https://www.abhiyandaily.com/newscategory-detail/362878
काठमाडौं । नागढुंगा–नौबीसे सुरुङमार्ग
आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै शुरू हुने भएको छ । ५
दशमलव ७ किलोमीटर (किमी) को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत
संरचना निर्माणको प्रक्रिया शुरू भए पनि २ दशमलव ६८ किमी सुरुङमार्ग
निर्माण भने आगामी चैतपछि मात्रै हुने भएको हो ।
सुरुङमार्ग निर्माणका लागि चाहिने विस्फोटक
पदार्थको स्वीकृति लिनु पर्ने र निर्माण उपकरण विदेशबाट ल्याउनुपर्ने
भएकाले सुरुङ खन्ने काम शुरू गर्न अझै ३/४ महीना लाग्ने आयोजना प्रमुख
श्याम खरेलले बताए । उनका अनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नेपाली सेना
र उपकरणहरू नेपाल ल्याउन मास्टर लिस्ट (सुरुङ खन्नका लागि आवश्यक निर्माण
सामग्रीको सूची) स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकिएको छ ।
नेपालको पहिलो सडक सुरुङमार्ग हुने दाबी
गरिएको यस आयोजनाका लागि जापानी कम्पनी हाज्माआन्दो कर्पाेरेशनले नै
निर्माण सामग्री ल्याउनेछ । त्यसका लागि अर्थले भन्सार सहुलियत दिनुपर्ने
भएकाले अहिले मास्टर लिस्ट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको
आयोजनाले बताएको छ । ‘यी सबै प्रक्रिया पूरा गर्न चैतसम्म लाग्ने र त्यसपछि
मात्रै उपकरणहरू उपलब्ध हुने भएकाले सुरुङको काम शुरू गर्न समय लाग्ने
भएको हो, तर यसले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न कुनै बाधा पुग्दैन,’
खरेलले भने ।
खरेलले आयोजनाका अन्य भौतिक संरचनाहरूको
निर्माण शुरू भइसकेको जानकारी दिए । उनका अनुसार आयोजनाअन्तर्गत काठमाडौंमा
भवन निर्माण, वलम्बुमा फ्लाइओभरका लागि ६०० मीटर (मी) लम्बाइको जग्गा खरीद
कार्य, कल्भर्ट, पुल, पाँचओटा स्टीलका अस्थायी पुल निर्माणको प्रक्रिया
शुरू भइसकेको छ । आयोजनामा पर्ने ३ दशमलव ३३ मीटरको फ्लाइओभर निर्माणका
लागि जग्गा प्राप्त हुने क्रममा रहेको छ ।
धादिङको सिस्ने खोलासम्म जोड्न स्टीलका पुल
बनाउन लागिएको हो । खरेलका अनुसार धादिङतर्फको मुआब्जा दिने क्रम पनि शुरू
भइसकेको छ । उनले धादिङतर्फ ४४ रोपनी जग्गाको मात्रै मुआब्जा दिनुपर्ने र
त्यसमध्ये १५ रोपनी जग्गाको मुआब्जा दिने प्रक्रिया शुरू भइसकेको बताए ।
आयोजनाका लागि काठमाडौंको थानकोट/नागढुंगा र धादिङमा गरी ३४४ रोपनी जग्गा
अधिग्रहण गर्नुपर्छ ।
हाल थानकोट–नौबीसेको झ्याप्ले खोलासम्मको
दूरी करीब ९ किलोमीटर रहेको छ । उक्त सुरुङमार्ग निर्माण भएपछि उक्त दूरी ५
दशमलव ७ किलोमीटरमा सीमित हुनेछ । काठमाडौंको प्रमुख प्रवेशद्वारमध्येको
यस नाकामा सुरुङमार्ग बनेपछि दूरी कम हुनुका साथै ट्राफिक जामसमेत घट्ने
अपेक्षा गरिएको छ । उक्त आयोजनाको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा
ओलीबाट शिलन्यास भएको थियो ।
उक्त सुरुङमार्गमा ७ ओटा पुल, ११ ओटा बक्स
कल्भर्ट, दुवैतर्फ सडक दस्तुर संकलन गर्न टोल संरचना, सुरुङमार्गको
सम्पूर्ण अवस्थाको अनुगमन गर्न नियन्त्रण कक्ष, सुरुङमार्गका लागि छुट्टै
विद्युत् लाइन विस्तार, २ ओटा फ्लाइओभर ब्रिज बन्नेछन् । सो आयोजनाको पूर्व
र पश्चिम खण्डमा २ दशमलव ८७ किमीको पहुँचमार्ग बनाइनेछ । उक्त सुरुङमार्ग
काठमाडौं जिल्लास्थित बलम्वुबाट शुरू भई आकाशटोल, त्रिवेणीघाट, दहचोक,
टुटीपाखा हुँदै सोही राजमार्गको धादिङ जिल्लास्थित सिस्नेखोलामा जोडिनेछ ।
नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग
नियोग (जाइका) बीच यो सुरुङमार्ग बनाउने विषयमा सन् २०१६ मा सम्झौता भएको
थियो । गत असोज पहिलो साता सडक विभाग र सुरुङमार्ग निर्माण गर्ने जापानको
कम्पनी हाज्माआन्दो कर्पाेरेशनबीच ४२ महीनामा सुरुङमार्ग निर्माण सम्पन्न
गर्ने सम्झौता भइसकेको छ । जापान सरकारको सहुलियत ऋणमार्फत बन्न लागेको यस
सुरुङमार्गको कुल लागत रू. २२ अर्ब रहेको छ ।
No comments:
Post a Comment