Monday, August 30, 2010

तामाकोसी तेस्रो जलविद्युत् आयोजना निर्माण हुने

दोलखा ११ भदौ । दोलखा जिल्लामा एक पछि अर्को ठूला जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । कतिपय आयोजनाहरू सम्पन्न हुने क्रममा छन् भने कतिपय निर्माणको क्रममा रहेको बेला नर्बेजियन कम्पनी एसएन पावरले ८ सय ८० मेगावाटको तामाकोसी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो । आगामी सन् २०१२ वाट निर्माण सुरु गर्ने गरी काम भइरहेको एसएन पावरका कन्ट्री डाइरेक्टर तथा तामाकोसी तेस्रो आयोजनाका प्रोजेक्ट डाइरेक्टर डा. सन्दिप साहले बताउनुभयो ।

दोलखाको सदरमुका चरिकोटमा आयोजित एक कार्यक्रममा साहले आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव अध्ययन -ईआए) पूरा भएको र चालु वर्षको अन्त्यसम्ममा सरकारसँगको सम्झौता प्रक्रिया पूरा गरी सन् २०११ को जुलाई सम्ममा विस्तृत इन्जिनियरिङ डिजाइन गरिने जानकारी दिनुभयो । कन्ट्री डाइरेक्टर डा. साहले आगामी सन् २०१२ को मार्च महिना सम्ममा बित्तीय व्यवस्थापन गर्ने गरी एसएन पावरले एसियाली विकास बैङ्क, एसियन डेभलप्मेन्ट बैङ्क लगायतका विदेशी बैङ्कहरूसँग लगानीको प्रस्ताव गरी सकिएको बताउनुभयो ।

एसएन पावरले वित्तीय व्यवस्थापन भए लगत्तै सन् २०१२ बाट निर्माण कार्य सुरु गरी स्न २०१७ सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आंशिक जलाशययुक्त तामाकोसी तेस्रो आयोजनाको कुल लागत १ खर्बर् १२ अर्ब ५० करोड रुपियाँ रहेको छ । यो आयोजनामा १५ देखि २० प्रतिशतसम्म लगानी गर्न नेपाल सरकारलाई आग्रह गरि सकिएको जानकारी दिँदै कन्टी्र डाइरेक्टर साहले स्थानीयवासीको सेयर लगानीको मोडल भने छलफल पछि टुङ्गो लगाउने जानकारी दिनुभयो । दोलखाको बुस्तीमा ९६ मिटर अग्लो बाँध निर्माण गरी १३ दशमलव ५ किलो मिटर सुरुङ मार्गमार्फत मालु गाविसमा भूमिगत विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिने एसएन पावरका इन्जिनियरिङ प्रवन्धक भुवन ढकालले जानकारी दिनुभयो ।

यसैगरी तामाकोसी तेस्रो आयोजनाका सामुदायिक विकास प्रबन्धक सुमन बस्नेतले आयोजना निर्माणको सुरुवातसँगै प्रभावित क्षेत्रमा सामुदायिक विकास र सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो । दोलखामा तामाकोसी तेस्रो जलविद्युत् आयोजना बन्ने हो भने सन् २०१७ सम्ममा दोलखाबाट मात्रै करिब १३ सय ८० मेगावट विद्युत् उत्पादन हुनेछ ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी स्वदेशी आयोजनामा निर्माण सुरु भए लगत्तै नर्बेजियन कम्पनी एसएन पावरले ८ सय ८० मेगावाटको तामाकोसी तेस्रो जनव्ािद्युत् आयोजना निर्माण गर्ने लागेकोमा धेरै खुसी लागेको दोलखाको माली गाविसका होमबहादुर खड्काले बताउनुभयो । उहाँले निर्माणाधीन आयोजनामा निम्न स्तरका जनतालाई सेयर दिनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment