Thursday, June 6, 2019

जहाँ नेवार बोल्छन् थारू र मैथिली

https://www.kantipurdaily.com/pradesh-1/2019/06/06/155979132353424601.html
प्रदेश १

जहाँ नेवार बोल्छन् थारू र मैथिली 

सहज जीवनयापनको खोजीमा तराईको बस्तीभित्र आइपुगेका नेवारहरु नेवारी बोल्दैनन्, वेशभूषामा पनि नेवारजस्ता देखिादैनन्
जितेन्द्र साह
बर्जु, सुनसरी — पराल र जस्तापाताले छाएका ससाना घर छन् । स्थानीयको हुलिया, पहिरन र बोली हेर्दा–सुन्दा आगन्तुकलाई सबै थारू र तराईवासी मधेसी मुलकै मात्र होलान् जस्तो लाग्छ । सुनसरीको बर्जु गाउँपालिका–६, चिमडीको खोरिया टोलमा नेवार समुदायको पनि बसोबास छ, जो धाराप्रवाह स्थानीय भाषा बोल्छन् ।



‘काठमाडौंकाले पनि हामीलाई मधेसका नेवार नै भन्छन्,’ ७१ वर्षीय रामप्रसाद श्रेष्ठले भने, ‘यहाँका छरछिमेकसँग मैथिली र थारूमै बोल्छौँ । काठमाडौंका पाहुना आए नेवारीमा बोल्न हामीलाई आउँदैन, नेपालीमा बोलिन्छ ।’ श्रेष्ठ २०१८ सालमा तीन दाजुभाइसहित सिरहाबाट उक्त बस्तीमा झरेका हुन् । रामप्रसाद साइँला हुन् । जेठा र माइला दाजुको निधन भइसकेको छ । सबै दाजुभाइका २१ जनाको परिवार यहीं श्रम गरेर बस्छन् ।

पुर्ख्यौली थातथलो भक्तपुर भएको उनकी कान्छी छोरी ४७ वर्षीया कुश्मी श्रेष्ठले बताइन् । ‘नेवारी आउँदैन, अहिलेसम्म बोलेकै छैन,’ उनले भनिन्, ‘मैथिली र थारू नै मेरो मातृभाषा हो भन्ने लाग्छ ।’ खेतीपातीका बेला पितालाई सघाउने उनी कृषि मजदुरको काम गर्छिन् ।

नातागोताका धेरै जना काठमाडौंमा छन् । उता बसेकासँग न भाषा मिल्छ, न वेशभूषा । १ बिघा २ कठ्ठा जग्गाको उब्जनीले रामप्रसादको परिवारको जीविका चल्छ । ‘छोरीहरूको बेलविवाह र छोराहरूको व्रतबन्ध गर्‍यौँ, दसैंतिहार मनाउँछौँ, क्वाँटी पनि खान्छौँ तर म्हः (शरीर) पूजा गर्दैनौँ,’ उनले भने, ‘छठ त धुमधामले मनाउँछौँ ।’ उपत्यकावासीको जस्तो छोइला–कचिला खाने नगरेको रामप्रसादले खुलाए । ‘हाम्रो बिहेवारीचाहिँ बाहुन परम्पराअनुसार हुने गरेको छ,’ उनले भने ।

यो बस्तीको वारिपारि खेतीपाती, खुद्रे व्यवसाय र मजदुरी गर्ने २२ घर नेवार परिवार छन् । ५ कठ्ठा निजी र अढाई बिघा अधियाँमा खेती गर्ने ६६ वर्षीय समरबहादुर श्रेष्ठलाई पहिलोपटक भेट्नेले थारू नै भन्ठान्छन् ।

‘सरकारी कार्यालयमा नागरिकता देखाउँदासमेत नेवार भनेर पत्याउँदैनन्,’ उनले भने, ‘सबै खुलाएर भनेपछि चकित पर्छन् ।’ समरबहादुरका एक छोरा सरकारी जागिरे र अर्का एक निजी बैंकमा जागिरे छन् । श्रीमती, छोरा र बुहारी विराटनगरमा बस्छन् । सहरमा मन नलाग्ने भएकाले खेतीपाती गर्दै गाउँमा एक्लै बस्ने गरेको उनले बताए । महानगर विराटनगरबाट केवल ७ किमि पश्चिममा यो नेवार बस्ती छ ।

समरबहादुर यहाँ पाँच पुस्तादेखि बस्दै आएका छन् । सुनसरीकै देवानगन्जबाट पुर्खा चिमडी आइपुगेका हुन् । १९८० सालमा वनजंगल फुकुवा भएपछि बाजेबराजुहरू वन फाँडेर यहाँ बसेको उनले सुनाए । त्यतिखेर फँडानी गरी जोडेको ३५ बिघा जग्गा बाबुबराजुले जोगाउन सकेनन् ।खाएरै सिध्याए ।

समरबहादुरकी कान्छी दिदी ७० वर्षीया भोगमाया श्रेष्ठलाई भेट्दा पनि कसैले नेवारी मूलकी होलिन् भनेर खुट्याउन सक्दैनन् । यहीँ जन्मेहुर्केकी उनको सिरहा पानबारीमा बिहे भएको थियो । श्रीमान्को निधनपछि २०१८ सालदेखि उनी माइतमा छिन् । ‘देशअनुसारको भेष र कपालअनुसारको केस हुन्छ,’ उनी भन्छिन्, ‘त्यही भएर मलाई कसैले मधेसी वा थारू भने रिस उठ्दैन, बरु खुसी लाग्छ ।’

भोगमायाका चार छोरा र तीन छोरी छन् । जेठा, माहिलाले खेती, साइँला खनारमा कारखाना मजदुर र कान्छा विदेशमा छन् । बिहे गरेर दिएकी छोरीलाई भेट्न आएकी सप्तरी कञ्चनरूप नगरपालिका–१२, सावनपुरकी ६३ वर्षीया निर्मला श्रेष्ठले बर्जुको नेवार बस्तीमा आउँदा थारू मधेसी बस्तीमा आइपुगेको महसुस हुने गरेको बताइन् ।

‘यो गाउँमा नेवार पनि बस्छन् भन्ने नातागोताबाट थाहा पाएर छोरी दिएकी हुँ,’ उनले भनिन्, ‘म अलिअलि थारू–मधेसी बोली बुझ्छु तर यहाँ त सबै नेवारले त्यही भाषा बोल्छन् ।’ पछिल्लो समय यहाँका नेवार सिरहा, सप्तरी, महोत्तरी र धनुषाबाट आएको स्थानीय बताउँछन् । तराइवासी विभिन्न जातजातिसँग मिलेरबसेका उनीहरू फरक ठाउँबाट बसाइँ आएजस्ता लाग्दैनन् ।

७५ वर्षीय देवनारायण श्रेष्ठले आफू २०२३ सालमा महोत्तरीबाट यहाँ आएको बताए । तीन छोरीको बिहे विराटनगर र दमकमा भयो । लामो समय एक पूर्वप्रहरी उपरीक्षकको झन्डै १३ बिघा जग्गामा खेती गरेका उनी अहिले अवकाश प्राप्त जीवन बिताइरहेका छन् । ‘प्रहरीका हाकिम साहेबले सबै जग्गा बेचेपछि म त बेरोजगार भएँ, अहिले वृद्धभत्ताले गुजारा गरिरहेको छु,’ उनले भने । थारू मधेसीझैँ हुलिया, लवज र पहिरन भएकाले आफूहरू नेवार हो भन्दा नौला मान्छे छक्क पर्ने गरेको उनले बताए ।

राणाकालमा वन फँडानी (झोरा) सुरु भएपछि बुबा यो बस्तीमा आएको ७५ वर्षीय चन्द्रबहादुर श्रेष्ठले बताए । त्यो बेला ‘झोरा क्षेत्र’ भन्नाले कानुनी रूपबाट अधिकार पाएर जंगल फँडानी गरी बसोबास गरेको क्षेत्र बुझिन्थ्यो । उनका पिता यहीमौकामा सुनसरीको देवानगन्जबाट यहाँ बसाइँ सरेका थिए ।

अढाई बिघा खेतका मालिक चन्द्रबहादुर यहाँ श्रीमती, तीन छोराबुहारी, चार नाति र एक छोरीसँग बस्छन् । छोराहरू दुई शिक्षक र एक किसान छन् । चन्द्रबहादुरकै साला ६० वर्षीय विलरसिंह श्रेष्ठ धनुषाको बटेश्वर गाउँपालिकाबाट २०३१ सालमा यहाँ बसाइँ आएका हुन् । ‘मैले नै भाइलाई यहाँ बोलाएको हुँ,’ उनकी दिदी ७१ वर्षीया कुसुम श्रेष्ठले भनिन् । ससुराबाजेका पालामा यहाँ आएको र नातिहरू यहाँको चौथो पुस्ता भएको उनले बताइन् । विराटनगरकै निजी विद्यालयमा कक्षा २ मा पढ्ने उनीहरूका नातिहरू कुजन र रिजनलाई नेवारी भाषा भनेकै थाहा छैन । ‘नेपाली, अंग्रेजी, थारू र मधेसी मात्र बोल्न आउँछ,’ रिजनले भने ।

बर्जु गाउँपालिकाको स्वास्थ्यचौकीकी अनमी चन्द्रबहादुरकी छोरी ४४ वर्षीया विमलाले यहाँका नेवार कहाँबाट आए भन्नेबारे मूल थलोसम्म पुगेर खोजबिन गरेकी छन् । उनका अनुसार यहाँका नेवारका पुर्खा काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा र बनेपाबाटै आएका हुन् । आफ्ना सात पुर्खा स्तरीय जीवनयापनको खोजीमा मधेस झरेको उताकै बुढापाकाबाट बुझ्दा थाहा पाएको उनले बताइन् ।

‘त्यतिखेर नेपालमै पर्ने सुनसरीको भन्टाबारीभन्दा थोरै भित्र विहारको मनहरामा आएर नेवारहरू बसे,’ उनले भनिन्, ‘कोसीले सबैथोक बगाएर कंगाल भएपछि उनीहरू त्यहाँबाट भागेर यहाँ आए ।’ कोसीले काटेर सबथोक बगाएपछि सबैभन्दा पहिले हजुरबुबा तुरुन्तलाल श्रेष्ठ यहाँ आएको विमलाले बताइन् । उनले भनिन्, ‘अरू पछिपछि आए ।’ यहाँका नेवारहरूले मुख्य पेसा खेतीसँगै जातीय स्वभावअनुसारको कर्म नछाडेको उनले बताइन् । ‘यहाँ गुम्टी र टहरामाभए पनि ससाना पसल खोलेर बसेका छन्,’ उनले भनिन् ।

यहाँका थारू, मधेसी र नेवार समुदायले सबै चाडबाड मिलेर मनाउने गरेको स्थानीय ५१ वर्षीय जयबल्लभ ठाकुरले बताए । ‘हाम्रो यहाँ तेस्रो पुस्ता हो तर हामीभन्दा धेरै पहिला नेवार दाजुभाइ आएका हुन्,’ उनले भने । काठको चिरानी गर्ने उनी यो बस्तीमा चार दाजुभाइ र विद्यालय पढिरहेका उनीहरूका ११ सन्तानसँग बस्छन् । ‘यो बस्तीमा खेलिरहेका बच्चाबच्चीको अनुहारबाट पनि नेवार, थारू र मधेसी छुट्याउन सकिन्न, नामथर सोधेपछि मात्र थाहा हुन्छ,’ उनले भने ।

बर्जुबाहेक सुनसरीकै गढी गाउँपालिकाको छिटाहा बाइसी टोलमा झाँगड बस्तीको बीचमा १० घर र दुहबी नगरको तनमुनामा ६ घर नेवार समुदायका मानिस बसोबास गर्दै आएको विमलाले बताइन् । राणा एवं पञ्चायती कालमा नेवारहरू सहज जीवनयापनका लागि मधेसको सुनसरी, झापा र मोरङ झरेको ज्येष्ठ नागरिक चन्द्रबहादुरले बताए । प्रकाशित : जेष्ठ २३, २०७६ ०९:०७

No comments:

Post a Comment