Monday, September 6, 2010

कम्युनिस्ट आन्दोलन विगत, वर्तमान र भविष्य

गिरिराज भण्डारी


यतिबेला नेपाली कम्युनिस्ट आन्दोलन उग्रवामपन्थी तथा दक्षिणपन्थी अवसरवादविरूद्ध सङ्घर्ष गर्दै व्यापक र विस्तारित बन्ने क्रममा छ । इतिहासका विभिन्न कालखण्डमा दक्षिणपन्थ तथा उग्रवामपन्थ हाबी हुँदै अगाडि बढ्ने क्रममा हाल मूलतः उग्रवामपन्थ नै कम्युनिस्ट आन्दोलनमा हाबी भएको छ । यद्यपि यसमा समयानुकूल सुधार, रूपान्तरण र वैचारिक पुनर्गठनका शृङ्खला पनि विकसित भइरहेका छन् । देशको करिब दुई तिहाइ जनमत तथा वर्तमान संविधानसभामा ६३ प्रतिशत उपस्थितिले कम्युनिस्ट आन्दोलन विगतको तुलनामा अभूतपूर्व रूपले विकसित भएको स्पष्ट सङ्केत गर्दछ ।

बेरोजगारीको अन्त्य, जीविकाको ग्यारेन्टी, समतामूलक सुन्दर समुन्नत समाजको नारा र आकर्षणले नै लाखौं गरिब तथा दुःखी जनता कम्युनिस्ट आन्दोलनप्रति आकषिर्त हुँदै आएका हुन् । २००० सालपछिको पहिलो र दोस्रो दसक नेपालमा कम्युनिस्ट आन्दोलनको सूत्रपात, विकास र विस्तारको कालखण्ड थियो । दोस्रो दसकबाट अगाडि बढ्दा कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवाद तथा कतिपय सैद्धान्तिक विवाद र व्यक्तित्व तथा नेतृत्वको टकरावले कम्युनिस्ट आन्दोलन क्रमशः फुट, विभाजन र छिन्नभिन्न बन्न पुग्यो । ३० को दशकबाट पुनः यो आन्दोलन पुनर्गठन, एकीकरण र ध्रुवीकरणको बाटोबाट अगाडि बढ्यो । चालीसदेखि पचासको दशकसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलन देशको प्रमुख दोस्रो राजनीतिक शक्ति र क्रान्तिकारी विकल्पको रूपमा विकसित भइसकेको थियो ।

कम्युनिस्ट आन्दोलन विगतमा मूलतः तीनवटा विचार प्रणालीबाट दीक्षित बन्दै अगाडि आएको छ । पहिलो हो कमरेड पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल र मदन भण्डारीद्वारा विकसित विचार प्रणाली । जसको प्रतिनिधित्व हाल नेकपा -एमाले)ले गरिरहेको छ । दोस्रो हो राजावादी रूझान राख्ने दक्षिणपन्थी कम्युनिस्ट विचार प्रणाली, जसको नेतृत्व केशरजङ्ग रायमाझी मार्काका नेताहरूले गर्दै आए । तेस्रो हो मोहनविक्रम सिंहले नेतृत्व गरेको केन्द्रीय न्युक्लेस, चौथौ महाधिवेशन र मसाल हुँदै विकसित भएको र त्यसैको एउटा हाँगाबाट माओवादको रूपमा विकास भएको कम्युनिस्ट विचार प्रणाली । जसको नेतृत्व हाल माओवादीले गरिरहेको छ । यद्यपि यसबाहेक अन्य ससाना धार पनि छन् तर त्यसको प्रभाव नगण्य रूपमा रहेको छ ।

यसमध्ये रायमाझी मार्काको धार मरणासन्न अवस्थामा छ भने अन्य ससाना धारले अस्तित्वसमेत बचाउन मुस्किल परिरहेको अवस्था छ । यथार्थमा हाल नेकपा -एमाले) र माओवादी नै कम्युनिस्ट आन्दोलनका मूलतः दुई सशक्त धारका रूपमा विकसित भएका छन् ।

यी दुवै धारको उदय हतियार बन्द सङ्घर्ष र क्रान्तिको पृष्ठभूमिबाट विकसित भएको हो । तेस्रो महाधिवेशनपछि छिन्नभिन्न बन्न पुगेको कम्युनिस्ट आन्दोलनको नैराश्यपूर्ण अवस्थामा चारू मजुमदारको उग्रवामपन्थी लाइनको प्रभावमा २०२८ सालमा झापा विद्रोहको सूत्रपात भएको थियो । एक स्क्वाड, एक एरिया, एक युनिट र एक एक्सनको प्रस्थान बिन्दुबाट यस विद्रोहको थालनी भएको थियो । वर्गशत्रु खतम गर्ने, सामन्तहरूको सफाया, जाली तमसुक च्यात्ने, सामन्तहरूका भकारी फोर्ने अभियानका रूपमा यसको उठान भएको थियो । विस्तारै यस विद्रोहले देशभरि नै एउटा सनसनीपूर्ण तरङ्ग उत्पन्न गर्न सफल भयो । पञ्चायती प्रतिक्रियावादीहरूले उक्त विद्रोहका पाँचजना योद्धाहरूलाई २०२९ सालमा झापाको सुखानी जङ्गलमा गोली ठोकेर ठहरै मारेपछि यस घटनाले देशभरि नै सनसनी फैलियो । फुट र विभाजनबाट निराश बनेका कम्युनिस्टहरूमा यसले नयाँ रक्तसञ्चारको काम गर्दै आशाका किरण छर्ने काम गर्‍यो । फलतः विभिन्न गुट, उपगुट र समूहहरूमा छरिएर रहेका दर्जनांै कम्युनिस्ट समूहहरूलाई समेट्दै २०३२ सालमा अखिल नेपाल क्रान्तिकारीको अर्को नेसन केन्द्र -माले) को स्थापना भयो । यसले विभिन्न साना ठूला करिब दर्जन जति समूहहरूलाई समेट्दै २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी -माले) को गठन गर्‍यो । यसमा प्रारम्भिक अवस्थामा गम्भीर खालका उग्रवामपन्थी चिन्तन र भडकाउ रहे तापनि कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न अवस्थाबाट पुनर्गठन र एकीकरण गर्दै आˆनो सङ्गठनलाई देशव्यापी बनाउन र प्रवासमा समेत विस्तारित गर्न ठूलो सफलता प्राप्त गर्‍यो । २०४० सालबाट यस समूहले आˆना कमी कमजोरी सच्याउँदै अगाडि बढ्ने क्रममा सशस्त्र र हिंसात्मक सङ्घर्षको बाटो छाडेर शान्तिपूर्ण जनसङ्घर्षको बाटो अपनाउनुपर्ने निष्कर्ष निकाल्यो । उक्त जनसङ्घर्षलाई अगाडि बढाउनका र जनतालाई गोलबन्द गर्नका लागि विभिन्न जनवर्गीय तथा पेसागत सङ्गठन निर्माण गर्दै सङ्गठन सञ्जाललाई राष्ट्रव्यापी बनाउन उक्त समूह सफल रहृयो ।

सोभियत सङ्घ र पूर्वी युरोपमा समाजवादमा धक्का लागेपछि विश्व कम्युनिस्ट आन्दोलन ओरालो लागिरहेको बेला यसले विगतका कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्दै कमजोरीहरूलाई सच्याएर यसलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढाउनुपर्ने निष्कर्ष निकाल्यो । फलतः २०४४ सालमा सम्पन्न यसको चौथो महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रारम्भिक खाका अगाडि सारे । उक्त महाधिवेशनले संयुक्त जनआन्दोलनको आवश्यकतामा जोड दिँदै वाम लोकतान्त्रिक शक्तिहरूको एकता र संयुक्त जनआन्दोलनमा अगाडि बढ्नुपर्ने निष्कर्ष पनि निकाल्यो । वामपन्थी शक्तिहरूको संयुक्त मोर्चा र नेपाली काङ्ग्रेससँग सहकार्य गर्दै निरङ्कुश पञ्चायतविरूद्धको सङ्घर्ष र संयुक्त आन्दोलन अगाडि बढाउन आवश्यक पूर्वाधार निर्माण गर्दै अगाडि बढ्ने निष्कर्ष पनि निकाल्यो । २०४६ सालको संयुक्त जनआन्दोलनको सूत्रपातको पृष्ठभूमि यही नै थियो ।

२०४६ सालको जनआन्दोलनको सफलतापछि माले र माक्र्सवादी समूहहरूबीच २०४७ सालमा एकीकरण भयो । तत्पश्चात् पनि यसले साना, ठूला समूहहरूलाई समेट्दै यसले आफूलाई कम्युनिस्ट आन्दोलनको मूलप्रवाह र क्रान्तिकारी विकल्प शक्तिको रूपमा उभ्याउन सफल भयो । २०४८ र २०४९ को आम र स्थानीय निर्वाचनमा यो देशकै दोस्रो ठूलो राजनीतिक दल बन्यो । २०५१ सालको मध्यावधि आमनिर्वाचनमा सबैभन्दा बढी सिट ल्याएर यसले ९ महिना एकल सरकारसमेत चलायो । तत्पश्चात् यो सत्ताका तीन प्रमुख शक्तिमध्ये एउटा महत्त्वपूर्ण शक्तिका रूपमा स्थापित भएको छ ।

छिन्नभिन्न कम्युनिस्ट धाराहरूबाटै केन्द्रीय न्युक्लेस, चौथो महाधिवेशन हँुदै मसाल समूहबाट अलग भएर २०५१ मा माओवादीको नामबाट अगाडि बढेको कम्युनिस्ट शक्ति हाल मुलुककै एउटा सशक्त कम्युनिस्ट शक्तिको रूपमा उदय भएको छ । १० वर्षसम्म सशस्त्र युद्ध गर्दै राज्यसत्तासाथ अगाडि बढेको यस समूहले ठूलो सशस्त्र सैन्यशक्तिको समेत विकास गर्‍यो । १० वर्षसम्म राज्यसँगको भीषण सङ्घर्षमा १७ हजार मानिसको ज्यान गयो । खरबौंको सम्पत्ति स्वाहा भयो । तत्पश्चात् यस समूहले शान्तिपूर्ण जनक्रान्तिको कार्यदिशा लियो । २०६२/६३ को शान्तिपूर्ण जनक्रान्ति र लोकतान्त्रिक गणतन्त्र स्थापनामा यस समूहको पनि अत्यन्त महत्त्वपूर्ण योगदान रहेको छ ।

कम्युनिस्ट आन्दोलनमा खासगरी एमाले र माओवादीबीचको आजको युगको चरित्र, क्रान्तिको मार्गदर्शक सिद्धान्त, क्रान्तिको कार्यक्रम, क्रान्तिको बाटो, संसदीय सङ्घर्षलाई हेर्ने दृष्टिकोण, राजनीतिक शक्तिहरूको वर्ग विश्लेषण, वैचारिक सङ्घर्ष र वर्ग सङ्घर्षबीचका भिन्नता, जनताबीचका व्यवहार आदि सैद्धान्तिक तथा व्यावहारिक विभिन्न पक्षमा गम्भीर खालका मतभिन्नता रहेका छन् । मुलुकको तरल र सङ्क्रमणकालीन अवस्थाले यसबारे पर्याप्त बहस छलफल हुन सकिरहेको छैन । आधारभूत र गम्भीर विषयमा व्यापक बहस छलफल गर्दै सही मान्यातालाई स्थापित गर्दै अगाडि बढ्न सके नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ।

कम्युनिस्ट आन्दोलनमा निम्न पँुंजीवादी चिन्तन, व्यक्तिवाद, गुटगत प्रवृत्ति महत्त्वाकाङ्क्षा जस्ता दक्षिणपन्थी अवसरवादी प्रवृत्तिहरू पनि हुर्किंदै आएका छन् । तथापि हाल कम्युनिस्ट आन्दोलनको विकास र विस्तारको निम्ति उग्रवामपन्थी भडकाउ नै हाल प्रमुख खतराका रूपमा देखापरिरेहको छ । सिद्धान्त र विचारमा व्यापक र तीखो बहस चलाउँदै सही वैज्ञानिक मान्यतालाई स्थापित गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध रूपमा अगाडि बढाउनु सिङ्गो मुलुक तथा कम्युनिस्टहरूका निम्ति आवश्यक बनेको छ ।

No comments:

Post a Comment