Monday, August 16, 2010

चरित्रहीन चेलीहरूको नयाँ अवतार

घोषणा फेब्रुअरी २००७

हामी भूमिगत चरित्रहीन चेलीहरूबाट विभाजित भई बनेको कट्टरपन्थी समूह हौं र हामी नेपाली महिलाको स्वायत्तता घोषणा गर्र्छौं ।

हाम्रो विभाजित समूह- झन् चरित्रहीन चेली, मूल चरित्रहीन चेलीको स्पष्ट विरोध गर्छ ।

‘हाम्रो माउ समूहका चेलीहरूले पर्याप्त मात्रामा खराब कार्य गरेनन्’, झन् चरित्रहीन चेली समूहकी एक सदस्य भन्छिन् । ‘अधिकांशको हुर्केका छोराछोरीसहितको सुखी दाम्पत्य जीवन छ । दुइटी चेलीका ब्वाइफ्रेन्ड छन्- भन्नाले प्रत्येकको एउटा, दुवैको एउटै होइन ∕ अर्की एउटीले त पुरुषलाई मनैपराउँदिनन्, नत महिलालाई नै’ उनको गुनासो छ । ‘उदाहरणका लागि २००५ को ‘कू’पछि प्रजातन्त्र पुनःस्थापना नभएसम्मका लागि ‘सेक्स’ बहिष्कारको आह्वान गरिएको थियो, तर उनीहरूले अप्रिल २००६ पछि पनि बहिष्कार फिर्ता लिन बिर्सिए । हामी यसलाई गम्भीर षडयन्त्रका रूपमा लिन्छौं’, उनले थप व्याख्या गर्दै भनिन्- ‘त्यसकारण हामी विभाजित भई आफ्नै भूमिगत समूह सञ्चालन गर्नुपरेको हो ।’

झन् चरित्रहीन चेलीहरूको पहिलो बैठक काठमाडौंको एउटा भट्टीमा मध्य फेब्रुअरीमा सम्पन्न भएको थियो ।

हाम्रो माउ समूहले मार्च ४, २००५ मा उनीहरूको आधिकारिक मुखपत्र ‘नेपाली टाइम्स’ र ‘कान्तिपुर’ जुन आकर्षक पुरुषहरूले सम्पादन गर्दै आएका छन्, मार्फ् र्सार्वजनिक ४० बुँदे घोषणापत्रको पुनरावलोकन (हेरौं, कान्तिपुर २२ फागुन २०६०) गरेका छौं । हामीले ४० बुँदालाई एकदमै राम्रो पाएका छौं, विशेषगरी बुँदा नं १, जसले हाम्रो चाहना र आवश्यकताका आधारमा आफैंले एजेन्डाहरूलाई अघि सार्ने हाम्रो अधिकारलाई प्रत्याभूत गरेको छ ।

‘माउ समूह पूरै खराब थिएन’, एक सदस्यले स्वीकार गरेको सुनियो ।

हाम्रो माउ समूहका ४० बुँदे घोषणालाई पुनः स्वीकार गर्दै हामी अन्य समसामयिक विषयहरू लिएर अघि बढेका छौं । हाम्रा १२ बुँदे घोषणाहरू निम्नअनुसार छन् :

१. प्रेम गर, प्रतिगमन होइन । हामी माउ समूहले सन् २००५ मा गरेको सेक्स बहिष्कार आमरूपमा समाप्त भएको घोषणा गर्र्छौं । यो सन् २००६ अप्रिलदेखि नै लागू भएको छ, तर यो लोकतन्त्रको पक्षमा भएकाहरूका लागिमात्र हो ।

२. भिजन ५०/५० : संसदमा लिङ्ग (पुरुष) को अन्त्य ∕ विविध पृष्ठभूमिका ५० प्रतिशत महिलाका लागि संसद्मा स्थान सुरक्षित नगरिएसम्म विविध पृष्ठभूमिका महिलाले संसद्को शतप्रतिशत स्थान लिने घोषणा गर्र्छौं । यो सबै सरकारी निकायमा लागू हुनेछ ∕ ५० प्रतिशत ∕ नभए ! पूरै उरोज !

३. विदेशी ज्वाइँलाई अंगीकृत नागरिकता ∕ हाम्री एक वीरांगना चेलीले एउटा विदेशी पुरुषसँग विवाह गरेर आफ्नो स्वतन्त्रतालाई (छोटो समयका लागि) बलिदान गर्न तत्पर भएकी छिन्, केवल विदेशी ज्वाइँका लागि पूर्ण अंगीकृत र नागरिक अधिकारका लागि । कृपया योग्य उम्मेदवारहरूले आफ्नो वैयक्तिक विवरण, तस्वीर र तथ्यांकसहित आवेदन गर्नुहोला ।

४. ४० निश्चय नै ३३ भन्दा उत्तम हो ∕ हामी आफ्नो संसदीय स्थानमा ४० प्रतिशत महिलाद्वारा पूर्ति गरेकोमा नेकपा (माओवादी) को प्रशंसा गर्र्छौं । तर किन ५० प्रतिशत नगर्ने ?

५. खैरो कोटसँग के ? हामीले के पाएका छौं भने माओवादी महिलाहरूले पार्टीले रटाएका लाइनलाई मात्र दोहोर्याउन मुख खोल्ने गरेका छन् । भद्र महिलाहरू, हामी तिमीहरूलाई आफ्नो व्यक्तित्व पार्टी कमाण्डबाट मुक्त गर्न आह्वान गर्र्छौं । आफूलाई लागेको कुरा स्वतन्त्र भएर बोल । अन्यथा तिमीहरूले सुगारटाइमात्र गरिरहनेछौ । त्यस्तो घिनलाग्दो कोटबाट मुक्त हुन थालिहाल ।

६. कोर्ट (ह्वीप) हिंसामार्गी अभद्र पुरुषहरूलाई ∕ सबै राजनीतिक पार्टका महिलाहरू, महिलालाई अधिकार नदिने तिम्रो पार्टीले लगाएको ह्वीपलाई अस्वीकार गर । तिम्रो पार्टीका पुरुषहरूले निर्धारण गरेका ‘बढी महत्त्वपूर्ण’ एजेन्डाका निम्ति हाम्रो अधिकारको बलिदान नगर । तिमीलाई थाहा हुनुपर्छ, फेरि पनि उनीहरूले हामीमाथि विश्वासघातमात्र गर्छन् ।

७. नयाँ नेपालका लागि नयाँ नेतृत्व ∕ हामी रामकुमारी झाँक्रीलाई नेपालको पहिलो राष्ट्रपतिमा मनोनयन गर्र्छौं ।

८. राष्ट्रिय महिला आयोगलाई संवैधानिक अंगमा परिणत गर । तर पहिले संवैधानिक परिषद् -जसले सबै संवैधानिक अंगहरू निर्माण गर्छ) का ५० प्रतिशत स्थान महिलाद्वारा पूर्ति गर । होइन भने शतप्रतिशत स्थान पूर्ति गर । ५० प्रतिशत ∕ नभए पूरै उरोज ∕

९. हेल्लो ! ओएचसीएचआर ! कति वर्षछि एउटा मुद्दामा पुर्पक्ष हुन्छ ? मैना सुनुवारको सैन्य हिरासतमा भएको यातना र मृत्युको मुद्दालाई उपयुक्त किसिमले हेर्न माग गर्र्छौं । मुद्दा प्रहरीमा दायर गरिएको छ र उनीहरूले सेनालाई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेका छन्, तर १६ वटा पत्रको पनि कुनै जवाफ छैन । राजदूत मोरिआर्टीले हालैमात्र मैनाको लास राखेको ब्यारेकको भ्रमण गरेका छन्, सम्भवतः सैन्य ब्यारेकको भ्रमणका आधारमा उनलाई गुह्य थाहा हुनसक्छ । उनले सेनालाई जवाफदेही बनाउन सक्छन् कि ?

१०. नबिर्र्सौं, संसारको चक्र कसरी चल्छ ∕ हामी ब्लु डाइमन्ड सोसाइटीका सुनीलबाबु पन्तलाई नेपालको निर्विरोध सबैभन्दा सेक्सी पुरुष घोषणा गर्र्छौं ।

११. दाताहरू र्फक । हाम्रा योग्य महिलाहरूलाई महिला आन्दोलनको नेतृत्व गर्नबाट तिम्रा परियोजना, सञ्जाल र गठबन्धनहरूले व्यस्त तुल्याएका छन् । र्फक ! तिम्रो देशलाई प्रतिवेदनका निम्तिभन्दा बढ्ता उनीहरूको देशका लागि उनीहरूको आवश्यकता छ ।

१२. छोड, छोड, छोड । हाम्रा सबै माग मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवससम्ममा पूरा गर्न माग गर्र्छौं, अन्यथा हामी राष्ट्रव्यापी चुल्हो र चोलो बन्दको घोषणा गर्र्छौं । ठीक छ, ठिटा हो ! तिमीहरूलाई खाना बन्द, सेक्स बन्द । केही खुल्दैन । केही पनि । माग पूरा नभएसम्म कुनै आनन्द पाउने छैनौ ।

निष्कर्षमा, हामीभन्दा अघिका सफल विद्रोही समूहहरूले देखाएको दृष्टान्त अनुरूप, सरकारले हामीलाई वार्ताका लागि आमन्त्रण गरे र्सार्वजनिक हुने घोषणा गर्र्छौं ।

जय नारी !
झन् चरित्रहीन चेलीहरू !!

No comments:

Post a Comment