Thursday, July 19, 2018

भानुभक्त के हुन् ?

http://annapurnapost.com/news/102930    भानुभक्त के हुन् ?
भानुभक्त के हुन् ?
author-image
शरच्चन्द्र वस्ती
फुर्सद
 ३० असार २०७५ ११:५०:००
धेरैअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए, ‘मेरानिम्ति उनी नेपाली साहित्यको इतिहासमा सर्व श्रेष्ठ पुरुष हुन् ।’ देवकोटाको भनाइ साहित्यका सन्दर्भमा थियो । उनीसँग असहमत हुनुपर्ने ठाउँ छैन । तर, पौने शताब्दीपछि आज हामी जुन अवस्थामा आइपुगेका छौं, त्यसको सन्दर्भमा हेर्दा मलाई लाग्न थालेको छ— भानुभक्त नेपाली समाजको इतिहासमा सर्व श्रेष्ठ पुरुष हुन् ।
भानुभक्त नै ती व्यक्ति हुन्, जसले हामीलाई भाषा दिए । त्यस अघिसम्म हामी कुरा, बोली र भाषिकाहरूमा छरिएका थियौं । आफ्नो रामायणमार्फत उनले नेपाली भाषाको सामथ्र्य उद्घाटित गरे र यसलाई भाषाको तहमा उकालिदिए ।
एक ठाउँको भाषिका अर्को ठाउँको नेपालीले राम्ररी बुझ्न आज पनि गाह्रो छ । सहज मान्न, स्वीकार्न र अपनाउन त झनै कठिन । सञ्चारका साधन र माध्यमहरू नभएको दुई शताब्दी अघिको युग कस्तो थियो होला, तपाईं स्वयं अनुमान लगाउन सक्नुहुन्छ । त्यस्तो अवस्थामा सबैले बुझ्ने, स्वीकार्ने, अपनाउने, आत्मीय ठान्ने र गौरव महसुस गर्ने साझा भाषा दिनु सामान्य कुरा होइन । असम्भव जस्तो लाग्ने यही असामान्य काम भानुभक्तले गरेका हुन् ।
साझा भाषा नभएको भए हामी एकअर्काका कुरा बुझ्न र बुझाउन सक्ने थिएनौं । आ-आफ्नै समूह र समुदायका कुरा, बोली र भाषिकामा टाक्सिएका हुन्थ्यौं । हामीबीच संवाद हुने थिएन । संवाद नभएपछि आत्मीयता रहने थिएन । आत्मीयताबिना ‘हामी नेपाली’ भन्ने मनोविज्ञान बन्ने थिएन । नेपाल भित्रका मात्र होइन, नेपाल बाहिरका र अझ विश्वभरकै नेपालीलाई एकात्मकता र भ्रातृत्वभावमा गाँस्ने कुनै रसायन छ भने त्यो नेपाली भाषा नै हो । विभिन्न अन्तर्विरोध र अनेकताका बीच आज हाम्रो साझा पहिचान बनेको छ र हामी एकआपसमा जोडिएका छौं भने त्यो यसकै देन हो । यसबापत हामी भानुभक्तप्रति जति कृतज्ञ भए पनि कम हुन्छ ।
रामायणले जोड्यो कि तोड्यो ?
भानुभक्तको रामायणले हामीलाई भाषा दियो र ‘राष्ट्र’ पनि । कुरा स्पष्टसँग बुझ्न दुइटा कोणबाट नियाल्दा सजिलो होला । एक ः भौगोलिक रूपमा देश बने पनि नेपाली भाषा नभएको भए नेपाली ‘राष्ट्र’ बन्ने थिएन । देश भए पनि साझा भाषा नभएको भए हामी जोडिँदैनथ्यौं । आजभोलि उठाउन खोजिएका अनेकन् विवाद र वितण्डाले यसलाई स्वतः प्रमाणित गरिरहेकै छन् । दुई ः भौगोलिक रूपमा देश नबने पनि नेपाली भाषा हुँदा नेपाली ‘राष्ट्र’ बन्ने थियो । भाषामार्फत हामी जोडिन्थ्यौं । जोडिने रहेछौं । पुस्तौंदेखि देशबाहिर रहेका, यो देश कहिल्यै नदेखेका नेपालीलाई समेत यही भाषाले जोडेको छ ।
भाषासँग साझा मनोविज्ञान, परम्परा, सोचाइ, आकांक्षा, धर्म, संस्कृति, जीवनादर्श आदि स्वतः प्रवाहित भएर आउँदो रहेछ । त्यसैले ‘राष्ट्र’ को निर्माण गर्दो रहेछ । यो हाम्रो मात्र कुरा होइन । देश नभए पनि भाषा हुँदा त्यसले निर्माण गरेको ‘राष्ट्र’ले देश स्थापना गरेको उदाहरण समकालीन विश्व इतिहासमा हाम्रासामु छ । अनि, देश भए पनि साझा भाषा प्राप्त हुन नसक्ता देशकै विनिर्माण हुन पुगेका उदाहरण पनि हाम्रैसामु छन् । भानुभक्तले के गरेछन्, अब आफैं बुझ्नोस् ।
नेपाली भाषा कसैका विरुद्ध थिएन, कसैको वा कुनै कुराको निषेधमा थिएन । त्यसैले यसले जोड्नेबाहेक तोड्ने कुरै भएन । बरु यसको माध्यमबाट विविध जाति र समुदायबीच परस्पर संवाद सहज भएकाले हाम्रा राष्ट्रिय भाषा र समुदायहरू अनेकौं दृष्टिले लाभान्वित नै भएका छन् । अरू त अरू, एकअर्काको आलोचना गर्न र नेपाली भाषालाई नै गाली गर्न पनि आज नेपाली भाषा अपरिहार्य बन्न पुगेको छ । भनिहालेँ, यो भाषा नभएको भए आज हामी आफू-आफैंमा टाक्सिइरहेका हुनेथियौं । साझा पहिचानले दिएको शक्ति, सामथ्र्य र आत्मविश्वास हामीसँग हुने थिएन ।
भानुभक्त नै ती व्यक्ति हुन्, जसले हामीलाई भाषा दिए । त्यस अघिसम्म हामी कुरा, बोली र भाषिकाहरूमा छरिएका थियौं । आफ्नो रामायणमार्फत उनले नेपाली भाषाको सामथ्र्य उद्घाटित गरे र यसलाई भाषाको तहमा उकालिदिए ।
रामायणले त अझ हामीलाई इतिहासदेखि वर्तमानसम्म पनि जोडेको छ र भविष्यसम्म पनि जोड्नेछ । पितृपुर्खादेखि आदर्श मानिँदै आएका आस्था, मर्यादा, नैतिकता आदिको प्रतिमान यसले हाम्रासामु उपस्थित गर्‍यो । त्यसले हाम्रो रुचि, व्यवहार, चिन्तन र जीवनशैलीलाई परिष्कृत गर्दै लैजान ठूलो मदत गर्‍यो । हिजोको कुरा छाडौं, आज गणतन्त्रमा आइपुग्दा पनि हामीले स्वीकारेका व्यक्तिगत एवं सामाजिक मर्यादा, राज्यको कर्तव्य र आदर्शको स्रोत त्यहीँ भेटिन्छ ।
भानुभक्तको प्रोजेक्ट रामायण !
भानुभक्तले कुनै प्रोजेक्ट पाएर रामायणको अनुवाद गरेका होइनन् । उनलाई राज्यले अह्राएर, खटाएर गरेको काम पनि यो होइन । यो काम त उनले विशुद्ध रूपमा आत्मसन्तुष्टिका लागि गरेका हुन् । हाम्रा पुर्खाले एउटा मानिस, मानिस बन्नुमा समाजको अहं योगदान हुन्छ र उसले आफ्नो जीवनमा त्यो ऋण तिर्नुपर्छ भनेका छन् । त्यो कर्तव्यभावनाले पनि उनी अभिप्रेरित भए होलान् । कुरो यत्ति हो । त्यसैले उनले अनुवाद गरे र छोडिदिए । छपाउने झन्झटतिर पनि लागेनन् । रामायण त उनी बितेको दशकौंपछि मोतीरामले खोजेर छपाएका हुन् ।
भानुभक्तको रामायण लेखिनु र लोकप्रिय हुनुमा राज्यको कुनै योगदान छैन । नेपालीभाषीले व्यापक तवरमा स्वीकार गरेपछि यसले विराट रूप ग्रहण गरेको हो । यो छापिनुभन्दा पहिला नै मुख-मुखै देशभित्र र बाहिरका नेपालीहरूबीच लोकप्रिय भइसकेको थियो । आजभोलि जस्तो मार्केटिङ गरेर, विज्ञापन दिएर, राज्यले पाठ्यक्रममा राखेर लोकप्रिय भएको होइन । लोकप्रिय र सर्वस्वीकार्य भइसकेपछि पाठ्यक्रममा पर्नु बेग्लै कुरा हो । त्यसलाई लादेको भन्न मिल्दैन ।
भानुभक्तभन्दा पहिले र पछि पनि यस देशमा विभिन्न भाषामा विभिन्न कवि भए । ती प्रतिभाशाली पनि थिए । तिनको लेखाइ पनि राम्रो थियो । तर भानुभक्तले जस्तो लोकको स्वीकार्यताको उँचाइ तिनले प्राप्त गर्न सकेनन् । यसका लागि भानुभक्तप्रति गौरव गर्नुपर्छ । उनलाई दोषी ठहर्‍याउन मिल्दैन ।
कुनै पनि कवि, कुनै पनि साहित्यकार तानाशाह हुन सक्तैन । ऊ स्वीकार्य अथवा अस्वीकार्य मात्र हुन सक्छ । स्वीकार्यता नै उसको शक्ति हो । पाठकलाई मन नपरे, ठीक नलागे ऊ अस्वीकार्य हुन्छ र छेउ लाग्छ । स्वीकार गर्ने-नगर्ने लोकको कुरा हो । स्वीकार्यता कसैले लादेर लादिने कुरा होइन ।
वधूशिक्षालाई के भन्ने नि ?
किन केही भनिराख्नुपर्‍यो ? ठीक लाग्छ भने स्वीकार्ने, नत्र छोडिदिने । कसैलाई नचाहिने भएर होला, मैले त पुस्तक-पसलहरूमा खोज्दा पनि वधूशिक्षा भेट्न छोडेको छु ।
जुन बेला भानुभक्तले वधूशिक्षा लेखे, त्यस बेलाको समाजलाई त्यो स्वीकार्य थियो होला । नत्र त्यही बेला यसको निन्दा भइसक्थ्यो । आजको समाजका मान्यता फरक छन्, त्यो स्वीकार्य हुने कुरै भएन । यसैगरी आज हामीले अंगीकार गरेका कैयौं मान्यतालाई पनि भोलिको समाजले अझ चर्को स्वरमा अस्वीकार गर्ला । यो नितान्त स्वाभाविक कुरा हो । समाज अगाडि बढ्दै जाँदा यस्तो हुन्छ नै । यसमा कोलाहलै मच्चाएर भानुभक्तलाई कठघरामा ठिंग्याउने प्रतिस्पर्धा गर्नुपर्छ जस्तो मलाई लाग्दैन । यो स्वस्थ प्रवृत्ति होइन । यहाँनेर मलाई फेरि देवकोटाको सम्झना आउँछ । यस्तै प्रवृत्तिबाट वाक्क भएर उनले भनेका छन्, ‘भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेला गरेर समाप्त हुन्छ ।’
एउटा सानो कुरा । एघारौं शताब्दीका महाकवि विल्हणले भनेका छन्, ‘दुर्जनहरू राम्रो कृतिको आनन्द लिन छोडेर त्यसमा दोष खोज्न मरिहत्ते गरेर लागिपर्छन् । जसरी सुरम्य उद्यानमा प्रवेश गरेको ऊँट काँडाको घारी मात्र खोज्दै हिँड्छ ।” उनले दुर्जन होइन ‘खल’ शब्दको प्रयोग गरेका छन् । त्यस्तो पात्र बन्ने उत्सुकता र चाहना दुवै ममा छैन । योग्यता पनि पुग्दैन होला । मलाई त भानुभक्तको सुरम्य भाषिक उपवनको आनन्द लिनै भ्याई नभ्याई छ । जसलाई काँडाघारीमा रुचि छ, उहाँहरू त्यता व्यस्त हुनुहोला । मलाई त्यता नघचेट्नोस् ।
रामायण कस्तो परिस्थितिमा लेखे ?
त्यो यस्तो समय थियो, जब विद्वान्हरू संस्कृतमा लेख्नेलाई मात्र उच्च ठान्थे । नेपालीमा लेख्नु उनीहरूका दृष्टिमा निन्दित हुनु, तल पर्नु, अयोग्य ठहरिनु हुन्थ्यो । दोस्रो दर्जाको काम ठहरिन्थ्यो । नेपाली समाजको मनोविज्ञान पनि यस्तै थियो । नेपाली भाषामा स्तरीय लेखिन सक्छ भन्ने मानिसलाई लाग्दैनथ्यो । वातावरण नितान्त प्रतिकूल थियो । तैपनि भानुभक्तले नेपालीमै लेखे । यद्यपि उनी संस्कृतका असल ज्ञाता थिए । उनको रामायणले नेपाली समाजमा पहिलोपल्ट आफ्नो भाषाप्रति र त्यसको स्वामी भएबापत आफैंप्रति गौरवभाव उत्पन्न गर्‍यो । नेपाली भाषालाई पहिलो दर्जामा उकाल्यो । आज, देशका अन्य जुइनाहरू खुकुलिन खोजेको अवस्थामा पनि उनको रामायणले भाषिक रूपमा बाँधेको ‘राष्ट्र’ को जुइनो खुकुलिएको छैन । कसिलै छ ।
भानुभक्तको भाषा
उनको भाषा सरल, सहज र स्वाभाविक छ । त्यो तेजिलो, सोझो र मीठो छ । त्यसमा नेपालीपनको, नेपाली जनजीवनको सुवास पाइन्छ । त्यसले दिमागमा घन ठोक्तैन, मन छुन्छ । सीधै मुटुमा प्रवेश गर्छ । घटना र परिस्थितिको प्रस्तुति चित्रमय हुन्छ, सोझै आँखामा ठोकिन आइपुग्छ । उनी ठेट नेपाली शब्द र शैली प्रयोग गर्छन् । उनका बिम्ब र प्रतीक जीवन्त हुन्छन्, स्वाभाविक हुन्छन्, नेपाली जीवन-जगत्सँग गाँसिएका हुन्छन् । मानिसको मुखमा चट्ट झुन्डिने वाक्य र श्लोकांश उनको विशेषता हो ।
भानुभक्तले लोकमा प्रचलित भाषालाई शिरोपर गरेका छन् । त्यसैले भाषाको आत्मा स्पर्श गरेका छन् । आजभोलिका विद्वान्हरू जस्तो उनी आफूलाई भाषाभन्दा माथि ठान्दैनन् । म बडो जान्ने हुँ भनेर अहंकारवश भाषालाई बिगार्दैनन् । नेपाली भाषाको सौन्दर्य, लालित्य र सामथ्र्य उनले बडो राम्ररी उद्घाटित गरेका छन् । त्योसँग दाँजेर हेर्दा आजको नेपाली भाषा कताकता बोधो र कृत्रिम जस्तो लाग्छ ।
 भाषामाथिको आक्रमण
दुःखको कुरा, नेपाली भाषामाथि राज्यबाट पोषित कथित विद्वान् र यसको प्रवर्धन गर्न भनेर गठित संस्थाहरूबाटै संगठित आक्रमण भइरहेको छ । भानुभक्तको सन्दर्भ भएकाले अहिले यसको एउटा पक्षबारे मात्र चर्चा गरौं । लोकव्यवहारमा भिजेको भाषा नै सर्वस्वीकार्य हुन्छ र भाषाको प्राणशक्ति त्यहीँ निहित हुन्छ भन्ने भानुभक्तले बुझेका थिए । त्यसैले प्रचलित भाषालाई नबिगारी विनम्रतासाथ शिरोपर गरेका थिए । आज नेपाली भाषाको त्यही प्राणशक्ति कमजोर बनाउने प्रयास भइरहेको छ । बारम्बार त्यहीँ प्रहार भइरहेको छ ।
नेपाली भाषाले मैथिली, अवधी, भोजपुरी, बज्जिका, नेवारी, राई, लिम्बू, तामाङ, मगर, शेर्पा, गुरुङ आदि राष्ट्रिय भाषाहरूबाट शब्द लिएको छ । तर, यसरी लिइएका शब्दहरूको बलात् अंगभंग गर्ने परिपाटी चलाइएको छ । श-ष लाई हटाएर तिनको ठाउँमा स राखिएको छ, दीर्घ ईकार-ऊकारलाई बिगारेर जबर्जस्ती ह्रस्व पारिएको छ । यसरी बिगारिएका अशुद्ध शब्दहरूलाई सही र शुद्ध भन्दै शब्दकोशमा पहिलो प्रविष्टि दिइन्छ । शुद्ध र मूल शब्दहरूलाई चाहिँ गलत र अशुद्ध भन्दै दोस्रो दर्जामा झारिन्छ । राज्यको आधिकारिक शब्दकोशले पहिलो प्रविष्टिमा राखेका शब्दहरू नै पाठ्यक्रम, औपचारिक लेखन र सरकारी कामकाजमा अनिवार्यतः प्रयोग गरिन्छन् । यसरी केही वर्षकै अन्तरालमा अशुद्ध एवं विकृत शब्दहरू स्थापित हुने, तिनैलाई शुद्ध मानिने र शुद्ध शब्दहरू प्रयोगबाटै हराउने प्रपञ्च रचिएको छ । यसले नेपाली भाषालाई कमजोर र विवादग्रस्त बनाउँदैछ, अशुद्धको पोकोमा परिणत गर्दैछ र भाषाबाट भाषिकातर्फ धकेल्दैछ । यो काम अज्ञानवश नभएर सुविचारित एवं योजनाबद्ध रूपमा भइरहेको छ । यसको ताजा उदाहरण नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशको पछिल्लो संस्करण नै हो ।
आफ्नो भाषाका परम्परागत शब्दहरूलाई आफ्नै मातृभूमिमा शासकीय उन्मादका साथ कसैले दोस्रो दर्जामा झारिदिन्छ र तिनको अंगभंग गर्छ भने त्यसले दिने पीडा असह्य हुन्छ । यस्तो कृत्यले तमाम जातजाति र समुदायको मनमा चोट पारेर हाम्रो राष्ट्रिय एकतामा धमिरो लगाउँछ । यसले नेपालभित्रै नेपाली भाषाको स्वीकार्यतामा कुनै पनि दिन निर्णायक प्रश्नचिह्न खडा गरिदिन सक्छ ।
भानुभक्तले नेपाली भाषालाई नेपालीबीच भावनात्मक एकीकरणको माध्यम बनाए । यसबाट नेपाली भाषा समृद्ध र सर्वस्वीकार्य बन्दै आयो । आज राज्यकै आधिकारिक संस्थाहरूबाट नेपाली भाषालाई नेपाली-नेपालीबीचको भावनात्मक एकता समाप्त पार्ने, द्वेष र घृणाको भाव बढाउने र अन्ततः विग्रह एवं विखण्डनको औजार बनाउने उपक्रम चलिरहेको छ । नेपाली भाषाविरुद्ध योभन्दा ठूलो षड्यन्त्र के होला ? भानुभक्तको योभन्दा ठूलो अपमान के होला ?
नेपाली भाषा समाप्त हुँदैन तर आजको स्थानबाट विस्थापित हुने खतरा छ । विस्थापित गर्न दाउ हेरेर बसेका तत्वहरू क्रियाशील छँदैछन् । विभिन्न बहानामा, विभिन्न कोणबाट नेपाली भाषालाई धकेल्न र तल खसाल्न चौतर्फी प्रयास भइरहेको पनि हामीले देखेकै छौं । त्यसले, समष्टिगत रूपमा, नेपाली जानेर काम छैन, यसबाट अघि बढ्न सकिँदैन, सामान्य सामाजिक व्यवहारमा बाहेक यसको आवश्यकता छैन भन्ने आम मानसिकता निर्माण गरिरहेको छ । त्यसमाथि यसलाई कमजोर, संकीर्ण र विवादग्रस्त बनाएर यसको स्वीकार्यता खुम्च्याउन जिम्मेदार निकाय नै लागिपरेका छन् । यो सब हेर्दा विस्थापनको सँघारतिरै पो पुग्न लागेको हो कि भन्ने डर लाग्न थालेको छ ।
 कसरी जोगाउने ?
सर्वप्रथम त जिम्मेदार निकायहरूले भाषामाथिको अनधिकृत हस्तक्षेप बन्द गर्नुपर्छ । त्यसरी गरिएका सबै निर्णय फिर्ता लिनुपर्छ । अन्य भाषाबाट आएका र आउने शब्दको स्वागत र सम्मान गर्नुपर्छ । भाषिक षड्यन्त्र र अपराधको दस्तावेज बनेको वर्तमान शब्दकोश बदर गरेर सही शब्दकोश निर्माण गर्नुपर्छ । नेपाली भाषालाई यसको सहज, स्वाभाविक गतिमा अघि बढ्न दिनुपर्छ ।
शिक्षाको माध्यम मूलतः नेपाली भाषा नै हुनुपर्छ । सरकारी, गैरसरकारी र निजी क्षेत्रको जागीर खान पदअनुरूप नेपाली भाषाको निश्चित योग्यता हासिल गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्छ । सबै क्षेत्रका सम्पूर्ण अभिलेख, प्रतिवेदन र कागजपत्रहरू मूल रूपमा नेपालीमै लेखिनुपर्छ । राष्ट्रिय तहसम्मका सबै कार्यक्रम नेपालीमा सञ्चालन गर्ने परिपाटी अँगाल्नुपर्छ । पाठ्यक्रम, नम्बर प्लेटलगायत कुनै पनि स्थानबाट खुम्च्याएर नेपालीलाई नेपालभित्रै अवाञ्छनीय तुल्याउने षड्यन्त्र बन्द गर्नुपर्छ । नेपाली भाषालाई अवसर, रोजगारी र समुन्नतिको वाहक बनाइनुपर्छ । समष्टिगत रूपमा, नेपाली जान्नु महत्वपूर्ण छ भन्ने आम मानसिकता निर्माण गर्नुपर्छ ।
नेपाल र नेपालीलाई जोगाउने हो भने नेपाली भाषालाई बलियो बनाउनैपर्छ । भानुभक्तको सम्मान पनि यही हो ।
(भाषाविद् वस्तीसँग राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित)


No comments:

Post a Comment