Tuesday, August 1, 2017

कुलेखानी तेस्रो सकिन छिटोमा ६ महीना

पत्र पत्रिका बाट  -साभार  

http://www.abhiyan.com.np/new/Articles/view/102404
२०७४-०४-१८ मा प्रकाशित    
काठमाडौं । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको ठेकेदार चिनियाँ कम्पनी जेजियाङ जिल्लुनले काममा ढिलासुस्ती गर्दा आयोजना सम्पन्न हुन छिटोमा ६ महीना लाग्ने भएको छ । विद्युत्गृह निर्माणको जिम्मा पाएको कम्पनीले भिसा तथा अन्य विविध कारणहरू देखाउँदै काममा ढिलाइ गर्दै आएको हो ।
हाल आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकलतर्फ गरी करीब ६५ जना कार्यरत छन् । ‘यदि जनशक्ति थप गरी दैनिक १८–२० घण्टा काम चालू राख्ने हो भने मात्रै ६ महीना जतिमा काम सकिन्छ,’ आयोजना प्रमुख सुभाषकुमार मिश्रले भने, ‘नभए फेरि कति समयलाई तन्किन्छ भन्ने कुरा कामको गतिमै भर पर्छ ।’
हाल आयोजनामा ३ जना चिनियाँ प्राविधिक कार्यरत छन् । एकजना थप गरी काम छिटो गर्नका लागि भिसा प्रक्रियामा काम भइरहेको आयोजना प्रमुख मिश्रले बताए । ‘सिभिलतर्फको काम करीब ९८ प्रतिशत सकिइसकेको छ,’ मिश्रले भने, ‘चिनियाँ कम्पनीको जिम्मामा रहेको इलेक्ट्रोमेकानिकलको काम भने करीब ७५ प्रतिशत मात्रै सकिएको छ ।’
यसअघि पनि सुस्त गतिमा चलेको आयोजनाको काम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणपछि गति लिएको थियो । प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्ने क्रममा साउनको १५ गतेसम्म विद्युत् उत्पादन थालिसक्ने निर्माण कम्पनी साथै आयोजनाले प्रतिबद्धता गरेका थिए ।
सन् २००८ बाट निर्माण शुरू भएको १४ मेगावाटको यस आयोजनाको म्याद यसअघि पनि पाँचपटक थप गरिसकिएको छ । म्याद थप गर्दै जाँदा आयोजनाको लागत पनि बढ्दै गइरहेको छ । हालसम्म करीब रू. ४ अर्ब खर्च भइसकेको आयोजनामा थप करीब रू. २ अर्ब लागत बढ्ने भएको छ । स्वदेशी लगानीमा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण अघि बढाइएको यो आयोजना कुलेखानी प्रथमको दोस्रो क्यास्केड परियोजना हो ।

No comments:

Post a Comment