Monday, September 6, 2010

सूचना प्रविधिप्रति गम्भीर उपहास आईटी पार्क हुँदैछ भूतबङ्गला

सरोज कुईकेल/काभ्रे


बनेपा, साउन १८ गते । सूचना प्रविधिका दक्ष जनशक्ति उपयोग गरी मुलुकमै कम्प्युटर सˆटवेयर उत्पादन गर्ने लक्ष्य राखेर काभ्रेको पनौती नगरपालिका र बनेपा नगरपालिकाको सिमाना धनेश्वर फाँटमा निर्माण गरिएको सूचना प्रविधि पार्क -आईटी पार्क) अझै पनि सञ्चालन हुन सकेको छैन ।

दुई सय ३४ रोपनी क्षेत्रफलमा एउटा व्यावसायिक भवन -विजिनेस कम्प्लेक्स), एक प्रशासनिक, एक सुरक्षा गार्ड, एक स्टुडियो भवनसहित पाँच आवास भवन रहेको सूचना प्रविधि पार्कको निर्माण पाँच वर्षअघि सम्पन्न भएको हो । नेपाल सरकारअन्तर्गतको उच्चस्तरीय सूचना प्रविधि आयोग मातहतको यस पार्क नेपाल सरकारको पूर्ण स्वामित्वमा निर्माण भएको हो ।

सˆटवेयर उत्पादनको लक्ष्य राखी निर्माण भएको पार्कको पूर्णरूपमा नेपाल सरकारले उपयोग गर्न सकेको छैन । दुई वर्षअघि नेदरल्याण्डको जोभ्रा कम्पनीलाई सˆटवेयर उत्पादन तथा रिसर्चका लागि पार्क उपयोग गर्न दिए पनि इन्टरनेट कनेक्सनमा समस्या आएको भन्दै उसले ९ महिनामा आईटी पार्क छोडेको थियो । त्यसयता खाली नै रहेको पार्कमा केही महिना अघि प्रसिद्ध अमेरीकी कम्पनी आईविएम आईटी पार्कमा रिसर्चका लागि भित्रिएको छ । तीन जना अनुसन्धानकर्ताहरू रहने गरी व्यावसायिक भवनको भुईं तलाको आधा भाग अहिले आईबीएमले प्रयोग गरिरहेको छ । अन्य सम्पूर्ण भवनहरू खाली रहेका छन् ।

सम्पूर्णरूपमा तयार भएको तथा आन्तरिक सरसामग्रीहरू समेत उपलब्ध आईटी पार्कको व्यवस्थित सञ्चालनका लागि सरकारले कुनै पहल गर्न सकेको छैन । तीन जना कर्मचारीको भरमा छोडीएको आईटी पार्क अहिले भूत बङ्गला जस्तो बनेको छ । पार्कका लागि खटाइएका कर्मचारीहरूमध्ये इञ्जिनियर र ओभरसियर प्रायः काठमाडौँमै हुने गर्छन् । एक जना कार्यालय सहयोगीका भरमा करोडौँ रुपियाँको भौतिक संरचना छोड्ने सरकारी रवैया किञ्चित सहि हुन सक्दैन । सूचना प्रविधि पार्कमा आउने आगन्तुकहरूले चाहेर पनि पार्कका बारेमा सूचना पाउन सक्दैनन् । किनकी जिम्मेवार कर्मचारीहरू सधैँजसो कार्यालय बाहिर हुने र कार्यालय सहयोगी आफूले बोल्न नमिल्ने भन्दै पन्छिने भएकाले सूचना प्रविधि पार्कको सूचना पाउने अवस्था नरहेको हो ।

विगतमा आईबीएम कम्पनीलाई अनुसन्धानका लागि पार्क उपलब्ध गराउने क्रममा आईटी पार्क आएका उच्चस्तरीय सूचना प्रविधि आयोगका अध्यक्ष एवं प्रधानमन्त्री माधवकुमार नेपालले आईटी पार्क सञ्चालन तत्काल गर्ने बचन दिए पनि त्यो पूरा भएन । अघिल्लो सरकारका विज्ञान प्रविधि मन्त्री गणेश्ा शाहले आईटी पार्क सञ्चालनका लागि केहि पहल गरेको भए पनि प्रचण्ड नेतृत्वको सरकार ढलेपछि आईटी पार्कको भविष्य झनै अन्यौलता तर्फ धकेलिन पुगेको हो ।

गरिब किसानका खेत कौडीको भाउमा लिएर निर्माण गरिएको संरचना सञ्चालनमा नआउँदा स्थानीय बासिन्दाहरू पनि चिन्तित छन् । सूचना प्रविधि पार्कको आम्दानीको हिस्सा माग्ने बनेपा नगरपालिकाले पनि पार्क सञ्चालनमा कुनै सहयोग गर्न सकेको छनै । पार्कको आम्दानीको हिस्सा माग गर्दै विगतमा बनेपा नगरपालिकाका कार्यकारी अधिकृत्ा महेश बरालले प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष ज्ञापनपत्र बुझाउनुभएको थियो ।

No comments:

Post a Comment