Sunday, August 27, 2017

एडीबी र जाइकाको ढिलाइले मेलम्ची अनिश्चित

पत्र पत्रिका बाट  -साभार 

http://www.karobardaily.com/news/16228  मा प्रकाशित

बाबुराम खड्का
काठमाडौं, १७ वैशाख-2074:  एसियाली विकास बैंक (एडीबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सहमति नदिएपछि मेलम्ची खानेपानी आयोजनामा फेरि ढिलाइ हुने भएको छ ।
एडीबीले आयोजनाको सुरुङ र जाइकाले आयोजनाअन्तर्गत सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणमा कर्जा दिने सहमति जनाएका छन् । तर, दुबै दाताले सहमति नदिँदा ठेक्का सम्झौता भएको छैन । यो ढिलाइले आयोजनाको लागत बढ्ने भएको छ ।
मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । सन् २०१६ मार्चसम्ममा सम्पन्न गर्ने समयसीमा मेलम्ची खानेपानी विकास समितिले निर्धारण गरेको छ ।
एडीबीबाट सहमति नआएकाले सुरुङ निर्माणको काम समय तालिकाअनुसार अघि बढाउन ढिलाइ भएको समितिका उपकार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए । जाइकाले सहमति नदिँदा प्रशोधन केन्द्रको पनि ठेक्का सम्झौता नभएको उनले जानकारी दिए । कारोबारसित कुरा गर्दै उनले भने, “आयोजनको काम समय तालिकाभन्दा एक महिना ढिलो भइसकेको छ ।”
गत असोजमा चाइना रेल्वे– १५ ब्युरो कर्पाेरेसनसित सुरुङ खन्ने ठेक्का तोडिएपछि समितिले आयोजना निर्माणको नयाँ कार्यतालिका सार्वजनिक गरी गत मार्चमै सुरुङ खन्ने ठेक्का सम्झौता भएर सुरुङको काम सुरु हुने जानकारी गराएको थियो ।
समितिले सुरुङ निर्माणमा परेको प्रस्तावको मूल्यांकन सकेर सहमतिका लागि एडीबीमा पठाएको दुई महिना बितिसकेको छ । एडीबीले अहिलेसम्म यो प्रस्तावमा प्रतिक्रिया दिएको छैन । सुरुङ खन्न चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई), सिनो हाइड्रो कर्पोरेसन, चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड र सीएमसी डी रभेना इटालीले प्रस्ताव पेस गरेका छन् ।
त्यस्तै, पानी प्रशोधन केन्द्रको प्रस्ताव मूल्यांकन गरी पठाएको ६ महिनाभन्दा बढी भइसक्दा पनि बढी कबोल गरेको जापानकै हिटाची टेक्नोलोजीलाई नदिएको भन्दै जाइकाले सहमति दिन ढिलाइ गरेको छ ।
असोजमा समितिले २०१३ मार्चसम्ममा ठेक्का सम्झौता गर्ने, दैनिक एकातर्फबाट पाँच मिटरका दरले ६ वटा फेसमा सुरुङ खनेर सन् २०१५ को फेबु्रअरीसम्म निर्माण सक्ने र त्यसपछिको एक वर्ष सुरुङको  फिनिसिङ र सन् २०१६ को मार्चमा आयोजना सम्पन्न गर्ने समयसीमा निर्धारण गरेको छ । निर्माण कम्पनीले समितिको समयसीमाअगावै निर्धारित काम सके उसलाई प्रोत्साहनस्वरूप बोनस पनि दिइने व्यवस्था छ ।
नयाँ प्रक्रियामा गएपछि आयोजनाको लागत झन्डै आधा वृद्धि हुने भएको छ । यसअघि रेल्वेसँग ५ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएकोमा अब पुनः बोलपत्र गर्दा १० करोड अमेरिकी डलरभन्दा बढी लागत लाग्ने अनुमान समितिको छ । अहिलेसम्म आयोजनामा ८ अर्ब ५६ करोडभन्दा बढी रकम खर्च भइसकेको छ । अझै २०.५ किलोमिटर खन्न बाँकी छ । यसअघि आयोजनाको अनुमानित लागत २७ अर्ब रुपैयाँ (३१ करोड ७३ लाख अमेरिकी डलर) थियो ।
आव ०५८÷५९ देखि आयोजनाको भौतिक निर्माणकार्य सुरु भएकोमा समय तालिका यसअघि नै तीन पटक संशोधन भइसकेको छ । सुरुमा ०६४÷६५ भित्र आयोजना सम्पन्न गर्ने भनिएकोमा काम नभएपछि ०६८÷६९ भित्र बनाइसक्ने भनिएको थियो । तर, संशोधित समयभित्र पनि आयोजना नबनेपछि पुनः मिति संशोधन गरी ०७०÷७१ (सन् २०१३) तोकिएको थियो ।
आयोजनामा एडीबीको १३ करोड ७० लाख, जाइकाको १ करोड ८० लाख, जापानकै अन्तर्राष्ट्रिय सहयोग बैंक (जेबिकको) ४ करोड ७५ लाख, तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक)को १ करोड ३७ लाख, नर्डिक विकास फन्डको १ करोड ४ लाख र नेपाल सरकारको ९ करोड ६ लाख ४० हजार अमेरिकी डलर लगानी छ ।
सिन्धुपाल्चोकस्थित मेलम्चीको रिवर्मामा बाँध बनाई प्रतिदिन १७ करोड लिटर पानी मुहान क्षेत्रबाट २६.५ किलोमिटर लामो सुरुङमार्फत काठमाडौंको सुन्दरीजलस्थित केन्द्रमा ल्याएर प्रशोधनपछि काठमाडौं उपत्यकामा वितरण गर्ने लक्ष्य छ ।

No comments:

Post a Comment