Friday, December 13, 2019

पालो विद्युतीय सवारीको

https://nepalmag.com.np/category/147

पालो विद्युतीय सवारीको

इन्भारोमेन्ट पर्फर्मेन्स इन्डेक्स २०१८ मा नेपाल पुछारबाट १ सय ७६ औँ स्थानमा छ । १ सय ८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको हो । वायु प्रदूषणको हिसाबले नेपालको स्तर ३१ दशमलव ४४ छ ।
विज्ञका अनुसार उपत्यकाको वायु प्रदूषण हुनुमा सडकमा गुड्ने सवारी साधनको ठूलो हात छ । अधिकांश गाडी डिजेल तथा पेट्रोलबाट चल्छन् भने केही ग्यास र ब्याट्रीबाट । ०७४ को तथ्यांकअनुसार उपत्यकामा मात्रै साढे ७ लाख मोटरसाइकल र स्कुटर दर्ता छन् भने त्यसमा ८० प्रतिशत सडकमा कुदिरहेका छन् । आव ०७५/७६ सम्म जम्मा ३ लाख ३ हजार ७ सय २९ पुगेको छ । यो मिनीबस, टेम्पो, माइक्रो, एम्बुलेन्स, कार, जीप, भ्यान, दुईपांग्रे मोटरसाइकलबाहेकको तथ्यांक हो ।
यस्तै, आर्थिक वर्ष ०७५/७६ मा सरकारले विकासका लागि जम्मा २ खर्ब ३८ अर्ब खर्चिंदा पेट्रोलियम खरिदमा २ खर्ब ६३ अर्ब खर्च भएको देखिन्छ । सरकारको विकास बजेटभन्दा नेपाल आयल निगमको कारोबार बढी देखिन्छ । विदितै छ, नेपालले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल आयात गर्छ । आव ०७५/७६ मा निगमले आईओसीबाट एक खर्ब ९२ अर्ब ३९ करोड ४३ लाख रुपैयाँको इन्धन आयात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार आव ०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ । चालू आवमा व्यापार घाटा साढे १ खर्बले बढेको हो । विद्युत् प्राधिकरणले उत्पादन बढ्दो तर खपत कम भएको बताएको छ । यस दृष्टिले हेर्दा विद्युतीय सवारी साधन उपयुक्त हो । त्यसमाथि सरकारले आफ्ना नीति तथा कार्यक्रममै डिजिटल नेपाल र विद्युतीय सवारी साधनमैत्री नीति ल्याएको छ ।
विश्वभरि नै विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ । संसारभर अटोमोबाइल कम्पनी विद्युतीय सवारी साधन उत्पादनमा जुटेका छन्, जसमा चीनको अग्रस्थान छ । नेपालको सन्दर्भमा भने एक दशकदेखि विद्युतीय  गाडी बिक्री हुँदै आएपछि पछिल्ला वर्षबाट यसले गति लिन थालेको छ ।

निजी क्षेत्रको तयारी

नेपालका अटोमोबाइल कम्पनीले विद्युतीय सवारी साधन आयात बढाइरहेका छन् । मुख्यतः सरकारले विद्युतीय सवारी साधनमा १० प्रतिशत मात्र भन्सार कर लगाएपछि पछिल्लो २ वर्षमा यस्ता साधनमा विभिन्न कम्पनीको चासो बढेको छ । यस्तै, पेट्रोल गाडीमा बैंकमा ऋण सुविधा लिँदा बढी कर तिर्नुपर्ने भए पनि विद्युतीय गाडीका लागि ऋण सहुलियत छ ।
अग्नि इनर्जी प्रालिले २ वर्षदेखि विद्युतीय सवारी साधनको रूपमा महिन्द्राको इटुओ प्लस कार बेचिरहेको छ । भावी पुस्तालक्षित प्रकृति संरक्षण गर्न विद्युतीय कार बिक्री थालेको अग्निका कार्यकारी वरिष्ठ प्रबन्धक प्रमोद भण्डारी बताउँछन् । विद्युतीय गाडीमा गेयर परिवर्तन गरिराख्नुपर्ने झन्झट नहुने, पेट्रोलको पैसा बच्ने र अटोमेटिक अर्थात् स्वचालित भएकाले सबै वर्गका लागि उचित हुने उनको बुझाइ छ । भन्छन्, “ग्राहकमा चेतना नभएर हो, नत्र विद्युतीय सवारी साधन नेपालका लागि उत्कृष्ट छ । महिन्द्राको इटुओ सानो आकार, पार्किङ गर्न सजिलो र चलाउन सहज भएकाले ग्राहकमाझ पनि प्रिय छ ।” भण्डारीका अनुसार गाडी चार्जिङ  स्टेसनको भौतिक पूर्वाधार नबन्दा सोचेजस्तो हुन सकेको छैन ।
आयोनिक तथा कोना दुइटा इलेक्ट्रिक कार बजारमा ल्याएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलाई भने बजार माग धान्नै गाह्रो छ । कम्पनीका बजार तथा सञ्चार प्रमुख आवासिस ओझा भन्छन्, “माग धेरै छ । पुर्‍याउन कठिनाइ भइरहेको छ ।” यी गाडी नियमित ३ सय १२ किलोमिटर गुड्छन् भने लामो दूरीमा ४ सय ८२ किलोमिटर गुड्छन् । आवाज नआउने, एक पटक लगानी गरेपछि पेट्रोलमा जस्तो धेरै खर्च नहुने भएकाले पछिल्लो समय प्रयोगकर्ता विद्युतीय सवारीमा आकर्षित छन् ।
सन् २०१८ देखि बीवाईडी ब्रान्डका इसिक्स विद्युतीय कार बेचिरहेको छ, साइमेक्स कम्पनीले । नयाँ बीवाईडी एमथ्री नाडा अटो सो–२०१९ मा सार्वजनिक गर्दै छ । एक पटकको चार्जमा ४ सय किलोमिटर गुड्नु उक्त कारको विशेषता हो । कम्पनीका प्रोजेक्ट तथा बजार व्यवस्थापक समीर श्रेष्ठ पेट्रोलियम पदार्थ आयातमा अनिश्चितता र बढ्दो प्रदूषणले विद्युतीय गाडीमा व्यापार गर्न प्रेरित भएको बताउँछन् । भन्छन्, “वातावरण संरक्षणका लागि साइमेक्स नेपालमा हरित क्रान्ति गर्न चाहन्छ ।”
बेला मोटर्स प्रालिले ०७२ देखि नै विद्युतीय साइकल र स्कुटर बेच्न थालेको हो । कम्पनीले टी फाइभ र टी थ्री स्पोर्ट विद्युतीय साइकल र डोल्से तथा डुरो स्कुटी बेचिरहेको छ । एक पटक ब्याट्री चार्ज गरेपछि ८० किलोमिटरसम्म गुड्छन्, बेलाका मोटरसाइकल । वातावरणीय सन्तुलन कायम गर्न, किफायती र साधारण पोर्टबाट चार्ज गर्न सकिने भएकाले यी साधन ग्राहक रोजाइमा परेको बताउँछन्, बेला मोटर्सका महाप्रबन्धक सुवास आचार्य । नेपाल मात्र होइन, छिमेकी देश विद्युतीय सवारीमा नीतिगत रूपमै जान थालेको आचार्यको भनाइ छ । भन्छन्, “हामी इलेक्ट्रिकमा नगई सुखै छैन । भारतले सन् २०२५ तिर पूर्ण विद्युतीय हुने भनेको छ । हामीकहाँ अधिकांश गाडी भारतबाटै आयात हुन्छन् ।”
सवारी साधन बिक्रीको तथ्यांकअनुसार किया मोटर ब्रान्डले बजारमा पहिलो नम्बर स्थान हासिल गरेको छ । ६६ लाखदेखि ९० लाख रुपैयाँसम्मका गाडी उपलब्ध भएको कियाको विद्युतीय कार किया सोल इभी चर्चित छ । कम्पनीका सहायक महाप्रबन्धक अनिश लामिछानेका अनुसार विस्तारै अफिसका कर्मचारीलाई विद्युतीय सवारी साधन प्रयोग गर्न लगाउने सोच छ । भन्छन्, “वातावरण पनि संरक्षण हुने, कर पनि धेरै तिर्न नपर्ने भएकाले विद्युतीय सवारीका लागि दीर्घकालीन लक्ष्य लिएका छौँ ।”
मध्य साउनदेखि पारामाउन्ट मोटर्स प्रालिले विद्युतीय सवारी साधन बेच्न थालेको छ । भर्खरै बेच्न थाले पनि ग्राहकको चासो विद्युतीय सवारीतर्फ राम्रो पाएका छन्, कम्पनीका महाप्रबन्धक सचिन अर्यालले । भन्छन्, “आर्थिक र वातावरणीय दृष्टिले यो उत्तम छ ।” तर छिटो चार्ज हुने स्टेसन नबनिसक्दा केही कठिनाइ भएको कम्पनीको बुझाइ छ । सरकारले दर्ता, लाइसेन्स र नम्बर प्लेटको लफडा सुरु गर्दा ग्राहक मोटरसाइकल किन्न केही हच्किएको विद्युतीय सवारी साधन बिक्रेताको भोगाइ छ ।

विद्युतीय नीति

१५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्मा बजेट भाषण गर्दै यातायात क्षेत्रमा नवीकरणीय ऊर्जा प्रयोग गरी सहरी क्षेत्रको वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहित गरिने बताए । काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपास क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा विद्युतीय बस सञ्चालनमा ल्याइने उनको भनाइ थियो । साथै, विद्युत् प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ स्टेसन स्थापना गर्दै लगिने भन्दै यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड बजेट विनियोजन गरे । तर साझा यातायातले सञ्चालन गर्ने भनेर चीन सरकारबाट प्राप्त ५ वटा विद्युतीय गाडी विवाद नसल्टिँदा अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।
प्रबन्ध निर्देशक भरत सौरेलले विद्युतीय मोटरसाइकल बेच्न सुरु गरेको ११ वर्ष भयो । ८ वर्ष भयो, उनले क्लिन इनर्जी नेपालको स्थापना गरेको । हाल उनको कम्पनीले दुईपांग्रे तथा तीनपांग्रे सवारी साधन बेचिरहेको छ ।
दशक लामो व्यापारमा उनले लोडसेडिङको दुःख पनि झेले । उपभोक्तामा केही परिवर्तन आएको उनी ठान्छन् । यद्यपि अधिकांशलाई के–कस्तो चाहिन्छ भन्ने सोच अझै नपलाएको उनको अनुभव छ । विद्युतीय सवारी चलाउने प्रयोगकर्ता फर्केर पेट्रोलमा नजाने उनी दाबी गर्छन् । विद्युतीय सवारी उत्पादन तथा आयात संघ नेपालको सचिवसमेत रहेकाले सौरेलले पटक–पटक विद्युतीय सवारीका लागि सरकारसँग लडेको अनुभव छ । भन्छन्, “विद्युतीय सवारी साधनको नीति त आयो तर कार्यान्वयन गर्ने कार्यविधि नबन्दा अलमल छ ।”
०७१ कात्तिकमा सरकारले ल्याएको वातावरणमैत्री यातायात नीतिको सातौँ नम्बरमा लक्ष्यको रूपमा ०७७ भित्र कम्तीमा २० प्रतिशत विद्युतीय सवारी साधन मुलुकभर चलाइने उल्लेख छ । तर नीतिलाई कार्यान्वयनका लागि चाहिने ऐन, नियम र प्रविधिको कुनै टुंगो छैन । नीतिलाई योजनाको रूपमा सम्बोधन हुने गरी यातायात विभागले मस्यौदा बनाए पनि कार्यान्वयन अझै अनिश्चित रहेको सौरेल बताउँछन् । पहिला विद्युतीय साइकल तथा मोटरसाइकल चलाउन लाइसेन्स नचाहिने भए पनि पछिल्लो समय लाइसेन्स र नम्बरप्लेट नदेखे ट्राफिकले कारबाही गर्ने प्रवृत्तिले ग्राहक अलमलमा परेको उनको बुझाइ छ ।

बस पनि विद्युतीय

विज्ञको भनाइमा सरकारले जबसम्म विद्युतीय सार्वजनिक यातायात सञ्चालनमा ल्याउँदैन, तबसम्म देशले विकासमा फड्को मार्न सक्दैन । वातावरणविद् भूषण तुलाधरका अनुसार देशको व्यापार घाटा कम गर्न, साहसिक पर्यटन व्यवसाय गर्न, ऊर्जा व्यवस्थापन तथा विद्युत् खपत बढाउन र वायु प्रदूषण रोक्न विद्युतीय सवारी साधन प्रयोग अनिवार्य छ । सरकारी तवरमा सार्वजनिक यातायातका रूपमा ७१ वटा साझाका बस चलिरहेका छन् । डिजेलबाट चल्ने साझा यातायातलाई शीघ्र विद्युत्बाट चल्ने बनाउन सरकारले योजना ल्याउनुपर्ने तुलाधर बताउँछन् । तुलाधर साझा यातायात सञ्चालक समितिका निर्देशक पनि हुन् ।
निजी तवरमा भने सुन्दर यातायात प्रालिले मध्य भदौसम्म ७ वटा विद्युतीय सार्वजनिक सवारी चलाउँदै छ । सरकारले चार्जिङ स्टेसन, अरूको चार्जिङ स्टेसनमा रिचार्ज गर्दा लाग्ने शुल्क नतोकिदिँदा चलाउन कठिन भएको कम्पनीले जनाएको छ ।
कम्पनीका सञ्चालक सदस्य सुरेश पोखरेलका अनुसार सरकार आफैँ चलाउने कि अरूलाई जिम्मा दिने भन्ने अलमलमा छ । यातायात विभागले केही साताअघि अन्य सवारीजस्तै विद्युतीय सवारीको भाडादर शुल्क तोकिदिएपछि अहिले सुन्दरले गाडी चलाउन पाएको हो । उक्त गाडी काठमाडौँ रिङरोडलगायत प्रदेश १ मा पनि चलाउने तयारी छ । यसका लागि प्रदेश सरकारसँग छलफल भइरहेको पोखरेलले जनाए ।
ऊर्जा मन्त्रालय योजना महाशाखाका सहसचिव सुशीलचन्द्र तिवारी सरकारले १५ वटा चार्जिङ स्टेसन बनाइसकेको बताउँछन् । उनका अनुसार विद्युत् प्राधिकरणले गाडी रिचार्ज गर्न स्टेसन बनाइसकेको छ । यसका लागि निर्देशिका डेढ महिनामै कार्यान्वयनमा आउने उनको दाबी छ । तर प्राधिकरणका सहायक महाप्रबन्धक सागर ज्ञवाली सरकारका तर्फबाट नीतिमा भए पनि अहिलेसम्म चार्जिङ स्टेसन नबनेको बताउँछन् ।
विद्युत् वितरण नियमावलीअनुसार जति बिजुली खपत भएको छ, त्यति नै शुल्क लाग्छ । चार्जिङ स्टेसन कस्तो बनाउने भन्नेमा स्पष्ट खाका प्राधिकरणले तयार गरेको छैन । प्राधिकरणका अनुसार साझाले १ वैशाख ०७७ देखि विद्युतीय ऊर्जाबाट ३० वटा बस चलाउँदै छ । ३ सय बस चलाउनुपर्ने सरकारको लक्ष्य रहे पनि ३० वटा मात्र कार्यान्वयनमा आउने सम्भावना छ ।
प्रकाशित: भाद्र ९, २०७६

पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता

https://nepalmag.com.np/news/2017-01-10/20170110151101.html

पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता

  • एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो ।
त्यो सामन्तवादी सोचको समय थियो । कानुनको शासन थिएन । मानवीय संवेदनाका आधारमा शासन चल्थ्यो । मौलिक अधिकारको अवधारणाको विकास भइसकेको थिएन । शिक्षा प्रदान गर्ने कुनै संगठित संरचना थिएन । लगभग कबिला अवस्थामा समाज  चलेको थियो । मान्छेले जाने अनुसार धर्मकर्म र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो कुरालाई परिभाषित गर्थे । समाजशास्त्र भन्ने कुनै अवधारणा नै थिएन । प्रजातन्त्रको सोच थियो होला तर संरचनाहरूको विकास भइसकेको थिएन । राजनीतिक  रूपमा त्यो अत्यन्त अस्थिर समय थियो । उत्तर र दक्षिणतर्फका दुवै शासकसँग जुध्न सक्ने क्षमता हिमवत् खण्डमा थिएन । स्वाभिमानको कमी थियो । दुवैतर्फका छिमेकी राज्य विस्तारमा लागेका थिए । संसारमा साम्राज्यवाद सुरु भइसकेको थियो । यस्तो  अवस्थामा हिमवत् खण्डको सुरक्षा एउटा चुनौतीपूर्ण प्रश्न थियो । आज पृथ्वीनारायण शाहलाई अध्ययन गर्न बस्दा त्यस बेलाको मापदण्डले हेर्नुपर्छ ।
नेपाललाई संसारको प्राचीनतम मुलुकमध्ये एक भएको गौरव छ । नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र  हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । यहाँका अति प्रभावशाली लिच्छवि राजाहरूको पतनपछि क्रमशः विभिन्न सानाठूला राज्य बन्दै-भत्कँदै गए । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी-चौबीसी  राज्य-रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे ।
उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत-आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण संसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सिमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा संगठित र एकाकार भए । एकीकृत राष्ट्र निर्माणको प्रक्रिया  सुरु भयो ।
यसकारण भन्न सकिन्छ, एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो । नेपालको इतिहासमा पृथ्वीनारायणको त्यति नै महत्त्व छ, जति फ्रान्सको इतिहासमा नेपो लियन बोनापार्ट (सन् १७६९-१८२९), जर्मनीको इतिहासमा अट्टोभान विस्मार्क (सन् १८१५-९८) र इटलीको इतिहासमा जुसेप्प गरिबाल्डी (सन् १८०७-८२) वा प्रधानमन्त्री काभोर (सन् १८१०-६१)को छ ।
यी सबैका राष्ट्रिय चुनौती र परिवेश फरक थिए । विस्मार्कले जर्मनीका भुरेटाकुरे राज्यहरू तथा पर्सियालाई मिलाएर एउटा ठूलो जर्मन राज्यको एकीकरण गरे । उनले त्यो नयाँ मुलुक रगत र इस्पातले बनेको हो भनेका थिए । जर्नेल नेपोलियन बोनापार्टले  क्रान्तिको माध्यमबाट फ्रान्सलाई विश्वस्तरीय साम्राज्यमा रूपान्तरण गरे । जर्नेल गरिबाल्डी र प्रधानमन्त्री काभोरको क्षमताका कारण इटली एउटा समृद्धशाली एकीकृत मुलुकका रूपमा निर्माण हुन पुग्यो । यी सबै इतिहासका लौहपुरुष मानिन्छन् ।
यी सबैभन्दा पुराना थिए, पृथ्वीनारायण शाह । तैपनि, उनी बढी आधुनिक तथा बहुआयामिक र राजनीतिक रूपमा बढी परिपक्व देखिन्छन् । उनले नेपाल एकीकरण मात्र गरेनन् । नेपालको स्थापनाकालीन सिद्धान्तहरू पनि कायम गरे । यी सिद्धान्त नेपालका  सम्बन्धमा आज पनि अकाट्य सत्यका रूपमा पढिन्छन् । एकताका सूत्रका रूपमा ऐतिहासिक कालमा यसको ठूलो महत्त्व थियो । आज पनि तिनको महत्त्व घटेको छैन ।
महत्त्वाकांक्षी र रणनीतिक
संसारमा कुनै पनि व्यक्ति जात वा नस्लका आधारमा राष्ट्रनिर्माता हुन सक्दैन । कुनै विशेष जात, धर्म, वर्ण, लिंग र क्षेत्रलाई राष्ट्राधार बनाउने व्यक्ति लामो समयसम्म राष्ट्रनिर्माता हुन वा टिकिरहन गाह्रो हुन्छ । पृथ्वीनारायण खस वा मगर कुन मूलका थिए, ठोकुवा गर्न सकिने स्थिति छैन । तथापि, उनले आफूलाई मगरातको राजा मै हुँ भनेका छन् । सुरथसिं राना आफ्नो मामाघरको हजुरबुबा भएको उनले उल्लेख गरेका छन् । त्यस्तै उनले मकवानपुरका दिग्बन्द सेनकी बहिनी बिहे गरेको इतिहासमा उल्लेख छ ।  उनको दरबारमा पाण्डे (बाहुन) र बस्नेत (क्षेत्री)को बिहेबारी चल्थ्यो । यी सबै पृष्ठभूमिबाट के देखिन्छ भने या त उनी मगर कुलका थिए, या मगर र खस राजपरिवारबीच राम्रै बिहेबारी चलेको अवस्था थियो । जात जे भए पनि उनी पढेलेखेका थिएनन् । देश-देशान्तर घुमेका पनि होइनन् । ससुराली मकवानपुरबाट र्फकंदा चन्द्रागिरिको डाँडोबाट उनले पहिलोपटक काठमाडौँका तीन सहर देखेका हुन् ।
उनको समयमा गोरखा आफैँमा धनी वा वैभवशाली राज्य पनि थिएन । पृथ्वीनारायणका बाबु नरभूपाल शाह विशेष योग्यता भएका मान्छे थिएनन् । तर, करिब २० वर्षकै उमेरमा राजा भएका पृथ्वीनारायण महत्त्वाकांक्षी र होनहार दुवै थिए । उनमा गोरखा  राज्यको विस्तार र वैभवशाली एवं सम्पन्न जनताको परिकल्पना पनि थियो । उनलाई राजा राम शाह, भूपतिन्द्र मल्ल वा महिन्द्र मल्लजस्तो न्यायप्रिय राजा बन्ने रहर थियो । ठूलो देशको अधिपति हुनका लागि हिमवत् खण्डको एकीकरण आवश्यक थियो भने  परम्परागत रूपमा आर्थिक समृद्धिका लागि भोटसँग व्यापार गर्ने हिमाली नाकाहरू तथा दक्षिणतर्फको मुगलानसम्मको पहुँच नभई सम्भव थिएन । यो परिकल्पनाले पृथ्वीनारायणलाई राज्य विस्तार एवं एकीकरणतर्फ उन्मुख गरायो ।
नेपाल एकीकरणको प्रयास गर्ने पृथ्वीनारायण पहिलोे व्यक्ति थिएनन् । मानदेवलगायतका लिच्छविकालीन राजाहरू सम्भवतः सबैभन्दा प्रभावशाली थिए । अहिलेको नेपालभन्दा लगभग ठूलो नेपालमा उनीहरूले शासन गरेको मानिन्छ । तर, नेपाल सोही रूपमा  रहिरहन सकेन । वास्तवमा अठारौँ शताब्दीका राजा अरमुडी, बाह्रौँ शताब्दीका राजा नागराज, सत्रौँ शताब्दीका राजा प्रताप मल्ल र राम शाहले पनि यस हिमवत् खण्डमा एकीकरणको भगीरथ प्रयत्न गरेका हुन् ।
पृथ्वीनारायण र अरूका बीचको मुख्य फरक के  हो भने उनी ती प्रतापी राजाहरूभन्दा बढी महत्त्वाकांक्षी र रणनीतिक थिए । यो क्षमताले उनलाई राज्य विजेता मात्र नभई समग्र नेपालको एकीकरणकर्ता बनायो । यो अवसर प्रताप मल्लजस्ता सम्पन्न नेपालका राजा र अरमुडी वा नागराजजस्ता कश्मीरसम्म  शासन गर्ने राजालाई प्राप्त भएन । किनभने, एकीकरण गर्न चाहिने सामरिक क्षमता र एकीकृत देशलाई धान्न सक्ने सामाजिक, आर्थिक, राजनीतिक र प्रशासकीय हुति सबैमा उत्तिकै थिएन । पृथ्वीनारायणले यो पुरुषार्थ गरेरै देखाएका हुन् ।
विश्व परिस्थिति
एकीकरण राजा पृथ्वीनारायणको महत्त्वाकांक्षा मात्र थिएन । यसका लागि तत्कालीन अवस्थाका वस्तुगत परिस्थितिहरू पनि विद्यमान थिए । उनी जन्मनुअघि रोबर्ट वालपोल बेलायतका प्रधानमन्त्री भएका थिए । बेलायतको बढ्दो सैन्यशक्ति त्रासको विषय भइसकेको  थियो । रुसका राजा (जार) पिटर द ग्रेटले राज्यमा ठूलो भूमिका पाएको अर्थोडक्स चर्चको सुधार गर्न थालेका थिए । तथापि, रुस र पर्सियाबीच युद्ध सुरु भइसकेको थियो । अफगानहरूले त्यस बेलाको शक्तिशाली राष्ट्र इरानलाई जितिसकेका थिए । चीनका कांशी  बादशाह भर्खर बितेका थिए ।

पृथ्वीनारायणको जन्मपछि नै पर्सियालाई कन्स्ट्यान्टटिनोपोल सन्धि अन्तर्गत रुस र अटोमान साम्राज्यले बाँडीचुँडी खाएका थिए । अंग्रेज र स्पेनीहरूबीचको युद्ध त्यसपछिको अर्को ठूलो घटना थियो । पृथ्वीनारायण शाह किशोर उमेरमा टेक्दा नटेक्दै रुस र टर्कीबीच  चारवर्षे घमासान युद्ध सुरु भइसकेको थियो । चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको कार्यक्रम त्यत्तिकै दह्रो थियो ।
यता हिन्दुस्थानमा मुगलहरूको बिजोग सुरु भइसकेको थियो । जो टुक्राटुक्रा हुँदै थिए । पर्सियाका नादिर शाहको आक्रमणबाट  मोहम्मद शाह निकै पीडित थिए । युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच पटक-पटक युद्ध भएझैँ यस क्षेत्रमा मुस्लिम र हिन्दु राज्यहरू भिड्न सुरु गरिसकेका थिए । चतुर बेलायती तथा फ्रान्सेलीहरू हिन्दुस्थानमाथि आधिपत्य स्थापित गर्ने तयारीमा जुटिसकेका थिए ।  यो खेलमा बेलायती महाचतुर देखिए । दिव्योपदेशमा टर्की, चीन र हिन्दुस्थानका बारेमा सावधान गर्नुपर्ने कारण सम्भवतः तिनै थिए ।
राष्ट्र निर्माणका आधार
पृथ्वीनारायण नयाँ नेपाली मुलुकका एकीकरणकर्ता मात्र होइनन् । आफ्नो जिन्दगीको अन्तिम लडाइँ उनले सन् १७७३ मा लडेको देखिन्छ । करिब ४६ वर्षको उमेरमा काठमाडौँमा राजधानी सारेपछि पृथ्वीनारायणमा देखिएको राजनीतिक कौशलले उनको  परिपक्वता दर्साउँछ । उनले टिपाएको 'दिव्योपदेश' र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन् । उनले पुनः एकीकृत नेपाललाई पाको राजनेताका रूपमा चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देख्न चाहे ।
हिमवत् खण्डको असंलग्न  परराष्ट्र नीतिको सूत्रधार उनै भए । उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनीमार्फत नै आयो । एकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिए । आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरे । राष्ट्रिय सेनाको  निर्माण एउटा ठूलो प्रयोग थियो । आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै महत्त्वपूर्ण छन् । नवएकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटकपटक लडाइँ  लडेको थियो । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो । नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकारिता पृथ्वीनारायण शाहले नै सुरु गरेका हुन्, जसमा अरूको पनि पर्याप्त लगानी छ । तथापि, सूत्रधार पृथ्वीनारायण नै हुन् भन्ने  कुरामा विवाद छैन ।
पृथ्वीनारायणले निर्माण गरेको एकीकृत नेपाल उनको जमाना अनुसार हेर्दा सबैभन्दा टिकाउ भएको मान्नुपर्छ । उनको जमानामा यस क्षेत्रमा विभिन्न लडाइँ भए । तर, एकीकरणको प्रयास भएन । चिनियाँ प्रयोगलाई अलग गर्ने हो भने उनीपछि बनेको यस क्षेत्रको  वैभावशाली सिख साम्राज्य ४८ वर्ष पनि टिक्न सकेन । यसका संस्थापक रञ्जित सिंह बितेपछि यो मूलतः सकियो । यसै बेला छत्रपति शिवाजीले मराठा साम्राज्य पनि स्थापित गरेका थिए, जसलाई हिन्दु राज्य भनिन्थ्यो । यो सन् १६७४ देखि १८१८ सम्म मात्र  टिक्यो ।
सन् १८५८ देखि १९४७ का बीच उपनिवेशउन्मुख बेलायतीहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि करिब ५ सय ६२ वटा बाइसी-चौबीसी प्रकारका राज्य बेलायत सरकारलाई राजनीतिक-आर्थिक कूत  बुझाउँथे । यो परिस्थितिलाई हेर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले बेलायती साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग पनि जटिल कूटनीति निर्वाह गरी निरन्तर गन्तव्य पहिचान गर्‍यो ।
विस्तारवाद, जातीयता र धर्म
जतिसुकै राम्रा व्यक्तिका पनि कमीकमजोरी हुन्छन् । व्यक्तिको क्षमता जति बढी हुन्छ, उसका विरोधी पनि त्यति नै बढ्छन् । कतिपयले पृथ्वीनारायणलाई विस्तारवादी भनेका छन् भने कतिपयले हिन्दु धर्मलाई जनतामा लाद्ने शासक । त्यस्तै जातीय  शासनलाई उनले भताभुंग पारेको पनि कतिपयको आरोप छ । उनको पालादेखि नै विभिन्न जनजातिले शासन गुमाएको पनि भनिएको छ । एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ । प्रकाशित सामग्रीका आधारमा हेर्दा पृथ्वीनारायणले नेपाललाई 'असली हिन्दुस्थान' बनाउन खोजेको आरोप लगाइएको छ । यी सबै आरोपका बारे विभिन्न मान्छेका विभिन्न दृष्टिकोण हुन सक्छन् । तथापि, राज्य जित्ने अभिलाषा नभएको भए एकीकरणको परिप्रेक्ष्य आउने थिएन भन्न सकिन्छ ।
उनले नेपाललाई असली हिन्दुस्थान बनाउन खोजे भन्ने आरोपको आधार देखिँदैन । मुगल वा अंग्रेजबाट यो बिटुलिएको छैन भन्ने प्रसंगमा उनले 'असली हिन्दुस्थान रहेछ' भनेका छन् । उनले देखेबुझेसम्मको वस्तुस्थितिका आधारमा निकालिएको निष्कर्ष थियो त्यो ।  त्यस्तै, उनको समयमा कतै जातीय राज्य वा शासन भएको इतिहासले देखाउँदैन । यस अर्थमा उनले कसैसँग जातीय लडाइँ लडेका थिएनन् । जस्तो: एकीकरणको वृत्तान्तमा गोर्खालीहरूले राजा जयप्रकाश मल्लको खस एवं मगर सेनासँग समेत लडाइँ लडेको  पढ्न सकिन्छ ।
आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्त्वपूर्ण हुन्छन् । विभिन्न मिथक, मूर्ति, प्रतिमा र प्रतीकलाई पनि एकताको आधारका रूपमा स्थापित गरिएका हुन्छन् । प्रकृतिको अवधारणालाई नियति र ईश्वरको अवधारणालाई मिथक भनिएकै छ । तर, त्यसबिना  साधारण मान्छेको जीवनको परिकल्पना सम्भव हुँदैन । आममान्छेले बुझ्ने ससाना ऐतिहासिक तथ्य, वीरता, लडाइँ र शान्तिका गीतहरू आफ्नो भाषा, धर्म-संस्कृति, खोलानाला, जंगल, तरुण र तरुणीको सम्बन्ध, मेलापात, दुःख एवं विस्मात्का प्रसंगले मान्छे,  समाज अनि राष्ट्रलाई जोडेका हुन्छन् ।
कतिपय कुरा असत्य पनि होलान्, तथापि यी समग्र परिस्थितिले देश र राष्ट्रियताको भावना जागृत गर्ने हो । प्रजातन्त्र, समानता र मौलिक अधिकार एवं शासनमा सहभागिताका कारण बन्ने राष्ट्रवाद त आजको सिर्जना हो ।  इतिहासलाई यसका आधारमा मूल्यांकन गर्न खोज्नु हुँदैन । राज्यहरू सेनाले टिक्लान्, नटिक्लान् तर यी साधारण सत्यका आधारमा ठूल्ठूला साम्राज्य बनेका पनि छन्, ढलेका पनि छन् । पृथ्वीनारायणका बारेमा नेपालीले गौरवान्वित हुनुपर्छ, नेपाल टिकेको मात्र छैन,  आवश्यक पर्दा यसले शत्रुलाई ढालेको पनि छ ।
पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः कथा भइसकेको हुने थियो । प्रजातन्त्र र संविधानवादले मुलुकलाई बलियो बनाउने आधार  उनले छाडेर गए । आजका नेपाली आजको आवश्यकताबमोजिम देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्थापनको कुरो गर्न सक्षम छन् । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र  होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माताचाहिँ अभिशाप हुने भन्ने हुनै सक्दैन ।
प्रथम प्रकाशित मिति: २७ पुस २०७१ 
 
 
प्रकाशित: पुस २६, २०७३

६ महिनामा उपत्यकाको १० स्थानमा विद्युतीय चार्जिङ स्टेसन

https://nagariknews.nagariknetwork.com/news/77802/

६ महिनामा उपत्यकाको १० स्थानमा विद्युतीय चार्जिङ स्टेसन

शुक्रबार, १० जेठ २०७६, ०९ : १५ हिमाल लम्साल  | @mtlamsal

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले ६ महिनाभित्र उपत्यकाको १० स्थानमा विद्युतीय चार्जिङ स्टेसन खोल्ने भएको छ। विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न प्राधिकरणले १० स्थानमा चार्जिङ स्टेसनका लागि उपयुक्त ठाउँ खोजेको छ। ऊर्जा दक्षता एवं चुहावट नियन्त्रण विभागले विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणका लागि ठाउँ खोज्ने कार्य तीव्र पारेको जनाएको छ। 
ऊर्जा दक्षता एवं चुहावट नियन्त्रण विभागका उपप्रबन्धक प्रमोद रिमालले सबै प्रकारका विद्युतीय सवारी साधनलाई सार्वजनिक ‘डिसी बुस्ट चार्जिङ’मार्फत दु्रत गतिमा चार्ज गर्ने संरचना निर्माणका लागि ठाउँ उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ।
‘चार्जिङ स्टेसन खोल्न उपयुक्त स्थानका लागि सार्वजनिक सूचना जारी गरेर प्रस्ताव माग गरेका छौं,’ उनले भने, ‘चार्जिङ स्टेसन खोल्न व्यापारिक भवन, सुपर मार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय सरकारी निकायलगायत क्षेत्रमा चार्जिङ स्टेसन खोल्ने योजना बनाएका छौं।’ प्राधिकरणले गत वैशाख २० गते १५ दिने सूचना जारी गरेर ठाउँको खोजी गरेको हो। हालसम्म करिब १० वटा प्रस्ताव आइसकेको प्राधिकरणले जनाएको छ।
उपप्रबन्धक रिमालले जग्गा उपलब्ध गराएको खण्डमा प्राधिकरणले सम्पूर्ण खर्च गरेर चार्जिङ स्टेसन निर्माण गरिदिने बताए। स्टेसनका लागि तीनवटा चार्जिङ प्वाइन्ट र कम्तीमा ५० वटा गाडी पार्किङ गर्न पुग्ने ठाउँ चाहिनेछ। नेपालमा उपलब्ध हुने सबै खालका विद्युतीय सवारी साधन चार्जिङ गर्न मिल्ने खालको स्टेसन निर्माण गर्न लागिएको हो। १० वटै स्थानमा विद्युतीय चार्जिङ स्टेसनको लागि १० देखि १५ करोड रुपैयाँ लाग्ने अनुमान छ। ‘अहिले धमाधम चार्जिङ स्टेसन स्थापनाका लागि प्रस्ताव आइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म १० वटा निकायले प्रस्ताव पेस गरेका छन्।’
‘नेपालमा तीन खालका विद्युतीय सवारीसाधन छन्। ती सबैलाई मिल्ने खालको चार्जिङ स्टेसन खोल्न लागेका हौं,’ विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवालीले भने, ‘दु्रत गतिको चार्जिङ स्टेसन खोल्न लागेका हौं। जसमा एकै घन्टामा विद्युतीय गाडी फुल चार्ज गर्न सकिनेछ।’ उनका अनुसार च्याडेमो, सिसिएस, जिबिटी पोर्ट भएका विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने खालको चार्जिङ स्टेसन खोल्न लागिएको हो। अहिले विद्युतीय सवारीसाधन उपभोक्ताले आफ्नै घरमा एसी प्रविधिमा आधारित चार्जिङ गर्दै आएका छन्, जसमा चार्जिङ गर्न तीनदेखि पाँच घन्टा समय लाग्छ। 
चार्जिङ स्टेसनका लागि एकैपटकमा तीनवटा सवारीसाधन चार्जिङ गर्न मिल्ने खालको पूर्वाधार र सवारी पार्किङको आवश्यक स्थान उपलब्ध हुनुपर्नेछ। चार्जिङ स्टेसनका लागि ५०–५० किलोवाटको तीनवटा चार्जिङ गन जडान गर्नुपर्ने हुन्छ। विभागका सहायक प्रबन्धक ज्ञवाली पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय गाडीको इन्धन खर्च धेरै गुणा सस्तो हुने बताउँछन्। ‘विद्युतीय सवारीसाधन प्रतिकिलोमिटर एक रुपैयाँले गुड्छ,’ उनले भने, ‘इन्धनबाट चल्ने सवारीसाधनमा प्रतिकिलोमिटर सात रुपैयाँभन्दा धेरै खर्च लाग्ने देखिन्छ।’ उनका अनुसार विद्युतीय सवारी चलाउँदा प्रतिकिलोमिटर ६ रुपैयाँभन्दा धेरै सस्तो पर्छ।
पेट्रोलपम्प जस्तै विद्युतीय चार्जिङ स्टेसन चाहियो
सरकारले चालु आवको नीति तथा कार्यक्रममा विद्युतीय सवारीसाधन प्रवद्र्धनका लागि चार्जिङ स्टेसन स्थापना गर्ने योजना अघि सारेको थियो। सरकारले योजना अघि सारेको झन्डै एक वर्षपछि चार्जिङ स्टेसन स्थापना गर्ने तयारी भएको छ।
चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी विवाइडीले १२ ठाउँमा विवाइडी चार्जिङ स्टेसन खोलेको छ। तर, सार्वजनिक स्थानमा अहिलेसम्म चार्जिङ स्टेसन छैन। काठमाडौं उपत्यकामा अहिले साझा यातायात प्रालिको कार्यालय पुल्चोकमा मात्रै चार्जिङ स्टेसन छ। राष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगमा चार्जिङ स्टेसन भए पनि त्यो सर्वसाधारणको पहुँच बाहिर छ।
प्राधिकरणको केन्द्रीय कार्यालयमा पनि चार्जिङ स्टेसन छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं विद्युतीय सवारीसाधनका लागि आवश्यक पर्ने चार्जिङ स्टेसन खोलेर विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्नेतर्फ लाग्नुपर्ने बताउँछन्। ‘सरकारले आवश्यक कानुन बनाएर तत्कालै चार्जिङ स्टेसन खोल्ने वातावरण बनाउन जरुरी भइसक्यो,’ उनले भने, ‘विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने नीति लिएर मात्रै हुँदैन। आवश्यक उपकरण तथा पूर्वाधार नबनाएसम्म परिवर्तन आउँदैन।’
उनी उपत्यकाका निश्चित स्थानमा चार्जिङ स्टेसन बनाएर विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने सुझाउँछन्। पछिल्लो समय उपत्यकामा विद्युतीय सवारीसाधन भित्रिन थालेसँगै चार्जिङ स्टेसनको समस्या देखिन थालेको छ। ‘पेट्रोल–डिजेल पम्प जहाँ भन्यो त्यहीँ सर्वसुलभ पाइन्छ,’ उनले भने, ‘विद्युतीय चार्जिङ स्टेसन कतै भेटिँदैन।
त्यसैले विद्युतीय सवारीसाधन जति  सर्वसाधारणको रोजाइमा पर्नुपथ्र्याे सो अनुसार पर्न नसकेको हो।’ उनका अनुसार सरकारले विद्युतीय सवारीसाधनको आयात र चार्जिङ स्टेसन निर्माणमा अनुदान दिएर अघि बढ्नुपर्छ। हालसम्म नेपालमा करिब सात सय विद्युतीय सवारीसाधन छन्।


Thursday, December 12, 2019

गोर्खाली नभए कसरी चल्छ भारतीय सेना ? – भारतीय पत्रकार विवेक शुक्ला

https://hamroabhiyan.com/12/06/33776.html?fbclid=IwAR1qcgvx6oHTGIB26Vho_bPhxJdIldFrdmoLX2Ag9q4skd9r9ne-UkvmlZ0

गोर्खाली नभए कसरी चल्छ भारतीय सेना ? – भारतीय पत्रकार विवेक शुक्ला

SHARE







विवेक शुक्ला ‘ फील्ड मार्शल मानेकशा (भारतका आठौँ सेनाध्यक्ष—सं.) ले एकपटक गोर्खालीहरूको युद्ध क्षमताको बारेमा भनेका थिए, ‘यदि कसैले मर्न डराउँदिन भन्यो भने या त उ झुटो बोलिरहेको छ, होइन भने त्यो गोर्खाली हुनुपर्छ ।’ गोर्खाली सैनिकहरूको बहादुरीलाई यसभन्दा उच्च कुनै सम्मान मिल्न सक्दैन । अतुलनीय वीरताकै कारण भारतीय सेनामा उनीहरूलाई धेरै संख्यामा भर्ती लिने गरिएको छ । भारतीय सेनालाई शक्तिशाली बनाउनमा उनीहरूको ठूलो योगदान रहेको छ ।
तर निकट भविष्यमै भारतीय सेना गोर्खाली जवानबाट बञ्चित हुनसक्छ । यस्तो आशंका उठ्नुपर्ने कारण यो हो कि नेपाल सरकार आफ्ना गोर्खा जवानहरूलाई भारतीय सेनामा सामेल हुनबाट रोक्ने एक प्रस्ताबउपर विचार गरिरहेको छ ।
नेपालको एक संसदीय समितिले आफ्नो रिपोर्टमा भारतीय र ब्रिटिश सेनासहित कुनै पनि बाह्य सेनामा नेपाली गोर्खालीहरूलाई भर्तीमा रोक लगाउन जिकिर गरेको छ । (नेपालको कालापानी भूभागलाई भारतले आफ्नो राजनीतिक नक्सामा गाभेर १६ कार्तिक ०७६ मा प्रकाशित गरेपछि भारतीय सेनामा नेपालीहरूको भर्ती विषय बहसको रुपमा अहिले फेरि उठेर आएको छ–सं.।) यदि नेपाल सरकारले यस रिपोर्टलाई कार्यान्वयन गर्ने भयो भने भारतीय सेनाका लागि यो एउटा ठूलो क्षति हुनेछ । हाल भारतीय सेनामा गोरखा राइफल्स्मा करीब २५ हजार नेपाली गोर्खा सैनिक छन् । जम्मा हिसाब गर्दा गोरखा राइफल्स्मा नेपाली गोर्खालीहरूको संख्या ७० प्रतिशत छ । बाँकी ३० प्रतिशत संख्या देहरादून, दार्जिलिङ्ग र धर्मशालाका स्थानीय भारतीय गोर्खालीहरू भर्ती गरिएका छन् । यसका अतिरिक्त रिटायर्ड गोर्खाली जवान र असम राइफल्स्मा गोर्खालीको संख्या करिब एकलाख छ ।
मेजर जनरल शंकर प्रसादको भनाइ छ, ‘भारतीय सेना र नेपाली गोरखाहरूका बीचको नाता अटुट छ । नेपाली गोर्खा सैनिकहरूले भारतलाई महान सेवा दिएका छन् । यिनीहरूको भर्तीका लागि प्रत्येक वर्ष भारतीय सेनाको तर्फबाट भर्ती क्याम्प आयोजित हुनेगरेको छ । सेनाका एक पेन्सन अधिकारी स्थायी रूपमा नेपालमा बसेर रिटायर्ड भएका नेपाली (गोर्खाली) सैनिक जवानहरूको पेन्सनसम्बन्धी विषयलाई हेर्ने र समाधान गर्छन् । ताजा स्थिति के छ भने हरेक वर्ष भारतीय सेना करिब १२ सयदेखि १३ सयसम्म नेपाली गोर्खाहरूलाई आफ्नो पंक्तिमा सामेल गर्छ । भारतीय सेनाको सेवाबाट अवकाश पाएका सैनिकहरू र तिनका एकल महिलाहरूलाई हरेक वर्ष लगभग भा.रू. १२ अर्ब ५० करोड पेन्सनका रुपमा पठाउने गरिन्छ ।
आफ्ना पूर्वसैनिकहरूका लागि भारत सरकार नेपालका प्रमुख सहरहरूमा निरन्तर रुपमा स्वास्थ्य शिविरको पनि आयोजना गरिरहेको छ ।’
भारतीय सेनामा नेपाली जवानहरूको भर्ती सन् १९४७ मा भारत, नेपाल र ब्रिटेनका बीच भएको त्रिपक्षीय सन्धिको प्रावधान अन्तर्गत हुँदैआएको छ । ‘गोरखा’ भन्ने शब्दको उत्पत्ति हिन्दु संन्त गुरु गोरखनाथबाट भएको हो । गोरखा नेपालको पूर्वी र पश्चिमी भागहरूका भूमिपुत्र हुन् । गोरखा जवानहरूलाई अँग्रेजहरूले सन् १८५७ भन्दा पहिले नै आफ्नो सेनामा लिन थालेका थिए । १८५७ मा भएको भारतको पहिलो स्वतन्त्रता संग्राममा उनीहरूले ब्रिटिश सेनालाई साथ दिएका थिए । यदि तपाईँ चाहनुहुन्छ भने भनेहुन्छ कि गोरखाली सेनाको एउटा श्याम पक्ष पनि छ । त्यस बखत गोरखाहरू इस्ट इन्डिया कम्पनीका लागि अनुबन्धमा काम गर्दथे । महाराजा रणजीत सिंहले पनि उनीहरूलाई आफ्नो सेनामा राखेका थिए ।
त्यसो त नेपालबाट आएका सबै नेपालीभाषी जवानहरूलाई गोरखा भन्ने गरिएको छ । तर यथार्थ अलिक बेग्लै छ । ‘गोरखा’ उनीहरू नै हुन्, जो लिम्बू, थापा, मगर जस्ता जातिहरूसँग सम्बन्ध रहेको हुन्छ । यी सबै गोरखाली जातिहरूको आ–आफ्नै बोलीहरू छन् । ती भाषाको स्वरमा मात्र होइन, ब्यन्जनहरूमा पनि धेरै असमानता छ ।
अँग्रेजहरूका लागि गोर्खाली जवानहरूले दुवै विश्वयुद्धमा अतुलनीय साहस तथा युद्ध कौशलका परिचय दिए । पहिलो विश्वयुद्धमा दुईलाख गोरखा सैनिक जवानहरू सरिक भएका थिए । यिनीहरूमध्ये २० हजारले रणभूमिमा आफ्नो प्राण गुमाए । दोस्रो विश्वयुद्धमा त लगभग अढाईलाख गोर्खाली जवान सिरिया, उत्तरअफ्रिका, इटली र ग्रीसका साथै बर्माको घना जंगलमा पनि लड्न गएका थिए । त्यो लडाईँमा ३२ हजारभन्दा बढी गोर्खा जवानहरूले वीरगति प्राप्त गरेका थिए । भारतका लागि पनि गोर्खाली जवानहरूले पाकिस्तान र चीनका बिरूद्ध भएका लडाईँहरूमा शत्रुका अगाडि आफ्नो बहादुरीले तहल्का मच्चाएका थिए ।
गोरखा रेजिमेन्टलाई यी युद्धमा अनेक महावीर चक्र र अन्य केहीलाई परम वीर चक्र पनि प्राप्त भयो । (एक पाकिस्तानी लेफ्टिनेन्ट जनरल काजी मुहम्मद ईक्रम अहमदको भनाईअनुसार, गोर्खा रिक्रुटलाई छोडेर भारतीय सेनालाई हेर्ने हो भने पाकिस्तानका लागि त्यो प्रायः आधा शक्तिमात्र लाग्दछ–सं.।)
जानकारहरूको मान्यता छ, भारतीय सेनामा नेपाली गोरखालीहरूको भर्तीमा रोक लगाउनु नेपाल सरकारका लागि पनि सजिलो काम होइन । त्यहाँका गोरखा जवान भारतीय सेनामा भर्ती हुनबाट यसकारण पनि पछि हटदैनन्, कि भारतीय सेनामा उनीहरूलाई बराबरीको हक मिल्छ ।
यति भएर पनि अब यो विषयलाई भारत सरकारले कुटनीतिक स्तरमा नेपालका साथ अविलम्ब उठाउनु पर्छ, ताकि सारा मामिला बिग्रिनुभन्दा पहिले नै सौहार्दपूर्ण वातावरणमा सुल्झाउन सकियोस् । मेजर जनरल शंकर प्रसादको भनाइ छ, ‘नेपाली गोरखालीको जीवनको मूलमन्त्र हो, कायर बनेर बाँच्नुभन्दा मर्नु वेश हो । यस्ता शूरवीरहरूबाट बञ्चित भारतीय सेना कदापि चल्न सक्दैन ।’
अनुवादक चन्द्रमणि गौतम
—नवभारत टाइम्स
(३५ वर्षदेखि पत्रकारिता गर्दै ‘हिन्दूस्तान टाइम्स’, ‘पाकिस्तान अब्जर्भर’देखि ‘दैनिक भाष्कर’सम्म काम गरिसकेका शुक्ला हाल अनलाईन पत्रिका चलाउने बरिष्ठ भारतीय पत्रकार हुन् ।)

Tuesday, December 10, 2019

नागढुंगा–नौबीसे सुरुङमार्ग

https://www.abhiyandaily.com/newscategory-detail/362878
काठमाडौं । नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै शुरू हुने भएको छ । ५ दशमलव ७ किलोमीटर (किमी) को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया शुरू भए पनि २ दशमलव ६८ किमी सुरुङमार्ग निर्माण भने आगामी चैतपछि मात्रै हुने भएको हो ।
सुरुङमार्ग निर्माणका लागि चाहिने विस्फोटक पदार्थको स्वीकृति लिनु पर्ने र निर्माण उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले सुरुङ खन्ने काम शुरू गर्न अझै ३/४ महीना लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए । उनका अनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नेपाली सेना र उपकरणहरू नेपाल ल्याउन मास्टर लिस्ट (सुरुङ खन्नका लागि आवश्यक निर्माण सामग्रीको सूची) स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकिएको छ । 
नेपालको पहिलो सडक सुरुङमार्ग हुने दाबी गरिएको यस आयोजनाका लागि जापानी कम्पनी हाज्माआन्दो कर्पाेरेशनले नै निर्माण सामग्री ल्याउनेछ । त्यसका लागि अर्थले भन्सार सहुलियत दिनुपर्ने भएकाले अहिले मास्टर लिस्ट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको आयोजनाले बताएको छ । ‘यी सबै प्रक्रिया पूरा गर्न चैतसम्म लाग्ने र त्यसपछि मात्रै उपकरणहरू उपलब्ध हुने भएकाले सुरुङको काम शुरू गर्न समय लाग्ने भएको हो, तर यसले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न कुनै बाधा पुग्दैन,’ खरेलले भने । 
खरेलले आयोजनाका अन्य भौतिक संरचनाहरूको निर्माण शुरू भइसकेको जानकारी दिए । उनका अनुसार आयोजनाअन्तर्गत काठमाडौंमा भवन निर्माण, वलम्बुमा फ्लाइओभरका लागि ६०० मीटर (मी) लम्बाइको जग्गा खरीद कार्य, कल्भर्ट, पुल, पाँचओटा स्टीलका अस्थायी पुल निर्माणको प्रक्रिया शुरू भइसकेको छ । आयोजनामा पर्ने ३ दशमलव ३३ मीटरको फ्लाइओभर निर्माणका लागि जग्गा प्राप्त हुने क्रममा रहेको छ । 
धादिङको सिस्ने खोलासम्म जोड्न स्टीलका पुल बनाउन लागिएको हो । खरेलका अनुसार धादिङतर्फको मुआब्जा दिने क्रम पनि शुरू भइसकेको छ । उनले धादिङतर्फ ४४ रोपनी जग्गाको मात्रै मुआब्जा दिनुपर्ने र त्यसमध्ये १५ रोपनी जग्गाको मुआब्जा दिने प्रक्रिया शुरू भइसकेको बताए । आयोजनाका लागि काठमाडौंको थानकोट/नागढुंगा र धादिङमा गरी ३४४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । 
हाल थानकोट–नौबीसेको झ्याप्ले खोलासम्मको दूरी करीब ९ किलोमीटर रहेको छ । उक्त सुरुङमार्ग निर्माण भएपछि उक्त दूरी ५ दशमलव ७ किलोमीटरमा सीमित हुनेछ । काठमाडौंको प्रमुख प्रवेशद्वारमध्येको यस नाकामा सुरुङमार्ग बनेपछि दूरी कम हुनुका साथै ट्राफिक जामसमेत घट्ने अपेक्षा गरिएको छ । उक्त आयोजनाको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलन्यास भएको थियो ।
उक्त सुरुङमार्गमा ७ ओटा पुल, ११ ओटा बक्स कल्भर्ट, दुवैतर्फ सडक दस्तुर संकलन गर्न टोल संरचना, सुरुङमार्गको सम्पूर्ण अवस्थाको अनुगमन गर्न नियन्त्रण कक्ष, सुरुङमार्गका लागि छुट्टै विद्युत् लाइन विस्तार, २ ओटा फ्लाइओभर ब्रिज बन्नेछन् । सो आयोजनाको पूर्व र पश्चिम खण्डमा २ दशमलव ८७ किमीको पहुँचमार्ग बनाइनेछ । उक्त सुरुङमार्ग काठमाडौं जिल्लास्थित बलम्वुबाट शुरू भई आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै सोही राजमार्गको धादिङ जिल्लास्थित सिस्नेखोलामा जोडिनेछ ।
नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) बीच यो सुरुङमार्ग बनाउने विषयमा सन् २०१६ मा सम्झौता भएको थियो । गत असोज पहिलो साता सडक विभाग र सुरुङमार्ग निर्माण गर्ने जापानको कम्पनी हाज्माआन्दो कर्पाेरेशनबीच ४२ महीनामा सुरुङमार्ग निर्माण सम्पन्न गर्ने सम्झौता भइसकेको छ । जापान सरकारको सहुलियत ऋणमार्फत बन्न लागेको यस सुरुङमार्गको कुल लागत रू. २२ अर्ब रहेको छ ।

विद्युतीय सवारी साधनमा लाभजति व्यापारीलाई

https://www.himalkhabar.com/news/110128

विद्युतीय सवारी साधनमा लाभजति व्यापारीलाई

मुकेश पोखरेल

विद्युतीय सवारी साधनमा लाभजति व्यापारीलाई
सरकारले विद्युतीय सवारी साधनको आयातमा छुट दिए पनि महँगो बजार मूल्यका कारण आम उपभोक्ताको रोजाइमा पर्न सकेको छैन।
इन्धन खर्च जोगिने र वातावरणीय प्रदूषण पनि नहुने भएकाले विद्युतीय सवारी साधन खरीद गर्ने खुमलटार ललितपुरका खगेन्द्र न्यौपानेको सोच अन्ततः बदलियो । किन त ? “पेट्रोलबाट चल्ने गाडी रु.३० लाखमै पाइन्छ, तर सरकारले भन्सार छुट दिएको विद्युतीय गाडीलाई रु.५५ लाख पर्ने भएपछि मैले आँट गर्न सकिनँ”, उनी भन्छन् ।
विद्युतीय सवारी साधन वातावरणीय दृष्टिकोणले उपयुक्त मानिन्छ । खनिज इन्धनको प्रयोगबाट निस्किने कार्बनडाइअक्साइड ग्याँसका कारण तापक्रम वृद्धि भएको भन्दै विद्युतीय सवारी साधनको विश्वव्यापी लहर चलेको छ ।
छिमेकी चीन विद्युतीय कार उत्पादनमा आक्रामक रूपमा लागेको छ भने भारतले पनि विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकतामा राखेको छ ।
नेपालमा भने सरकारले विद्युतीय गाडी प्रवर्द्धन गरे पनि उपभोक्ता यसतर्फ आकर्षित देखिंदैनन् । ब्याट्री चार्जको झन्झटिलाे प्रक्रिया र महँगो मूल्यका कारण विद्युतीय गाडीप्रति आकर्षण नदेखिएको हो ।
किन महँगो ?
इन्धनबाट चल्ने गाडी आयात गर्दा भन्सार सहित सबै कर गरी २२० देखि ३०० प्रतिशत लाग्छ । तर, सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने योजना अनुसार, १० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक करसहित २७ प्रतिशत मात्र शुल्क तिरे पुग्छ ।
विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको किया मोटर्सको आधिकारिक बिक्रेता कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुहृद घिमिरेका अनुसार, सरकारले दिएको छुटले विद्युतीय गाडीको मूल्य अन्य गाडीको हाराहारीमा बनाएको दाबी गर्छन् । जबकि, उपभोक्ताहरू नेपाली बजारमा पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडी महँगो भएको बताउँछन् ।
चीनमा निर्मित विभिन्न कम्पनीका विद्युतीय गाडी बिक्री गर्दै आएको दिगो ग्रुप प्रालिका निर्देशक राजन रायमाझी भने विद्युतीय सवारी महँगो नभएको बताउँछन् । “रु.१९ लाखदेखि रु.७० लाखसम्मका विद्युतीय गाडी छन्, यसलाई महँगो भन्न मिल्दैन”, उनी भन्छन् । यद्यपि आयातमा हुने झन्झट हटाउने हो भने अहिलेको मूल्यमा रु.२ लाखसम्म कम गर्न सकिने उनी बताउँछन् ।
एउटा कार रसुवादेखि काठमाडौं ल्याउँदा मात्र सिण्डिकेटका कारण करीब डेढ लाख रुपैयाँ खर्च हुने उनी बताउँछन् ।
नेपालमा अहिले दिगो ग्रुप, अग्नि ग्रुप, लक्ष्मी र किया मोटर्सले विद्युतीय सवारी साधन बिक्री गरिरहेका छन् । अग्निले महिन्द्रा, लक्ष्मीले हुण्डाई र किया मोटर्सले किया कम्पनीका विद्युतीय गाडी बिक्री गर्छन् ।
दिगो कम्पनीले विद्युतीय कार, भ्यान, मिनी ट्रक र ठूला बस बिक्री गर्छ । कारको मूल्य रु.१८ लाख ९५ हजार छ भने २० सिटे भ्यानको रु.८५ लाख पर्छ । विद्युतीय कार एक पटक चार्ज गर्दा ११० किमिसम्म चल्छ भने भ्यान २५० किमि चल्ने कम्पनीको दाबी छ ।
नेपाली बजारमा बढी देखिने विद्युतीय गाडीमा ‘किया निरो’, ‘किया सोल’, महिन्द्राको ‘इ टु ओ प्लस’, भेरिटो तथा हुण्डाई र बीवाईडी कम्पनीका छन् । नेपाली बजारमा रु.३१ लाख पर्ने महिन्द्रा इ टु ओ प्लसको मूल्य भारतमा भारु ८ लाखदेखि १२ लाखसम्म छ ।
यस्तै, हुण्डाईको कोना कारको मूल्य रु.५५ लाख ९६ हजार (३९ किलोवाट ब्याट्री) र रु.६५ लाख ९६ हजार (६४ किलोवाट) छ ।
नेपालमा रु.५६ लाख तोकिएको ‘किया सोल’ को अन्तर्राष्ट्रिय बजारमा ३३ हजार ९५० र ३५ हजार ९५० डलर पर्ने दुई मोडलका विद्युतीय कार छन् । १३ मंसीरको अमेरिकी डलरको विनिमय दर (रु.११४) अनुसार यसको नेपाली मूल्य रु.३८ लाख ७० हजार ३०० र ४० लाख ९८ हजार ३०० हुन आउँछ ।
कन्टिनेन्टल ग्रुपका अध्यक्ष घिमिरे अन्तर्राष्ट्रिय बजारमै अन्य गाडीको तुलनामा तीन गुणा महँगो पर्ने भएकाले विद्युतीय गाडीलाई नेपाली बजारमा महँगो भन्न नमिल्ने तर्क गर्छन् ।
ढुवानी रकम, भन्सार, कर सहित थोरै मात्र नाफा राखेर गाडी बिक्री गर्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, “विद्युतीय गाडीमा प्रयोग गरिने लिथियम ब्याट्रीको मूल्य संसारभर नै महँगो भएकाले यस्ता गाडीको मूल्य बढी परेको हो ।”
घिमिरेले यस्तो बताए पनि विद्युतीय गाडीको मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा अस्वाभाविक महँगो छ । जस्तै, किया निरोको अन्तर्राष्ट्रिय बजार मूल्य ३८ हजार ५०० डलर छ । यस अनुसार नेपाली मूल्य रु.४३ लाख ८९ हजार हुन आउँछ । जबकि, नेपाली बजारमा यसको मूल्य रु.६६ लाख राखिएको छ ।
संचालनमा किफायती
इन्धनबाट सञ्चालन हुने गाडीभन्दा विद्युतीय सवारी साधन किफायती हुने यसका प्रयोगकर्ता बताउँछन् । सात वर्षदेखि विद्युतीय सवारी साधन प्रयोग गरिरहेकी वनस्पति विभागकी उपसचिव मधु घिमिरेको अनुभवमा संचालन खर्चका आधारमा इन्धनबाट चल्ने कारभन्दा विद्युतीय कार १० गुणा सस्तो पर्छ ।
विद्युतीय सवारीको वार्षिक नवीकरण शुल्क तिर्नुपर्दैन । यस्तै, सर्भिसिङ, मोबिलमा लाग्ने खर्चको बचत हुन्छ । नेपाल विद्युत् प्राधिकरण ऊर्जा दक्षता विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवाली विद्युतीय सवारी साधन २० हजार किलोमिटर गुड्दा रु.२ लाख बचत हुने बताउँछन् ।
वातावरणीय दृष्टिले पनि विद्युतीय सवारी साधन उपयोगी भएकाले यसको प्रयोग संसारभर बढिरहेको छ, जसमा चीन अग्रणी स्थानमा पर्छ । चीनमा ३७ प्रतिशत विद्युतीय सवारी साधन प्रयोग हुन्छ ।
चीनको साञ्जेन शहर विश्वमा सबैभन्दा बढी विद्युतीय सवारी चल्ने शहर हो । जहाँ १६ हजार नगर बस र १३ हजार विद्युतीय ट्याक्सी सञ्चालनमा छन् । जसबाट १० लाख एकड बराबरको जङ्गलले गर्ने कार्बन सञ्चितिमा योगदान पुगेको छ । यस्तै, दक्षिण अमेरिकी देशहरूमा २६ प्रतिशत र यूरोपमा २८ प्रतिशत विद्युतीय सवारी सञ्चालनमा छन् ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग गर्दा बढ्दो व्यापार घाटा कम गर्न पनि सघाउ पुग्ने देखिन्छ । नेपालको वैदेशिक व्यापार घाटा वार्षिक रु.१५ खर्ब छ । व्यापार घाटाको करीब ३५ प्रतिशत इन्धन आयातले ओगटेको छ ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग गर्दा बढ्दो व्यापार घाटा कम गर्न पनि सघाउ पुग्ने देखिन्छ । नेपालको वैदेशिक व्यापार घाटा वार्षिक रु.१५ खर्ब छ । व्यापार घाटाको करीब ३५ प्रतिशत इन्धन आयातले ओगटेको छ । तर, बढी महँगोका साथै चार्जिङ स्टेशनको अभावले उपभोक्ताको प्राथमिकतामा विद्युतीय गाडी पर्न नसक्दा त्यस्तो लाभ अझै टाढा रहेको जानकारहरू बताउँछन् ।
चार्जिङ स्टेशनको चुनौती
गएको भदौमा विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनका लागि पहिलो चरणमा देशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा गरेको थियो । प्राधिकरणका प्रवक्ता प्रबलराज अधिकारीका अनुसार, चार्जिङ स्टेशनका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रवीण अर्याल चार्जिङ स्टेशनको अध्ययनका लागि गठित कमिटीले कार्यविधि तयार पारेर प्राधिकरणलाई बुझाएको र त्यसै अनुसार प्राधिकरणले काम गरिरहेको बताउँछन् ।
कार्यविधिमा निजी क्षेत्रले पनि चार्जिङ स्टेशन राख्न सक्ने उल्लेख छ । यही व्यवस्था अनुसार, काठमाडौंमा तीन वटा विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायात प्रालिले कालोपुल, धुम्बाराही र सुकेधारामा चार्जिङ स्टेशन निर्माण गरेको छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नवीकरणीय ऊर्जामा विद्यावारिधि गरेका डा.गोविन्द पोखरेल हाल सञ्चालित पेट्रोल पम्पलाई नै चार्जिङ स्टेशन निर्माण गर्न लगाउन सकिने बताउँछन् । “प्रत्येक पम्पलाई पाँच वर्षमा करबाट लागतको ५० प्रतिशत वा तोकेको रकम कट्टी हुने गरी कम्तीमा एउटा चार्जिङ स्टेशन राख्न लगाउन सकिन्छ”, पोखरेल भन्छन् ।
सरकारले चालु आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनको उपयोग देशव्यापी बनाउन पर्याप्त मात्रामा चार्जिङ स्टेशन स्थापना गर्ने घोषणा गरेको थियो ।
यस्तै, नीति तथा कार्यक्रममै काठमाडौं उपत्यका सहित सातै प्रदेशका प्रमुख शहर र आसपासका क्षेत्रमा नेपाल सरकार र प्रदेश एवम् स्थानीय तह तथा निजी क्षेत्रको सहभागितामा विद्युतीय बस सञ्चालन गर्ने भनिए पनि लागू भएको छैन ।
ऊर्जाविज्ञ पोखरेल दिगो विकासको लक्ष्य हासिल गर्न पनि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताउँछन् । उनी विद्युतीय बस उत्पादन गर्ने कारखाना नेपालमै खोल्न सकिनेमा जोड दिन्छन् ।
एक अध्ययन अनुसार, ढुवानी बाहेकका अन्य सवारी साधन विद्युत्बाट सञ्चालन गर्ने हो भने सन् २०३० सम्म नेपाललाई वार्षिक ३० अर्ब यूनिट भन्दा बढी विद्युत् चाहिन्छ ।
करीब पाँच हजार मेगावाट क्षमताको विद्युत् आयोजनाबाट यो लक्ष्य पूरा हुन सक्छ । विद्युतीय सवारी साधनका लागि आवश्यक ऊर्जा जुटाउन सरकारले सहजीकरण गर्नुपर्ने डा. पोखरेल बताउँछन् ।

प्रतिकृया दिनुहोस

सामाजिक सुरक्षा कोष : सुरक्षामै प्रश्न





https://www.himalkhabar.com/news/110257

सामाजिक सुरक्षा कोष : सुरक्षामै प्रश्न

रमेश कुमार

सामाजिक सुरक्षा कोष : सुरक्षामै प्रश्न
स्केच: भानु भट्टराई
लोककल्याणको उद्देश्यसहित सरकारले शुरू गरेको सामाजिक सुरक्षाको योजनाले श्रमिकको अहिलेको जीवनस्तर मात्र खलबल्याउँदैन, भविष्य समेत सुरक्षित पार्ने देखिंदैन।
सरकारले ११ मंसीर २०७५ मा घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिक/कर्मचारीको हितमा छ कि छैन भन्नेबारे धेरै बहस र जोडघटाउ भइरहेको छ । सामाजिक सुरक्षाका लागि अघि सारिएको सामाजिक सुरक्षा कोषका लाभ/हानि के–कति छन् त ? यसलाई पर्गेल्नुअघि बचतका दुई योजनाको तुलना गरौं ।
पहिलो, मासिक रु.५ हजारको दरले बचत गर्दै जाने हो भने वार्षिक ६ प्रतिशत ब्याजदरले १५ वर्षमा बचत रकम झण्डै रु.१४ लाख पुग्छ । यो रकम एकमुष्ट झिकेर ब्याङ्कको एकवर्षे मुद्दती खातामा राख्दा ६ प्रतिशतकै दरले पनि मासिक रु.७ हजार ब्याज निरन्तर आउँछ । बचत गर्ने मन नभए ब्याङ्कमा रहेको साँवा झिकेर आफूखुशी चलाउने सुविधा त हुने नै भयो ।
सरकारको सामाजिक सुरक्षा कोषको प्रस्ताव हेरौं । कोषमा १५ वर्षसम्म महीनैपिच्छे रु.५ हजार योगदान गर्दा ६० वर्ष पुगेपछि यसले निवृत्तिभरण (पेन्सन) का रूपमा रकम फिर्ता गर्न थाल्छ । ६ प्रतिशत ब्याज बराबरकै वार्षिक प्रतिफल आउने मान्दा त्यस्तो पेन्सन मासिक रु.७ हजार ७५८, पहिलो स्किमभन्दा रु.७५८ मात्र बढी । तर, यसमा जम्मा भएको एकमुष्ट रकम कहिल्यै फिर्ता पाइँदैन ।
यी दुई विकल्पमा तपाईं कुन रोज्नुहुन्छ ? वा १५ वर्षमा रकम झण्डै दोब्बरसम्म फिर्ता पाइने बीमा कम्पनीहरूको तेस्रो स्किममा जानुहुन्छ ?
सामाजिक सुरक्षा कोषले अघि सारेको योजनाप्रति कामदार आकर्षित नहुनुको कारण यिनै प्रश्नको अन्तर्यमा लुकेको छ । अहिले आर्जेको तलबको झण्डै एकतिहाइ रकम सरकारी कोषमा बुझाउँदा पनि भविष्यमा झण्डै अहिले बुझएको रकम जति मात्रै फिर्ता हुनु र त्यो पनि एकमुष्ट नपाइनु नै कार्यक्रमप्रतिको अरुचिको मुख्य कारण हो । यस्तो योजनाले न श्रमिकको वर्तमान सहज बनाउँछ, न भविष्य नै सुरक्षित तुल्याउँछ ।
चार्टर्ड एकाउन्टेन्ट (सीए) बीएम ढुङ्गाना सरकारको महत्वाकांक्षी सामाजिक सुरक्षा कोषको यही अमिल्दो पक्षलाई व्याख्या गर्दै यो योजनालाई ‘साँवा रकम नै पच पार्ने खेल’ मान्छन् । भन्छन्, “एक हिसाबले यो मासिक कमाइको एक चौथाइभन्दा बढी रकम सरकारलाई चन्दा बुझाउने स्किम हो ।”
नयाँ युग, झनै चेपुवामा !
एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कार्यक्रमको उद्घाटन गर्दै देशमा ‘नयाँ युग शुरू भएको’ घोषणा गरेका थिए । औपचारिक व्यावसायिक प्रतिष्ठान र संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीहरूका लागि सामाजिक सुरक्षा कार्यक्रममा सहभागिताका लागि कानूनले नै अनिवार्य गरेको छ ।
१ साउन २०७६ देखि लागू यो कार्यक्रममा सूचीकृत हुन असोज मसान्तसम्मको समयसीमा तोकिएको थियो । सूचीकृत हुन आउनेको संख्या सानो भएपछि समयसीमा १५ मंसीरसम्म बढाइयो ।
तर, यो अवधिमा पनि उल्लेख्य थपिएनन् । कोषमा मंसीरको दोस्रो सातासम्ममा ११ हजार ७१६ रोजगारदाता औद्योगिक/व्यावसायिक प्रतिष्ठान र १ लाख २९ हजार श्रमिक दर्ता भएका छन् । जबकि, केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशमा औद्योगिक/व्यावसायिक प्रतिष्ठानको कुल संख्या ९ लाख २३ हजार छ ।
रोजगारदाताले दर्ता हुन आनाकानी गर्नु पछाडिका कारण हुन्– कोषले अघि सारेको अनाकर्षक योजना र यसप्रतिको संशय । ब्याङ्क तथा वित्तीय संस्थासहित अन्य प्रतिष्ठानमा विभिन्न सुविधा पाइरहेका कर्मचारी नै कोषको योजनामा समेटिन अनिच्छुक छन् ।
एभरेष्ट ब्याङ्कका कर्मचारी दिनेश आचार्य भन्छन्, “पाइरहेकै सुविधा खोसिने यस्तो स्किममा किन जाने ? सकभर जान नपरे हुन्थ्यो भन्ने पक्षमा छौं ।”
सामाजिक सुरक्षा कोषले स्वास्थ्य, दुर्घटना, आश्रित परिवारलाई सुविधा र पेन्सन गरी चार प्रकारका योजना अगाडि सारेको छ । ती योजना कार्यान्वयनका लागि कोषको कार्यविधि अनुसार, श्रमिकको आधारभूत तलबको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत रकम कोषहरूमा राख्ने परिकल्पना गरिएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमको केन्द्रमा ‘वृद्ध अवस्था सुरक्षा योजना’ नाम दिइएको पेन्सन योजना छ, जसमा श्रमिकको कुल तलबको २८.३३ प्रतिशत रकम छुट्याइन्छ । १५ वर्ष नियमित योगदान गरेको श्रमिकको कुल रकम तथा कोषले गरेको लगानीको प्रतिफल समेत जोडी त्यसलाई १८० महीना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम ६० वर्षको उमेर पुगेपछि मासिक पेन्सनका रूपमा दिने योजना अघि सारिएको छ । तर, यो आकर्षक छैन ।
उदाहरणबाटै हेरौं । मानौं, अहिले एक श्रमिकको मासिक रु.९ हजार आधारभूत तलब छ भने २८.३३ प्रतिशतका दरले एक वर्षमा रु.३० हजार ५९६ (मासिक रु.२,५५०) पेन्सन कोषमा जम्मा हुन्छ । प्रत्येक वर्ष ५ प्रतिशत तलब बढ्ने अनुमान गर्दा १५ वर्षसम्ममा उसको कुल योगदान रकम रु.६ लाख ६० हजार २२६ पुग्छ ।
यसमा वार्षिक ६ प्रतिशतको प्रतिफल अनुमान गर्दा जम्मा रु.३ लाख ४० हजार ७७२ हुन्छ । श्रमिकको योगदान र प्रतिफल गरी जम्मा रकम रु.१० लाख १ हजार पुग्छ, जसलाई कोषको पेन्सन वितरणको सूत्र अनुसार १८० ले भाग गर्दा रु.५ हजार ५६१ आउँछ ।
अर्थात्, अहिले आर्जन गरेको रकम सरकारलाई बुझएर ६० वर्षको उमेर पुगेपछि श्रमिकले हरेक महीना रु.५ हजार ५६१ पेन्सन पाउँछ । र, यो रकममा हरेक दुई वर्षमा मूल्यवृद्धि दर समायोजन भए पनि थप रकम भने कहिल्यै बढ्दैन ।  
नेपालीको औसत आयु ७१ वर्षको आधार लिंदा कोषको योगदानकर्ता श्रमिकले ६० वर्षपछि १३२ महीना पेन्सन पाउँछ, जुन जोड्दा रु.७ लाख ३४ हजार ५२ हुन्छ । यसको सीधा अर्थ हो– कामदार जागिरमौ रहेका वेला कोषमा जम्मा भएको साँवा रकमभन्दा रु.७३ हजार ८२६ मात्रै बढी फिर्ता पाउँछ, त्यो पनि वर्षौंपछि ।
कोषको कार्यविधि अनुसार, कुनै व्यक्तिले २५ वर्षको उमेरमा जागिर शुरू गरेर लगातार १५ वर्ष कोषमा रकम जम्मा गरे ४० वर्षको उसले पेन्सनको लाभ लिन थप २० वर्ष कुर्नुपर्छ । गत साउन १ भन्दा पछि रोजगारी शुरू गरेका श्रमिकको त जम्मा गरेको रकम गाह्रोसाह्रो पर्दा एकैपटक फिर्ता लिने छनोटको अधिकारसम्म हुँदैन ।
शुरूआतमा श्रमिकले आफ्नो बचत रकम प्रतिफलसहित लिएर निस्किन पाउने अधिकार हुने भनिए पनि कार्यविधिमा यसलाई रोक्ने प्रावधान राखियो ।
सीए ढुङ्गाना भन्छन्, “आफ्नो श्रमले कमाएर तिरेको पैसा एकमुष्ट फिर्ता लिने कि हरेक महीना पेन्सन थाप्ने भनी निर्णय गर्ने योगदानकर्ताको अधिकार हो, बाध्यकारी पार्नु ज्यादती हो ।”
उनी कोषको योजना विश्लेषण गर्दा सरकारले पेन्सन र वृद्धभत्ताको दोहोरो सुविधा नदिने भएकाले सामाजिक सुरक्षाको नाममा पेन्सनको व्यवस्था गरेको देख्छन् । “अहिले नै वृद्धभत्ता रु.३ हजार पुगिसकेको अवस्थामा भोलिका दिनमा सरकारमाथि भार बढ्ने निश्चित छ” उनी भन्छन्, “यसै कारण नागरिकलाई कोषमा योगदान गर र पेन्सनका रूपमा वृद्धभत्ता लेऊ भन्न खोजेको देखिन्छ ।”
अहिले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्दा पाइने ऋणको सुविधा पनि यो योजनामा समावेश छैन । “ऋण झ्किेर गाह्रोसाह्रो टार्ने र बचत रकम निकालेर घरजग्गा किन्ने अवसर यो योजनामा छैन” सीए ढुङ्गाना भन्छन्, “ऋण र एकमुष्ट रकम नपाइने हुँदा यसले उद्यमशीलतामै असर पार्छ ।”
सुरक्षाको सुनिश्चिततामा संशय
श्रमिकले पाउँदै आएको आधारभूत तलबको झण्डै एकतिहाइ (३१ प्रतिशत) रकम हरेक महीना सामाजिक सुरक्षा कोषमा जान्छ ।
भन्नलाई श्रमिकको आधारभूत तलबको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत भनिए पनि यथार्थमा श्रमिकले खाईपाई आएकै पारिश्रमिकबाट यो रकम जाने हो । यसको अर्थ हो, श्रमिकले खाईपाई आएको रकम अहिले नै झण्डै एकतिहाइ घट्छ ।
यसबाट अहिले नै बजारभाउसँग तालमेल नखाने पारिश्रमिक थापिरहेको कामदारको परिवारकै खाद्यान्नदेखि अन्य अत्यावश्यक वस्तुको उपभोगमा असर पर्न सक्छ । जसले गरीबी बढाउने र कुपोषण निम्त्याउने जोखिम हुन्छ । यसै पनि, श्रम ऐनले तोकेको श्रमिकको पारिश्रमिक मासिक रु.१३ हजार ४५० ले शहरी क्षेत्रमा गुजारा चलाउन असाध्यै कठिन छ ।
वर्तमान नै लथालिङ्ग पार्ने यो योजनाले भविष्य सुरक्षित पार्ने सम्भावना समेत नहुनु घातक पक्ष हो । पेन्सनको आधारभूत उद्देश्य वृद्धावस्थामा स्तरीय जीवन सुनिश्चित गर्नु हो । तर, कोषले अघि सारेको योजनाले भविष्यमा त्यस्तो लाभ दिन नसक्ने प्रष्ट छ ।
जस्तो, अहिले महीनाको रु.१५ हजार (आधारभूत रु.९ हजार) पाइरहेको श्रमिकको तलब वार्षिक ५ प्रतिशत मात्रै बढ्दा पनि १५ वर्षपछि रु.२९ हजार ७०० (आधारभूत १७ हजार ८००) पुग्छ । तर, झण्डै रु.३० हजार तलब पाएर जीवन चलाइरहेको श्रमिकले कामबाट अवकाश पाउनासाथै पेन्सन रकम भने रु.५ हजार ५०० जति मात्रै पाउँछ, जसले आधारभूत आवश्यकतालाई पूरा गर्दैन ।
यसले पेन्सनको मर्मलाई न्याय गर्दैन । त्यसमाथि, श्रमिकको पारिश्रमिकको रकम जम्मा गरिएको कोषको भरपर्दो र चुस्त व्यवस्थापन भएन भने बुझएको जति पनि फिर्ता नआउन सक्छ ।
आलोचकहरू भविष्यमा दिने प्रस्ताव गरिएको पेन्सन रकमका लागि श्रमिकको पारिश्रमिकको २८.३३ प्रतिशत रकम उठाउनु नै अनावश्यक देख्छन् ।
सामाजिक सुरक्षा कार्यक्रमको प्रस्तावनामा संलग्न नेपाल सरकारकै एक उच्च अधिकारी भन्छन्, “वास्तविक बीमांकीय मूल्याङ्कन नै नगरी हचुवामा यति धेरै प्रतिशत अनिवार्य योगदानको प्रावधान राखिएको छ, जसले कार्यक्रमलाई नै अरुचिकर बनाएको छ ।” ती अधिकारी थुप्रै देशमा १७/१८ प्रतिशत योगदान गर्दा नै भविष्यको सामान्य आवश्यकता पूरा गर्ने पेन्सन रकम दिन सकिने योजना सञ्चालनमा रहेको बताउँछन् ।
कोषकै प्रवक्ता रमा भट्टराई समेत १७/१८ प्रतिशत रकम उठाएरै अहिले प्रस्ताव गरिएको सुविधा भविष्यमा दिन सकिने सम्भावना भएको तर त्यसका लागि बीमांकीय मूल्याङ्कन जरूरी रहेको बताउँछिन् । उनी यसै वर्ष बीमांकीय मूल्याङ्कन गरी हालको अनिवार्य योगदान रकम र भविष्यको सुविधालाई संशोधन गरी आकर्षक पारिने बताउँछिन् ।
भट्टराईको भनाइले पनि कोषले हालको योजना गतिलो तयारी विना नै हतारमा कार्यक्रम घोषणा गरिएको देखाउँछ । कर्मचारी सञ्चय कोषको प्रशासकको जिम्मेवारी सम्हालिसकेका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष कृष्ण आचार्य पनि वास्तविक बीमांकीय मूल्याङ्कन गरेर कोषको योजना आकर्षक बनाउन सकिने बताउँछन् ।
सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम के हुन्छ भन्नेमै पनि संशय छ । हाल कर्मचारीको १० र रोजगारदाताका तर्फबाट १० गरी २० प्रतिशत रकम जम्मा हुँदै आएको कर्मचारी सञ्चय कोष ऐनले जम्मा रकममा अंश हक नलाग्ने, साहु महाजनको दाबी नपुग्नेदेखि सर्वस्वहरण भए पनि कोषमा रहेको रकम नगुम्ने बलियो कानूनी व्यवस्था गरेको छ ।
तर, सामाजिक सुरक्षा कोषमा यस्तो प्रावधान छैन । कोषको कार्यविधिको परिच्छेद ८, दफा ३४ मा गरिएको व्यवस्थाले यो कोषको भविष्यमा सन्देह पैदा गरेको छ । यो बुँदामा यो सुरक्षा योजनालाई निरन्तरता दिन नसकिने वा थप सुविधा दिन नसकिने भए सञ्चालक समितिले जुनसुकै वेला कुनै पनि सुविधा वा सुरक्षा योजनालाई नै स्थगित गर्न मन्त्रालयसमक्ष सिफारिश गर्न सक्ने प्रावधान राखेको छ ।
सरकारले सामाजिक सुरक्षाका लागि भन्दै आर्थिक वर्ष २०६६/६७ देखि सङ्कलन गरेको कर्मचारी तथा मजदूरबाट मासिक पारिश्रमिकको १ प्रतिशत रकमको हिसाबकिताब लुकाएको वा कबोल बमोजिम त्यसको लाभ नदिएकाले पनि सरकारप्रतिको विश्वास धर्मराएको हो ।
सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न भन्दै सरकारले ९ वर्षमा रु.२२ अर्ब २ करोडभन्दा धेरै रकम उठाइसके पनि यो रकम सञ्चित कोषमा राखिएको छैन, अर्थ मन्त्रालयले आफूखुशी चलाइसकेको छ । भविष्यका लागि भनेर न्यूनतम तलब पाउने श्रमिकको मासिक तलबबाट समेत कट्टा गरेको रकम अन्यत्र प्रयोग गर्नु बेइमानी मात्र होइन, यसले सरकारको विश्वसनीयतामै प्रश्न उठाएको छ ।
सामाजिक सुरक्षा कोषको योजनामा सरकारी कर्मचारी जानु नपर्ने व्यवस्थाले निजी क्षेत्रका कामदारमा कोषप्रति विकर्षण बढाएको छ । सरकारले यो वर्षदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित पेन्सन प्रणाली शुरू गर्दै कर्मचारीको तलबको ६ प्रतिशत कट्टा गरी त्यति नै रकम सरकारले थपेर भविष्यमा पेन्सन दिने कोष शुरू गरेको छ ।
निवृत्तिभरण कोष ऐन, २०७५ ले सेना, प्रहरी, निजामती, शिक्षक जस्ता सरकारी कर्मचारीले सेवा गरेको कुल वर्षमा सेवाको अन्तिम वर्षको तलब गुणन गरी ५० ले भाग गर्दा आउने रकम मासिक पेन्सनका रूपमा दिइने व्यवस्था गरेको छ ।
त्यस्तै, हरेक तीन वर्षमा पेन्सन रकम १० प्रतिशतले बढाउने सहितका सुविधा पेन्सन योजनामा छन् । सरकारी कर्मचारीले कम योगदानमै निजीको भन्दा कैयौं गुणा बढी लाभ पाउने प्रावधान राखिएको छ ।
सरकारी कर्मचारीलाई १२ प्रतिशत योगदानमै दिइएको सुविधा निजी क्षेत्रका कर्मचारीलाई ३१ प्रतिशत योगदान गर्दा समेत नपाइने प्रावधान विभेदकारी छ । ब्याङ्करहरूको संस्था नेपाल ब्याङ्कर्स संघले त अहिले पनि कर बुझाएर रकम जम्मा गर्न पाइने यो कोषमा अवकाशपछि समेत कर तिर्नुपर्ने व्यवस्था भएको भन्दै विरोध जनाएको छ ।
उपचार कोषः छैन ढुक्क
सामाजिक सुरक्षा कोषले प्रस्ताव गरेको अर्को योजना हो— औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा । कामदारको आधारभूत तलबको १ प्रतिशत जम्मा गरिने यो योजनाले वार्षिक रु.१ लाखसम्मको औषधोपचार दाबीमध्ये ८० प्रतिशत बेहोर्छ ।
तर, यो योजना महँगो रहेको सरकारकै अर्को स्वास्थ्य बीमा कार्यक्रमसँगको तुलनाले पुष्टि गर्छ । स्वास्थ्य बीमाले वार्षिक रु.३ हजार ५०० तिर्दा परिवारका सबै सदस्यको रु.१ लाखसम्मको उपचार खर्च बेहोर्छ । यता, कोषको औषधोपचार योजनामा औसतमा रु.२० हजार आधारभूत तलब हुनेले १ प्रतिशतका दरले वार्षिक रु.२ हजार ४०० तिर्नुपर्छ ।
तर, यो योजनाले श्रमिकलाई मात्र हेर्छ, परिवारका सदस्यलाई समेट्दैन । जबकि, बीमा कम्पनीका पोलिसी वा कर्मचारी सञ्चय कोषले निःशुल्क प्रदान गर्ने बीमा योभन्दा आकर्षक छन् ।
त्यसमाथि, यो योजनामा धेरै खर्च लाग्ने क्यान्सर वा अन्य गम्भीर प्रकृतिका रोगमा आउने विपत्तिको परिकल्पना गरिएको छैन । त्यस्तै, यो कोषमा न्यूनतम योगदान गर्ने र जतिसुकै रकम योगदान गर्नेलाई पनि उत्ति नै (रु.१ लाखसम्म) खर्च दिने योजना अघि सारिएको छ ।
कोषका अधिकारीहरू कार्यविधिको अबको संशोधन मार्फत परिवारका सदस्यलाई पनि सुविधा लागू हुने र योगदानको रकम अनुसार फरक सुविधाको व्यवस्था गरिने बताउँछन् । अर्कातिर, कार्यविधिको दफा ८ ले भने देशव्यापी महामारी फैलिए यो सुविधा खारेज गर्न सक्ने प्रावधान राखेको छ ।
सबैभन्दा अमिल्दो चाहिं श्रमिकले कोषमा योगदान गर्न छोडेको तीन महीनापछि नै यस्तो सुविधा पाउँदैनन् । अर्थात्, रोगव्याधीले सताउने सम्भावना हुने बुढेसकालमै औषधोपचार सुविधाबाट योगदानकर्ता श्रमिक वञ्चित हुनसक्छन् ।
कार्यविधिले उल्लेख गरेको आश्रित परिवार सुरक्षा योजनाले पनि कामदारको परिवारलाई भविष्यप्रति सुनिश्चित हुने अवस्था सिर्जना गर्दैन । जस्तै, श्रमिकको आधारभूत पारिश्रमिकको ०.२७ प्रतिशत जम्मा हुने यो कोषले योगदानकर्ता श्रमिकको मृत्यु भए पति वा पत्नीलाई अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रूपमा दिने व्यवस्था गरेको छ ।
तर, रोजगारदाताको पति वा पत्नीको वैकल्पिक रोजगारी भए उक्त रकम पाइँदैन । परिवार चलाउनै नपुग्ने कमाइ भए पनि अन्यत्र रोजगारी गरेकै आधारमा पेन्सन नपाउने यो व्यवस्था समेत विभेदकारी छ । यद्यपि, आश्रित सन्तान १८ वर्ष उमेर नपुगेसम्म शैक्षिक वृत्ति पाउने जस्ता केही प्रावधान भने राम्रा छन् ।
कार्यक्रम अन्तर्गत श्रमिकको आधारभूत तलबको १.४ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा कोषमा जम्मा गरिन्छ । यसमा रोजगारीजन्य दुर्घटनामा परेमा उपचारको सम्पूर्ण खर्च बेहोरिने भनिए पनि यस्ता दुर्घटनाको प्रष्ट परिभाषा नभएका कारण तजबिजी लागू हुने देखिन्छ ।
अर्कातिर, कामदारले जागिर छोडेपछि वा कोषमा योगदान गर्न छोडेपछि यस्तो सुविधा नपाउने भएकाले त्यसपछि गम्भीर प्रकृतिको रोग लागे उपचार कसरी गर्ने भन्ने प्रश्न अनुत्तरित छ । भविष्यमा यो रकम फिर्ता नपाइने भएकाले कतिपयका लागि यो प्रतिफलविहीन व्ययभार पनि बन्छ ।
असुरक्षामै बुढ्यौली
संयुक्तबाट एकलतिर परिवर्तित भइरहेको नेपाली परिवारमा सबैभन्दा जोखिमपूर्ण चरण हो, वृद्धावस्था । ज्येष्ठ नागरिकलाई सुरक्षित र सम्मानपूर्वक जीवनयापनको व्यवस्था गरिदिने दायित्व सरकारको पनि हो । त्यसमा पनि, संविधानमै लोककल्याणकारी राज्य बनाउने परिकल्पना गरिएको देशले ज्येष्ठ नागरिकको आधारभूत आवश्यकताको दायित्व सम्हाल्नु आवश्यक हुन्छ ।
वृद्धावस्थाको सुरक्षाका लागि बीमा, पेन्सनका कार्यक्रम लोककल्याणकारी राज्यका चरित्र नै हुन् । यस्तोमा सामाजिक सुरक्षा ऐन र त्यसले परिकल्पना गरेको सामाजिक सुरक्षाका कार्यक्रम सकारात्मक भए पनि अहिले प्रस्तावित कार्यक्रममा श्रमिकको उच्च दायित्व र न्यून लाभले संविधानको मर्म बमोजिम नभएको देखाउँछ ।
कोषको योजना आकर्षक बनाउन थप गृहकार्य र कार्यविधिमा संशोधन आवश्यक भएको सरोकारवालाहरू सुझाउँछन् । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य कोषको ऐनले अस्पष्टता सिर्जना गरेकाले संशोधन गर्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “श्रमिकको भविष्य सुरक्षित बनाउन सामाजिक सुरक्षाका कार्यक्रम चाहिन्छ, तर कार्यविधिका कतिपय अस्पष्टता सुधार्न जरूरी छ ।”
सामाजिक सुरक्षाका कार्यक्रम लागू भएका देशहरूमा यस्तो योजना आकर्षक र भरपर्दो बनाउन श्रमिकको योगदानमा सरकारले पनि निश्चित रकम थपिदिने प्रचलन छ । तर, नेपालमा अघि सारिएको योजनामा भने सरकारको योगदान शून्य छ । नेपालले सामाजिक सुरक्षा भत्तामा हरेक वर्ष रु.६४ अर्ब बाँड्छ ।
यस्तोमा, सामाजिक सुरक्षा भत्तालाई कोषसँग जोड्न सक्दा यो योजना आकर्षक हुनसक्छ । अर्थात्, अनौपचारिक क्षेत्रका कामदारलाई पनि समेटेर यो कोषमा आउनेलाई भविष्यमा सामाजिक सुरक्षा भत्ता नदिने तर पेन्सन रकम नै आकर्षक दिने विकल्प हुनसक्छ । त्यस्तै, स्वास्थ्य बीमा लगायत सरकारका सामाजिक सुरक्षाका अन्य कार्यक्रमलाई पनि यसैमा एकीकृत गर्न सकिन्छ । यसका लागि सरकारको योगदान चाहिन्छ ।
२०६८ सालको जनगणनाले देशको कुल जनसंख्याको ८.१३ प्रतिशत ६० वर्षभन्दा माथिको उमेर समूहका रहेको देखाएको छ, जुन अबको ३० वर्षमा कुल जनसंख्याको १०.६ प्रतिशत पुग्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या सम्बन्धी एक अध्ययनले प्रक्षेपण गरेको छ ।
यो आँकडा अनुसार देशले भविष्यका वृद्धवृद्धाका लागि वेलैमा कार्यक्रम बनाउनुपर्छ । अहिले करीब १३ लाख वृद्धवृद्धाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मासिक भत्ता लिइरहेका छन् । औसत आयु बढिरहेको सन्दर्भमा भविष्यमा यो संख्या बढ्दै जाने निश्चित छ ।
सामाजिक सुरक्षा कार्यक्रम घोषणाको अवसरमा काठमाडौंको माइतीघरमा टाँगिएको होर्डिङ बोर्ड ।

Monday, December 2, 2019

पालो विद्युतीय सवारीको

https://nepalmag.com.np/news/2019-08-26/20190826122731.html

पालो विद्युतीय सवारीको

इन्भारोमेन्ट पर्फर्मेन्स इन्डेक्स २०१८ मा नेपाल पुछारबाट १ सय ७६ औँ स्थानमा छ । १ सय ८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको हो । वायु प्रदूषणको हिसाबले नेपालको स्तर ३१ दशमलव ४४ छ ।
विज्ञका अनुसार उपत्यकाको वायु प्रदूषण हुनुमा सडकमा गुड्ने सवारी साधनको ठूलो हात छ । अधिकांश गाडी डिजेल तथा पेट्रोलबाट चल्छन् भने केही ग्यास र ब्याट्रीबाट । ०७४ को तथ्यांकअनुसार उपत्यकामा मात्रै साढे ७ लाख मोटरसाइकल र स्कुटर दर्ता छन् भने त्यसमा ८० प्रतिशत सडकमा कुदिरहेका छन् । आव ०७५/७६ सम्म जम्मा ३ लाख ३ हजार ७ सय २९ पुगेको छ । यो मिनीबस, टेम्पो, माइक्रो, एम्बुलेन्स, कार, जीप, भ्यान, दुईपांग्रे मोटरसाइकलबाहेकको तथ्यांक हो ।
यस्तै, आर्थिक वर्ष ०७५/७६ मा सरकारले विकासका लागि जम्मा २ खर्ब ३८ अर्ब खर्चिंदा पेट्रोलियम खरिदमा २ खर्ब ६३ अर्ब खर्च भएको देखिन्छ । सरकारको विकास बजेटभन्दा नेपाल आयल निगमको कारोबार बढी देखिन्छ । विदितै छ, नेपालले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल आयात गर्छ । आव ०७५/७६ मा निगमले आईओसीबाट एक खर्ब ९२ अर्ब ३९ करोड ४३ लाख रुपैयाँको इन्धन आयात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार आव ०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ । चालू आवमा व्यापार घाटा साढे १ खर्बले बढेको हो । विद्युत् प्राधिकरणले उत्पादन बढ्दो तर खपत कम भएको बताएको छ । यस दृष्टिले हेर्दा विद्युतीय सवारी साधन उपयुक्त हो । त्यसमाथि सरकारले आफ्ना नीति तथा कार्यक्रममै डिजिटल नेपाल र विद्युतीय सवारी साधनमैत्री नीति ल्याएको छ ।
विश्वभरि नै विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ । संसारभर अटोमोबाइल कम्पनी विद्युतीय सवारी साधन उत्पादनमा जुटेका छन्, जसमा चीनको अग्रस्थान छ । नेपालको सन्दर्भमा भने एक दशकदेखि विद्युतीय  गाडी बिक्री हुँदै आएपछि पछिल्ला वर्षबाट यसले गति लिन थालेको छ ।

निजी क्षेत्रको तयारी

नेपालका अटोमोबाइल कम्पनीले विद्युतीय सवारी साधन आयात बढाइरहेका छन् । मुख्यतः सरकारले विद्युतीय सवारी साधनमा १० प्रतिशत मात्र भन्सार कर लगाएपछि पछिल्लो २ वर्षमा यस्ता साधनमा विभिन्न कम्पनीको चासो बढेको छ । यस्तै, पेट्रोल गाडीमा बैंकमा ऋण सुविधा लिँदा बढी कर तिर्नुपर्ने भए पनि विद्युतीय गाडीका लागि ऋण सहुलियत छ ।
अग्नि इनर्जी प्रालिले २ वर्षदेखि विद्युतीय सवारी साधनको रूपमा महिन्द्राको इटुओ प्लस कार बेचिरहेको छ । भावी पुस्तालक्षित प्रकृति संरक्षण गर्न विद्युतीय कार बिक्री थालेको अग्निका कार्यकारी वरिष्ठ प्रबन्धक प्रमोद भण्डारी बताउँछन् । विद्युतीय गाडीमा गेयर परिवर्तन गरिराख्नुपर्ने झन्झट नहुने, पेट्रोलको पैसा बच्ने र अटोमेटिक अर्थात् स्वचालित भएकाले सबै वर्गका लागि उचित हुने उनको बुझाइ छ । भन्छन्, “ग्राहकमा चेतना नभएर हो, नत्र विद्युतीय सवारी साधन नेपालका लागि उत्कृष्ट छ । महिन्द्राको इटुओ सानो आकार, पार्किङ गर्न सजिलो र चलाउन सहज भएकाले ग्राहकमाझ पनि प्रिय छ ।” भण्डारीका अनुसार गाडी चार्जिङ  स्टेसनको भौतिक पूर्वाधार नबन्दा सोचेजस्तो हुन सकेको छैन ।
आयोनिक तथा कोना दुइटा इलेक्ट्रिक कार बजारमा ल्याएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलाई भने बजार माग धान्नै गाह्रो छ । कम्पनीका बजार तथा सञ्चार प्रमुख आवासिस ओझा भन्छन्, “माग धेरै छ । पुर्‍याउन कठिनाइ भइरहेको छ ।” यी गाडी नियमित ३ सय १२ किलोमिटर गुड्छन् भने लामो दूरीमा ४ सय ८२ किलोमिटर गुड्छन् । आवाज नआउने, एक पटक लगानी गरेपछि पेट्रोलमा जस्तो धेरै खर्च नहुने भएकाले पछिल्लो समय प्रयोगकर्ता विद्युतीय सवारीमा आकर्षित छन् ।
सन् २०१८ देखि बीवाईडी ब्रान्डका इसिक्स विद्युतीय कार बेचिरहेको छ, साइमेक्स कम्पनीले । नयाँ बीवाईडी एमथ्री नाडा अटो सो–२०१९ मा सार्वजनिक गर्दै छ । एक पटकको चार्जमा ४ सय किलोमिटर गुड्नु उक्त कारको विशेषता हो । कम्पनीका प्रोजेक्ट तथा बजार व्यवस्थापक समीर श्रेष्ठ पेट्रोलियम पदार्थ आयातमा अनिश्चितता र बढ्दो प्रदूषणले विद्युतीय गाडीमा व्यापार गर्न प्रेरित भएको बताउँछन् । भन्छन्, “वातावरण संरक्षणका लागि साइमेक्स नेपालमा हरित क्रान्ति गर्न चाहन्छ ।”
बेला मोटर्स प्रालिले ०७२ देखि नै विद्युतीय साइकल र स्कुटर बेच्न थालेको हो । कम्पनीले टी फाइभ र टी थ्री स्पोर्ट विद्युतीय साइकल र डोल्से तथा डुरो स्कुटी बेचिरहेको छ । एक पटक ब्याट्री चार्ज गरेपछि ८० किलोमिटरसम्म गुड्छन्, बेलाका मोटरसाइकल । वातावरणीय सन्तुलन कायम गर्न, किफायती र साधारण पोर्टबाट चार्ज गर्न सकिने भएकाले यी साधन ग्राहक रोजाइमा परेको बताउँछन्, बेला मोटर्सका महाप्रबन्धक सुवास आचार्य । नेपाल मात्र होइन, छिमेकी देश विद्युतीय सवारीमा नीतिगत रूपमै जान थालेको आचार्यको भनाइ छ । भन्छन्, “हामी इलेक्ट्रिकमा नगई सुखै छैन । भारतले सन् २०२५ तिर पूर्ण विद्युतीय हुने भनेको छ । हामीकहाँ अधिकांश गाडी भारतबाटै आयात हुन्छन् ।”
सवारी साधन बिक्रीको तथ्यांकअनुसार किया मोटर ब्रान्डले बजारमा पहिलो नम्बर स्थान हासिल गरेको छ । ६६ लाखदेखि ९० लाख रुपैयाँसम्मका गाडी उपलब्ध भएको कियाको विद्युतीय कार किया सोल इभी चर्चित छ । कम्पनीका सहायक महाप्रबन्धक अनिश लामिछानेका अनुसार विस्तारै अफिसका कर्मचारीलाई विद्युतीय सवारी साधन प्रयोग गर्न लगाउने सोच छ । भन्छन्, “वातावरण पनि संरक्षण हुने, कर पनि धेरै तिर्न नपर्ने भएकाले विद्युतीय सवारीका लागि दीर्घकालीन लक्ष्य लिएका छौँ ।”
मध्य साउनदेखि पारामाउन्ट मोटर्स प्रालिले विद्युतीय सवारी साधन बेच्न थालेको छ । भर्खरै बेच्न थाले पनि ग्राहकको चासो विद्युतीय सवारीतर्फ राम्रो पाएका छन्, कम्पनीका महाप्रबन्धक सचिन अर्यालले । भन्छन्, “आर्थिक र वातावरणीय दृष्टिले यो उत्तम छ ।” तर छिटो चार्ज हुने स्टेसन नबनिसक्दा केही कठिनाइ भएको कम्पनीको बुझाइ छ । सरकारले दर्ता, लाइसेन्स र नम्बर प्लेटको लफडा सुरु गर्दा ग्राहक मोटरसाइकल किन्न केही हच्किएको विद्युतीय सवारी साधन बिक्रेताको भोगाइ छ ।

विद्युतीय नीति

१५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्मा बजेट भाषण गर्दै यातायात क्षेत्रमा नवीकरणीय ऊर्जा प्रयोग गरी सहरी क्षेत्रको वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहित गरिने बताए । काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपास क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा विद्युतीय बस सञ्चालनमा ल्याइने उनको भनाइ थियो । साथै, विद्युत् प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ स्टेसन स्थापना गर्दै लगिने भन्दै यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड बजेट विनियोजन गरे । तर साझा यातायातले सञ्चालन गर्ने भनेर चीन सरकारबाट प्राप्त ५ वटा विद्युतीय गाडी विवाद नसल्टिँदा अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।
प्रबन्ध निर्देशक भरत सौरेलले विद्युतीय मोटरसाइकल बेच्न सुरु गरेको ११ वर्ष भयो । ८ वर्ष भयो, उनले क्लिन इनर्जी नेपालको स्थापना गरेको । हाल उनको कम्पनीले दुईपांग्रे तथा तीनपांग्रे सवारी साधन बेचिरहेको छ ।
दशक लामो व्यापारमा उनले लोडसेडिङको दुःख पनि झेले । उपभोक्तामा केही परिवर्तन आएको उनी ठान्छन् । यद्यपि अधिकांशलाई के–कस्तो चाहिन्छ भन्ने सोच अझै नपलाएको उनको अनुभव छ । विद्युतीय सवारी चलाउने प्रयोगकर्ता फर्केर पेट्रोलमा नजाने उनी दाबी गर्छन् । विद्युतीय सवारी उत्पादन तथा आयात संघ नेपालको सचिवसमेत रहेकाले सौरेलले पटक–पटक विद्युतीय सवारीका लागि सरकारसँग लडेको अनुभव छ । भन्छन्, “विद्युतीय सवारी साधनको नीति त आयो तर कार्यान्वयन गर्ने कार्यविधि नबन्दा अलमल छ ।”
०७१ कात्तिकमा सरकारले ल्याएको वातावरणमैत्री यातायात नीतिको सातौँ नम्बरमा लक्ष्यको रूपमा ०७७ भित्र कम्तीमा २० प्रतिशत विद्युतीय सवारी साधन मुलुकभर चलाइने उल्लेख छ । तर नीतिलाई कार्यान्वयनका लागि चाहिने ऐन, नियम र प्रविधिको कुनै टुंगो छैन । नीतिलाई योजनाको रूपमा सम्बोधन हुने गरी यातायात विभागले मस्यौदा बनाए पनि कार्यान्वयन अझै अनिश्चित रहेको सौरेल बताउँछन् । पहिला विद्युतीय साइकल तथा मोटरसाइकल चलाउन लाइसेन्स नचाहिने भए पनि पछिल्लो समय लाइसेन्स र नम्बरप्लेट नदेखे ट्राफिकले कारबाही गर्ने प्रवृत्तिले ग्राहक अलमलमा परेको उनको बुझाइ छ ।

बस पनि विद्युतीय

विज्ञको भनाइमा सरकारले जबसम्म विद्युतीय सार्वजनिक यातायात सञ्चालनमा ल्याउँदैन, तबसम्म देशले विकासमा फड्को मार्न सक्दैन । वातावरणविद् भूषण तुलाधरका अनुसार देशको व्यापार घाटा कम गर्न, साहसिक पर्यटन व्यवसाय गर्न, ऊर्जा व्यवस्थापन तथा विद्युत् खपत बढाउन र वायु प्रदूषण रोक्न विद्युतीय सवारी साधन प्रयोग अनिवार्य छ । सरकारी तवरमा सार्वजनिक यातायातका रूपमा ७१ वटा साझाका बस चलिरहेका छन् । डिजेलबाट चल्ने साझा यातायातलाई शीघ्र विद्युत्बाट चल्ने बनाउन सरकारले योजना ल्याउनुपर्ने तुलाधर बताउँछन् । तुलाधर साझा यातायात सञ्चालक समितिका निर्देशक पनि हुन् ।
निजी तवरमा भने सुन्दर यातायात प्रालिले मध्य भदौसम्म ७ वटा विद्युतीय सार्वजनिक सवारी चलाउँदै छ । सरकारले चार्जिङ स्टेसन, अरूको चार्जिङ स्टेसनमा रिचार्ज गर्दा लाग्ने शुल्क नतोकिदिँदा चलाउन कठिन भएको कम्पनीले जनाएको छ ।
कम्पनीका सञ्चालक सदस्य सुरेश पोखरेलका अनुसार सरकार आफैँ चलाउने कि अरूलाई जिम्मा दिने भन्ने अलमलमा छ । यातायात विभागले केही साताअघि अन्य सवारीजस्तै विद्युतीय सवारीको भाडादर शुल्क तोकिदिएपछि अहिले सुन्दरले गाडी चलाउन पाएको हो । उक्त गाडी काठमाडौँ रिङरोडलगायत प्रदेश १ मा पनि चलाउने तयारी छ । यसका लागि प्रदेश सरकारसँग छलफल भइरहेको पोखरेलले जनाए ।
ऊर्जा मन्त्रालय योजना महाशाखाका सहसचिव सुशीलचन्द्र तिवारी सरकारले १५ वटा चार्जिङ स्टेसन बनाइसकेको बताउँछन् । उनका अनुसार विद्युत् प्राधिकरणले गाडी रिचार्ज गर्न स्टेसन बनाइसकेको छ । यसका लागि निर्देशिका डेढ महिनामै कार्यान्वयनमा आउने उनको दाबी छ । तर प्राधिकरणका सहायक महाप्रबन्धक सागर ज्ञवाली सरकारका तर्फबाट नीतिमा भए पनि अहिलेसम्म चार्जिङ स्टेसन नबनेको बताउँछन् ।
विद्युत् वितरण नियमावलीअनुसार जति बिजुली खपत भएको छ, त्यति नै शुल्क लाग्छ । चार्जिङ स्टेसन कस्तो बनाउने भन्नेमा स्पष्ट खाका प्राधिकरणले तयार गरेको छैन । प्राधिकरणका अनुसार साझाले १ वैशाख ०७७ देखि विद्युतीय ऊर्जाबाट ३० वटा बस चलाउँदै छ । ३ सय बस चलाउनुपर्ने सरकारको लक्ष्य रहे पनि ३० वटा मात्र कार्यान्वयनमा आउने सम्भावना छ ।
प्रकाशित: भाद्र ९, २०७६


http://bit.ly/2ZreTOL

विद्युत खपत बढाउन विद्युतीय चुल्हो खरीदमा अनुदान दिने सरकारको तयारी

https://www.himalkhabar.com/news/110001

विद्युत खपत बढाउन विद्युतीय चुल्हो खरीदमा अनुदान दिने सरकारको तयारी

रासस

विद्युत खपत बढाउन विद्युतीय चुल्हो खरीदमा अनुदान दिने सरकारको तयारी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रणालीमा उपलब्ध विद्युतको खपत कसरी बढाउने भन्ने लक्ष्यका साथ पछिल्लो दिनमा निरन्तर संवादमा छ ।
हाल प्राधिकरणको प्रणालीमा एक हजार २२५ मेगावाट विद्युत् उपलब्ध छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुँदैछ ।
शहरिया र शहरोन्मुख क्षेत्रका नागरिकको खाना पकाउने प्रमुख साधनको रूपमा एलपी ग्यास रहेको छ । त्यसलाई विस्थापन गर्ने प्रमुख साधनको रूपमा विद्युतीय चुल्हो रहेको छ । नीतिगत रूपमा नै प्रष्ट व्यवस्था नगर्दासम्म विद्युतीय चुल्होमा नागरिकको आकर्षण नहुने भएकाले अनुदान उपलब्ध गराउनेतर्फ मन्त्रालय लागेको छ ।
मन्त्रालयले विद्युतीय चुल्होमा ५० प्रतिशतसम्म अनुदान दिन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । शहरिया उपभोक्तालाई विशेषगरी केन्द्रमा राखेर विद्युतीय चुल्होमा अनुदान दिने लक्ष्यका साथ उक्त प्रस्ताव गरिएको मन्त्री पुनको भनाइ छ ।
विद्युत् व्यापारका लागि क्षेत्रीय बजारको समेत खोजी गरिरहेको सरकारले आन्तरिक रूपमा नै विद्युत् खपत बढाउनेतर्फ पनि उत्तिकै पहलकदमी लिएको छ ।
सामान्यतया ५०० मेगावाट विद्युत् थप हुँदा कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत योगदान बढ्छ । चालू आवको अन्त्यसम्म थपिने एक हजार मेगावाटले कुल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशतको सहजै योगदान हुनेछ ।
औद्योगिक क्षेत्रको उत्पादन क्षमता बढाउनेदेखि रोजगारीको अवसरमा समेत वृद्धि हुन जान्छ । यसलाई ध्यान दिएर नै विद्युत् खपत बढाउने लक्ष्यका साथ आक्रामकरूपमा प्रवद्र्धनात्मक कार्यक्रम अगाडि सारिएको मन्त्री पुनले जानकारी दिएका छन् ।

मन्त्रालयले तय गरेको योजनाअनुसार चालु आवको अन्त्यसम्म प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुनेछ ।
यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना र साञ्जेनका दुई आयोजना निर्माण सम्पन्न हुनेछन् । माथिल्लो साञ्जेन १४.८ मेगावाट र ४२.५ मेगावाट रहेको छ । ‘गोरखा भूकम्प’ र बाढी पहिरोका कारण लामो समयदेखि बन्द भएको ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजनासमेत केही समयभित्रै पुनः सञ्चालनमा आउँदैछ ।

यस्तै निजी क्षेत्रले निर्माण गरिरहेका तीन हजार मेगावाट क्षमताका आयोजनामध्ये करीब एक दर्जन आयोजना चालु आवमा नै सकिँदैछ । यस्तै आगामी असारदेखि हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत विद्युत् प्राधिकरणले निःशुल्क पाउँदैछ । त्यसले आन्तरिकरूपमा विद्युत् खपतका लागि सरकार र प्राधिकरणलाई दबाब दिइरहेको छ ।

प्राधिकरणले विद्युत् खपत बढाउनका लागि सवस्टेशनको क्षमता वृद्धि गर्नेदेखि ट्रान्सफर्मरको क्षमता वृद्धिसम्मको काम गरिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण, वितरण प्रणालीदेखि सवस्टेशनको क्षमता वृद्धिसम्मको काम भइरहेको जानकारी दिए।
यस्तै प्राधिकरणले विद्युत् खपत बढाउनका लागि विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । काठमाडौं उपत्यकाभित्र र प्रमुख राजमार्गमा त्यस्ता स्टेशन निर्माणको प्रक्रिया शुरु भइसकेको प्राधिकरणको भनाइ छ ।
त्यसो त प्राधिकरणले विद्युत् महसुलमा समेत केही छुट दिने गरी तयारी गरेको छ । कम विद्युत् खपत गर्ने ग्राहकलाई केही छुट तथा बढी विद्युत् प्रयोग गर्नेलाई समेत विशेष सुविधा दिने गरी महसुल प्रस्ताव गरिएको छ । सो प्रस्ताव स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा पठाएको छ ।
विगतमा कम विद्युत् खपत गर्नुस् भन्ने प्राधिकरण यतिबेला विद्युत् सक्दो उपयोग गर्नुस् भन्ने अवस्थामा आइपुगेको छ । त्यस्तै ‘डेडिकेटेड’ र ‘ट्रङलाइन’को अवधारणासमेत हटाएको छ । त्यसबाट उद्योगमा विद्युत् खपत बढ्ने प्राधिकरणको विश्वास छ ।
विद्यमान व्यवस्थामा बढी विद्युत् खपत गर्नेले बढी महसुल तिर्नुपरेको छ । नयाँ व्यवस्थामा भने बढी खपत गर्नेलाई केही विशेष छुट दिन सकिन्छ कि भनेर महसुलमा पुनरावलोकन गर्न लागिपरेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणको आधिकारिक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले यही मंसीर ११ गते मन्त्रालयमै छलफलको आयोजना गरी देशभित्रै इन्डक्सन चुल्होको कारखाना खोल्नतर्फ पहल गर्न मन्त्री पुनको ध्यानाकर्षण गराएको थियो ।
खाना पकाउने एलपी ग्यासको खरीदमा नै वार्षिक रु ३५ अर्बदेखि रु ५० अर्बसम्म खर्च हुने गरेको अवस्थामा विद्युतीय चुल्होको बढावा नै उत्तम विकल्प रहेको निष्कर्षमा सरकार पुगेको छ ।

प्रतिकृया दिनुहोस

ब्लूबेरी र पिकानटको परीक्षण उत्पादनमा थाहानगरका किसान

https://www.abhiyandaily.com/newscategory-detail/362339
Dec 3, 2019 
प्रदेश ०३
Image Not Found
हेटौंडा (अस) । मकवानपुरको थाहानगर–७, वज्रवाराहीका अगुवा सिकान माधवप्रसाद सुवेदी ब्लूबेरी, पिकानट र चेरीको परीक्षण उत्पादनको तयारीमा छन् । १ दशकअघि मकवानपुरमा पहिलोपटक किवीखेतीको परीक्षण गरेका सुवेदी यसको सफलतापछि ब्लूबेरी, पिकानट र चेरीको परीक्षण उत्पादनमा लागेका हुन् । उनको परिवारले वार्षिक १० लाख रुपैयाँभन्दा बढीको किवी विक्री गर्दै आएको छ । 
ब्लूबेरी अस्ट्रेलिया, फ्रान्स र जापानको लोकप्रिय फल हो । विदेशबाट ल्याएको उक्त फलको बिरुवाबाट परीक्षणको रूपमा खेती गरिएको र सफल भएमा व्यावसायिक रूपमा विस्तार गरिने सुवेदीले बताए । सामान्यतया ३ मिटर अग्लो बोट हुने ब्लूबेरी अंगुरको जस्तो झुप्पामा फल्ने सुवेदीले बताए । स्वास्थ्यका लागि आवश्यक विभिन्न पौष्टिक तŒव पाइने र स्वादिलो यो फलको खेती सफल भएमा गतिलो आय आर्जन गर्न सकिने उनको भनाइ छ ।
सुवेदीले पिकानट र चेरीको पनि परीक्षण उत्पादन गरिरहेका छन् । स्थानीय खेतबारीमा उत्पादन गर्न सकिने गरी आफू यसको परीक्षण खेतीमा लागिपरहेको उनले बताए । आफ्नो यो अभियानमा स्थानीय सरकारले सघाए २–३ वर्षभित्र व्यावसायिक उत्पादन गर्न सकिने उनका दाबी छ । किवीको माग बढे जस्तै ब्लुबेरी, पिकानट र चेरीको बजार बढ्नेमा उनी विश्वस्त छन् । 
वज्रवाराहीमा एग्रो भेट व्यवसाय समेत गर्दै आएका सुवेदी यस क्षेत्रका अगुवा किसान मानिन्छन् । उनले किवीखेतीलाई व्यावसायिक बनाएपछि वज्रवाराहीका अरू किसानले पनि यसको खेती गर्न थाले । ‘केही वर्ष अघिसम्म मकवानपुरवासीले किवी खाँदैनथे,’ उनले भने, ‘यो फलको बारेमा अधिकांशलाई जानकारी नै थिएन ।’ उत्पादित किवी विक्रीका लागि शुरुआती समयमा समस्या भए पनि अहिले यसको राम्रो बजार रहेको सुवेदीले बताए । ‘धेरै उत्पादन भए पनि विक्री नहोला भन्ने चिन्ता छैन,’ उनले भने ।
नेपाल बीउ व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेत रहेका सुवेदीले उत्पादन गरेको किवी अहिले हेटौंडामा प्रतिकेजी २५० देखि ३ सय रुपैयाँसम्म विक्री हुने गरेको छ । ‘अर्डर आउनेबित्तिकै प्याकिङ गरेर पठाउने गरेको छु,’ उनले भने । यो उद्यममा उनका दुई छोराले पनि साथ दिएका छन् ।
उनले शुरू गरेको किवीखेती सफल भएपछि मकवानपुर उद्योग वाणिज्य संघले थाहानगरलाई ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम अन्तर्गत किवीखेती प्रवद्र्धन गरेको थियो । अहिले मकवानपुरको थाहानगर, भीमफेदी, नामटारका करीब २०० किसान किवीखेतीमा संलग्न छन् ।
किसानलाई नयाँ जातका फलफूल खेतीमा आकर्षित गर्न सरकारले अनुदान, तालीम, बजारीकरण लगायतमा सघाउनुपर्नेमा सुवेदीले जोड दिए । ‘जनस्वास्थ्यका लागि हितकारी फलफूलहरूबारे ग्रामीण क्षेत्रका किसानलाई जानकारी गराउनुपर्छ,’ उनले भने, ‘फलफूल खेतीको प्रवर्द्धनका लागि सम्बद्ध किसानलाई आर्थिक तथा प्राविधिक सहयोग पनि खाँचो छ ।’ महँगो मूल्यमा बिक्ने फलफूलको खेती, उत्पादन तथा बजार विस्तार गर्न सके युवाहरू विदेश पलायन हुनबाट रोकिने उनको विश्वास छ


Thursday, September 26, 2019

सुन्दर यातायातका बस खरीदमा ७५ प्रतिशत फाइनान्स सुविधा

https://www.abhiyandaily.com/newscategory-detail/358804

सुन्दर यातायातका बस खरीदमा ७५ प्रतिशत फाइनान्स सुविधा

Sep 27, 2019 
बजार समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चिनियाँ विद्युतीय बस उत्पादक कम्पनी बिएकेको नेपालका लागि आधिकारिक विक्रेता सुन्दर यातायात ट्रेडर्स प्रालिले विद्युतीय बसको बुकिङ खोलेको छ । कम्पनीले दशैं र तिहारलाई लक्षित गरी ७५ प्रतिशत फाइनान्स सुविधासहित बुकिङ खोलेको हो ।
सुन्दर यातायातले १२ मिटर लम्बाइ भएका बसको मूल्य रू. १ करोड ७२ लाख ३५ हजार, साढे १० मिटरका बसको मूल्य रू. १ करोड ६२ लाख र साढे ८ मिटरका बसको मूल्य रू. १ करोड ५५ लाख ३५ हजार तोकेको छ ।
सुन्दर यातायात प्रालिअन्तर्गत काठमाडौं चक्रपथमा चारओटा विद्युतीय बस सञ्चालन भइरहेका छन् । हाल नयाँ बसको विक्री शुरू भइसकेको जानकारी सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले दिए । ‘हामीले दशैंतिहारको विशेष योजनासहित फाइनान्समा विक्री खोलेका हौं,’ उनले भने, ‘जसअन्तर्गत २५ ओटा बस बुकिङ भइसकेका छन् ।’ 
थापाका अनुसार गाडी बुक भएको ३ महीनाभित्र कम्पनीले खरीदकर्तालाई गाडी उपलब्ध गराउनेछ । उनका अनुसार तत्काल बसको मात्र विक्री शुरू गरे पनि सुन्दरले नेपालका छिट्टै बीएकेका कारको विक्री पनि शुरू गर्नेछ ।

सर्पदंशको उपचार यसरी

https://www.nayapatrikadaily.com/news-details/26103/2019-09-26

सर्पदंशको उपचार यसरी

२०७६ असोज ९ बिहीबार १०:१५:००
विश्व स्वास्थ्य संठनले सन् १९८७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा बर्सेनि २० हजार मानिस सर्पदंशबाट प्रभावित हुन्छन् । जसमध्ये करिब एक हजारले ज्यान गुमाउने गरेका छन् । नेपालका २६ जिल्ला सर्पदंशबाट अति प्रभावित छन् । सर्पदंशबाट बच्न यस्ता छन् उपाय :
 कमल देवकोटा प्राणीशास्त्री/सर्पविज्ञ
सर्पले आफूलाई खतरा महसुस भएमा मात्र मानिसलाई टोक्ने वा आक्रमण गर्ने गर्छ । जब मानिसले झुक्किएर वा जानाजान सर्पलाई चलाउन पुग्छ, तब सर्पले आफ्नो प्रतिरक्षास्वरूप टोक्न पुग्छ । अधिकांश सर्पदंशका घटना समात्न खोज्दा, जिस्क्याउँदा वा मार्न खोज्दा हुने गर्छ ।  
जोगिने उपाय
सर्पलाई जथाभावी रूपमा समात्न खोज्ने, जिस्क्याउने र छुने गर्नुहुँदैन । घरवरिपरि सर्प बस्न सक्ने सम्भावित ठाउँजस्तै दाउराको चाङ, काठ, पराल, इट्टा, ढुंगा आदि वेलावेलामा सफा गरिराख्नुपर्छ । घरको वरिपरि दुलो छ भने त्यसलाई तुरुन्त टालिहाल्नुपर्छ । साना केटाकेटीले खेल्दाखेल्दै सर्प बस्न सक्ने सम्भावित ठाउँमा हात हाल्न सक्ने भएकाले उनीहरूलाई सावधान हुन सिकाउनुपर्छ । घरभित्र मुसा छिर्न दिनुहुँदैन । कुखुरा, हाँस, परेवा आदिको खोर पनि घरभित्र बनाउनुहुँदैन । 
सर्पले टोकेमा 
नआत्तिनुहोस्, नडराउनुहोस् र बिरामीलाई सान्त्वना दिनुहोस् । बिरामीलाई आरामदायी र सुरक्षित तरिकाले पल्टिन लगाउनुहोस् । कसिने गरी लगाएको लुगा वा गहना खोलिदिनुहोस् । टोकेको हात वा खुट्टालाई हलचल हुन नदिई स्थिर राख्नुहोस्, यसका लागि स्प्लिन्ट वा स्लिङको प्रयोग गर्न सकिन्छ ।
टोकाइको अवस्था हेरी धेरै कसिलो नहुने गरी ब्यान्डेज प्रयोग गर्नुस् । प्रेसर इमोबिलाइजेसन ब्यान्डेजिङ (पिआइबी) उपलब्ध नभएको अवस्थामा लोकल कम्प्रेसन प्याड इमोबिलाइजेसन (एलसिपिआई) अर्थात् कपडाको टुक्रालाई ब्यान्डेजका रूपमा प्रयोगमा ल्याउन सकिन्छ । बिरामीलाई जतिसक्दो चाँडो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुहोस् ।
सर्पले टोकेको वेलामा के नगर्ने ?
समय खेर फाल्नुहुँदैन । टोकेको हात वा खुट्टा हलचल गराउनुहुँदैन, दौड्नुहुँदैन । टर्निक्वेटले कसेर बाँध्नुहुँदैन । टोकेको ठाउँ काट्ने, जलाउने र चुस्ने गर्नुहुँदैन । टोकेको ठाउँ चिरेर रगत झार्ने गर्नुहुँदैन । टोकेको ठाउँमा मलम वा जडीबुटी लगाउनुहुँदैन । पोटासियम परम्याग्नेटको प्रयोग गर्नुहुँदैन । विद्युतीय झट्का दिने काम गर्नुहुँदैन । कुनै पनि आर्युवेदिक वा अन्य औषधि डाक्टरको सल्लाहविपरीत प्रयोग गर्नुहुँदैन । तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ ।

‘बस सेवा’को अनलाइन टिकट बुकिङ शुरू

https://www.abhiyandaily.com/newscategory-detail/358593

‘बस सेवा’को अनलाइन टिकट बुकिङ शुरू

सरकारले तोकेकै भाडामा बुक गर्ने सुविधा  http://bussewa.com/

Sep 24, 2019 
यातायात
Image Not Found
  अभियान संवाददाता

काठमाडौं । टिकट एजेन्सी कम्पनी ‘बस सेवा’ले आइतवारदेखि अनलाइन टिकट बुकिङ सेवा शुरू गरेको छ । सरकारले अग्रिम टिकट खोलेकै दिन कम्पनीले अनलाइन मार्फत टिकट बुकिङ खोलेको हो । सेवाग्राहीले थप शुल्कविना सरकारले तोकेकै भाडादरमा टिकट बुक गर्न सक्ने कम्पनीले बताएको छ ।
दशैंमा २५ लाखभन्दा बढी मानिस राजधानीबाट बाहिरिने गरेका छन् । यसैको व्यवस्थापनका लागि सरकारले हरेक वर्ष टिकट बुकिङ खोल्ने गरेको छ । तर टिकट बुकिङ व्यवस्थित बन्न नसक्दा रातिदेखि नै मानिसहरू काउन्टरमा लाइन लाग्न पुग्ने गरेका छन् । यो समस्याको व्यवस्थापन तथा यात्रुको सहज सुविधाका लागि अनलाइन बुकिङ खोलिएको कम्पनीका संस्थापक परशुराम खनालले बताए ।
‘यात्रुले टिकटका लागि काउन्टरमा दिनभर लाइन लाग्न नपरोस् भनेर अनलाइन सेवा शुरू गरेका हौं,’ खनालले भने, ‘हामीले ८० ओटा यातायात कम्पनीसँग सहकार्य गरी दैनिक ६ हजार टिकटको बुकिङ सेवा दिइरहेका छौं ।’ उनका अनुसार बस सेवाले पर्यटकका लागि हरियो नम्बर प्लेट र सर्वसाधारणका लागि कालो नम्बर प्लेटका सार्वजनिक सवारीसाधनबाट यो सेवा दिइरहेको छ । कम्पनीले २०७१ सालदेखि नै अनलाइन टिकट बुकिङ सेवा दिँदै आए पनि प्रभावकारी बन्न सकेको थिएन । उनले भने, ‘तर यो वर्ष पहिलो दिनमै साढे ५ हजार टिकट बुक भयो ।’ दोस्रो दिन पनि उल्लेख्य बुकिङ भएको उनले बताए ।
कम्पनीका अनुसार फोन, कम्पनीको मोबाइल एप र वेबसाइटमार्फत  अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । बुकिङपूर्व भाडा, बसको सुविधा, सिट, गाडीको प्रकार, नम्बर लगायत सबै जानकारी लिन सकिने खनालले बताए । ई–सेवा, आईएमई पे, आइपे र ई–प्रभु जस्ता पेमेन्ट गेटवे कम्पनीको मोबाइल एप्समार्फत पहिले नै पूरा भाडा तिरेर टिकट बुक गर्न सकिन्छ । बुकिङपछि ईमेलमा आएको टिकट वा फोनको म्यासेज देखाएर यात्रा गर्न सकिन्छ ।
कम्पनीले पोखरा, बागलुङ, स्याङ्जा, चितवन, नवलपरासी, अर्घाखाँची, बुटवल, पाल्पा, कपिलवस्तु, दाङ, नेपालगञ्ज, सुर्खेत र रुकुमका लागि अनलाइन टिकट बुकिङ सेवा दिइरहेको छ । यस्तै नुवाकोट, रसुवा, ओखलढुंगा, खोटाङ, वीरगञ्ज, जनकपुर, धरान, विराटनगर, काँकडभिट्टा र इलामका लागि यो सुविधा रहेको खनालले जानकारी दिए । बस सेवाले भारतको दिल्ली, पटना र बनारससम्म चल्ने बसका लागि पनि अनलाइन टिकट बुकिङ सेवा दिइरहेको छ । साथै देशका सबै ठाउँमा सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

ऐनमा तोकिएको १० भूउपयोग क्षेत्रहरु निम्न छन्

https://www.abhiyandaily.com/newscategory-detail/358080
भदौ ३०, काठमाडौं । अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सरकारलाई बाटो खुलेको छ । संघीय संसदको दुबै सदनबाट पारित भएको ‘भूउपयोग ऐन, २०७६’ यही भदौ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि सोही ऐन बमोजिम यो व्यवस्था लागू भएको हो ।
उक्त ऐनको दफा २४ (ख) मा ‘काबुबाहिरको परिस्थिति उत्पन्न भई जग्गा बाँझो राख्नु पर्ने उचित कारण सहितको सूचना सम्बन्धित स्थानीय तहमा दिएको अवस्थामा बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षदेखि बाँझो राखेमा,’ कसूर गरेको मानिने उल्लेख छ । ऐनको दफा २५ (ख) अनुसार यस्तो कसूर गरेमा उत्पादन अनुमानको आधारमा १ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
यसैगरी उक्त ऐनले नेपालको भूमिलाई उपयोगिता र आवश्यकताका आधारमा विभिन्न १० भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । ऐनमा तोकिएको १० भूउपयोग क्षेत्रहरु निम्न छन् :
  • कृषि क्षेत्र
  • आवासीय क्षेत्र
  • व्यावसायिक क्षेत्र
  • औद्योगिक क्षेत्र
  • खानी तथा खनिज क्षेत्र
  • वन क्षेत्र
  • नदी, खोला, ताल, सीमसार क्षेत्र
  • सार्वजनिक उपयोगको क्षेत्र
  • सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र
  • नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र
संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस ३० गते संघीय संसदको प्रतिनिधि सभामा पेश गरेको ‘भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा कार्यान्वयनमा आएको छ । विभिन्न चरणमा छलफल र संशोधन भई यही भदौ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।