Sunday, August 27, 2017

पूर्व–पश्चिम राजमार्ग आठ लेनको बनाउने तयारी

पत्र पत्रिका बाट  -साभार http://www.abhiyan.com.np/new/Articles/view/103650

२०७४-०५-५ मा प्रकाशित     २६२८ पटक पढिएको    २ बिचार / प्रतिक्रिया
पूर्व–पश्चिम राजमार्ग आठ लेनको बनाउने तयारी
काठमाडौं । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको स्तरोन्नति तथा विस्तारको काम चालू आर्थिक वर्ष २०७४/७५ देखि शुरू हुने भएको छ । यस राजमार्गलाई स्तरोन्नति गर्दै आठ लेनको सडकको रूपमा विस्तार गर्न आगामी माघदेखि निर्माण कार्य थालिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको हो । यो नेपालको सबैभन्दा लामो राजमार्ग हो । यसको लम्बाइ १ हजार २८ किमी छ । त्यसमध्ये पहिलो चरणमा नारायणगढदेखि बुटवल खण्डसम्म १ सय १२ किलोमिटर खण्डलाई आठ लेनको सडकका रूपमा स्तरोन्नति गर्ने तयारी गरिएको हो । हाल उक्त राजमार्ग दायाँ/बायाँ गरी चार लेनको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रराज शर्माले एशियाली विकास बैङ्क (एडीबी)को रू. १५ अर्ब ऋणमा पहिलो चरणमा उक्त खण्डको सडक स्तरोन्नति गरिनेछ । त्यसपछि अन्य खण्डको स्तरोन्नतिको कामलाई अघि बढाउने योजना रहेको उनले बताए । उनले भने, ‘निर्माणका लागि अन्तिम तयारी भइरहेको छ, पुस/माघदेखि निर्माण कार्य नै शुरू हुनेछ ।’
मन्त्रालयका अनुसार सो खण्डमा २१ ओटा मोटरेबल पुल निर्माण हुनेछन् । सहसचिव शर्माले उक्त खण्डको सडक स्तरोन्नतिपछि नारायणगढ–पथलैया हुँदै कोशी खण्डसम्मको सडकलाई थप चार लेनमा विस्तार गरिने जानकारी दिए । पूर्व झापाको काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरको बनबासासम्म जोडेको यस राजमार्गलाई विस्तार गर्न एडीबीले गृहकार्य र मन्त्रालयसँग सहकार्य गर्दै आएको छ ।
मन्त्रालयले पश्चिम क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा बढी समस्या देखिएकाले पहिले पूर्वी क्षेत्रका सडक खण्डमा सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएको छ । विसं २०१९ मा निर्माण शुरू गरिएको सो राजमार्गको हालसम्म पनि विस्तार तथा स्तरोन्नति हुन नसक्दा बढ्दै गएको सवारी चाप व्यवस्थापनमा समस्या देखिएको छ ।
मुलुकको भौगोलिक जटिलताका कारण पनि राजमार्गमा हुने सवारी दुर्घटना र पहिला नै कायम भएका राजमार्गहरूको उचित स्तरोन्नति तथा विस्तार हुन नसक्दा यात्रुको सुरक्षामा पनि जटिलता थपिएका छन् । राजमार्गमा क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुने तर राजमार्ग तथा सडकहरू विस्तार नहुँदा सवारी दुर्घटनाका साथै जनधनको समेत क्षति हुँदै आएको छ ।
हाल कायम रहेका राजमार्गहरू साघुँरा हुँदा दैनिकजसो दुर्घटना हुने गरेका छन् भने  खासगरी चाडबाडको बेलामा अत्यधिक सवारीसाधनको आवागमन हुँदा थप समस्या हुँदै आएको छ । सरकारले राजमार्गको स्तरोन्नतिबाट राजमार्ग विस्तार गरी हाल भएको सवारी चाप कम गर्ने, ट्राफिक व्यवस्थापन र सडक दुर्घटनालाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । मन्त्रालयका अनुसार धरान–चतरा–उदयपुर गाईघाट सडक निर्माणका लागि पनि टेण्डर भइसकेको छ । उक्त सडक ३ वर्षमा निर्माण सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य छ ।

 

No comments:

Post a Comment