Tuesday, May 16, 2017

नेपालको सीमासम्म रेल सञ्चालन गर्ने चीनको प्रतिबद्धता

पत्र पत्रिका बाट  -साभार   http://www.enayapatrika.com/2017/05/16/147258/

नयाँ पत्रिका, काठमाडौं   |   ०१ दिन अगाडि
चिनियाँ यातायातमन्त्री ली जिआओ पेङले नेपालको सीमासम्म यातायात तथा रेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । वान बेल्ट वान रोड (ओबर) सम्मेलनमा भाग लिन चीनको भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँगको द्विपक्षीय बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 
भेटमा मन्त्री लेखकले सडक र रेलद्वारा दुई देशबिच यातायात सञ्जालमा जोड्ने र निकट भविष्यमा नेपालले सञ्चालन गर्ने सुरुङ मार्ग, मेट्रो रेल, आकासे पुलजस्ता महत्वपूर्ण परियोजनाहरूको दक्ष जनशक्ति उत्पादन तथा विकास गर्न आवश्यक सहयोगका लागि प्रस्ताव गरेका थिए । प्रतिउत्तरमा चिनियाँ यातायातमन्त्रीले ओबरमा नेपालले हस्ताक्षर गरेकोमा खुशी व्यक्त गर्दै उक्त सम्झौताले दुई देशबीच नयाँ आर्थिक आयामको प्रारम्भ भएको उल्लेख गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।
चिनियाँ यातायातमन्त्री ली जिआओ पेङले नेपालको सीमासम्म रेल यातायात पुर्याउने योजना ओबरको एउटा पक्षका रूपमा अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् । यसका लागि चीनको अन्तर्राष्ट्रिय विभागका महानिर्देशकलाई सम्पर्क व्यक्तिका रूपमा सोमबारदेखि काम अगाडि बढाउनेगरी तोकिएको छ । त्यस्तै, नेपालका तर्फबाट पनि चीनका लागि नेपाली राजदूतलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको जानकारी मन्त्री लेखकले दिएको स्वकीय सचिव भट्टले जानकारी दिए । यसका साथै चीनका यातायातमन्त्रीले नेपालमा सञ्चालन हुने ठूला परियोजनाका लागि जनशक्ति विकासमा पनि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

No comments:

Post a Comment