Saturday, May 20, 2017

थरुहट/थारुवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले सोमबार दिउँसो टीकापुरमा



  • दिलबहादुर छत्याल   मङ्गलबार ८ भाद्र, २०७२

(0 votes)

धनगढी- थरुहट/थारुवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले सोमबार दिउँसो टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ अधिकृतसहित सात सुरक्षाकर्मी र एक नाबालकको कायरतापूर्वक ज्यान लिएका छन्। घटनामा २० प्रहरी, २१ सशस्त्र बल घाइते छन्। तीमध्ये सशस्त्रका ३, प्रहरीका दुई गम्भीर छन्।
टीकापुर नगरपालिका कार्यालय कब्जा गरी 'थरुहट स्वायत्त सरकार' लेखिएको साइनबोर्ड झुन्ड्याउन चारैतिरबाट घरेलु हतियारसहित ओइरिएका हजारौं प्रदर्शनकारीले प्रहरी टोलीलाई घेरा हाली भाला, बन्चरो, हँसिया, लाठीलगायत घरेलु हतियारले आक्रमण गर्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित पाँच, सशस्त्र प्रहरीका दुई गरी सात सुरक्षाकर्मीको ज्यान गएको हो।

घटनामा एक नाबालकको पनि मृत्यु भएको सुरक्षा प्रशासनले पुष्टि गरेको छ। प्रदर्शनकारीतर्फ केही हताहत भएको, सयौं घाइते भएको बताइए पनि नाम खुलेको छैन।

मारिनेमा सेती अञ्चल प्रहरी कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी जवान लोकेन्द्र चन्द र लक्ष्मण खड्का छन्। यसैगरी, सशस्त्र प्रहरी हवल्दार ललित साउद र सहायक हवल्दार रामबिहारी चौधरीको पनि आन्दोलनकारीको आक्रमणबाट ज्यान गएको छ।

सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्रबहादुर साउदका दुई वर्षीय छोरा टेकेन्द्र साउद घरमै बसिरहेका बेला आन्दोलनकारी प्रवेश गरी हत्या गरेको प्रजिअ श्रेष्ठले जानकारी दिए।

प्रमुख राजनीतिक दलले साउन २३ गते ६ प्रदेशको संघीय सीमांकनमा सहमति जनाएलगत्तै साउन २४ बाट थरुहट–थारुवान संघर्ष समितिको नेतृत्वमा कैलाली तनावग्रस्त थियो। आन्दोलनकारीले पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार नगरपालिका कब्जा गरी बोर्डमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम राखेका थिए।

प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्ने क्रममा आन्दोलनकारीलाई सम्झाउँदा–सम्झाउँदै न्यौपाने उनीहरुको घेरामा परेको प्रत्यक्षदर्शीले बताए। उनीहरुका अनुसार प्रहरीलाई उनीहरुले भाला, बन्चरो, हँसियालगायत घरेलु हतियारले प्रहार गरी ज्यान लिएका थिए। चौधरीलाई जिउँदै जलाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए।

थरुहट पक्षधरले आफूतर्फ तीन जनाको मृत्यु भएको जनाए पनि नाम खुलाएका छैनन्।

घटनापछि टीकापुरमा कर्फ्यु जारी गरिएको छ। दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरिएको प्रजिअ श्रेष्ठले बताए। 'सुरक्षा समितिबाट दंगाक्षेत्र घोषणा गरी सेना परिचालन गर्ने निर्णय गरका हौं,' उनले भने।

दिउँसो करिब दुई बजेतिर टीकापुरको पश्चिमतर्फ रहेको टीकापुर नगरपालिका–६, शकरस्थित पशुहाटबजारमा एसएसपी लक्ष्मण न्यौपानेको नेतृत्वमा रहेको प्रहरी टोलीले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेका प्रदर्शनकारीलाई रोकेको थियो।

निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिएपछि प्रदर्शनकारीले प्रहरीमाथि एकाएक घरेलु हतियारले आक्रमण गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, दिपायलका प्रमुख रामकुमार खनालले बताए।

प्रहरीले गोली चलाउनुअघि नै प्रदर्शकारीले अकल्पनीय रुपमा घरेलु हतियार प्रयोग गरेर प्रहरीलाई ढालेको उनले जानकारी दिए। 'निषेधाज्ञा तोड्ने क्रम रोक्न खोज्दा प्रहरीमाथि एकाएक घरेलु हतियार प्रयोग भए,' उनले भने।

चारैतिरबाट आएका प्रदर्शनकारीको संख्या करिब २० हजार रहेको र उक्त घटना भएको क्षेत्रमा ३/४ हजार प्रदर्शनकारी रहेको प्रजिअ श्रेष्ठले बताए। शान्तिपूर्ण आन्दोलनमा हतियारसहित प्रहरीमाथि आक्रमण गर्न आउलान् भन्ने पूर्वअनुमान गर्न नसक्दा प्रहरीतर्फ ठूलो क्षति बेहोर्नुपरेको प्रजिअ श्रेष्ठले बताए।

'घरेलु हतियारसहित उनीहरु आक्रमण गर्न आउलान् भनेर पूर्वअनुमान नहँुदा आकस्मिक दुःखदायी घटना भएको हो,' उनले भने, 'निर्मम तरिकाले प्रहरीको हत्या भएको छ।'

भाला रोपेर तथा जिउँदै जलाएरसमेत प्रहरीलाई मारिएको उनले बताए। 'भिडन्त क्रममा प्रदर्शनकारीले प्रहरीलाई जिउँदै जलाएर हत्या गरेका छन्,' प्रजिअ श्रेष्ठले भने।

घाइते 'हतियार सहितअ आएका उनीहरुले अन्धाधुन्द भाला,हँसियाले प्रहार गरे। 'घाइते प्रहरी प्रशान्त बि.क.ले भने,

एकाएक आएर हतियार प्रयोग गरि आक्रमण भएको उनले बताए।

घाइते प्रहरी र सशस्त्र प्रहरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका २ र सशस्त्र प्रहरीका ३ जना गम्भीर घाइते रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।

थरुहट अगुवाले प्रहरीले दमन गरेकाले प्रदर्शकारीले प्रतिकार गरेको बताएका छन्। आन्दोलनमा घुसपेठ भएको पनि उनीहरुले प्रतिक्रिया दिएका छन्।

थरुहट–थारुवान संयुक्त संघर्ष समिति, कैलालीका सचिव माधव चौधरीले टीकापुर नगरपालिका कार्यालयमा स्वायत्त थरुहट सरकार लेखेको साइन बोर्ड टाँस्ने कार्यक्रममा प्रहरीले दमन गरेकाले प्रदर्शनकारीले आत्मरक्षाका लागि घरेलु हतियार प्रयोग गरेको बताए।

'सुनियोजित रुपमा प्रहरीमाथि आक्रमण गर्ने योजना थिएन। प्रदर्शनमा आएका जनता थरुहट पक्षकै हुन्,' उनले भने, 'सुनियोजित रुपमा र घुसपेठ भएको भन्ने हामी भन्न सक्तैनौं।'

घटनास्थल गाउँनजिकै भएकाले घरेलु हतियार प्रयोग गरेको उनले स्विकारे। 'थरुहट पक्षका पनि तीन जनाको मृत्यु भएको छ,' उनले भने, 'नाम खुल्न सकेको छैन।'

थरुहट–तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले शान्तिपूर्ण आन्दोलनमा घुसपेठका कारण घटना भएको बताए।

'टीकापुरमा विरोध सभा गर्ने कार्यक्रम थियो। प्रहरीतर्फ घुसपेठ भएर प्रदर्शनलाई उत्तेजित पारियो। यो घटनाको जिम्मेवारी राज्य नै हो,' उनले भने।

कैलालीका राजनीतिक दलका नेताले जातीय हिंसा भड्काउन चाहनेले सुनियोजित रुपमा घटना भएको भन्दै सबैलाई संयम हुन र घटना घटाउने तŒवलाई कारबाही गरिनुपर्ने बताएका छन्।

एमाले, कैलाली अध्यक्ष दीर्घ सोडारीले प्रदर्शनकारीबाट भएको आक्रमण 'आतकंवादी' भएको बताए। उनले प्रहरीतर्फ त्यति ठूलो नोक्सान हँुदासम्म समयमै गोली ठोक्ने आदेश नदिनु प्रहरी प्रशासनको पनि चरम लापरबाही भएको बताए। थप स्थिति बिग्रन नदिन प्रहरी प्रशासनले सतर्कता अपनाउनुका साथै सबैले संयम हुनुपर्ने उनले बताए।

'सुनियोजित तरिकाले यो घटना भएको छ। हिंसा भड्काउन चाहनेबाट भएकाले सबैले संयम हुनु जरुरी छ,' उनले भने, 'हिंसा भड्काउन चाहने र आतंककारी घटना घटाउने तŒव पत्ता लगाई कारबाही गरिनुपर्छ।'

नेपाली कांग्रेस, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महराले जातीय हिंसा भड्काउन चाहने तत्व घुसेर यो घटना गराएको बताए।

'केही दिनअघि अमरेश सिंह, राजेन्द महतोहरुले जातीय द्वन्द्व भड्काउन दिएको अभिव्यक्तिको परिणाम हो यो घटना,' उनले भने।

एकीकृत माओवादी जिल्ला सचिवालय सदस्य रमेश धामीले प्रशासनले अवस्था नबुझी बल प्रयोग गर्दा घटना भएको बताए। 'प्रदर्शकारी बढी र सुरक्षाकर्मी थोरै भए, अवस्था नबुझी बल प्रयोग हँुदा घटना भयो,' उनले भने, 'यो घटना दुखद हो।' सरकारले सुरक्षा सतर्कता अपनाउन नसक्नु कमजोरी भएको उनले आरोप लगाए।

स्थिति तनाबपूर्ण भएपछि स्थानीय प्रशासनले सोमबार दिउँसो २ बजेदेखि कैलालीको पूर्वमा कर्णाली नदी, पश्चिममा मुनुवा गाविस, उत्तरमा पथरैया गाविस र दक्षिणमा धनसिंहपुर गाविससम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

अखण्ड सुदूरपश्चिम पक्षधरले निकालेको मोटरसाइकल र्याषलीका सहभागी र थरुहटका कार्यकर्ताबीच शुक्रबार कैलालीको दुर्गौली गाविस, तोरैयापुरमा झडप भएपछि प्रशासनले रातिबाट कर्फ्यु लगाएको थियो। शनिबारदेखि लगातार दिउँसो टीकापुर निषेधित क्षेत्र घोषणा गरी विरोध सभा, कार्यक्रम गर्न रोक लगाइएको थियो।
- See more at: http://archive.nagariknews.com/society/nation/story/44054.html#sthash.6oBhMm9B.dpuf

No comments:

Post a Comment