Sunday, August 27, 2017

दशैंको टिकट बुकिङ खोल्न व्यवसायीको शर्तै-शर्तः भाडा बढाउनेदेखि छत राख्नेसम्म

पत्र पत्रिका बाट  -साभार   https://www.onlinekhabar.com/2017/08/621044

११ भदौ, काठमाडौं । भदौ १५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रीम टिकट बुकिङ खुला गर्ने यातायात व्यवस्था विभागको प्रयास असफल भएको छ । यातायात ब्यवसायीले भाडादर बढाउनेसहित विभिन्न मागहरु अघि सार्दै अग्रीम टिकट बुकिङ खुलाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
यसकारण दशैंको अग्रीम टिकट बुकिङ केही पर घचेटिने भएको छ । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रीम टिकट बुकिङ खुलाउने गरेको छ ।
तर, ब्यवसायीले विभिन्न मागहरु अघि सारेर आफ्ना मागहरु टुंगो नलागेसम्म अग्रीम टिकट बुकिङको लागि तयार हुन नसकिने बताएका छन् ।
उनीहरुले हरेक वर्ष दशैंका समयमा अग्रीम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई विभिन्न निर्णय गर्न बाध्य बनाउने गरेका छन् । यो वर्ष पनि व्यवसायीले ‘उपभोक्ताको हितका लागि’ भन्दै वैज्ञानिक भाडा समायोजन गर्नेदेखि बसमा छत राख्न पाउनुपर्नेसम्मका माग तेर्स्याएका छन् ।
यस्ता छन् यातायात व्यवसायीका माग
आइतबार विभागमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफ्ना मागहरुको सम्बोधन नभएसम्म टिकट बुकिङ खोल्नुको औचित्य नहुने बताए ।
व्यवसायीले दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग गरेका छन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले अब वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ ।
२०७२ साल माघमा तेलको भाडा सामायोजन गरेपछि डिजेलमा लिटरमा ३० रुपैयाँ घटिसकेको छ । व्यवसायीले भने त्यतिबेला तेलको मूल्य मात्रै हेरेर घटाइएको भन्दै अब गाडीको चेसिस, टायर, बैंकको ब्याजदर, लुबि्रकेन्ट्स लगायतको मूल्य बढेकाले अब त्यसका आधारमा सामायोजन गर्नुपर्ने माग गरेका छन् ।
‘तेलको मूल्य मात्रै घट्यो भनेर हुँदैन, हाम्रो लगानी कति बढ्यो पनि हेरेर भाडा समायोजन गर्नुपर्छ,’ सिटौलाले भने ।
एक हप्ताभित्रै सहमतिमा पुग्ने प्रयास
यातायात ब्यवस्था विभागले भाडा समायोजनका लागि एक कार्यदल गठन गरिसकेको जानकारी दिँदै एक हप्ताभित्रै समायोजनबारे बैठक बोलाएर निर्णय गर्ने सहमति जनाएको छ । ब्यवसायीले अहिले भाडादर बढेपनि वा घटे पनि छठअघि लागू नगर्ने सहमति पनि जनाएका छन् ।
यसैगरी ब्यवसायीले बससहितको सार्वजनिक यातायातका साधनमा छत राख्न नदिने सरकारी नियम पनि हटाउन माग गरेका छन् ।
बसहरुमा छत नहुँदा यात्रुको झिटीगुन्टा पनि बोक्न नपाइएको भन्दै ब्यवसायीले त्यो नियम खारेज गर्न माग गरेका हुन् ।
‘यात्रुको एउटा अली ठूलो झोला पनि राखेर लैजान/ल्याउन नसकिने भयो,’ महासचिव सिटौलाले भने, ‘एउटा मापदण्ड बनाएर क्यारियर राख्न दिनुपर्‍यो ।’
विभागका महानिर्देशक रुपनारायण भट्टराईले यसका लागि नियमावलीमै परिवर्तन गर्नुपर्ने भएकाले यसमा विभागले सहजीकरण गर्ने बताएका छन् ।
दशैंको टिकट बुकिङ खोल्नुअघि नै १४ अञ्चलबाटै सवारीको नाप जाँच गर्ने ब्यवस्था गर्न पनि व्यवसायीहरुले माग गरेका छन् । अहिले काठमाडौंस्थित टेकुको भेहिकल प्रि-टेस्ट सेन्टरमा मात्रै जाँच गर्ने ब्यवस्था छ ।
ब्यवसायीले भने यसले समस्या पारको भन्दै सबै अञ्चलमा यसको ब्यवस्था गर्न माग गरेका छन् । विभागले त्यसको लागि आजैबाट ब्यवस्था गर्ने सहमति जनाइसकेको छ ।
१५ गते पुन: छलफल
यस्तै यातायात ब्यवसायीले बुकिङ खोल्नुअघि नै सडकहरुको अवस्था चुस्त-दुरुस्त गर्न माग गरेका छन् । नागढुंगा-कलंकी र नारायणगढ-मुग्लिन सडकलाई गाडी चल्न सक्ने गरी मर्मत गर्न माग गरेका हुन् ।
उनीहरुले गाडी वा बड बिग्रँदा त्यसलाई तुरुन्त सडक सुचारु गर्ने वातावरणका लागि यन्त्रहरु तयारी अवस्थामा राख्न पनि माग गरेका हुन् ।
यातायात व्यवस्था विभागले टिकट बुकिङबारे छलफल गर्न भदौ १५ गते सरोकारवालाहरुको बैठक बोलाएको छ । ‘अब १५ गते व्यवसायीहरुसँग छलफल गरेर कहिलेदेखि खोल्ने भन्ने टुंग्याउँछौं । हामी जतिसक्दो छिटो बुकिङ खुलाउन प्रयत्नरत छौं,’ विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने ।
२०७४ भदौ ११ गते २०:०० मा प्रकाशित

 

No comments:

Post a Comment