Tuesday, May 16, 2017

के हो वान बेल्ट वान रोड ?

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

पत्र पत्रिका बाट  -साभारhttp://www.enayapatrika.com/2017/05/13/145766/

जनार्दन बराल, काठमाडौँ   |   बैशाख ३०, २०७४
वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर गरेपछि समझदारीपत्र आदानप्रदान गर्दै परराष्ट्रसचिव शंकरदास बैरागी (दायाँ) र नेपालका लागि चिनियाँ राजदूत यु होङ (बायाँ) । साथमा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत ।
‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर –
चीनले अघि सारेको महत्वाकांक्षी वान बेल्ट वान रोड (ओबिओआर)को अवधारणामा नेपालले हस्ताक्षर गरेको छ । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गरे । आइतबारदेखि चीनमा सुरु हुने ओबिओआर सम्मेलनको पूर्वसन्ध्यामा नेपालले सो बृहत् परियोजनामा सहभागी हुने गरी हस्ताक्षर गरेको हो ।
हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत उपस्थित थिए । यससँगै एसिया, युरोप र अफ्रिकाका ६९ मुलुक जोडिने चीनको महत्वाकांक्षी योजनामा नेपाल पनि सहभागी हुने पक्का भएको छ । अवधारणाले सहभागी मुलुकहरूबीच सडक र समुद्री मार्गको सञ्जाल विस्तारलाई केन्द्रमा राखेको छ । समझदारीपत्रमा हस्ताक्षरपछि नेपालको अन्तरदेशीय रेल तथा सडक सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
दुई देशबीच भएको समझदारी नेपाल–चीन सम्बन्धमा महत्वपूर्ण पाइला भएको मन्त्री डा. महतले बताए । उनले भने, ‘यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा मैले गरेको छु ।’ नेपालका लागि यो सम्झौता महत्वपूर्ण रहेकोसमेत डा. महतले बताए । ‘भूपरिवेष्टित देश नेपाल अझै पनि अल्पविकसित अवस्थामा नै छ, यसलाई ध्यानमा राखेर चीनजस्तो महत्वपूर्ण छिमेकीबाट नेपालमा लगानी हुनेछ र नेपालको आर्थिक विकासमा महतवपूर्ण टेवा पुग्नेछ,’ उनले भने । समझदारी नेपालमा विदेशी लगानी र व्यापार प्रवद्र्धनका क्षेत्रमा कोसेढुंगा भएको पनि उनले बताए । ‘नेपाललाई बढीभन्दा बढी लगानीको खाँचो छ, यसै नयाँ आयोजनामार्फत नेपालमा चिनियाँ लगानी होस् भन्ने हामी चाहन्छौँ,’ उनले भने । समझदारीपत्रमा हस्ताक्षर हुने चरणसम्म आइपुग्न दुवै देशका विभिन्न चरणमा छलफल र अन्तरक्रिया भएको बताए । सो कार्यक्रममा परराष्ट्रसचिव बैरागीले नेपालले पनि चीनको यो महत्वपूर्ण आयोजनाबाट लाभान्वित हुने भन्दै यसलाई नेपालको विकास प्रयासको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले यस आयोजनाबाट चीन–नेपाल सहयोग र विशेषगरी दक्षिणी एसियाली क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखिन् । नेपालले ओबिओआर अवधारणामा सहभागी हुने सैद्धान्तिक प्रारम्भिक समझदारीपत्रमा सन् २०१४ डिसेम्बरमा चीनसँग हस्ताक्षर गरेको थियो । यसबीचमा ओबिओआरमा नेपालको सहभागिताका विषयमा विभिन्न चरणमा छलफल तथा वार्ता भएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक चीन भ्रमणका क्रममा ओबिओआरमा हस्ताक्षर गर्ने मौखिक सहमति गरेका थिए ।
महरासहित तीन मन्त्री चीन जाँदै
आइतबारदेखि चीनमा सुरु हुने बेल्ट एन्ड रोड फोरम (ओबिओआर मञ्च)मा नेपालका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोली सहभागी हुने भएको छ । प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत सहभागी हुने भएका छन् । सोमबार सम्पन्न हुने सम्मेलनमा २९ देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुने चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् । सम्मेलनको आकर्षण चिनियाँ राष्ट्रपति आफैँ हुनेछन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस, विश्वबैंकका अध्यक्ष जिम योङ किम, आइएमएफकी प्रबन्ध–निर्देशक क्रिस्टिन लागार्दलगायत उपस्थित हुनेछन् । सम्मेलनमा १ सय ३० देशका सरकारी प्रतिनिधिका साथै कुल १ हजार २ सयजना सहभागी हुने जनाइएको छ ।
के हो वान बेल्ट वान रोड ?
चीनले ऐतिहासिक रेसममार्गलाई पुनरोत्थान र अहिलेको सन्दर्भमा विकास गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई ‘वान बेल्ट वान रोड’का रूपमा अघि बढाइरहेको छ । चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा युरोप र एसियाका मुलुकसँग चीनको सम्पर्क र साझेदारी विस्तारका लागि ओबिओआरको अवधारणा अघि सारेका थिए । सीले भूपरिवेष्टित मुलुकहरूसँग सडक रेलमार्फत कनेक्टिभिटी बढाउन ‘सिल्क रोड इकोनोमिक बेल्ट’ तथा समुद्र भएका मुलुकहरूसँग ‘म्यारिटाइम सिल्क रोड’ को प्रस्ताव गरेका थिए । यस अवधारणाअन्तर्गत ओबिओआरमा एसिया, युरोप र अफ्रिकाका ६९ मुलुक जोडिनेछन् । यी देशमा विश्वको करीब साढे ४ अर्ब मानिस बस्छन् भने विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४० प्रतिशत हिस्सा तिनले ओगट्छन् ।
यो परियोजनामा पहिलो चरणमा ८ खर्ब ९० अर्ब अमेरिकी डलर खर्च हुने अपेक्षा चीनको छ । यस अवधारणामा खर्च गर्न चीनले ४० अर्ब डलरको सिल्क रोड फन्ड स्थापना गरेको छ । त्यस्तै, १ सय अर्ब डलरको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले समेत मुख्य रूपमा ओबिओआर परियोजनामा लगानी गर्ने छ । यो अवधारणामार्फत चीनले विश्वमा आफ्नो प्रभाव तथा व्यापार बढाउन चाहेको विश्लेषकहरु बताउँछन् । तर, भारतले ओबिओआरको अवधारणालाई विरोध गरिरहेको छ ।
बाँकी विश्वसँग समाहित हुनु राम्रो
भेषबहादुर थापा
कूटनीतिज्ञ
हामी आफैँले सबैतिरको बाटो खोल्न सक्दैनौँ । तर, छिमेकीको प्रयासले हाम्रो कनेक्टिभिटी बाँकी विश्वसँग बढ्न सक्यो भने त्यो असाध्यै राम्रो हो । चीनले इतिहासमा रेसममार्गको माध्यमबाट विश्वका विभिन्न मुलुकसँगको पारवहन र अन्य सम्बन्ध स्थापित गरेको थियो । अहिले वान बेल्ट वान रोड भनेको छ । नेपालले पनि त्यसमा सहभागी भई बाँकी विश्वसँग आफूलाई समाहित गर्नु राम्रो कुरा हो । यो समझदारीपछि सडक, हवाई, रेललगायतका माध्यमबाट नेपालको कनेक्टिभिटी बढाउन सक्यो भने अहिलेको अवस्थाबाट पार पाउन पनि सकिएला ।
अब परियोजना विकासमा लाग्नुपर्छ
प्रा. पिताम्बर शर्मा
पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
यो समझदारीले ओबीओआरमा नेपाल र चीनबीचको सहकार्यको बाटो खोल्यो । यसले ओबिओआरको बृहद् अवधारणाभित्र अघि बढ्ने तथा यससँग सम्बन्धित वित्तीय संस्था र अन्य निकायसँग सम्बन्ध स्थापित गर्ने बाटो खोलेको छ । अब यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने तयारी गर्नुपर्ने छ । त्यसका लागि पूर्वाधार, व्यापार, पारवहन, लगानी आदिका क्षेत्रमा परियोजनाहरु विकास गर्नुपर्छ । ती परियोजनाहरु सडक, रेल, ऊर्जा, पाइपलाइन, पर्यटन, कृषि, शहरी विकास आदि धेरै क्षेत्रका हुनसक्छन् । ती परियोजनाको विकास कसरी गर्ने, वित्तीय भार कसरी र कसले बेहोर्नेलगायत विषयमा तत्काल तयारी शुरु गर्नुपर्छ । यी परियोजना विकासमा नेपालले जति छिटो काम गर्नसक्यो, त्यति नै धेरै फाइदा हुनसक्छ । यसमा तत्कालै पहलकदमी लिन सकिएन भने यसबाट कुनै लाभ प्राप्त हुनेवाला छैन ।

No comments:

Post a Comment