Wednesday, February 26, 2020

नागढुंगा सुरुङमार्ग : शिलान्यासको ५ महिनासम्म सुल्झिएन मुआब्जा विवाद




नागढुंगा सुरुङमार्ग : शिलान्यासको ५ महिनासम्म सुल्झिएन मुआब्जा विवाद




१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको लागि शिलान्यास भएको ५ महिना बित्न लाग्यो ।
४ असोजमा शिलान्यास गरेको आयोजनामा अझै मुआब्जा विवाद सल्टिएको छैन, जसका कारण ठेकदारलाई सुरुङमार्गको मुख्य भागमै पुगेर काम गर्न पाएका छैनन् ।



धादिङतर्फ जग्गाको मुआब्जा विवाद नटुंगिएपछि प्रारम्भिक काम समेत सुरु हुन सकेको छैन । सुरुङमार्ग खन्न सुरु गर्नुअघि तयार हुनुपर्ने कामदार आवास, गोदाम, कार्यालयसहित बन्दोबस्तीका अस्थायी संरचना र सुरक्षामा खटिने नेपाली सेनाको बंकर निर्माण गर्न नपाएपछि ठेकदार कम्पनी नै रुष्ट बनेको छ ।
आयोजना प्रमुख श्याम खरेलकाअनुसार धादिङतर्फ करिब २०देखि २५ रोपनी गुठी जग्गाको मुआब्जा विवाद छ । त्यहाँका मोहीहरुले ठेकदारलाई कार्यक्षेत्रमा जान रोक लगाउका छन् ।
हालको नियमअनुसार गुठी जमिनमा मोहीले कूल मूल्यांकनको ३३ प्रतिशत मात्रै मुआब्जा पाउँछन् । तर उनीहरुले शत प्रतिशत रकम दाबी गरेका छन् । ‘हामीले ५० प्रतिशतसम्म दिने गरी प्रक्रिया थालेका छौं, तर उहाँहरुले रकम नपाइ काम सुरु गर्न नदिने भनेपछि समस्या भएको छ,’ आयोजना प्रमुख खरेलले भने ।
पूर्वतयारीको काम नै प्रभावित भएपछि ठेकदार जापानी कम्पनी ‘हाज्मा आन्दो’ले थप समय र लागत आवश्यक पर्ने भन्दै आयोजनालाई पत्र लेखेको छ ।
अवरोध कायम रहिरहे ठेकदारको यस्तो दाबी स्वीकार्नुपर्ने अवस्था आउनेमा आयोजनाका अधिकारी चिन्तित छन् ।
काठमामाडौंतर्फको मुआब्जा विवाद भने सबै सल्टिएको छ । धादिङतर्फ १७ रोपनी र ४६ वटा परिवारले मुआब्जा बुझिसकेका छन् । तर घर छाडेका छैनन् । ‘बुधबार पनि हामी विवाद समाधनका लागि जाँदैछौं, यदि अझै अटेर भयो भने बल प्रयोग गर्नुपर्ने अवस्था आउनसक्छ,’ आयोजना प्रमुख खरेलले भने ।
कसरी बन्दैछ सुरुङमार्ग ?
कार्यतालिकाअनुसार पूर्वतायरीको सबै काम आगामी वैशाखसम्म सकिनुपर्छ । त्यसपछि सुरुङ खन्ने काम सुरु हुन्छ । ठेकदार कम्पनीले सुरुङ खन्न मेसिन ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । तर निर्माण क्षेत्रको अवरोध हटेको छैन ।
सम्झौताअनुसार ठेकदार कम्पनीले काम सकाउन गत नोभेम्बर १४ बाट ४२ महिनाको समय पाएको छ । अर्थात ३९ महिनामा सुरुङमार्ग बनेर सञ्चालनमा आउनुपर्छ ।
सुरुङमार्ग २.६८ किलोमिटर (२ हजार ६ सय ८८ मिटर) लामो हुनेछ । र, त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर -२ हजार ८ सय ७२) को पहुँचमार्ग पनि बनाउनुपर्छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधाराचोक र सुरुङको मुखभन्दा मुनि २ वटा फ्लाइओभर बन्छन् । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुनेछ । कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन अर्को पनि फ्लाइओभर बनाइनेछ यो करिब १५० मिटरको हुनेछ ।
२ लेनको यो सुरुङमार्गमा १० मिटर चौडाइको भेन्टिलेसन र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेन (४ मिटर) को सहायक सुरुङ पनि बन्नेछ । कुनै दुर्घटना भए सहायक सुरुङबाट गएर उद्धार गरिनेछ ।
सुरुङमार्गका दुबैतर्फ सडक दस्तुर असुल गर्ने काउन्टर र सुरुङ व्यवस्थापन कार्यालय खोलिनेछ ।
यो सुरुङमार्ग बनाउन टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिने छैन । बिष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने छ । अष्ट्रेलियन टनेलिङ पद्धतीबाट यो सुरुङमार्ग बन्नेछ । यस अन्तरगत जम्बो डि्रलिङ मेसिनहरु पनि प्रयोग गरिन्छ ।
सुरुङमार्ग बनाउन ५ देखि ६ सय मेट्रिक टन विष्फोटक पदार्थ लाग्ने अनुमान छ । नेपालमा आयोजनाहरुका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनामार्फत लिनुपर्छ ।
सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । सरकारले सुरुङ तथा पहुँचमार्गका काठमाडौं जिल्लातर्फका प्रभावितलाई करिब ५ अर्ब मुआब्जा बाँडिसकेको छ ।
यो आयोजनामा जापान सरकारको ऋण १६ अर्ब ६० करोड र नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ । ०.०१ प्रतिशत व्याजदरमा जापानले ४० वर्षका लागि ऋण उपलब्ध गराएको हो ।

No comments:

Post a Comment