Wednesday, May 24, 2017

अब नेपालमा पनि आधुनिक पेट्रोल पम्प, १० लाख धरौटी अनिवार्य

http://www.abhiyan.com.np/new/Articles/view/98353
२०७४-०२-११ मा प्रकाशित    
जेठ १०, काठमाडौं । नेपालमा पनि अब अत्याधुनिक सुविधासहितको नमूना पेट्रोल पम्प निर्माण हुने भएको छ । नेपाल आयल निगमले त्यस्ता पेट्रोल पम्प निर्माणका लागि आह्वान गरेको प्रस्तावमा उल्लेख्य सङ्ख्यामा आवेदन परेको छ । निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार नमूना पेट्रोल पम्प निर्माणका लागि अहिलेसम्म ७३ ओटा आवेदन दर्ता भएका छन् । निगमले गत पुस १८ गते त्यस्तो प्रस्ताव आह्वान गरेको थियो । निकै सङ्ख्यामा आवेदन दर्ता भएकाले त्यस्ता पेट्रोल पम्प निर्माण गर्न लगानीकर्ता इच्छुक देखिएको निगमको भनाइ छ । निगमका अनुसार विकसित देशसरहको सुविधा प्रदान गर्ने उद्देश्यले सुविधा सम्पन्न पेट्रोल पम्प निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
निगमका अनुसार दर्ता भएका आवेदनमध्ये सरकारी क्षेत्रबाट १७ ओटा र बाँकी ५६ ओटा निजीक्षेत्रका छन् । सरकारी क्षेत्रका आवेदनमध्ये नेशनल ट्रेडिङले ७, साल्ट ट्रेडिङ र साझा पेट्रोल सेवाले ४/४ र नेपाली सेनाले २ ओटा पम्प सञ्चालनका लागि आवेदन दिएका हुन् । नेशनल ट्रेडिङकोे भने हालको प्रादेशिक संरचनाअनुसार सातओटै प्रदेशमा पम्प सञ्चालन गर्ने योजना रहेको छ ।
हालसम्ममा दर्ता भएका आवेदनमध्ये सातओटाले भने पम्प सञ्चालनका लागि स्वीकृति पाइसकेको प्रवक्ता पोखरेलले बताए । स्वीकृति पाएकामा नेपाली सेनाका दुईओटा र बाँकी निजीक्षेत्रका हुन् । निजीक्षेत्रबाट स्वीकृति पाएका पेट्रोल पम्पहरूमा पोखराको विकास आयल, सिरहाको गणपति आयल, सप्तरीको ओमश्री, धनकुटाको महाबोधी पेट्रोलियम र रूपन्देहीको मसिना आयल रहेका छन् । आवेदन दर्ताका लागि अन्तिम म्याद असार मसान्तसम्म रहेकाले आवेदन दर्ताको सङ्ख्या निकै बढ्ने निगमले बताएको छ । निगमका अनुसार आवश्यक कागजात सबै मिलेको खण्डमा सबै आवेदनकर्तालाई पम्प सञ्चालनको स्वीकृति दिइनेछ । आवेदनसँगै ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था  छ ।
आधुनिक सुविधायुक्त पम्प सञ्चालनका लागि १० लाख रुपैयाँ धरौटीका रूपमा राख्नुपर्ने व्यवस्था छ । पोखरेलका अनुसार स्वीकृति पाएका सबै पम्पले १ वर्षभित्र निर्माण कार्य अघि बढाउनुपर्ने प्रावधान छ । निगमले ठूला र आधुनिक सुविधा एवम् प्रविधियुक्त नमूना पम्प सञ्चालन गर्ने गरी विक्रेता नियमावलीमा संशोधन गरी नयाँ व्यवस्था गरेको हो । सार्वजनिक सडकदेखि पम्पसम्म पुग्ने बाटाकोे समेत निगमले मापदण्ड तोकेको छ । त्यस्ता बाटो कङ्क्रिटको ढलान, ढुङ्गा छापेको वा सिमेण्ट जोडेको, सिमेण्टबाट बनेको, इण्टरलिङ्क टायलले बनेको हुनुपर्ने छ । त्यस्तै पम्पको वरिपरिको क्षेत्र हरियाली हुनुपर्नेसमेत निगमको मापदण्डमा उल्लेख छ ।
यस्तो हुनुपर्छ आधुनिक पेट्रोल पम्प
  • तराईमा १ बिगाहा र हिमाली, पहाडी क्षेत्रमा ५ रोपनी जग्गा
  • हरेक पम्पमा पेट्रोल र डिजल गरी आठओटा नोजल
  • स्वचालित विलिङ मेशिन
  • एटीएम मेशिन
  • होटल, रेष्टूराँ, सपिङ कम्प्लेक्सलगायत सुविधा  
  • १ अपाङ्गमैत्रीसहित ६ शौचालय
  • कम्तीमा पनि २५ ओटा सवारी अट्ने पार्किङ र गाडी वर्कशप
  • इलेक्ट्रोनिक कार्डबाट खरीद गर्न मिल्ने मेशिनको व्यवस्था
  • २४ घण्टा नै सेवा दिने व्यवस्था

No comments:

Post a Comment