालाई क्षतिपूर्ति दिलाउन बीमाको व्यवस्था गर्ने दायित्व सरकारको हो । उपभोक्ताको बीमा नगराउने उद्योगको अनुमतिपत्र खारेज गरिनुपर्दछ ।

२०) प्रत्येक ग्यास प्रयोगकर्ताले तौल वा अन्य कुनै प्रकारको नोक्सानी भएमा सम्बन्धित निकायमा उजुरी गरी क्षतिपूर्तिको दाबी गर्नुपर्छ । उपभोक्ता जागरूक नभएमा उपभोक्ताको हित सम्भव छैन ।

No comments:

Post a Comment