Sunday, April 21, 2019

पेन्सन बुझ्न लडाइँजस्तै सास्ती

https://www.nayapatrikadaily.com/news-details/11924/2019-04-21

पेन्सन बुझ्न लडाइँजस्तै सास्ती 

२०७६ बैशाख ८ आइतबार ११:४१:०० | दाङ
पेन्सन बुझ्न दाङ झरेका प्युठानको झिम्रुक गाउँपालिका–५ मच्छीका प्रेमबहादुर नेवारले तीनदिन लाइन बसेर शनिबार बल्लतल्ल पालो पाए । उमेरले ६० वर्ष पुगेका नेवारलाई जवानीभरि लाहुरे भई भारतमा लड्दाको सास्ती पेन्सन बुझ्न लाइनमा बस्दा पुनः सम्झना भयो । ‘तीनदिन लगातार लाइन बसेर पेन्सन बुझियो, ‘उनले भने, ‘लाहुरे भई युद्ध लड्दाजस्तै सास्ती पेन्सन बुझ्दा पनि व्यहोर्नुप-यो ।’ 
रोल्पा सुनछहरी गाउँपालिका–४ का ७३ वर्षीय जयमान बुढा पनि शनिबार घोराहीस्थित एसबिआई बैंकको लाइनमा भेटिए । दिउँसोको चर्को घाममा तपतप पसिना बगाउँदै लाइनमा बसेका बुढाले भने, ‘हिजो दिनभरि पेन्सनपट्टाको पहिचान गराएँ । आज बिहानैदेखि लाइनमा बसेको छु, अझै टोकन पाइएको छैन ।’ नेवार र बुढा मात्र होइन, पेन्सन बुझ्न एसबिआई बैंकको लाइनमा बसेका सबै पूर्वभारतीय लाहुरेको पीडा एकै थियो । सबैले पेन्सन बुझ्न उस्तै सास्ती व्यहोरिरहेका थिए ।
राप्तीमा तीन हजार लाहुरे 
एक वर्षयता एसबिआई बैंकमार्फत पेन्सन बुझ्न पाइने व्यवस्था भएको छ । तर, झन्झटिलो प्रक्रियाका कारण वृद्ध अवस्थाका पूर्वलाहुरेले सास्ती व्यहोर्दै आएका छन् । साबिक राप्ती अञ्चलका तीन हजार पूर्वलाहुरेले घोराहीस्थित एसबिआई बैंकबाट पेन्सन बुझ्दै आएका छन् । तर, विभिन्न झन्झटिला प्रक्रिया र बैंकको व्यवस्थापकीय पक्ष फितलो हुँदा उनीहरूले सास्ती पाउँदै आएका छन् ।
कतिपय बृद्ध लाहुरे लामो सयम लाइनमा बस्दा बिरामीसमेत पर्ने गरेका श्रीमान्को पेन्सन बुझ्न लाइनमा बसेकी रोल्पाको सुनछहरी गाउँपालिका–४ की वीरमाया बुढाले बताइन् । बैंक परिसरमा ट्वाइलेटको समेत व्यवस्था नहुँदा अझ सास्ती हुने गरेको लाहुरेहरूको गुनासो छ ।
पहिलेभन्दा झनै सास्ती 
भूतपूर्व लाहुरेले एक वर्षअघिसम्म घोराही उपमहानगरपालिक–१७ चौघेरास्थित भारतीय सैनिक पेन्सन क्याम्पबाट पेन्सन बुझ्दै आएका थिए । तर, एक वर्षयता एसबिआई बैंकमा रहेको व्यक्तिको खातामा सीधै रकम जम्मा हुने व्यवस्था गरिएको छ । 
पेन्सन क्याम्पबाट लाहुरेहरूलाई रकम वितरण गर्दा चोरी–डकैती हुन थालेपछि बैंकमार्फत बुझ्ने व्यवस्था गरिएको हो । ‘पहिला एकै ठाउँबाट पेन्सन पाइन्थ्यो,’ जयमान बुढाले भने, ‘अहिले पेन्सन लिन चारतिर कुद्नुपर्छ । दुई–तीनदिन लाइनमा बस्नुपर्छ । यो व्यवस्थाले झनै सास्ती व्यहोर्नुपरेको छ ।’
दैनिक चार सयलाई सेवा
एसबिआई बैंकले साबिक राप्ती अञ्चलको घोराही र प्युठानको गौमुखी गाउँपालिकाबाट लाहुरेलाई पेन्सन सेवा प्रदान गर्दै आएको छ । रोल्पा पोबाङमा यसै वर्षदेखि र दाङ तुलसीपुरमा आउँदो वर्षदेखि शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको घोराहीस्थित एसबिआई बैंकका म्यानेजर पवन घिमिरेले बताए ।
सेवालाई सहज बनाउन सक्दो प्रयास गरिरहेको भन्दै उनले अशक्तलाई प्राथमिकतामा राखेर सेवा दिइएको दाबी गरे । ‘महिना–महिनामा पेन्सन भुक्तानी गर्ने व्यवस्था छ,’ घिमिरेले भने, ‘तर, लाहुरेबाहरू ६ महिनाको पेन्सन एकैपटक लिन आउँदा समस्या भएको हो ।’

No comments:

Post a Comment