Tuesday, August 31, 2010

हाइड्रो क्षेत्रको सेयर

सरोज अधिकारी


नेपालमा सेयरमा लगानी गर्ने भन्ने बित्तिकै बैङ्क तथा वित्तीय क्षेत्रको सेयरमा लगानी भन्ने कुरा आम लगानीकर्ताको मानसिकता रहँदै आएको छ । कुनै पनि मुलुकको अर्थतन्त्रको स्पस्ट अवस्थाको बयान गर्न त्यस मुलुकको सेयर बजारलाई हेरे हुन्छ भन्ने मान्यताले सेयर बजारलाई अर्थतन्त्रको ऐना मानिने गरेको छ । सेयर बजारमा सूचिकृत उद्योग, व्यवसाय, बीमा, होटल आदिबीच बैङ्क तथा वित्तीय संस्था पनि भेटिन्छन् तर नेपालमा भने बैङ्क तथा वित्तीय संस्था नै प्रमुख रूपमा हुनुमा त्यसले विगतमा दिएको राम्रो प्रतिफल र नियमनकारी निकायको राम्रो अनुगमनले लगानीकर्तामा विश्वास बढनु हो ।

हुनत नेपालमा बीमा क्षेत्रको सेयरले पनि फड्को मार्दै गरेको अवस्था छ र त्यसका लागि नियमनकारी निकाय बीमा समितिको भूमिका पनि सशक्त बन्दै आएको छ ।

नेपालमा जलस्रोतमा आधारित ऊर्जाको सम्भावना ज्यादै छ । यस्तो अवस्थामा नेपाली सेयर बजारमा जलविद्युत्मा आधारित ऊर्जा उत्पादन गर्ने कम्पनीको हिस्सा निकै ठूलो रहनुपर्ने हो तर त्यस्तो हुनसकेको पाइँदैन । जलस्रोतलाई ऊर्जामा परिणत गर्नका निकै धनराशि आवश्यक पर्ने कुरा पनि सही हो । त्यसका लागि सरकारको एक्लो प्रयासबाट मात्र सम्भव नभएको सन्दर्भमा स्वदेशी तथा विदेशी लगानी आकषिर्त गर्ने रणनीति आवश्यक छ । विगतमा जलविद्युत् क्षेत्रमा भएको लगानीको प्रतिफल सही मात्रामा त्यसका सेयर लगानीकर्ताले पाउन नसक्नुले थप लगानी गर्ने कुरामा लगानीकर्ताको ठूलो विश्वास बन्ने वातावरण देखिँदैन ।

जलस्रोतमा आधारित ऊर्जा विकासका लागि सेयरमार्फत लगानी आकषिर्त गर्ने कुरा महìवपूर्ण भए पनि हाल सेयर बजारमा सूचिकृत कम्पनीहरू नेसनल हाइड्रो, बुटवल पावर, चिलिमे जलविद्युत् र अरूणभ्याली जस्ता जलविद्युत् उत्पादनको क्षेत्रमा लागेका कम्पनीहरूले लगानीको तुलनामा उचित प्रतिफल दिन नसकेको गुनासो लगानीकर्ताको रहँदै आएको छ । जलविद्युत् क्षेत्रका सेयर निष्कासन गरेका कतिपय संस्थाका सञ्चालक भने दिनानुदिन मोटाउने तर लगानीकर्ता भने दु्ब्लाउने अवस्था छ भने कतिपय भने विवादको घेरामा परेको छ यस्तो परिस्थितिमा राम्रा ठहरिएका कम्पनीले पनि नयाँ जलविद्युत् सुरु गर्ने सपना बाँड्ने र केही नगद दिन बाहेक अरू केही गर्न सकेको देखिँदैन ।

सो क्षेत्रका कम्पनीहरूको कुरा गर्दा चिलिमे हाइड्रो निकै आकर्षक कम्पनी मानिए पनि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विषयमा देखिएको विवाद र सो विवादको निरन्तरताले लगानीकर्ताले लाभांश लिनेबाहेकको उचित प्रतिफल पाउन सकेको अवस्था देखिँदैन । त्यसैगरी बुटवल पावर कम्पनी र अरूणभ्यालीले पनि अपेक्षाकृत प्रतिफल दिनसकेको अवस्था छैन । त्यसमा पनि नेसनल हाइङ्रो जस्तो कम्पनी, जसले सेयर निष्काशन गर्दाको अवस्थामा पानीमा सुन फलाउने सपना बाँडेको थियो सो कम्पनीले लगानी कर्तालाई निकै निराश पारेको कारण आगामी दिनमा जलस्रोत क्षेत्रको सेयरमा लगानी आकषिर्त गर्ने कुरा निकै अप्ठ्यारोमा पर्ने देखिन्छ ।

'हाइड्रा'े सञ्चालन गर्ने कम्पनीको चलखेलको अवस्था हेर्दा भने गतिलो नियमनकर्ताको अभावमा आम्दानी प्रशस्त हुँदाको अवस्थामा पनि खर्च आम्दानीकै अनुपातमा देखाउनका लागि विभिन्न प्रकारका मर्मत गर्नुपरेको, सामानहरू किन्नु परेको र सञ्चालन खर्च बढेको देखाउने र नाफा न्यून देखाउने गर्नाले लगानीकर्ताले उचित प्रतिफल लिन नसकेको स्पष्ट देख्न सकिन्छ ।

त्यसैगरी नियमनकर्ताको अभावमा जम्मा भएको आम्दानी सेयर लगानीकर्तालाई बाँडेर आकषिर्त गर्नुको साटो नयाँ नयाँ जलविद्युत् योजनाको निर्माणलाई निरन्तरता दिने सपना बाँडेर लगानीर्तालाई ज्यादै न्यून प्रतिफल दिने गरेको पाइन्छ ।

नियमनकर्ताको अभावमा विद्युत् बिक्रीबाट भएको आम्दानीलाई मनपरी खर्च गर्ने क्रम जारी नै देखिन्छ भने नयाँ विद्युत् आयोजनमा लगानी गर्नेका नाममा हकप्रद सेयर बिक्रीबाट थप रकम जम्मा गर्ने र नयाँ आयोजनाको निर्माणको क्रममा राम्रो आम्दानी गर्नमा हाइड्रो क्षेत्रका सेयर जारी गर्ने कम्पनीका सञ्चालक तथा उच्च तहका कर्मचारी त सफल भएकै होलान् तर सेयरमा लगानी गर्नेलाई प्रतिफल खोइ ?

हाइड्रोको सेयरमा लगानी गर्नेको प्रतिफलको कुरा गर्दा नयाँ योजना बनेपछि कम्पनीले थप प्रतिफल दिने सपना बाँड्ने बाहेक राम्रो आम्दानी गर्नसेकेको अवस्था छैन ।

सरकारले मुलुकको ऊर्जा सङ्कट न्यून गर्दै जाने सिलसिलामा जलविद्युत्मा आधारित ऊर्जाको उत्पादन बढाउनका लागि यस क्षेत्रमा लगानी बढाउने रणनीतिलाई सफल बनाउने हो भने हाइड्रो पावर क्षेत्रमा लगानी गर्ने र सेयर निष्काशन गर्ने संस्थाको दरिलो अनुगमनको व्यवस्था तत्काल गर्नुपर्ने र हरेक हरहिसाब पारदर्शी बनाउँदै राम्रो प्रतिफल दिलाउने अवस्थामा पुर्‍याउन आवश्यक देखिन्छ । सरकारले नियमन बलियो पार्न नसक्ने हो भने हाइड्रो क्षेत्रमा लगानी गर्ने कुरामा निराशा आउनेछ जसले मुलुकको सेयर बजारमा मात्र होइन ऊर्जा विकासको गतिमा पनि 'मन्दी' आउने निश्चित छ ।

No comments:

Post a Comment