Monday, August 16, 2010

यौन र यौनिकता

हामी टेलिभिजनमा सिरियल हेर्न व्यस्त थियौं । कोठामा ९ वषर्या बालिका आफ्नो बालसुलभ चरित्रअनुरूप एक्लै खेलिरहेकी थिइन् । यसै क्रममा उनको दृष्टि कुनातिर रोल गरेर राखेको एउटा पुरानो पोस्टरमा पर्‍यो । बालिकाले त्यो पोस्टर खोलेर हेरिन् । पोस्टरमा यो संसारमा राम्रो काम गर्ने मानिसले मरेपछि परलोकमा कस्तो सम्मान पाउँछ तथा नराम्रो काम गरेपछि कस्तो सजाय भोग्नुपर्छ भन्ने सचित्र जानकारी दिइएको थियो ।

तस्बिरमा उल्लेखित विभिन्न काम तथा मृत्युपछि भोग्नुपर्ने परिणाममध्ये एक कर्म परस्त्रीगमन रहेछ । उक्त काम गर्ने व्यक्तिले परलोकमा भोग्नुपर्ने सजायका विषयमा त्यही तस्बिरको दायाँ कोलममा देखाइएको थियो । सजाइएको तस्बिरमा ठूलाठूला सिङ तथा दाह्रासहितको अजङ्गको यमदूतले एक पुरुषलाई उल्टो पारी ठूलो कराहीमा माछा तारेझैं टाउको चोप्न लागेको थियो ।

बालिकाले राम्रोसँग तस्बिर हेरिन् । त्यसमा लेखिएका कुरा पनि पढिन् अनि मनमा उब्जिएका जिज्ञासा मेटाउन आफ्नी आमालाई कोट्याइन्-'आमा, परस्त्रीगमन भनेको के हो ?'

आमाले बालिकाको कुरामा वास्ता राखिनन् । त्यसपछि बालिकाले फेरि आफ्ना कुरा नसुन्ने आमाको नजिक गएर फेरि सोधिन्-'भन्नुहोस् न आमा, परस्त्रीगमन भनेको के हो ? '

यसपटक आमाले टर्रो भाषामा छोरीको प्रश्नको उत्तर दिइन् 'केही होइन चुप लाग'

आमाले थर्काउँदैमा बालिकाको मन किन शान्त हुन्थ्यो र ? यस्तो डरलाग्दो सजाय के काम गर्दा हुँदोरहेछ भनेर जान्ने इच्छा बालिकाको मनमा सल्बलाई रह्यो । उनले फेरि आमासँग उही कुरा सोधिन् । बालिकाको प्रश्नले वाक्क भएकी आमाले उनको गालामा एक झापड दिँदै भनिन्-'तेरो टाउको हो ।' पिटाइको चोटले बालिका रुन थालिन् । उक्त घटनाप्रति मेरो प्रतिक्रिया सुनेपछि ती महिलाले भनिन्-'केटाकेटीलाई छाडा बनाउनु हुन्न दिज्यू । छिमेकीमा के घटना घट्यो हजुरलाई थाहै छ नि ....।'

केही समयअघि यही टोलकी १७ वषर्या किशोरी राति सुतेकै अवस्थामा मरिन् । मानिस मर्नुका धेरै कारण हुन्छन् । ती महिलाको विचारमा मर्ने किशोरी उत्ताउली थिइन् । विवाहअघि भएको गर्भधारणका कारण उनी आत्महत्या गर्न विवश भएकी थिइन् । केटाकेटीलाई छाडा बनाउँदा यही परिणाम आउँछ । उनको छाडापनको परिभाषा मैले बुझिन तर उनी भन्दै थिइन्, यौनसँग सम्बन्धित कुरामा केटाकेटीलाई अनभिज्ञ राख्नुपर्छ नत्र उनीहरू बिग्रन्छन् । आमाबुवा एवं कुलको नाक काट्छन् ।

हाम्रो समाजका यौनप्रतिको धारणा कस्तो छ भन्ने कुरा उल्लिखित सानो घटनामा बताइएको छ । समाजमा मानिस यौन तथा यौनसँग सम्बन्धित शब्द उच्चारण गर्न असजिलो मान्छन् । हाम्रो मूल्य-मान्यताअनुसार यौनलाई अश्लील एवं गोप्य मानिन्छ । कतिपय मानिस रिसले यौनजन्य शब्द प्रयोग गर्छन् । यसबाट के स्पष्ट हुन्छ भने यौन तथा यौनिकतालाई हाम्रो समाजले निम्न स्तरमा राखेको छ ।

यौन तथा यौनिकता व्यक्तिको जन्मदेखि सुरु भएर मृत्युसम्मका विभिन्न क्रियाकलापसँग सम्बन्धित हुन्छ । हाम्रो समाजले भने यसलाई केवल यौन सम्पर्कमा मात्र सीमित राखेको छ । यौन सम्पर्क व्यक्तिको व्यवहार हो । यसले एउटा निश्चित क्रियाकलापलाई मात्र संकेत गर्छ तर वास्तविक यौन तथा यौनिकता यतिमा मात्र सीमित छैन । यसले ठूलो क्षेत्र ओगटेको छ । मानव यौनिकताले जीवजन्तु, कीरा फट्याङ्ग्राको जस्तो यौन क्रियाकलापलाई मात्र नभई मनोवैज्ञानिक प्रतिक्रियाहरूलाई पनि समेटेको छ । केटा वा केटीको जैविक, शारीरिक तथा भावनात्मक परिवर्तन के कस्ता हुन्छन्, महिनावारी के हो ? यौनसम्पर्कको परिणाम के हुनसक्छ ? यौनदुराचार के हो ? यसबाट बच्ने उपाय के हो ? यौन सम्बन्धका फाइदा बेफाइदा । यस सम्बन्धमा अपनाउनुपर्ने सावधानी के हुन् ? व्यक्तिले आकर्षक व्यक्तित्व कसरी बनाउने ? परिवार तथा साथीसँग सुसम्बन्ध कामय राख्न के-कस्ता गुण चाहिन्छन् आदि सम्पूर्ण कुरा समेटेको हुन्छ ।

यौन शिक्षाले यौनाङ्गको बनावट तथा क्रियाहरूका सम्बन्धमा मात्र नभएर किशोरावस्थामा देखापर्ने परिवर्तनहरू -शारीरिक परिवर्तन, संवेगात्मक वा भावनात्मक परिवर्तनहरू, यौन इच्छा वा उत्सुकताको वृद्धि मानव प्रतिष्ठा अन्तरव्यक्ति सम्बन्ध परिवारमा भूमिका परिवर्तन, परिवार तथा समाजमा महिलाको स्तर महिला तथा पुरुषबीच जिम्मेवारीपूर्ण सम्बन्ध, यौन सम्बन्धमा एक-अर्काबीच समझदारी आदि सम्पूर्ण कुराको पनि जानकारी दिन्छ ।

यौन तथा यौनिकतासम्बन्धी ज्ञान भए व्यक्तिले आफ्ना भावना तथा यौन आवश्यकताहरू सही स्थानमा सही तरिकाबाट व्यक्त गर्न सक्छन् । यौन शिक्षा पाएका व्यक्ति यौन सम्पर्कलाई आफ्नो अधीनमा राख्न सक्छन् । यस्ता व्यक्तिले कहिल्यै अर्काको इच्छा विपरीत यौन सम्पर्क राख्दैनन् ।

यौन तथा यौनिकताको ज्ञान किन ?

किशोरावस्थामा प्रवेश गर्नु भनेको शारीरिक रूपले परिपक्व हुने क्रम सुरु हुने मात्र नभएर किशोर-किशोरीहरूको मनमा यौनसम्बन्धी भावना, बानी-बेहोरा, लवाइ-खवाइ र दृष्टिकोणमा आउने परिवर्तन पनि हो । यौवनावस्थामा पुगेपछि किशोर-किशोरीहरू आफ्नो यौनिकताप्रति जागरुक हुन थाल्छन् । यो अवस्थामा मानिसले अरूका बारेमा यौनिक कल्पना गर्छ । उनीरूमा यौन सम्पर्क गर्ने चाहना पनि जाग्न थाल्छ तर यौनसम्पर्क आफैमा एक जटिल कार्य हो । विचार नपुर्‍याई गरिने यौन सम्पर्कले खतरनाक परिणाम दिन्छ । त्यसैले किशोरावस्थामा पुगेका हरेक केटाकेटीले यौन तथा यौनिकतासम्बन्धी सामान्य

ज्ञान पाउनुपर्छ ।

किशोरावस्थाका केटाकेटीमा साधारणतया शारीरिक तथा मानसिक विकास परिपक्व भैसकेको हुँदैन । यो समयमा उनीहरूका मनमा अनेकौं जिज्ञासा आउँछन् । आफ्नो जिज्ञासा र समस्यालाई प्रस्ट रूपमा अभिभावकसमक्ष राख्ने परम्परा तथा वातावरण हाम्र्रो समाजमा नभएका कारण किशोर-किशोरीले आफ्ना लागि के गर्दा राम्रो हुन्छ र के गर्नु बेठीक हो भन्ने कुरा ठम्याउन सक्दैनन् । हाम्रो सामाजिक मूल्य-मान्यताअनुसार केटाकेटीले यौनसम्बन्धी जिज्ञासा आमाबुवा वा आफूभन्दा ठूलो कसैसँग सोध्न सक्दैनन् । अबोध बालबालिकाले समेत कुनै जिज्ञासा राखे सजायको भागिदार हुने यो समाजमा उमेरको हार्मोनले मनमा ल्याएको खुल्दुली कहाँ, कसरी मेट्ने ? मनमा उठेका जिज्ञासाले सही उत्तर जान्न खोज्छ । त्यसको समाधान नपाउँदा केटाकेटीहरू मनको खुल्दुली मेटाउन अञ्जानमै बजारमा बिक्री हुने अश्लील यौनसम्बन्धी पुस्तकहरू पढ्छन् अथवा अश्लील काम कुरा गर्न सिपालु यौन पिपासुका फेला पर्छन् । त्यस्ता व्यक्तिलेे उनीहरूलाई यौन सम्बन्धमा आउन सक्ने खतराबाट बच्न सघाउ पुर्‍याउँदैन । बरु त्यो मानिसले आफूले नै अनभिज्ञलाई सजिलै यौन शोषण गर्छ वा केटाकेटीलाई अश्लील यौन व्यवहारमा अघि बढाउँछ । जसले गर्दा किशोर-किशोरीको जिन्दगी नै बर्बाद हुन्छ ।

यौन शिक्षा केका लागि ?

यौन शिक्षा भनेको किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा संवेगात्मक र भावनात्मक परिवतर्नका सम्बन्धमा किशोरावस्थाका केटाकेटीलाई जानकारी दिएर उनीहरूलाई यौन सम्बन्धमा आउन सक्ने खतराबाट बचाउनु हो । समय र उमेरअनुसार किशोरावस्थाका केटाकेटीको मनमा यौनसम्बन्धी खुल्दुली देखापर्छ । यो खुल्दुलीको उपयुक्त उत्तर नपाउनु किशोर-किशोरीका लागि खतरा हो । यो यथार्थ हुँदाहुँदै पनि किशोर-किशोरीको मनमा लागेका यौनसम्बन्धी जिज्ञासा वा समस्यासम्बन्धी जानकारी लिने सही माध्यम हामीकहाँ छैन ।

भनिन्छ-समाज त्यति बेला नै लाभान्वित हुन्छ जब किशोरावस्थाका केटाकेटी आफ्ना बुवाआमा तथा अभिभावकसँग यौनिकताका विषयमा छलफल गर्न सक्षम हुन्छन् ।

विश्वमा भएका अनु-सन्धानहरूले के देखाएका छन् भने यौन शिक्षाले मानिसको यौन गतिविधि बढाउनमा सहयोग पुर्‍याएको छैन । बरु यसले किशोर-किशोरीलाई यौन सम्बन्धमा आइपर्ने जोखिमबाट मुक्त राखेको छ । यसले किशोरावस्थाका केटाकेटीलाई यौन स्वास्थ्यको समस्याबाट बचाउन सघाउ पुर्‍याउएको छ ।

यौन शिक्षाको अर्थ कामसूत्रका विषयमा केटाकेटीलाई रटाउनु होइन । किशोरावस्थामा आउने हरेक परिवर्तनका विषयमा उनीहरूले जानकारी पाउनुपर्छ । यसका लागि परिवार, स्कुलका शिक्षक-शिक्षिका, अभिभावक एवं संघसंस्थाले आफ्नो दायित्व पूरा गर्नँपर्छ । यो समयको माग भएकाले यसलाई स्वीकार गर्नैपर्छ ।



सिर्जन् शर्मा







साथीसँग यौनका कुरा





राजधानी केन्दि्रत रहेर विभिन्न सुविधाको आडमा कुनै काम गर्नु त्यति कठिन नहोला तर यौन तथा प्रजनन् जस्तो कठिन क्षेत्रमा मोफसलमा रहेर काम गर्नुका चुनौतीहरू पक्कै कठिन छन् । भर्खरै युवावस्थामा प्रवेश गरेका व्यक्तिहरूका लागि त यो कुरा अझ जटिल छ । यो उमेर समूहलाई अल्लारेको संज्ञा दिइन्छ । उनीहरूमाथि त्यति विश्वास गरिँदैन । समाजमा कतिपय त्यस्ता युवा छन् जसले यही उमेरमा पाको काम गरेर देखाएका छन् । महोत्तरी, सिन्धुली, सुनसरी, धरानलगायतका स्थानका युवाहरू नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित 'बहुउद्धेश्यीय स्रोत केन्द्र' अन्तर्गत रहेर सामाजिक क्रियाकलापमा संलग्न छन् । यो उमेरमा कुनै कुराको मोह नगरी पूर्णरूपले सामाजिक कार्यमा श्रम खर्चिनु चानचुने कुरा होइन ।



झम्काकी १६ वषर्या एक युवती नाम उल्लेख नगर्ने सर्तमा भन्छिन्-'नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित बहुउद्देश्यीय स्रोत केन्द्रमा युवा सदस्य बनेपछि मैले आफ्ना गाउँका मानिसहरूलाई यौन तथा एचआइभीका विषयमा सचेत गराउने काम थालें । कन्डम वितरण गर्नेदेखि लिएर गर्भवती एवं सुत्केरी महिलालाई आवश्यक पर्ने स्वास्थ्य सूचना दिने काम गर्दा सबैले मलाई एचआइभी लागेको भनेर छिछि र दुरदुर गर्न थाले । यतिसम्म कि मैले रक्त परीक्षणद्वारा एचआइभी टेस्ट गरी उनीहरूलाई रिपोर्ट देखाउनुपर्‍यो ।

यस्तो सामाजिक स्वरूप भएका ठाउँमा काम गर्नुको जटिलता त छँदैछ, त्यसमाथि पनि स्वास्थ्यसम्बन्धी ज्ञान नभएका तथा अशिक्षाको अँध्यारोमा रुमल्लिएका व्यक्तिहरूलाई यस्ता विषय बुझाउनु फलामको च्युरा चपाएसरह हो । पहिले यौन शिक्षाप्रति नकारात्मक धारणा राख्ने कमलामाई नगरपालिका सिन्धुली भिमानकी आशा माझी अहिले यो अभियानकी हर्ताकर्ता छिन् । माझी यही विषयसँग सम्बन्धित निबन्ध प्रतियोगिता, रेडियो नाटक, हाजिरीजवाफ तथा सडक नाटकद्वारा चेतना फैलाउने काममा सक्रिय छिन् । पहिले अरूसँग खुलेर बोल्नसमेत लजाउने माझी अहिले स्थानीय रेडियो पत्रकार भएकी छिन् । माझी भन्छिन्-यौनका विषयमा हामीसँग पर्याप्त शिक्षा नभएकाले छोराछोरी दुवैले गल्ती गरे पनि छोरी गर्भवती हुने हुनाले बिगि्रन्छे तर छोरा गर्भवती हुँदैन त्यसैले ऊ सुरक्षित भएकाले जसो गरे पनि हुन्छ भन्ने धारणा छ ।' भिमानकै शोभा वि.क. र कञ्चन योञ्जन पनि सक्रिय युवा सदस्य हुन् । स्वास्थ्य महत्वपूर्ण कुरा हो । नेपालका मेडिकल कलेजले बर्सेनि ठूलो संख्यामा स्वास्थ्य कार्यकर्ता तथा चिकित्सक उत्पादन गरे पनि नेपालका स्वास्थ्यको पहुँच पुग्न नसकेका ठाउँमा महिलाहरू सुत्केरी हुन नसकेर मृत्यु हुने, विभिन्न यौन रोगद्वारा ग्रसित हुनुपर्ने तथा यौन शिक्षा र स्वास्थ्यको अभावमा अनिच्छित गर्भधारण गरी जीवन नै जोखिममा पार्नुपर्ने जस्ता समस्या पनि चर्को रूपमा देखिएका छन्् ।

महोत्तरी बर्दिवास आसपासका चेलीबेटी ओसारपसार हुने मुख्य-मुख्य क्षेत्रमा यौन स्वास्थ्य, प्रजनन् तथा एचआइभीका चेतनामूलक कार्यक्रम सञ्चालन गरेर आफ्नो समय खर्च गरिरहेका युवामध्ये एक रञ्जना वि.क. आफ्नै घरभित्रको उदाहरण दिँदै भन्छिन्-मेरी आमाले धेरै सन्तान जन्माउँदा पनि परिवार नियोजन गर्न मान्नुभएको थिएन । म पहिले कन्डम भन्ने शब्द उच्चारण गर्न त परै जावोस् अरूले उच्चारण गरेको सुन्दा पनि लाजले भुतुक्कै हुन्थें । जब मैले कक्षा ८ मा पढ्दा प्रजनन् स्वास्थ्य, एचआइभी तथा यौनशिक्षासम्बन्धी तालिम लिएँ तब म यौनका विषयमा डटेर कुरा गर्न सक्ने भएँ । त्यसपछि मैले आमालाई सम्झाएर अप्रेसन गर्न लगाएँ ।' त्यस्तै उषा कोइराला र लक्ष्मी मगर यौन स्वास्थ्यका बारेमा आफूसँगसँगै अरूलाई पनि सचेत गराउन सफल भएका छन् । लक्ष्मी मगर आपmनो अनुभव सुनाउँदै भन्छिन्-पहिलो महिनावारी हुँदा तथा शारीरिक विकास हुँदा सही शिक्षाको अभावमा आफूमा ठूलै रोग लागेको भनेर भित्रभित्रै मानसिक रोगले सताउँदै गयो । मैले कसैसित कुरा गर्न सकिन । जब नेपाल परिवार नियोजन शाखाले बहुउद्धेश्यीय स्रोत केन्द्रमार्फत् युवा सदस्य परिचालन र उनीहरूलाई तालिम दिन थाल्यो । त्यसमा म पनि सहभागी हुने मौका पाएँ । यसमा सिकेका कुरा आफ्नो परिवारलाई सुनाउँदा बेकारमा पठाइएछ भनेर पश्चाताप गर्न थाले । यस विषयमा सबै कुरा बुझेपछि ममाथि उहाँहरूलाई गर्व लाग्न थाल्यो ।

अहिलेका युवाहरू यस विषयमा विद्यालयदेखि नै प्रारम्भिक शिक्षा चाहन्छन् तर अहिले विद्यालयमा यौनसम्बन्धी जति पढाइ हुन्छ त्यो पर्याप्त छैन र पढाउने तरिका पनि सही छैन । विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकमा यौनसम्बन्धी उचित पाठ्यक्रमको अभाव छ । त्यसमा पनि अहिले जनक शिक्षा सामग्री केन्द्रले स्वास्थ्य शिक्षालाई पाठ्यपुस्तकबाट हटाउँदैछ । गरिबीका कारण पढ्न सक्ने स्थितिमा नभएकी सिन्धुलीकी गोमा श्रेष्ठ यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम तथा छात्रवृत्ति पाएर आफूभित्र आत्मविश्वास बढेको बताउँछिन् । पहिले अस्थायी साधनका बारेमा कुरा गर्न लजाउने श्रेष्ठ अहिले अरूलाई पनि यससम्बन्धी ज्ञान र सूचना प्रवाह गर्न सक्षम भएकी छिन् । बहुउद्देश्यीय स्रोत केन्द्रका युवा सदस्यहरूले आफ्ना नजिकका स्कुल-कलेजमा हरेक शुक्रबार क्लास लिने गर्छन् । उनीहरूलाई यो विषयमा अझ रुचि जगाउन तथा कार्यान्वयनमा ल्याउन मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक ढंगले कक्षा सञ्चालन गर्छन् । पुस्तकमा मात्र केन्दि्रत नरहेर नाटक गरेर, गीत गाएर, हाजिरीजवाफ गरेर, साथीजस्तो व्यवहार गरेर प्रभावकारी ढंगले यसबारे ज्ञान बाँड्ने काम गर्छन् ।

युवा सदस्यमध्येका साना उमेरका निर्मला शाह, दिभा मगर, निर्मलाकुमारी महत यौन शिक्षाका बारेमा खुलेर कुरा गर्दै भन्छन्-यसले हामीमा आत्मविश्वास बढाउनुका साथै यो आत्मविश्वासले भविष्यमा केही गर्न सक्छौं भन्ने उत्साह पैदा गरिदिएको छ । उनीहरूका अनुसार युवावस्थामा हुने शारीरिक तथा मानसिक विकासका लागि चाहिने आवश्यक ज्ञान आफूहरूसँग भएका कारण आफ्नो उमेरका युवालाई समेत बाँड्न सक्षम छौं ।

यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रबाहेक युवाका लागि सघन यौनिकता कार्यक्रमको समेत सुरुवात गरेको नेपाल परिवार नियोजन संघले निकट भविष्यमा बहुउद्देश्यीय स्रोत केन्द्रलाई अझ विस्तारित रूपमा मुलुकभर पुर्‍याउने लक्ष्य लिएको नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक गिरीधारी शर्मा पौडेल बताउँछन् ।

समाजमा यौन शिक्षालाई नकारात्मक रूपमा लिइन्छ । यसका लागि युवाहरूको सक्रियता महत्वपूर्ण मान्न सकिन्छ । सहरभन्दा बाहिर रहेर यी युवाहरूले आफूभित्र भएको ज्ञानको भण्डार अरूका लागि पनि खुला गरेका छन् । युवाहरूले आफ्नो ज्ञान तथा सीप समाजमा बाँड्नु ठूलो कुरा हो । हाल यी युवाहरू समाजका निम्ति सक्रिय छन् । व्यक्तिवादबाट माथि उठेका युवाहरू अहिले उदाहरणीय बनेका छन् ।



पहिले यौन शिक्षाप्रति नकारात्मक धारणा राख्ने कमलामाई नगरपालिका सिन्धुली भिमानकी आशा माझी अहिले यो अभियानकी हर्ताकर्ता छिन् । माझी यही विषयसँग सम्बन्धित निबन्ध प्रतियोगिता, रेडियो नाटक, हाजिरीजवाफ तथा सडक नाटकद्वारा चेतना फैलाउने काममा सक्रिय छिन् । पहिले अरूसँग खुलेर बोल्नसमेत लजाउने माझी अहिले स्थानीय रेडियो पत्रकार भएकी छिन् । माझी भन्छिन्-यौनका विषयमा हामीसँग पर्याप्त शिक्षा नभएकाले छोराछोरी दुवैले गल्ती गरे पनि छोरी गर्भवती हुने हुनाले बिगि्रन्छे तर छोरा गर्भवती हुँदैन त्यसैले ऊ सुरक्षित भएकाले जसो गरे पनि हुन्छ भन्ने धारणा छ ।' भिमानकै शोभा वि.क. र कञ्चन योञ्जन पनि सक्रिय युवा सदस्य हुन् । स्वास्थ्य महत्वपूर्ण कुरा हो ।

No comments:

Post a Comment