Wednesday, September 22, 2010

तिनाउ जलविद्युत्

बुटवल, (नेस), झन्डै तीन सातादेखि बन्द रहेको तिनाउ जलविद्युत् आयोजनाको ५ सय किलोवाट विद्युत् उत्पादन सुचारु भएको छ।


आयोजनाको उत्पादन गृहमा रहेका तीन वटा जेनरेटरमध्ये दुई वटा जेनरेटरको मर्मत सम्भार गर्नुपर्ने भन्दै गत साउन २४ गतेदेखि एक हजार किलोवाट क्षमता रहेको आयोजनाको ७ सय किलोवाट विद्युत् उत्पादन बन्द गरिएको थियो। ५ सय किलोवाट उत्पादन क्षमताको जेनरेटरको बेरिङ मर्मत गरिएपछि उत्पादन सुचारु भएको नेपाल विद्युत् प्राधिकरण बुटवलका

प्रमुख विक्रमकुमार अमात्यले जानकारी दिनुभयो।

जेनरेटर मर्मतका लागि भन्दै दुई वटा टर्बाइन बन्द गरिएपछि कुल २ सय ५० किलोवाट मात्र उत्पादन भैरहेको आयोजनाबाट बुधबारदेखि ७ सय ५० किलोवाट उत्पादन भएको हो। बाँकी २ सय ५० किलोवाट क्षमताको जेनरेटर पनि मर्मत भएपछि क्षमताअनुसार विद्युत् उत्पादन हुने अमात्यले बताउनुभयो।
पाल्पाको दोभान गाविसमा रहेको तिनाउ जलविद्युत् आयोजना नेपालकै पहिलो भूमिगत विद्युत् उत्पादन गृह हो। ५० किलोवाट उत्पादन क्षमताबाट शुरु गरिएको आयोजनाको २०३४ सालदेखि १ हजार किलोवाट विद्युत् उत्पादन क्षमता निर्माण भएको थियो।

No comments:

Post a Comment