Monday, December 2, 2019

ब्लूबेरी र पिकानटको परीक्षण उत्पादनमा थाहानगरका किसान

https://www.abhiyandaily.com/newscategory-detail/362339
Dec 3, 2019 
प्रदेश ०३
Image Not Found
हेटौंडा (अस) । मकवानपुरको थाहानगर–७, वज्रवाराहीका अगुवा सिकान माधवप्रसाद सुवेदी ब्लूबेरी, पिकानट र चेरीको परीक्षण उत्पादनको तयारीमा छन् । १ दशकअघि मकवानपुरमा पहिलोपटक किवीखेतीको परीक्षण गरेका सुवेदी यसको सफलतापछि ब्लूबेरी, पिकानट र चेरीको परीक्षण उत्पादनमा लागेका हुन् । उनको परिवारले वार्षिक १० लाख रुपैयाँभन्दा बढीको किवी विक्री गर्दै आएको छ । 
ब्लूबेरी अस्ट्रेलिया, फ्रान्स र जापानको लोकप्रिय फल हो । विदेशबाट ल्याएको उक्त फलको बिरुवाबाट परीक्षणको रूपमा खेती गरिएको र सफल भएमा व्यावसायिक रूपमा विस्तार गरिने सुवेदीले बताए । सामान्यतया ३ मिटर अग्लो बोट हुने ब्लूबेरी अंगुरको जस्तो झुप्पामा फल्ने सुवेदीले बताए । स्वास्थ्यका लागि आवश्यक विभिन्न पौष्टिक तŒव पाइने र स्वादिलो यो फलको खेती सफल भएमा गतिलो आय आर्जन गर्न सकिने उनको भनाइ छ ।
सुवेदीले पिकानट र चेरीको पनि परीक्षण उत्पादन गरिरहेका छन् । स्थानीय खेतबारीमा उत्पादन गर्न सकिने गरी आफू यसको परीक्षण खेतीमा लागिपरहेको उनले बताए । आफ्नो यो अभियानमा स्थानीय सरकारले सघाए २–३ वर्षभित्र व्यावसायिक उत्पादन गर्न सकिने उनका दाबी छ । किवीको माग बढे जस्तै ब्लुबेरी, पिकानट र चेरीको बजार बढ्नेमा उनी विश्वस्त छन् । 
वज्रवाराहीमा एग्रो भेट व्यवसाय समेत गर्दै आएका सुवेदी यस क्षेत्रका अगुवा किसान मानिन्छन् । उनले किवीखेतीलाई व्यावसायिक बनाएपछि वज्रवाराहीका अरू किसानले पनि यसको खेती गर्न थाले । ‘केही वर्ष अघिसम्म मकवानपुरवासीले किवी खाँदैनथे,’ उनले भने, ‘यो फलको बारेमा अधिकांशलाई जानकारी नै थिएन ।’ उत्पादित किवी विक्रीका लागि शुरुआती समयमा समस्या भए पनि अहिले यसको राम्रो बजार रहेको सुवेदीले बताए । ‘धेरै उत्पादन भए पनि विक्री नहोला भन्ने चिन्ता छैन,’ उनले भने ।
नेपाल बीउ व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेत रहेका सुवेदीले उत्पादन गरेको किवी अहिले हेटौंडामा प्रतिकेजी २५० देखि ३ सय रुपैयाँसम्म विक्री हुने गरेको छ । ‘अर्डर आउनेबित्तिकै प्याकिङ गरेर पठाउने गरेको छु,’ उनले भने । यो उद्यममा उनका दुई छोराले पनि साथ दिएका छन् ।
उनले शुरू गरेको किवीखेती सफल भएपछि मकवानपुर उद्योग वाणिज्य संघले थाहानगरलाई ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम अन्तर्गत किवीखेती प्रवद्र्धन गरेको थियो । अहिले मकवानपुरको थाहानगर, भीमफेदी, नामटारका करीब २०० किसान किवीखेतीमा संलग्न छन् ।
किसानलाई नयाँ जातका फलफूल खेतीमा आकर्षित गर्न सरकारले अनुदान, तालीम, बजारीकरण लगायतमा सघाउनुपर्नेमा सुवेदीले जोड दिए । ‘जनस्वास्थ्यका लागि हितकारी फलफूलहरूबारे ग्रामीण क्षेत्रका किसानलाई जानकारी गराउनुपर्छ,’ उनले भने, ‘फलफूल खेतीको प्रवर्द्धनका लागि सम्बद्ध किसानलाई आर्थिक तथा प्राविधिक सहयोग पनि खाँचो छ ।’ महँगो मूल्यमा बिक्ने फलफूलको खेती, उत्पादन तथा बजार विस्तार गर्न सके युवाहरू विदेश पलायन हुनबाट रोकिने उनको विश्वास छ


No comments:

Post a Comment