Monday, May 29, 2017

निजगढ–काठमाडौं द्रुतमार्ग शिलान्यास

पत्र पत्रिका बाट  -साभार                           http://www.karobardaily.com/news/79124


    supervisor_accountप्रकाश लम्साल   visibility323
द्रुतमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री
निजगढः काठमाडौंलाई तराईसँग सिधा जोड्ने बहुप्रतीक्षित निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको दु्रतमार्गको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका छन् ।
नेपालले आफैं निर्माण गर्ने कि बाह्य कम्पनीलाई निर्माणको जिम्मा दिने भन्नेमा यसअघि देखिएको विवादको अन्त्य गर्दै सरकारले आफैं द्रुतमार्ग निर्माण गर्ने निर्णय लिएको थियो । 
निर्माणको जिम्मा नेपाली सेनालाई दिइएपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढमा दु्रतमार्गको शिलान्यास गरेका हुन् । राजधानीलाई तराईसँग जोड्ने निकै छोटो सडकको रूपमा रहेको यस दु्रतमार्गको निर्माण गर्न १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
 ललितपुरको खोकनाबाट सुरु भइ बाराको निजगढ पुगेर पूर्वपश्चिम महेन्द्र राजमार्गमा जोडिने दु्रतमार्गको लम्बाइ ७६ किलोमिटर छ  । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस सडक चार लेनको हुनेछ ।
सडक निर्माणपछि ५९ मिनेटमा राजधानी पुगिने बताइएको छ । शिलान्यास समारोहमा प्रधानमन्त्री दाहालले दु्रतमार्ग मुलुकको आर्थिक विकासको मेरुदण्ड मात्र नभइ नेपालको राजनीतिक र भावनात्मक सम्बन्धमा समेत एकताको सूत्रमा बाँध्ने कडी भएको बताए ।
“राष्ट्रिय गौरवको यस आयोजनाले काठमाडौंसँगकोे समय र दूरी घटाएसँगै मधेश, पहाड र हिमालको भावनालाई जोड्नेछ,” उनले भने, “ऐतिहासिक कार्यको शिलान्यास गर्ने अवसर पाएकोमा खुसी छु  ।”
प्रधानमन्त्री दाहालले आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने विषयमा रचनात्मक सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए । उनले भने, “म प्रधानमन्त्री हुँदै गर्दा यो काम नेपाली सेनालाई दिने अठोटका साथ आएको थिएँ ।” दु्रतमार्गको शिलान्यास निजगढस्थित प्रवेश बिन्दुमा धार्मिक परम्पराअनुसार गरिएको हो ।
कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको गौरब बढाए जस्तै यो सडक निर्माणमा दक्षता अझ प्रस्तुत गर्नेमा आशावादी रहेको बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपालको समृद्धि र सम्पन्नताको ढोका यो आयोजनाले खाल्ने र यसले दुई ठूला मुलुकलाई जोड्दै नेपालभित्रै पनि तराई मधेश र पहाडलाई एकढिक्का बनाइ द्वन्द्व व्यवस्थापनमा मनोवैज्ञानिक प्रभाव पार्दै राष्ट्रकै उपलब्धिका रूपमा रहने बताए ।
प्रधान सेनापति राजेन्द्रबहादुर क्षेत्रीले नेपाली सेनालाई दिइएको यो कार्य अवसर र चुनौति दुवै रहेको बताउँदै स्तरीय काम गर्ने प्रतिवद्धता जनाए । सेनाको उच्चस्तरीय निर्देशक समितिका अध्यक्ष तथा बालाध्यक्ष रथी पूर्णचन्द्र थापाले यो सडकको पाइलट ट्र्याक खोल्ने काम पनि ०७० सालमा नेपाली सेनाले गरेको स्मरण गरे ।
कार्यक्रममा दु्रतमार्ग आयोजना प्रमुख तथा नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले आयोजना भित्रका सडक, पुल, सुरुङ, आकाशे पुल, प्रवेशद्वार, राजश्व दस्तुर, सुरक्षा, सञ्चार लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment