Sunday, August 27, 2017

पत्र पत्रिका बाट  -साभार 

http://www.karobardaily.com/news/70100

भारतबाट १६० मेगावाट विद्युत् आयात गर्ने सम्झौता

    supervisor_accountकारोबार संवाददाता 
काठमाडौंः नेपाल विद्युत् प्राधिकरण र भारतको एनभीभीएनबीच सन् २०१७ को मेसम्म थप १६० मेगावाट विद्युत् आयात गर्ने सम्झौता भएको छ । 
हाल ८० मेगावाट विद्युत् आयात गर्दै आएको प्राधिकरण र एनभीभीएनबीच थप ८० मेगावाट ल्याउन पूरक विद्युत् खरिद सम्झौता (पीपीए) भएको हो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार गर्गबीच सम्झौतामा हस्ताक्षर भएको छ । 
हाल खरिद गरेको ८० मेगावाट विद्युत् यही डिसेम्बरसम्म ल्याउनका लागि सम्झौता भएकोमा यसलाई निरन्तरता र थप ८० मेगावाट आगामी मेसम्म ल्याउने गरी पूरक पीपीए भएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार, आगामी जनवरीदेखि थप ४० मेगावाट र फेब्रुअरीदेखि थप ४० मेगावाट विद्युत् आयात हुनेछ । 
मुज्जफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने सो बिजुलीको प्रतियुनिट ३.६० भारतीय रुपैयाँ रहेको छ । 
“आयात गर्ने ४० मेगावाटको बिजुली तत्कालका लागि काठमाडांै नआई हेटांैडासम्म आउने तथा खिम्ती–ढल्केबर प्रसारण लाइन बनेपछि ८० मेगावाटसम्म लामोसाँघुहुँदै काठमाडौं ल्याउन सकिन्छ ।” उनले भने, “खिम्ती–ढल्केबर प्रसारण लाइन अन्तिम चरणमा छ, यसले काठमाडौंलाई लोडसेडिङमुक्त र उपत्यकाबाहिरलाई न्यूनीकरण गर्न सहयोग पुग्छ ।”
प्राधिकरणका अनुसार, खिम्ती–ढल्केबर तथा स्युचाटार–कुलेखानी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्म काठमाडौंमा विद्युत् ल्याउन नसक्ने भएकाले पुसभरि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउन सकिने भए पनि माघमा विद्युत् उत्पादन कम भएमा लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन कठिन छ तर छिट्टै खिम्ती–ढल्केबर सम्पन्न भएमा केही राहत मिल्नेछ । 
कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारण लाइन निर्माण भइरहेकाले सम्पन्न भएपछि मात्र दुई लाइनबाट थप १ सय मेगावाट आयात गर्ने लक्ष्य प्राधिकरणले राखेको छ । प्रसारण लाइन सम्पन्न भएमा भारतीय कम्पनीसँग पीपीए गरिने प्रवक्ता अधिकारीले जानकारी दिए । 
खुल्ला बजारबारे छलफल
भारतको नयाँ दिल्लीमा आयोजना गरेको २ दिने साउथ एसिया इनर्जी इन्ट्रिगेटेड इनह्यान्सिङ पावर मार्केट (दक्षिण एसिया ऊर्जा विद्युत् बजार अभिवृद्धिका लागि एकीकृत प्रयास) बारेको सम्मेलनमा विद्युत् खुल्ला बजारबारे छलफल भएको छ । 
सम्मेलनमा प्रमुख वक्ताको रूपमा बोल्दै ऊर्जा सचिव अनुपकुमार उपाध्यायले उत्पादित बिजुली बेच्नका लागि दक्षिण एसियाभित्र खुल्ला बजारको आवश्यकता रहेको बताएका थिए । भारत भ्रमणमा रहँदा ऊर्जा सचिव उपाध्याय र भारतीय विद्युत् मन्त्रालयका सचिव पीके पुजारीबीच नेपाल र भारतबीच ऊर्जा व्यापार, पूर्वाधार विकास र विद्युत् व्यापारबारे छलफल भएको थियो । 
सम्मेलनमा आउँदो जनवरीमा काठमाडौंमा हुन लागेको नेपाल–भारत संयुक्त सचिवस्तरीय बैठकमा अन्य प्रसारण लाइनबाट थप बिजुली ल्याउने विषयमा समेत छलफल भएको थियो । 
पञ्चेश्वरको बजेट २९ करोड ५० लाख
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणका लागि २९ करोड ५० लाख रुपैयाँ बजेट पारित गरिएको छ ।
प्राधिकरण गर्भेनिङ कमिटीको बैठकले आगामी सन् २०१७ का लागि बजेट पारित गरेको हो । सो बजेट पञ्चेश्वर बहुउेद्दश्यीय आयोजनाको हाइड्रोलोजी र भूकम्पीय डाटा कलेक्सनका साथै पञ्चेश्वर र रुपालीगाढमा पुल बनाउन र प्रशासनिक खर्चका लागि विनियोजन गरिएको छ । 
बैठकले सन् २०१५ को छ महिना र २०१६ को पञ्चेश्वरको लेखा परीक्षण भारतले र सन् २०१७ को महालेखा परीक्षकको कार्यालयल गर्ने गरी निर्णय पनि गरेको छ । परीक्षणको क्रममा दुवै देशका अधिकारीको समेत प्रतिनिधित्व हुनेछ ।

No comments:

Post a Comment