राजा पृथ्वीनारायण शाहले पुरानो नेपाल राष्ट्रलाई समृद्ध र शक्तिशाली मात्र बनाएका हुन्, आफ्नो साम्राज्यको विस्तार गरेका होइनन्। यिनलाई साम्राज्यवादी शासकका रूपमा चित्रित गर्नु मिथ्या आरोप हो।
प्रा. श्रीकृष्ण आचार्य
विक्रमको चौथो शताब्दीका सम्राट् समुद्र गुप्त (वि.सं. ३८७-४३२) ले प्रयागमा रहेको आफ्नो स्तम्भलेखमा “कामरूप, नेपाल तथा कर्तृपुर आदि प्रत्यन्त देशका राजाहरू मेरा आदेशहरूलाई पालना गर्दछन्” भनी लेखाएका छन्। यसबाट तिनताका वर्तमान आसाम र वर्तमान कत्युर वा कुमाउँको बीचमा उल्लेख राज्यको रूपमा नेपाल भएको प्रमाणित हुन्छ। तर कहाँसम्म फैलिएको थियो, यकिनका साथ भन्न सकिने अवस्था भने छैन।
राजा मानदेव (प्रथम)ले वि.सं. ५२१ मा स्थापना गराएको आफ्नो पहिलो शिलालेखमा “आफ्ना पिता धर्मदेवको अप्रत्याशित देहान्तपछि आफ्नो कच्चै उमेर भएको पाएर विद्रोही बनेका पूर्व तथा पश्चिमका सबै सामन्त राजाहरूलाई सजिलै नियन्त्रणमा लिएको, तर गण्डकी नदीपारिका मल्लपुरी नामक राज्यका सामन्त राजाले भने नियन्त्रणमा आउन अस्वीकार गरेकाले आफ्ना सैनिकहरूलाई दुस्तर गण्डकी नदी पार गराई त्यस राज्यका राजालाई पनि नियन्त्रणमा लिएको र त्यसै विजयको खुसियालीमा आमा मायावतीका साथ दोलाद्रिशिखर-स्वामी (चाँगुनारायण)को पूजा-अर्चना सम्पन्न गरी त्यसको सम्झ्नामा उपर्युक्त शिलालेख स्थापना गरेको” उल्लेख छ। उपर्युक्त वर्णनबाट लिच्छविकालमा नेपालमा स-साना अनेकौँ सामन्त राज्यहरू र केन्द्रीय तहमा लिच्छवि अधिराज्य रहेको देखिन्छ। त्यतिवेलाको नेपाल-अधिराज्य पनि कहाँसम्म फैलिएको थियो, स्पष्ट छैन। लिच्छविकालका शिलालेखहरू पूर्वमा दूधकोसी नदीको आसपास र पश्चिममा गोरखासम्म उपलब्ध रहेकाले कमसेकम त्यहाँसम्म भने पक्कै भएको प्रमाणित हुन्छ।
वि.सं. ९३६ को आसपास आन्तरिक कलहले गर्दा लिच्छवि राजवंशको अन्त्य भई वैश राजवंशको उत्थान भयो। पछि वैश राजवंशको स्थान मल्ल राजवंशले ग्रहण गर्यो। यिनैताका वर्तमान नेपालको सुदूरपश्चिममा खस राज्यको र दक्षिण तराईमा तिरहूत-राज्यको उत्थान भएको थियो। सिजा वा सेञ्जामा राजधानी भएको खस राज्यका शक्तिशाली राजाहरू र सिमरौनगढमा राजधानी भएको तिरहूत राज्यका राजाहरूको बारम्बारको आक्रमणले नेपालको केन्द्रस्थलमा रहेको मल्ल राज्य जर्जर बन्दै गएर पूर्वमा दूधकोसी र पश्चिममा गण्डकी नदीसम्म मात्र खुम्चिन बाध्य भएको पाइन्छ।
यसै बेलातिर हूलका हूल खस नागरिकहरू हालको रोल्पा-रुकुममा अवस्थित सखिको लेकको प्राकृतिक बाँध पार गरी गण्डकी नदीका प्रस्रवणक्षेत्रका मगर वस्तीमा आवाद भएर आफ्ना स्वतन्त्र राज्यहरू गठन गर्न थालेका थिए। गोरखा राज्यको गठन हुँदासम्म त्यस क्षेत्रमा खडा भएका यस्ता राज्य २४ वटा पुगिसकेकाले गोरखाका नागरिकहरूले तिनलार्ई चौबीसे भन्न थालेका थिए। उता सुदूरपश्चिममा पनि शक्तिशाली खस राज्यको विघटन भई कर्णाली नदीका प्रस्रवणक्षेत्रहरूमा २२ वटा स्वतन्त्र राज्य खडा भएकाले तिनलाई बाइसे भन्न थालिएको थियो। यसैबीच पाल्पामा गठन भएको सेन-राजवंश विशेष शक्तिशाली भएर तराई क्षेत्रमा पश्चिममा कपिलवस्तुदेखि पूर्वमा लगभग टिस्टा नदीसम्म फैलन पुग्यो। पछि खण्डित भएर विजयपुर तथा मकवानपुर नामक अन्य दुईवटा स्वतन्त्र सेन-राज्य खडा भए र अझ्ै पछि चौदण्डी नामक अर्को सेन-राज्यको पनि गठन भयो। दूधकोसी नदीभन्दा पूर्वका खम्बुवान र लिम्बुवानमा भने कुनै राज्यको गठन भएको थिएन, त्यस क्षेत्रका थुम-थुममा सक्रिय मुखियाहरू विजयपुर वा चौदण्डीका सेन-राजाहरूकै आश्रयमा थिए।
यता केन्द्रमा पहिलो मल्ल राजवंशको अन्त्य भएर स्थिति मल्लले नयाँ राजवंश स्थापना गराए। यिनको शासनकालमा भक्तपुर शहर नेपाल अधिराज्यको राजधानीको रूपमा स्थापित भएको थियो। यिनका नाति यक्ष मल्लले आफ्ना छोरा रत्न मल्ललाई आफ्नै राज्यको कान्तिपुर क्षेत्रका प्रशासकका रूपमा नियुक्त गरेका थिए। तर पिताको देहान्तपछि यिनले आफूलाई स्वतन्त्र राज्यको राजाका रूपमा घोषणा गरेकाले अर्को एउटा स्वतन्त्र मल्ल राज्य कान्तिपुरको जन्म भयो। पछि कान्तिपुरबाटै छुट्टिएर ललितपुर राज्य बन्यो। अझ्ै पछि पूर्वमा केही समयको निमित्त दोलखा नामक अर्को एउटा मल्ल राज्य पनि गठन भएको थियो।
यसरी विक्रमको अठारौँ शताब्दीको अन्त्यसम्ममा वर्तमान नेपालभित्र ५४ वटा स्वतन्त्र राज्य अस्तित्वमा थिए। प्रायः सबै पहाडी राज्यका राजाहरू आपसमा लडाइँ-झ्गडा नगरी बस्न नसक्ने भएकाले आ-आफ्नो स्वार्थअनुसार एउटा राज्यका राजासँग मित्रता स्थापित गरी उसबाट सैन्य सहयोग प्राप्त गरेर अर्को राज्यका राजासँग लड्नु तिनको आम प्रवृत्ति नै रहेको थियो। केन्द्रका एउटै राजवंशका मल्ल राजाहरूबीचमा पनि पुस्तैनी शत्रुता थियो, सर्वसाधारण नागरिकलाई समेत एक-अर्काको देशमा स्वतन्त्रतापूर्वक घुमफिर गर्ने अधिकार थिएन। नवोदित गोरखा राज्यलाई आफ्नो मित्र राज्य बनाउन भक्तपुर, कान्तिपुर र ललितपुर राज्यका राजाहरूबीच एक किसिमको होड नै चलिरहेको थियो। लमजुङको असहयोगले गर्दा गोरखा राज्यका र कान्तिपुरको असहयोगले गर्दा भक्तपुर एवं ललितपुर राज्यका नागरिकहरूले तिब्बतबाट आयात हुने नूनसम्म पनि खान नपाउने स्थिति थियो।
यसै स्थितिमा वि.सं. १७७२ को हिउँदतिर एउटा दुर्घटना भयो। शक्तिशाली मुगल साम्राज्यको बेतियाका प्रशासक नायव वजीर इस्फुन्दियार खानले विजयपुर राज्यका राजा इन्द्र सेन र मकवानपुर राज्यका राजा शुभ सेनलाई पक्रिई दिल्लीमा पुर्याएर दुवै राज्यको दक्षिणी तराईक्षेत्रको अधिकांश भू-भागहरू आफ्नो राज्यमा मिलाए र मुगल बादशाह औरङ्गजेबका छोरा मुहम्मद आजम खानले बन्दी राजाहरूलाई मुसलमान बनाइदिए। यसबाट मुगल प्रशासकका क्रुरदृष्टिबाट अब कसरी बच्ने भन्ने त्रासले सबै पहाडी राज्यका राजाहरूबीच हल्ली-खल्ली मच्चियो।
त्यतिवेला गोरखा राज्यमा राजा पृथ्वीपति शाह (वि.सं. १७३४-७३) को राज्यकाल चलिरहेको थियो। यिनले स्वयं अग्रसर भई गोरखा, कान्तिपुर, भक्तपुर र ललितपुरका साथै आफ्ना प्रतिस्पर्धी लमजुङ राज्यका राजालाई समेत सहमत गराएर सबै देशका सैनिकहरूलाई एकत्रित गरी मकवानपुरको सहयोगमा पठाएका थिए। संयोगवश यसैवेला दक्षिणी भारतबाट राजधानी दिल्लीतर्फ फर्कंदा बीच बाटोमै बादशाह औरङ्गजेबको देहान्त भएपछि उनको उत्तराधिकारको निमित्त आफ्नै छोराहरूबीच लडाइँ-झ्गडा चलेकाले मित्र-राज्यका सैनिकहरूले मुगलहरूसँग लडाइँ लड्नु परेन। तर, गोरखाली सेनानायकहरूले यो अवसरलाई छिमेकी राज्यका सैनिकहरूको आत्मबल, बुद्धि र युद्धकौशलहरूको सूक्ष्म अध्ययन गर्न उपयोग गरे र अन्ततः आफ्नै गोरखाली सेनालाई उम्दा पाए।
गोरखाली सेनानायकहरूको यस्तो अनुभव सुनेपछि राजा पृथ्वीपति शाहमा काठमाडौं उपत्यकाभित्रका मल्ल राज्यहरूसहित सबै पहाडी राज्यलाई एकीकरण गरेर आफ्नो नेतृत्वमा एउटा शक्तिशाली राष्ट्रको गठन गर्न सके मुगल प्रशासकका क्रुर दृष्टिबाट बच्न सकिँदो हो भन्ने सोच पलाएको थियो। तर यतिञ्जेलसम्ममा आफू निकै वृद्ध भइसकेकाले यिनले सो चाहना पुरा हुनसक्ने अवस्था बनेन। यीनका उत्तराधिकारी नवयुवराज नरभूपाल शाहबाट पनि उनको चाहना पूरा हुन सकेन। बरु राजा नरभूपाल शाहका जेठा छोरा युवराज पृथ्वीनारायण शाह अत्यन्त महत्वाकाङ्क्षी भएर निस्किए। पिता नरभूपाल शाह मानसिक रोगबाट आक्रान्त भएकाले किशोरावस्था पार गर्नेबित्तिकै यिनीमाथि राज्यका विशेष जिम्मेवारीहरू आइपरेका थिए। १७ वर्षको कलिलो उमेरमै यिनी गोरखा राज्यको चिरशत्रु लमजुङ राज्यका राजासँग मैत्रीसम्बन्ध स्थापित गर्न सफल भएका थिए।
राजा नरभूपाल शाहले कान्तिपुर राज्यका केही भू-भागमाथि नियन्त्रण स्थापित गरेर आफ्नो राज्यलाई विशेष शक्तिशाली बनाउने केही असफल प्रयासहरू गरेका थिए। पृथ्वीनारायण शाहले पनि राजा हुनेबित्तिकै पिताकै अनुकरण गरी कान्तिपुर राज्यको नुवाकोटमाथि आक्रमण गरे, तर सफल हुन सकेनन्। यसबाट चानचुने हिसाबले उपत्यकाभित्रका मल्ल राज्यमाथि नियन्त्रण स्थापित गर्न सम्भव छैन भन्ने बुझ्ेर २१ वर्षको उमेरमै उनी तीर्थयात्राको बहाना गरी अत्याधुनिक हातहतियारको खोजीमा काशीतर्फ लागे।
त्यतिवेला भारतमा पुराना राज्यको विघटन र नयाँ-नयाँ राज्यहरूको उदय भइरहेको थियो। त्यहाँको छोटो बसाइमै नेपालका राज्यलाई एकीकरण गरेर एउटा शक्तिशाली राष्ट्र नबनाउने हो भने अब तिनको अस्तित्व धेरै दिन टिक्ने छैन भन्ने यिनलाई राम्रोसँग बोध भयो र यिनी नेपाल अधिराज्यको एकीकरणको सैनिक अभियानमा सक्रियतापूर्वक लागे र क्रमशः सफल हुँदै गए। राजनीतिक रूपमा अलग-अलग राज्य भए पनि समान भूगोल, भाषा र सामाजिक परिवेशले गर्दा सबै पहाडी राज्यका नागरिकले आफूहरूलाई एउटै राष्ट्रका नागरिकका रूपमा सम्झ्ँदै आइरहेकाले पृथ्वीनारायण शाह तथा यिनका सहयोगीलाई नेपाल अधिराज्यको एकीकरणको निमित्त खासै कठिनाइ भएन। एकीकृत राज्यका नागरिकहरूले पनि आफूहरूलाई पराधीन राज्यका नागरिकको रूपमा लिएनन्।
एकीकरण-अभियानको क्रममा वि.सं. १८१९ मा मकवानपुर राज्यमाथि गोरखा राज्यको नियन्त्रण स्थापित भयो। यसबाट रुष्ट मकवानपुरका दिवान वा मन्त्री काजी कनकसिंह बानियाँले सहयोगकालागी बोलाएको मुर्सिदावाद रियासतका नवाव मीर कासिमका जनरल ग्रेगरी वा गुरगिन खानको नेतृत्वको सैनिकहरूलाई गोरखालीहरूले नराम्रोसँग हराएर धेरै हातहतियार हात पारे। यसबाट गोरखा राज्य यस क्षेत्रमा एउटा अजेय शक्तिको रूपमा स्थापित भयो।
यसको चार वर्षजति पछि गोरखाली सैनिकहरूले ललितपुर राज्यको कीर्तिपुर शहर नियन्त्रणमा लिए र तीनवटै मल्ल राज्यका राजधानीहरूमाथि कडा नाकाबन्दी लगाए। यस्तो अवस्थामा कान्तिपुरका राजा जयप्रकाश मल्लले यहाँ कार्यरत क्रिश्चियन पादरीहरूको सहयोगमा कम्पनी सरकारका अङ्ग्रेज सैनिकहरूलाई गोरखाली सैनिकविरुद्ध लड्न भनी बोलाएकाले कप्तान किन्लाकको नेतृत्वमा दुईहजारजति अङ्ग्रेज सैनिक नेपाल आए। तिनताका अङ्ग्रेज सैनिकहरूसँग “जाई कटक नगर्ने, झ्िकी कटक गर्ने” अर्थात् तराईक्षेत्रमा र्लिएर लडाइँ नगर्ने, पहाडी क्षेत्रमा सहजै आउन दिएर मात्र उनीहरूमाथि आक्रमण गर्ने पृथ्वीनारायण शाहको युद्धनीति थियो। यसै नीतिअनुसार उनले अङ्ग्रेजहरूलाई सिन्धुलीगढीसम्म सजिलै आउन दिई पौवागढीको आसपासमा जोडदार आक्रमण गरेर तहसनहस पारी उनीहरूका सयौँ बन्दूक हात पारे।
मुगल तथा अङ्ग्रेज सैनिकहरू आफ्ना अभियानमा सफल भएका भए उनीहरू सहजै काठमाडौँ उपत्यकासम्म नै आइपुग्ने थिए र गोरखाली सैनिकहरूसँग तिनीहरूको कडा मुकाबिला हुने थियो। त्यतिवेला गोरखा-राज्यको अस्तित्व तत्कालका निम्ति येनकेन जोगिए पनि यहाँका तीनवटै मल्ल-राज्यका साथै विजयपुर, मकवानपुर र बाइसे-चौबीसे राज्यहरू सबै सहजै कम्पनी-सरकारको आश्रयमा पुगी विलीन हुने थिए र नेपाल नामक सार्वभौमसत्ता-सम्पन्न स्वतन्त्र राष्ट्रको जन्म नै हुने थिएन।
राजा पृथ्वीनारायण शाहलाई यदाकदा साम्राज्यवादी शासकका रूपमा चित्रित गर्ने गरिएको पाइन्छ। यो यिनीमाथिको मिथ्या आरोप हो। यिनले पुरानो नेपाल राष्ट्रलाई समृद्ध र शक्तिशाली मात्र बनाएका हुन्, आफ्नो साम्राज्यको विस्तार गरेका होइनन्। आफूले एकीकरण गरेका अधिराज्यका नागरिकमाथि उनले कत्ति पनि भेदभाव राखेका थिएनन्। समयमै राजा पृथ्वीनारायण शाह तथा उनका सहयोगीहरूले नेपाल अधिराज्यको एकीकरण अभियान सञ्चालन नगरिदिएका भए एशिया महाद्वीपका सम्पूर्ण मुलुकहरू अङ्ग्रेजहरूको उपनिवेशवादको दलदलमा फँसेको बेला यहाँका स-साना पहाडी राज्यहरूको हबिगत कस्तो हुँदो हो, सहजै अनुमान गर्न सकिन्छ।
जीवनकालको अन्त्यमा आफ्ना भाइ-भारदारको निमित्त दिएको उपदेशमा राजा पृथ्वीनारायण शाहले आफूले एकीकृत गरेको नेपाल अधिराज्यलाई “यो मैले साना दुःखले आर्जेको मुलुक होइन, सबैको साझ्ा फूलबारी हो; चार-वर्ण छत्तीस-जात सबैलाई यस कुराको चेतना भया” भनी गर्वपूर्वक अभिव्यक्ति दिएका छन्। यिनको यही एउटा अभिव्यक्तिले मात्र पनि यिनले सञ्चालन गरेको एकीकरण अभियानको औचित्यलाई प्रमाणित गर्दछ।
No comments:
Post a Comment