Wednesday, May 24, 2017

आजबाट भक्तपुरमा साझा बस (फोटो फिचर) - तस्बिर : अंगद ढकाल, भक्तपुर

पत्र पत्रिका बाट  -साभारhttp://kantipur.ekantipur.com/news/2017-05-24/20170524083643.html

जेष्ठ १०, २०७४- साझा यातायातले बुधबारदेखि भक्तपुरमा बस सञ्चालन गर्ने भएको छ । दुई महिनादेखि यातायात व्यवसायी महासंघलगायतको विरोधका कारण रोकिएको भक्तपुरको रुटपरमिट (इजाजत) साझाले सोमबार पाएको हो ।

साझा यातायातका अनुसार पहिलो चरणमा भक्तपुरको नयाँ बाटो हँुदै सूर्यविनायक बसपार्क पुग्ने २० वटा बस सञ्चालन गरिनेछ । साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले स्वयम्भूबाट कलंकी–कालीमाटी–त्रिपुरेश्वर– रत्नपार्क–माइतीघर–बानेश्वर–कोटेश्वर– जडिबुटी–सल्लाघारी हुँदै सूर्यविनायक रुटमा सञ्चालन हुनेछ । ‘बस चल्ने समय बिहान ६ देखि बेलुका ९ बजेसम्म तोकिएको छ,’ उनले भने, ‘सरकारले तोकेको भाडा स्वयम्भूदेखि सूर्यविनायकसम्म अधिकतम २५ रुपैयाँ र नतोकिएको ठाउँमा न्यूनतम १३ रुपैयाँ छ ।’

उनका अनुसार बसमा यात्रुलाई मनोरञ्जनका लागि टीभी र सुरक्षाका लागि सीसीटीभी जडान गरिएको छ । ‘अपांगता भएका व्यक्तिहरूले पनि आरामदायी यात्रा गर्न सकिन्छ,’ उनले भने, ‘एक पटकमा एक सय जनाले यात्रा गर्न सक्छन् ।’ उनले प्रत्येक स्टेसनमा १५/१५ मिनेटमा बस पुग्ने व्यवस्था मिलाइएको बताए । साझाले भक्तपुरमा बस सञ्चालन गर्न पुरानो र नयाँ रुटको परमिटका लागि यातायात विभागमा चैत ३० मा निवदेन दर्ता गरेको थियो । पुरानो रुटको अनुमति भने साझाले अझै पाएको छैन । अनुमति पाएमा कमलविनायक बसपार्क हुने गरी पुरानो र नयाँ रुटमा १०/१० वटा बस सञ्चालन गर्ने साझाको योजना थियो । कानुनी प्रक्रिया पुर्‍याएर निवेदन दिँदा पनि विभागले स्वीकृत नगरेको साझाको गुनासो छ । कार्यकारी अधिकृत पाण्डेले पुरानो रुटमा स्वीकृति दिएको भोलिपल्टदेखि बस सञ्चालन गरिने बताए ।


अन्य रुटमा पनि सञ्चालनको माग
उपत्यका विभिन्न स्थानबाट थप अन्य रुटमा साझा बस सेवा सञ्चालनका लागि माग आएको जानकारी यातायात कार्यालयले दिएको छ ।
कार्यालयका अनुसार ललितपुर महानगरपालिकाको बुङमतीस्थित छ्यासीकोट बसपार्क हुने गरी खोकना दोबाटो–भैंसेपाटी– एकान्तकुना–महालक्ष्मीस्थान–लगनखेल– जावलाखेल हुँदै रत्नपार्क, लुभु बसपार्क हुने गरी सानोगाउँ–इमाडोल–ग्वार्को–सातदोबाटो– लगनखेल–जावलाखेल हुँदै रत्नपार्क रुटमा बस सञ्चालनका लागि माग आएका छन् । त्यस्तै लगनखेल–रत्नपार्क–महाराजगन्ज–सामाखुसी चक्रपथ–ग्रयान्डी अस्पताल हुँदै टोखा रुट पनि माग भएको जानकारी प्रमुख पाण्डेले दिए ।



http://kantipur.ekantipur.com/news/2017-05-24/20170524083643.html

 

 

No comments:

Post a Comment