Monday, May 8, 2017

चोभारको सुख्खा बन्दरगाह साउनदेखि निर्माण हुने

पत्र पत्रिका बाट  -साभार   http://www.karobardaily.com/news/77376

 

 

काठमाडौंः सरकारले आगामी साउनदेखि चोभारस्थित हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह निर्माण गर्ने भएको छ ।
बाहिरी मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । बन्दरगाह निर्माणको काम तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले सुक्खा बन्दरगाह निर्माणका लागि मास्टर प्लान तयार गरिसकिएको बताए । “प्रारम्भिक डिजाइन तयार पारिसकेकाले आगामी साउनदेखि निर्माण सुरु गरिनेछ,” प्रवक्ता सैजुले भने, “बन्दरगाह निर्माणले सामान आयात निर्यातमा सहज हुन्छ ।”
सन् २०१० देखिनै प्रक्रिया अघि बढाउने प्रयास सुरु भए पनि अहिले आएर परामर्शदाता फुल ब्राइटले प्रारम्भिक डिजाइन तयार पारेको हो । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास बोर्डले हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दगाहको सन् २०१७ भित्रै निर्माण सुरु गरी सन् २०१९ को डिसेम्बरसम्ममा निर्माण गर्ने काम अघि बढाएको छ ।
सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हिमाल सिमेन्टको जग्गा वाणिज्य मन्त्रालयको नाममा आइसकेको छ । को डेढ अर्ब ऋण सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको छ । भन्सार, वायर सर्भिसलगायतका अन्य सुविधासहित चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधियुक्त बन्दरगाह निर्माण गरिने भएको छ ।
कोलकाता, विशाखापटनम र रसुवा नाकाबाट सामान बोकेर आउने कन्टेनर सिधै काठमाडौं आएर चेकजाँचपछि अन्य क्षेत्रमा सामान लगिनेछ । हाल विभिन्न भन्सार नाकामा भन्सार पास गरी सामान आयात गरिँदै आएको छ । त्यसैगरी निर्यात हुने सबै सामानसमेत यही सुक्खा बन्दरगाहबाट भन्सार छुट पत्र लिएर निर्यातका लागि अनुमतिपत्र दिने गरी व्यवस्था गर्न लागिएको छ ।
बोर्डका अनुसार बन्दरगाहमा चार तलाको २ सय २० वटा स्लाईट रहेका छन् । सामान बोकेर आएका ५ सय ५३ कन्टेनर राख्न मिल्ने साथै १ हजार ३ सय स्क्वायरका चारवटा वेयर हाउसको व्यवस्था गरिएको छ । 
बाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाले चोभारमा बन्दरगाह स्थापना भएपछि सामान आयात गर्न लाग्ने समय, लागत र भन्सार अवरोध कम हुने बताए ।
सुख्खा बन्दरगाह बनेपछि आयात, निर्यात व्यापारमा ठूलो परिवर्तन  आउनका साथै भारतबाट सामान बोकेर आएका कन्टेनर सिधै काठमाडौंमा आउने भएकाले आयात–निर्यात गर्न सहज हुने उनको भनाई छ ।
बोर्डले सन् २०३९ मा दैनिक ५ सय ७२ कन्टेनर आयात र ६० कन्टेनर निर्यात गर्ने योजना बनाएको छ । अहिले दैनिक १ सय १२ कन्टेनर आयात र २१ कन्टेनर निर्यात हुँदै आएका छन् ।

No comments:

Post a Comment