प्रेमराज सिम्खडा / कालिकोट
जिल्ला कृषि विकास कार्यालय कालिकोटले यो वर्षबाट जैतुन खेतीको सुरुवात गरेको छ । कार्यालयले जिल्लाको पलाता क्षेत्रमा पर्ने पलाता गाउँपालिका र पचाल झरना गाउँपालिकामा जैतुन खेती गर्ने भएको हो । यसका लागि जिल्ला कृषि विकास कार्यालयले २ हजार बिरुवा वितरण गरेको छ ।
खडेरीको उच्च जोखिममा पर्ने जिल्लाको पलाता क्षेत्रका नागरिकको आर्थिक समृद्धिका लागि सुक्खा सहन सक्ने बालीको विकल्पस्वरूप पहिलोपटक परीक्षणका रूपमा जैतुन खेतीका लागि २ हजार जैतुनका बिरुवा वितरण गरिएको हो ।
कालिकोटमा जैतुन खेतीको सम्भावना रहेको र उपयुक्त जमिन भएकाले नर्सरी स्थापना गर्न गत आर्थिक वर्षमा प्रस्तावना समेत आह्वान गरिएको थियो ।
जिल्लाको हिमचुली कृषि सहकारी संस्थाले प्रस्तावना पेस गरको थियो । गत वर्ष आर्थिक वर्षको अन्त्यमा नर्सरी सञ्चालनमा ल्याउन नसकेका कारण यो वर्ष भारतको राजस्थानबाट ६ जातका जैतुनका बिरुवा खरिद गरेर दुई गाउँपालिकाका कृषकलाई वितरण गरिएको कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले बताए ।
उनले पलाता क्षेत्रका किसानले बर्षेनि खडेरीको समस्या झेल्नुपर्ने र कृषि उत्पादन कम हुने गरेका कारण किसानलाई छाक टार्नकै लागि भारत जानुपर्ने बाध्यता अन्त्यका लागि यो खेती उपयुक्त हुने बताए । मध्य पहाडी क्षेत्रमा हुने सुक्खा सहन सक्ने बालीको रूपमा जैतुन खेतीलाई कृषि विज्ञले प्रमाणित गरेपछि कालिकोटमा पनि सुरुवात गरिएको उनको भनाइ थियो ।
जिल्लाको अन्य ठाउँमा स्याउका बिरुवा वितरण गरेजस्तै पलाता क्षेत्रका कृषकलाई जैतुनका बिरुवा वितरण गरेर आत्मनिर्भर बनाउन खोजिएको जिल्ला कृषि विकास कार्यालय बागवानी विकास अधिकृत भक्तिराम शर्माले बताए ।    उनले किसानले बिरुवा लगाएर हुर्काएबापत एक बिरुवाको १ सय रुपैयाँ पनि तीन किस्तामा पाउने बताए ।
यसबाट प्रशोधन हुने तेलको मूल्य निकै उच्च रहेकाले जैतुन खेती व्यवसाय जिल्लामा आम्दानीको मुख्य स्रोत हुने अधिकृत शर्माले बताए । आफूले माटोको परीक्षण गरे पहिलो पलाता र पचाल झरना गाउँपालिकामा जैतुन खेती गर्न उपयुक्त ठानेर प्राथमिकतामा राखेको बताए ।
अन्य ठाउँमा स्याउ आत्मनिर्भर कार्यक्रम भएकाले पहिलो चरणमा पलाता क्षेत्रका दुई गाउँपालिकाका कृषकलाई प्राथमिकता दिएको र पछि जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकामा पनि जैतुन खेतीलाई बिस्तार गरिने उनको भनाइ छ ।
उनले एक नर्सरी स्थापनाका लागि आएको करिब ४० लाख बजेट फ्रिज भए पनि एक सानो नर्सरीको काम भने अगाडि बढेको बताए । यसपालि पलाता गाउँपालिकामा १ हजार ६ सय ५० र पचाल झरना गाउँपालिकामा ३ सय ४० गरी २ हजार जैतुनका बिरुवा परीक्षणका लागि वितरण गरी रोपिएको बताए ।
उनले बाजुराको कोल्टीमा जैतुन खेती भइरहेको र त्यो भूगोलसँग जोडिएको पलाता गाउँपालिका र पचाल झरना गाउँपालिकालाई पनि बढी सम्भावना देखेर परीक्षणका लागि रोजिएको बताए ।
जैतुन खेती कसरी गर्ने, यसको महŒव, प्रशोधन गर्ने तरिका, यसको बजार मूल्यलगायतका विषयमा कार्यलयले यसभन्दा पहिला किसानलाई तालिमसमेत प्रदान गरेको प्राविधिक पशुराम काफ्लेले बताए ।
उनले यसलाई संरक्षण गर्ने तरिकादेखि यसको सबै प्रक्रियाबारे हामीले तालिम दिँदा किसानलाई जानकारी गराएकाले जैतुन खेती प्रभावकारी हुने र दुईदेखि तीन प्रतिशतसम्म मात्र बिरुवा मर्न सक्ने बताए ।
लामो खडेरीको मारमा परेका पीडित किसानहरूको उद्धारका लागि यो जैतुन खेतीले सहयोग प¥याउने स्थानीय जनप्रतिनिधिहरूको विश्वास छ । यो खेतीलाई सबै गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि बडो महŒवका साथ लिएका छन् । पचालझरना गाउँपालिकाका प्रमुख खड्कराज सेजुवालले जैतुनलाई व्यवसायी खेतीका रूपमा गाउँपालिकाका सबै खाली ठाउँमा विस्तार गरिने बताए । उनले यसको स्वामित्व पनि बिस्तारै गाउँपालिकाले लिने गरी काम गर्ने उनको योजना रहेको छ ।