Thursday, January 27, 2011

आयल निगममा तीन करोडको अनियमितता

November 8, 2009

विज्ञान अधिकारी, काठमाडौं, कात्तिक २२- नेपाल आयल निगमको व्यपस्थापनले तेल कारोवारमा आर्थिक अनियमितता गरेको आशंकामा दुई उच्च कर्मचारीलाई निलम्बन गरेको छ।

वीरगन्जको अमलेखगन्ज डिपो प्रमुख दिनेश यादव र सहायक प्रमुख प्रकाश शर्माले पेट्रोल र डिजेलमा प्राविधिक नोक्सानी बढी भएको देखाएर करिव तीन करोड रुपैयाँ अनियमितता गरेको आशंकामा व्यवस्थापनले निलम्बन गरेको हो। शर्मालाई एक वर्ष दुई वर्ष अघि पोखरा डिपोमा अनियमितताको आरोपमा कारवाही गरेको थियो।

निगमको गत मंगलबार बसेको बोर्ड बैठकले निलम्बन गरेको हो।

गत एक वर्षमा यो डिपोले पेट्रोलमा सून्य दशमलब ८० प्रतिशत र डिजेलमा सून्य दशमलब ७० प्रतिशत प्राविधिक नोक्सानी भएको देखाएको छ।

अघिल्लो वर्ष यो क्रमशः सून्य दशमलब ५७ र सून्य दशमलब ४५ प्रतिशत थियो। ‘सामान्य तय तोकिएको भन्दा पनि कम नोक्सानी हुन्छ,’ स्रोतले भन्यो, ‘तर यो नोक्सानी सामान्य भन्दा डेढ गुणा बढी हो।’ सबैभन्दा बढी तेल भण्डारण अमलेखञ्ज डिपोमा हुन्छ।
यही कात्तिक ४ मा रामाशिस साहको नाममा आर्थिक अनियमितता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि निगम व्यवस्थापनले तिहारपछि निगमका निर्देशक कनकबहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।

समितिले दिएको प्रतिवदेनमा एक वर्षको अवधिमा नोक्सानी बढी भएको निर्ष्कष निकालेपछि कार्वाही भएको हो। बोर्डले अमलेखगञ्ज डिपोमा भएको अनियमितताका बारेमा थप अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ। ‘हामीले अध्ययन गरेर प्रतिवदेन बुझाएका थियौ,’ थापाले भने, ‘अध्ययनमा निगमले तोकेको भन्दा बढी नोक्सानी भएको पाइएको थियो।’ स्रोतका अनुसार बढी नोक्सानी देखाएर उनीहरुले तेल बिक्री गरेका थिए।

निगम व्यवस्थापनले यादवको कार्यकालमा काम गरेका अन्य कर्मचारीलाई भने कुनै कार्वाही गरेको छैन।

केही समयअगाडि यस्तो उजुरी निगम र वाणिज्य मन्त्रालयमा परे पनि केही सुनुवाइ भएको थिएन। निगमका इन्जिनियर प्रकास श्रीवास्तब, श्रीचन्द्र श्रेष्ठ, र बैजनाथ चौधरीलाई कारवाही भएको छैन। इन्जियिनर श्रीतावास्तवलाई सरुवा गरिएको छ भने श्रेष्ठ र चौधरी सोही डिपोमा कार्यरत छन्। निगम उच्च स्रोतका अनुसार यादव सरुवा भएर गएको केही महिनापछि नै नोक्सानी बढ्न थालेको थियो। ‘उनी गएको दुई महिनामानै नोक्सानी बढेको थियो,’ स्रोतले भन्यो, ‘तर निगम व्यवस्थापनले यसलाई आँखा चिम्लिने काम गर्यो।’

‘समितिले गरेको प्रारम्भिक अनुसन्धानमा प्राविधिक नोक्सानी देखाएर २ करोड ७५ लाख रुपैयाँ अनियमितता गरेको देखिएको छ,’ समितिका एक सदस्यले नागरिकलाई भने।

‘प्राविधिक नोक्सानी देखाउने डिपो प्रमुख र अन्य कर्मचारीलाई निगमले सधै तत्काल केन्द्रमा बोलाउने प्रचलन थियो, ती सदस्यले भने ‘अमलेख गन्जमा लगातार एक वर्षदेखि प्राविधिक नोक्सान देखाए पनि कर्मचारी फेरिएको थिएन।’ निगम र मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरुसँगको ‘राम्रो सम्बन्ध ‘का कारण यादव र शर्मालाई एक वर्षसम्म अमलेखगन्जमा नै राखिएको ती सदस्यले बताए। निगमले प्रत्येक महिना डिपोको सबै तथ्यांक लिने गर्छ।

No comments:

Post a Comment