Sunday, April 21, 2019

नेपालमा विदेशी लगानी : पुराना लगानीकर्ता मनग्गे कमाउँछन्, तर नयाँ आउँदैनन्

https://aarthiknews.com/news/361

नेपालमा विदेशी लगानी : पुराना लगानीकर्ता मनग्गे कमाउँछन्, तर नयाँ आउँदैनन्

  • आर्थिकन्यूजआइतबार, ०८ बैशाख २०७६
शेयर बजार ओरालो लागेर कतिपय लगानीकर्ताहरू आन्दोलित भइरहेका बेला पनि युनिलिभर नेपालको प्रतिशेयर मूल्य यो साता १८ हजार रुपैयाँको हाराहारीमा थियो। शेयर बजारको उतारचढाव देखाउने नेप्से परिसूचक १२ सय हाराहारी हुँदा बहुराष्ट्रिय कम्पनीको प्रतिशेयर मूल्य नै १८ हजार हुनु भनेको उसले राम्रो आम्दानी गरिरहेको सङ्केत हो।
विदेशी लगानी भएको अर्को कम्पनी सूर्य नेपाल गत वर्ष सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भयो। सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा अर्को बहुराष्ट्रिय कम्पनी एनसेल पनि सम्मानित भइसकेको छ।
कमाइ
नेपालमा मनग्गे आम्दानी गर्ने अन्य विदेशी लगानी भएका कम्पनीहरूको सूचीमा गोर्खा ब्रुअरी, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, हिमालयन ब्याङ्क, डाबर नेपाल, एसबीआई ब्याङ्कलगायत समेत पर्छन्। नेपालमा सञ्चालित धेरैजसो विदेशी लगानीका कम्पनीहरूले मनग्गे कमाइरहँदा पनि अहिले भने नेपालमा विदेशी लगानी भित्रिन सकेको छैन।
त्यसका लागि पहल गरिरहेको बताउने सरकारलाई समेत विदेशी लगानीकर्ता आकर्षित गर्न निक्कै हम्मे परेको देखिन्छ। पुराना बहुराष्ट्रिय कम्पनीले राम्रो मुनाफा कमाइरहेको देख्दा देख्दै नयाँ किन आउन सकिरहेका छैनन् त?
अर्थशास्त्री पोषराज पाण्डे भन्छन्, "अधिकांश बुहराष्ट्रिय कम्पनीहरू २०४६ सालपछिको राजनीतिक परिवर्तन र त्यसबेलाको सरकारले लिएको उदार नीतिका कारण आकर्षित भएका थिए। त्यसयता त्यस्तो वातावरण बन्नै सकेको छैन। त्यसपछि आन्तरिक द्वन्द्व र अस्थिर राजनीतिका कारण बहुराष्ट्रिय कम्पनीहरूलाई आकर्षित गर्न सकिएन।"
आयोजना
सरकारले पछिल्ला दुई वर्षमा दुईचोटि लगानी सम्मेलन गरेर लगानीकर्ता रिझाउन खोजे पनि खासै उपलब्धि हात लाग्न नसकेको जानकारहरू बताउँछन्।
पछिल्लो लगानी सम्मेलन गत महिना भएको थियो। उक्त सम्मेलनमा सरकारले ७७ वटा आयोजनालाई विदेशी लगानीको सम्भावित आयोजनाको रूपमा प्रस्तुत गरेको थियो। तीमध्ये १७ वटा आयोजनामा लगानी गर्न केही विदेशी लगानीकर्ताले चासो देखाएका छन्।
सङ्ख्या
तर यो नै अन्तिम नभएको र उक्त सम्मेलनपश्चात् पनि केही थपिन सक्ने अधिकारीहरू बताउँछन्। अनि कतिपय लगानी गर्ने प्रतिबद्धता जनाएकाहरू पनि पछि हट्न सक्छन्। सन् २०१७ को लगानी सम्मेलनमा पनि करिब साढे १४ खर्बको लगानी प्रस्ताव आएको थियो।
त्ययसमध्ये करिब चार अर्बको लगानी भित्रिने क्रममा रहेको तर आइनसकेको लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए। त्यस बेलाको सम्मेलनमा सम्भावित लगानीकर्तालाई एउटा फारम भर्न लगाइएको थियो।
समस्या
उक्त फारममा लगानीकर्ताले लेखेको भरमा लगानीको प्रतिबद्धता आएको दाबी गरिएको थियो। विज्ञहरूले त्यसलाई "एकदमै कच्चा काम" भन्ने गर्छन्।
उनीहरूका अनुसार सम्मेलनमा प्रतिबद्धता जनाउनेहरूलाई पनि लगानी बोर्ड सम्मेलनपछि निरन्तर ताकेता गर्न सकेन। यसपटक भने समझदारी पत्रहरूमा हस्ताक्षर भएका छन्। विज्ञहरूका अनुसार यो पहिलेको भन्दा केही हदसम्म भए पनि विश्वसनीय हो। किनकि यसपटक कागजी प्रक्रिया बढी गरिएको छ।
साझेदारी
 कतिपयले भने यसलाई उधारो प्रतिबद्धता नै मान्छन्।सम्मेलनपछि पनि अन्य परियोजनामा लगानी गर्न चाहनेका लागि शनिवारसम्मको समय लगानी बोर्डले गरेको थियो।
गत बिहीवार बसेको बोर्डको बैठकले लगानी सम्मेलनमा सरकारले अगाडि सारेका आयोजनामा लगानी गर्न थप एक महिना म्याद थप्ने निर्णय गरेको अधिकारीहरूले बताएका छन्। यसबीचमा कति लगानीकर्ता आउँछ भन्ने तय भइसकेको भने छैन।
तुलनात्मक लाभ
विश्वकै ठूला अर्थतन्त्र भएका मध्येका दुई मुलुक भारत र चीनसँग नेपालको ठूलो व्यापरिक साझेदारी छ। भारतले रक्सी, चुरोट, कस्मेटिकबाहेक नेपालले उत्पादन गर्ने सबैजसो सामानमा भन्सार नलगाई आयात गर्छ। चीनले पनि सबै अतिकम विकसित मुलुकहरूलाई यस्तै सुविधा दिएको छ।
तर नेपालले यसबाट फाइदा लिन सकेको छैन। युरोपेली मुलुकहरू र अमेरिकाले पनि नेपालजस्ता अतिकम विकसित मुलुकलाई यस्तै खाले सहुलियत दिने गरेका छन्। यस्ता सुविधाको उपयोग गर्दै नेपालमा उत्पादन गरेका सामानहरूलाई विश्व बजारमा पुर्‍याउन सहज हुँदाहुँदै पनि नेपालमा ठूलो लगानी भने भित्रन नसकेको अधिकारीहरू नै स्वीकार्छन्।
जलविद्युत्, जडीबुटी, कृषि उत्पादन लगायतका प्राकृतिक रूपमा तुलनात्मक लाभ भएका वस्तुका लागि पनि नेपालमा लगानी आउनुपर्ने विज्ञहरू बताउँछन्।लगानी सम्मेलनको बेला नेपाल लगानीका लागि उत्तम गन्तव्य हो भन्दै नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरू बारे एउटा प्रस्तुति गरेका उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्य अहिले नेपालमा वैदेशिक लगानीको वातावरण बनेको बताउँछन्।
उनी नेपालमा राजनीतिक स्थिरता आएको र हालै वैदेशिक लगानी सम्बन्धी कानुनहरू परिमार्जन भएकाले अहिले विदेशी लगानी भित्रिने सम्भावना बलियो बनेको दाबी गर्छन्।
सन्देश
उनी भन्छन्, "लगानीका लागि सबैभन्दा खराब समय द्वन्द्वका बेला थियो र त्यो समयमा स्वदेशी र बहुराष्ट्रिय कम्पनी दुवैले समान समस्या भोगेका थिए। लामो समयपछि स्थिर सरकार बनेको छ र उसले वैदेशिक लगानी भित्र्याउन चाहिने कानुन पनि निर्माण गरेको छ। त्यसैले अहिलेको वातावरण निकै राम्रो छ।"
उनको धारणमा नेपालमा रहेका अधिकांस बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरेकोबारे राम्रो प्रचार गर्न सकिएको छैन। अर्थशास्त्री पाण्डे भने सरकारले कानुन बनाएर मात्र नहुने बताउँछन्।
"नेपालको समस्या भनेको कानुनको अभाव होइन, भएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु हो। त्यसैले लगानी आउने नआाउने भन्ने अहिले बनेको कानुनको कार्यान्वयनमा भरपर्छ," पाण्डे भन्छन्।उनका भनाइमा नेपालबाट कमाएको रकम विदेश लान सहज छ भन्ने सन्देश दिन सकेमा लगानी बढ्न सक्छ।त्यसका लागि सरकारले आम्दानी विदेश लाने प्रक्रियाहरूलाई सहज बनाउनु पर्ने पाण्डेको सुझाव छ।
साभार : बीबीसी /नेपाली

No comments:

Post a Comment