Wednesday, August 2, 2017

अस्ट्रेलियाका विश्वविद्यालयमा अध्ययनरत छात्रा असुरक्षित

पत्र पत्रिका बाट  -साभार      http://www.onlinekhabar.com/2017/08/614461/

अनलाइनखबर



१८ साउन, काठमाडौं । अस्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्ने छात्रा असुरक्षित रहेको एक अध्ययनले देखाएको छ ।
अध्ययनले विश्वविद्यालयमा अध्ययनरत आधाभन्दा बढी छात्रामाथि यौन दुर्व्यवहार भएको भन्दै चिन्ता प्रकट गरेको छ ।
३९ विश्वविद्यालयका ३१ हजार विद्यार्थीमाझ गरिएको अध्ययनमा युनिभर्सिटीमा विभिन्न तहमा यौन दुर्व्यवहार हुने गरेको उल्लेख छ ।
अस्ट्रेलियाको मानवअधिकार आयोगले गरेको राष्ट्रिय सर्वेक्षणले यस्तो निष्कर्ष निकालेको हो । यो अध्ययनलाई अहिलेसम्मकै वृहत मानिएको छ ।
विद्यार्थीको इच्छाविपरित यौन कार्य गर्न बाध्य पार्ने र छात्रामाथि यौन आसयका टिप्पणीलाई आयोगले यौन दुव्र्यवहारको परिभाषाभित्र समेटेको छ ।
पुरुषको तुलनामा महिलामाथि बढी यौन दुर्व्यवहार हुने गरेको आयोगले जनाएको थियो ।
आयोगका अनुसार, गत वर्ष मात्र विश्वविद्यालयमा अध्ययन गर्नेमध्ये आधाभन्दा बढी विद्यार्थीमाथि यौन दुर्व्यवहार भएको थियो ।
प्राज्ञिक, सामाजिक र आवासीय जीवनमा विश्वविद्यालयका आधाभन्दा बढी विद्यार्थीले यौन दुव्र्यवहारको साझा अनुभव बटुलेको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणले यसको असर डरलाग्दो देखिने चिन्ता व्यक्त गरेको छ । यसले जीवनको एउटा मोडलाई नै परिवर्तन गर्नुका साथै उनीहरुको स्वास्थ्य, अध्ययन र भावी करिअरमा समेत प्रभाव पारेको सेक्स डिस्क्रिमिनेसन कमिसनर तथा अध्ययन समूहकी नेतृ केट जेकिन्सले बताएकी छन् ।
‘दुव्र्यवहारको सामना गरेका हरेक पाँचमध्ये एकजनाले आफूहरुमाथि विश्वविद्यालयभित्रै त्यस्तो दुव्र्यवहार हुने गरेको बताएका छन्,’ केटले भनेकी छन्, ‘पुरुषभन्दा महिलाहरु चार गुणा बढी यौन दुर्व्यवहारको जोखिममा परेको हामीले पाएका छौं ।’
यौन दुव्र्यवहार भएकामध्ये ४५ प्रतिशतले दोषीको पहिचान गरेको बताएका छन् । त्यस्तै दुव्र्यवहार गर्ने सबै पुरुष रहेको अध्ययनमा जनाइएको छ ।
सर्वेक्षणको नतिजाले सबैको ध्यानाकर्षण गरेको क्विन्सल्यान्ड युनिभर्सिटीका उपकुलपति पिटर होजले बताए । छात्रामाथि हुने गरेका यौन दुर्व्यवहार रोक्न सम्बन्धित विश्वविद्यालयले पहल गरी रिपोर्ट तयार पार्न लेखकहरुलाई अनुरोध गरेका छन् ।
२०७४ साउन १८ गते १२:४२ मा प्रकाशित

No comments:

Post a Comment