Wednesday, September 22, 2010

पत्रपत्रिकाबाट

सरकारले यस वर्षको सेनाको बजेटमा कटौती गरेपछि समयसमयमा गर्नुपर्ने मर्मत नभएकाले सेनाका आठवटा हेलिकप्टर र विमानहरु बिग्रिएर थन्किएको समाचार नेपाल समाचारपत्र प्रकाशित गरेको छ। नेपाली सेनासँग रहेका १५ वटा विमानमध्ये ८ वटा मर्मत खर्च अभावका कारण थन्किएको स्रोतले जनाकारी दियो। सेनासँग रहेको एमआई १७, चिता, एल्वेटलगायतका हेलिकप्टर र एभ्रो, स्काई भ्यान, स्काई ट्रकमध्ये स्काई ट्रक, चिता, एमआई १७ बिग्रिएर विमानस्थलमा थन्किएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। एकै दिनमा ८० करोडको आय घोषणा सरकारको आह्वानअनुसार सोमबार एकै दिन ८० करोड रुपैयाँको स्वयं आय घोषणा भएको छ। सरकारले माघ मसान्तसम्म आयको स्वयं घोषणा गर्न आह्वान गरेकाले राजस्व संकलन तीव्र भएको मंगलबारको अन्नपूर्ण पोष्टले लेखेको छ। आन्तरिक राजस्व विभागका अनुसार हालसम्म एक अर्ब ५० करोड रुपैयाँको स्वयं आय घोषणा भएको छ। यसबाट सरकारलाई १५ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। आयको स्वयं घोषणा गर्नेको संख्या तीन सय साठी पुगेको छ। विभागका महानिर्देशक कपिलमणि घिमिरेका अनुसार गत सोमबारमात्र करिब २ सय जनाले आयको स्वयं घोषणा गरेका थिए। एक जनाले सबभन्दा बढी ७५ लाखसम्म पनि राजस्व तिरेको विभागले जनायो। सरकारले आयको स्वयं घोषणामार्फत् एक अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। ´नेपालीको अन्तिम समयमा कर तिर्ने बानी छ। यस कारण अब बाँकी दुई दिनमा लक्ष्य अनुसारको राजस्व उठ्छ´ घिमिरेले भने। सरकारले दिएको समयभित्र स्वयं आय घोषण नगरे कानुनअनुसार कारबाही गरी कर संकलनलाई तीव्रता दिने बताउँदै आएको छ। ५ सय मेगावाटको पीपीए प्रस्ताव विद्युत् प्राधिकरणसमक्ष करिब ५ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता पीपीए का लागि प्रस्ताव परेको छ। यी आयोजनाको एकसाथ निर्माण भएमा हालको विद्युत् माग पूरा हुनेछ । कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार स्वदेशी तथा विदेशी कम्पनी र संयुक्त उद्यमसमेत गरी ६१ वटा कम्पनीले ४ सय ९२ मेगावाटको पीपीएका लागि प्राधिकरणसँग पीपीए गरिसकेपछिमात्र जलस्रोत मन्त्रालयले आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्र जारी हुने प्रावधान छ। प्राधिकरणका कार्यकारी निर्देशक उत्तमकुमार श्रेष्ठका अनुसार हालसम्म ४२ वटा आयोजनाको १ सय ५६ मेगावाट क्षमता बराबर यस्तो पीपीए भएको छ। यसमा विदेशी लगानीका दुई प्रमुख खिम्ती ६० मेगावाट समेत छन्। श्रेष्ठका अनुसार हालसम्म पीपीए भएकामध्ये ७ वटा आयोजना १३ मेगावाट को उत्पादन हुन लागेको अवस्था छ। त्यसमा मादी, पाती, रिडी, माथिल्लो हाडी, सेती-२ तल्लो र इन्द्रावती छन् । प्राधिकरणले हालसालै ८ मेगावाट बराबरको ७ वटा आयोजनाको पीपीए गरिसकेको छ। यसमा बेल्खु, हेवा, तल्लो पिलुवा, तिनाउ, चर्नावती, गोल्मागाड र भैरवकुण्ड छन्। प्राधिकरणले थप पाँच आयोजना-८ मेगावाट को जुनसुकै बेला पीपीए हुन सक्ने जानकारी दिएको छ। विगतमा प्राधिकरणले यस्तो पीपीए नगरेकै कारण मुलुकमा यति धेरै ऊर्जा संकट उत्पन्न भएको जलविद्युत् प्रवर्धकहरुको गुनासो छ। गुनासो बढेपछि प्राधिकरणले गत पुसमा २५ मेगावाट क्षमतासम्मको जलविद्युत् आयोजनाको पीपीए दर एकमुष्ठ रुपमा निर्धारण गरी खुला गरेको छ। पीपीए दर हिउँदको सुख्खायाममा प्रतियुनिट सात र वर्षायाममा ४ रुपैयाँ तोकेको छ। यस्तो दर पीपीए ९९ दिनभित्र पूरा गर्ने नीति छ। उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइन ग्रीड सम्म पुरयाउने समस्या भएका कारण १३ वटा आयोजना ६० मेगावाट अलपत्र परेका छन्। यस्तो समस्या भएका कोरिडरमा सुनकोशी मेची धनकुटा-तिरतिरे र देवीघाट-त्रिशुली छन्। प्राधिकरणले समयमै प्रसारण लाइन निर्माण गर्न नसक्दा जलविद्युत् आयोजना निर्माण हुन नसकेको हो । श्रेष्ठका अनुसार पीपीए भएर पनि निर्माणकर्ताले वित्तीय व्यवस्था गर्न नसकेका कारणले उत्पादन हुन सकेको छैन। यसमा ३५ मेगावाट बराबरका आठवटा आयोजनाले रकम जुटाउन सकेका छैनन्। सामान्यतया एक मेगावाट उत्पादन गर्न २० करोड रुपैयाँ खर्च लाग्ने गर्छ। विभिन्न अवधिमा तीनवटा कम्पनीले ८ मेगावाट बराबरको आयोजनाको रकम जुटाउनुपर्ने अवधि कटाएका छन्। प्राधिकरणले २४ मेगावाटको २ वटा आयोजनालाई पीपीए रद्द हुने पत्र काटेको जानाकारी श्रेष्ठले दिए। उनका अनुसार तीनवटा आयोजना ७ मेगावाट बाट कुनै जवाफ प्राप्त भएको छैन। विद्युत् विकास विभागका महानिर्देशक श्रीराजन लाकौलका अनुसार जलस्रोत मन्त्रालयबाट हालसम्म ३९ वटा आयोजनाका लागि उत्पादन अनुमतिपत्र जारी भएको छ। तीमध्ये ६ सय १२ मेगावाट बराबरको २७ वटा आयोजनाले उत्पादन सुरु गरेका छन्। कुल जारी उत्पादन अनुमतिपत्रमध्ये १२ वटा आयोजना निर्माणाधीन छन्। दुई महिनासम्म अस्पताल सञ्चालन भएन हस्तान्तरण भएको दुई महिना बितिसक्दा पनि अस्पताल साचालन भएको छैन। दक्षिण कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका ले निर्माण गरेको ´कोरियन नेपाल मैत्री´ अस्पताल कोरियाली राजदूत होङ सुङ मोगले पुसको पहिलो साता मध्यपुर थिमी नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गरेको थिए। कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार अस्पतालको नयाँ भवनमा विद्युत्, खानेपानी र टेलिफोनले गर्दा ढिलाइ अस्पताल प्रमुख भीमसेन थापाले जानकारी दिए। ´एक महिनाभित्र आफनै भवनबाट सेवा प्रदान गर्छौं´ उनले भने । नगरपालिकाले प्रदान गरेको मध्यपुर थिमी मेचडाँडास्थित १ रोपनी क्षेत्रफलमा ५ शथ्याको अस्पताल निर्माण भएको छ। अस्पताल निर्माण र उपकरण खरिदमा कोइकाले १ करोड ५ लाख रुपैयाँ लगानी गरेको थियो। कोइकाले उपकरणसमेत जुटाइदिएको छ। अस्पतालमा आकस्मिक बहिरंग विभाग प्रसूति शल्यकि्रया दाँत एक्सरे प्याथालोजी र ल्याबोरेटरी सेवाको व्यवस्था गर्ने थापाले जानकारी दिए। कोइकाको सहयोगमा २०५६ सालदेखि उक्त अस्पताल ठिमी चोकस्थित एक घर भाडामा लिएर साचालन हुँदै आएको छ। सात शथ्याको अस्पतालमा १३ जना चिकित्सकसहित ३७ जना कर्मचारी कार्यरत छन्। सरकारको विकल्प छैन : अध्यक्ष यादव सत्तारुढ मधेसी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले निर्वाचनबाट प्राप्त जनादेशबमोजिम गठित वर्तमान सरकारको विकल्प नभएको बताएका छन्। गोरखापत्रमा प्रकाशित समाचारअनुसार फोरमको दोस्रो महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै उनले त्यस्तो दाबी गरेका हुन्। ´जनताको भावनाअनुसार यो सरकारको विकल्प खोज्ने प्रश्न नै छैन´ यादवले भने- ´कांग्रेसको नेतृत्वमा सरकार चल्दा कुन हाल भयो ?कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनाउने विकल्प जनताले दिएका छैनन्।´ कांग्रेसको नेतृत्व कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै उनले जनयुद्ध र मधेस जनविद्रोहबाट आएका नयाँ शक्ति माओवादी र फोरमलाई जनताले सत्ता सञ्चालनका लागि जनादेश दिएको दाबी गरे। उनले यी दुवै शक्ति परिवर्तनकारी र रुपान्तरणको संवाहक भएको दाबीसमेत गरे। उनले संघीयता र समावेशी संरचनाका विरोधी कांग्रेस र एमालेले रोक्न खोज्दाखोज्दै सरकारले अध्यादेशमार्फत् कानुन ल्याएको परराष्ट्रमन्त्री यादवले बताए। वीपी राजमार्गमा यातायात सुरु तराईलाई काठमाडौंसँग जोड्ने १ सय ५८ किलोमिटर लामो वीपी राजमार्ग (बनेपादेखि महोत्तरीको बर्दिबास) सडकमा सोमबार ट्रयाक खोल्ने कार्य पूरा भएको छ। गोरखापत्रमा प्रकाशित समाचारअनुसार वीपी राजमार्गअन्तर्गत नेपालथोक-खुर्कोट ३५ किमि लामो चौथो खण्डमा ट्रयाक खोल्ने कार्य केही महिनाअधि सुरु भएको थियो। तराईका जिल्लामा विभिन्न समूहले बन्द र हडताल गरी यातायात सेवा ठप्प पारिरहेका बेला वीपी राजमार्गमा ट्रयाक खुलेपछि पूर्वी नेपालबाट राजधानी प्रवेशका लागि सजिलो भएको छ। उक्त सडकमा खुर्कोट-खनियाखर्क खण्डमा निर्माण कार्य पनि भइरहेकाले बिहान, दिउँसो र बेलुकामात्र सवारी साधन साचालन गर्न दिइने भएको छ। खाल्टेदेखि खुर्कोटसम्म अस्थायी सडक निर्माण कार्य सोमबार पूरा भएपछि सिन्धुलीको खुर्कोट हुँदै हल्का सवारी साधन राजधानी काठमाडौं जान थालेको स्थानीय बासिन्दाले बताएका छन्। यसअघि बनेपादेखि नेपालथोक हुँदै खाल्टे चैनपुरसम्ममात्र बस सेवा सञ्चालन हुँदै आएको थियो। सेन्ट जेभियर्स बन्द राजधानीको जावलाखेलस्थित सेन्ट जेभियस्र स्कूल मंगलबारदेखि अनिश्चितकालसम्मका लागि बन्द भएको छ। कान्तिपुरमा प्रकाशित समाचारअनुसार संस्थागत विद्यालय शिक्षक युनियनले आन्दोलन सुरु गरेपछि विद्यालय बन्द घोषणा गरिएको हो। जेभियर्सले विद्यालय सञ्चालनका लागि अनुकूल वातावरण नभएकाले बन्द गरिएको जानकारी सोमबार अभिभावकलाई दिएको छ। जेभियर्सको शिक्षक युनियनले तलब समायोजन, उपदानको व्यवस्था तथा व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि राख्नुपर्नेलगायतका माग राखेको छ। युनियनका उपसचिव जीवन कार्कीले वार्ताका लागि पहल नै नगरी व्यवस्थापनद्वारा एकपक्षीय रुपमा विद्यालय बन्द गरिएको बताए। बर्डफ्लू नियन्त्रणमा सरकारले बर्डफ्लु नियन्त्रणमा आएको जनाएको छ। काठमाडौं, पोखरा, सुर्खेत, विराटनगर, कैलाली, संखुवासभा, रुपन्देहीलगायतका क्षेत्रबाट ल्याइएका शंकास्पद नमुनामा पनि बर्डफ्लू नदेखिएको कृषि मन्त्रालयले जनाएको हो। कान्तिपुरमा प्रकाशित समाचारअनुसार कृषि तथा सहकारी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अन्तर्क्रियामा सोमबार पशुसेवा विभागका महानिर्देशक डा. प्रभाकर पाठकले ती ठाउँमध्ये अधिकांशमा रानीखेत रोगबाट कुखुरा मरेको पाइएको बताए।

No comments:

Post a Comment