प्रेम चन्द / काठमाडौं
सरकारी स्वामित्वमा रहेका संस्थानबाटै उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने गरेको भेटिएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल खाद्य संस्थानको खाद्य गोदाममा अनुगमन गर्दा खाद्यान्नमा ढुंगा, बालुवा र धुलो मिसावट गरेको पाइएको हो ।
नेपाल खाद्य संस्थानको थापाथलीस्थित खाद्य गोदाममा आपूर्तिमन्त्री शिवकुमार मण्डलले आइतबार अकस्मात् गरेको अनुगमनका क्रममा थापाथलीको खाद्य गोदाममा रहेको खाद्यान्नमा ढुंगा, बालुवा र धुलो भेटिएको आपूर्तिमन्त्रीका प्रेस संयोजक भरत पाण्डेले जानकारी दिए ।
संस्थानको सो गोदाममा मुगु र कालीकोटबाट ल्याएको सिमीमा ढुंगा, बालुवा र धुलो मिसावट गरिएको भेटिएको हो । बाढीप्रभावित क्षेत्रमा पठाउन सिमी प्याकिङ गर्ने क्रममा यस्तो भेटिएको प्याकिङ गर्ने ठेकेदार भगवान् गिरीले बताए । ‘प्याकेजिङ गर्न ९ सय जना लाग्छ भनेर मैले हात हालेको १२ सय ७४ जना कामदारले बल्लतल्ल केलाएर सकियो,’ उनले भने, ‘अहिले सबै अखाद्य वस्तु हटाएर शुद्ध बनाएर राखेका छौं ।’
थापाथली गोदाममा ७ सय २० क्विन्टल सिमी राखिएको मध्ये ४० क्विन्टल बाढीप्रभावित क्षेत्रमा पठाइएको बाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले बताए । त्यस्तै गोदाममा रहेको ७ सय ८ क्विन्टल तितेफाँपरमा पनि धुलो फेला परेको छ । थापाथली गोदामका प्रमुख भेषनाथ न्यौपानेले संस्थानका तत्कालीन प्रमुख शिवहरि श्रेष्ठ र मोहनप्रकाश चन्दको कार्यकालमा खरिद गरिएको सो खाद्यान्नमा उनीहरूले नै ठेकेदारसँगको मिलेमतोमा ढुंगा, बालुवा तथा धुलो मिसाएको प्रतिक्रिया दिए । ‘सबै खाद्यवस्तुको खरिदमूल्य लुकाइएको छ,’ उनले भने, ‘बिक्री मूल्य १ सय ५० रुपैयाँ तोकिएको अवस्था छ । भर्खर आएकाले सबै विवरण खोज्दै छु, ।’

यस्ता छन् बदमासी

खाद्यान्नमा ढुंगा, बालुवा र धुलो मिसावट

खरिद मूल्य लुकाइयो

भूकम्पपीडितका लागि आएको चामल लुकाइयो

७ सय क्विन्टल फापरमा धुलो मिसावट

संस्थानले २०७२ सालमा भूकम्पपीडितका लागि अनुदानमा आएको चामलसमेत लुकाएर राखेको पाइएको छ । सरकारी संस्थानले नै उपभोक्ताको जीवनमाथि खेलवाड गरेकोप्रति उपभोक्ताकर्मीहरूले आपत्ति जनाएका छन् ।  उपभोक्ता अधिकार अनुसन्धान मञ्चले सरकारी संस्थानले नै उपभोक्ताको जीवनमाथि भयंकर खेलवाड गरेको बताएको छ । मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थानले नै उपभोक्ताको जीवनमाथि भयंकर खेलवाड गरेको भन्दै कारबाहीको माग गरे । आफ्नै मन्त्रालयको मातहतको संस्थानमा बेथिति भेटेपछि आपूर्तिमन्त्री शिवकुमार मण्डलले कुहेको र फोहोर मिसिएको खाद्यपदार्थ वितरण नगर्न निर्देशन दिए ।
खाद्य संस्थानको समेत जिम्मेवारी लिएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र संस्थानका थापाथली गोदाम प्रमुख भेषनाथ न्यौपानेलाई मन्त्रिमण्डलले यस्तो निर्देशन दिएका हुन् । ‘समस्या भए तुरुन्त खबर गर्नुहोला तर बिग्रेको खाद्यान्न प्रयोग नहोस्,’ मन्त्रिमण्डलले भने, ‘तुरुन्त सफा गरेर बिक्रीको प्रबन्ध मिलाउनू ।’
त्यस्तै मन्त्रिमण्डलले १० दिनभित्र गोदाम परिसरको फोहोर सफाइ गर्न निर्देशन दिए । मन्त्रिमण्डलले गुणस्तर र परिमाण दुवैमा कैफियत देखिएकाले छानबिन गरी अखाद्य वस्तु मिसावट गर्नेलाई कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
खरिदका क्रममा त्रुटि गरेर खाद्य संस्थानको बदनाम गर्न खोजिएको प्रति आफू दुखित भएको उनको भनाइ छ । ‘गोदामभित्र भएको खाद्यान्नमा कैफियत देखिएको छ, भद्रगोलका बीचबाट खरिद गरिएको भेटिएको छ,’ मन्त्रिमण्डलले भने, ‘खरिद गर्दाको जीएम अवकाश भइसकेकाले उनीहरूलाई बोलाएर टेन्डरमा भएको त्रुटिका विषयमा छलफल गर्छौं र हदैसम्मको कारबाही गर्छौं ।’
धानगोदामका रूपमा नामकरण गरिएको सो गोदामका संरचना निकै जीर्ण छ । गोदाम परिसरमा जताततै झाडी र फोहोर छ । गोदाममा ४० हजार ९ सय ३९ क्विन्टल चामलसमेत असुरक्षित ढंगले राखेको पाइएको छ । गोदाम भवनको छाना चुहिएर चामल, सिमी र फापर बिग्रन सक्ने भएकाले तत्कालै भवन मर्मत र सरसफाइको व्यवस्था मिलाउन मन्त्रीले निर्देशन दिए ।
खाद्य संस्थानको समेत जिम्मेवारी लिएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भवन जीर्ण भएकाले मर्मत गर्ने र सपिङ कम्प्लेक्स निर्माण गरे मात्र संस्थान सुध्रने बताए ।