https://www.onlinekhabar.com/2018/07/690322
२०७५ असार २० गते १२:२४ मा प्रकाशित
मोदी बास बसेको हायात होटलमा डुब्यो सरकारी सम्पत्ति !
पर्यटन मन्त्रीले सरकारी सम्पत्ति फिर्ता गराउलान् त ?
२० असार, काठमाडौं । भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदी काठमाडौं आउँदा भारतीय व्यवसायी राधेश्याम सर्राफ सञ्चालक
रहेको हायात होटलमा बास बसे । नेपालका ठूला नेताहरु मोदीलाई भेट्न त्यहीँ
पुगे । तर, त्यो हायात होटल यस्तो हो, जहाँ दुई दशकदेखि नेपाल सरकारको ठूलो
लगानी डुबिरहेको छ । यसबारे अहिलेसम्म कुनै मन्त्रीले चुइँक्क बोल्न
सकिरहेका छैनन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालयले सरकारी सेयर रहेको हायात होटलमा पछिल्लो समय चासो बढाएको छ ।
यो होटलमा १५० रोपनी जग्गा लगानी गरेबापत होटलको ३९ प्रतिशत सेयर नेपाल
सरकार (तारा गाउँ विकास समिति) ले पाएको थियो । तर, अहिले रहस्यमय तरिकाले
घटाएर ९ प्रतिशतमा खुम्च्याइएको छ ।
मन्त्रालयले अहिले तारागाउँ विकास
समितिलाई यसमा के-कस्तो कदम चाल्नुपर्ने हो अध्ययन गरेर १५ दिनभित्र
निष्कर्ष पेश गर्न निर्देशन दिएको छ । हायात होटलमा भएको लगानी तारागाउँ
विकास समितिको हो । र, यो एक सरकारी समिति हो ।
स्थापना काल ०४९ सालको असोज २२ गते
तारागाउँ बिकास समिति, आइसीटीसी ग्रुप र राधेश्याम सर्राफवीच हायात होटलमा
सरकारको ३९.७७ सेयर स्वामित्व र निजीको ६०.२३ प्रतिशत रहने सम्झौता भएको
थियो । तर, सरकारको हिस्सा भने अहिले ९ प्रतिशतमा झारिएको छ ।
अहिलेसम्म यस विषयमा सरकारी निकाय र यसका उच्च पदाधिकारीहरु भने मौन रहँदै आएका छन् ।
अहिलेसम्म यस विषयमा सरकारी निकाय र यसका उच्च पदाधिकारीहरु भने मौन रहँदै आएका छन् ।
गत वर्ष मंसिरमा सरकारी एक अध्ययन टोलीले
अध्ययन गर्न खोज्दा हायात होटलले कुनै कागजात नै उपलब्ध गराएको थिएन । यसरी
कागजात उपलब्ध नगराएपछि समितिले अहिलेसम्म कुनै अध्ययन नै गर्न सकेको थिएन
।
यसैवीच रविन्द्र अधिकारीले नेतृत्व
सम्हालेपछि पर्यटन मन्त्रालयले हालै हायात होटललाई थप कागजात बुझाउन
निर्देशन दिएको छ । र, केही कागजातहरु होटलले सरकारलाई बुझाएको छ ।
तर, तारागाउँ बिकास समितिका अध्यक्ष
नारदकुमार लुइँटेल अहिले पनि सबै आवश्यक कागजात नआइसकेको बताउँछन् ।
लुइँटेलले अनलाइनखबरसँग भने ‘होटलको पैसा कुन बैंकमा के कति मात्रा छ र
यसअघि कति राखियो भन्ने सम्बन्धमा सम्पूर्ण जानकारी मागेका थियौं, होटलले
त्यो दिएको छैन । ‘
होटलले केही नयाँ कागजातहरु दिएपछि
मन्त्रालयले भने तारागाउँ विकास समितिलाई अब के कसो गर्नुपर्ने हो, १५
दिनभित्र जानकारी दिनू भनेर निर्देशन दिएको छ ।
विगतमा होटलले आफ्नो सम्पत्ति
विवरणसम्बन्धी कागजातहरु उपलब्ध नगराए पनि एक वर्षसम्म सरकारी अधिकारीहरुले
यसको चर्चासमेत गर्न डराएका थिए । मन्त्रालयमा अहिले पनि हायात होटलका
बारेमा कुरा गर्न अधिकांश उच्चपदस्थ अधिकारीहरु डराउँछन् ।
तारागाउँ बिकास समितिका अध्यक्ष लुईटेल
भने सरकार तत्काल एक्सनमा जानुपर्ने बताउँछन् । हायातले समितिबाट थप १५४
रोपनी जग्गा भाडामा लिएको छ । उक्त जग्गाबापत होटलले वाषिर्क जम्मा ३० लाख
रुपैयाँ भाडा बुझाउने गरेको छ । यो एकदमै न्यून भएको भन्दै उनले यसको
सम्झौता तत्काल तोेडेर सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने उनको तर्क छ ।
लुइँटेलले भने ‘सरकारले सेयर ३९
प्रतिशतबाट ९ प्रतिशतमा खुम्चीयो , बदमासी त यहाँ नै देखिसकियो, अब धेरै थप
अध्ययनमा मात्रै रुमलिने होइन केहि एक्सनमा नै जानुपर्छ ।’
पर्यटन मन्त्रायलले ०७२ चैतमा एक निर्णय
गर्दै हायात होटल र भाडामा लिएको जग्गाका बारेमा अध्ययन गर्न एक कमिटी
निर्माण गरेको थियो । तारागाउँ बिकास समितिका अध्यक्ष लुइँटेलको
संयोजकत्वमा समिति बनेको थियो । तर, त्यो कमिटीले होटल सञ्चालकबाट आवश्यक
कागजात प्राप्त गर्न नसकेको रिपोर्ट बुझाएको छ ।
मन्त्रालयले कनि कागजात नबुझाएको भनेर
प्रश्न सोधेपछि हायातको व्यवस्थापन समूहले गत जेठ २४ गते एक पत्र काट्दै
सम्पूर्ण कागजात दिएको दाबी गरेको छ ।
जोरपाटी वौद्धस्थित हायात होटलले नेपाल
सरकारको १५० रोपनी जग्गा उपयोग गरेको लगभग २४ वर्ष पुगेको छ । विसं. ०४९
सालमा १५० रोपनी जग्गा लगानी गरेवापत हायात होटलमा नेपाल सरकारको ३९
प्रतिशत सेयर स्वामित्व पाएको थियो । तर, यसवापत सरकारले गत वर्षमात्रै
नाफाको ९ प्रतिशत नगद लाभांश प्राप्त गरेको थियो । यसबाहेक सरकारको अचल
सम्पत्ति चरम रुपमा दुरुपयोग हुँदै आएको समितिका पदाधिकारीको गुनासो छ ।
बोर्ड सदस्य घटेपछि सुरु भएको थियो अनुसन्धान
होटलको बोर्ड सदस्य घटेर एक जनामा झरेपछि
०७२ सालमा तारागाउँले यसको कारण मागेको थियो । यसमा हायातले चित्तबुझ्दो
जवाफ दिन नसकेको भन्दै तारागाउँले प्रारम्भिक अध्ययन गरेको थियो ।
प्रारम्भिक अध्ययनमा व्यवस्थापनको
अपारदर्शी हिसाब-किताबले होटल घाटामा गएको देखाइएको निष्कर्षका निकालिएको
थियो । मन्त्रालयमा पेश गरिएको उक्त रिपोर्टपश्चात सचिवस्तरीय एक बैठकले
अध्ययन समिति गठन गर्ने निर्णय गरेको थियो । र, यो उक्त समितिले भने आवश्यक
कागजात नै उपलब्ध नगराएको रिपोर्ट बुझाएको थियो ।
सरकारी जग्गाको मूल्य प्रतिआना ५० लाख
रुपैयाँले हिसाब गर्दा अहिले यसको बजार भाउ १२ अर्ब रुपैयाँभन्दा बढी हुन
आउँछ । तर, सरकारले यसमा लगानी गरेको मूल्यांकन भने अहिले पनि १७ करोड नै
रहेको छ ।
होटल निर्माणका लागि तारागाउँ विकास
समितिको १५० रोपनी जग्गालाई नै विभिन्न बैंक तथा वित्तीय संस्थामा धितो
राखी ऋण निकालिएको थियो । होटलमा विदेशी दुई बैंक, एशियाली विकास बैंक र
कोरियाली विकास बैंकबाहेक स्वदेशी बैंकहरुले पनि लगानी गरेका थिए ।
साथै, स्थापनाकालमा जारी गरेको प्राथमिक
सेयरबाट होटल व्यवस्थापनले १२ करोड रुपैयाँ जुटाएको थियो । सर्वसाधारणको ७
करोड २० लाख रुपैयाँ हकप्रद सेयरबापत थप लगानी भएको थियो । जसबापत पनि
सर्वसाधारणले ९ प्रतिशत नगद लाभांश पाएका थिए ।
हायात होटलमा लगानी भएको नेपाल सरकारको
अर्बाैंको अचल सम्पत्ति स्वाहा हुने स्थितिमा पुगेको छ । त्यहाँ डुबेको
सरकारी सम्पत्ति भारतीय व्यवसायी राधेश्याम सर्राफबाट फिर्ता ल्याउने
जिम्मा अब पर्यटनमन्त्री रविन्द्र अधिकारीको हातमा छ । के मन्त्रीले यस
विषयमा आँट गर्लान् ?
No comments:
Post a Comment