Friday, January 21, 2011

विकल्प नखोजी धर छैन उज्यालोको


सर्वसाधारणलाई ११ घन्टाको लोडसेडिङबाट त्राण दिलाउन वैकल्पिक उर्जा व्यवसायीहरूको होड चलेको छ।

सुरेशराज न्यौपाने

नेपाल विद्युत प्राधिकरणले १४ पुसदेखि लागू गरेको दैनिक १० देखि ११ घन्टाको लोडसेडिङले मुलुकको भयानक उर्जा सङ्कट र सर्वसाधारणको कष्टकर दैनिकीलाई छर्लङ्ग पारेको छ। आगामी चैतमा हुने प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई यसले थप पीडा दिएको छ। सँगसँगै उर्जाका वैकल्पिक उपकरण र प्रणालीको बजार प्रवर्द्धन र व्यापार गर्दै आएका कम्पनीहरू लोडसेडिङको अँध्यारोमा उज्यालो छर्न अघि सरेका छन्।

सौर्य उर्जा प्रणाली (सोलार सिस्टम), जेनरेटर र इन्भर्टर बिक्रेता तथा प्रवर्द्धकहरूबीच लोडसेडिङले सिर्जना गरेको अवसरलाई उपयोग गर्न आकर्षक प्रचार र योजनाको होडबाजी नै छ। प्रत्येकले आ-आफ्ना सामानको वारेन्टी र बिक्रीपछिको सेवा तथा फाइनान्सिङ सुविधा घोषणा गरेका छन्। बिक्रेता र प्रवर्द्धकसँगै सर्वसाधारण पनि लोडसेडिङको विकल्प जुटाउन अग्रसर देखिन्छन्।

ललितपुर सुनाकोठीका जयदेव वैद्यले ६ महिनाअघि रु.२ लाख मूल्यको सोलार प्रणाली जडान गरे जसबाट उनको घरमा लोडसेडिङको बेला पनि ८-१० वटा बत्ती बाल्न र टिभी हेर्न सकिन्छ। वैद्य भन्छन्, “सरकारले केही गर्छ भनेर कुर्‍यो भने पूरै जिन्दगी अँध्यारोमा बित्ने भयो, त्यसैले उमेरमै सुख भोग्न सोलार जडान गरेको हुँ।”

जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालमा निकट भविष्यमा उर्जाको माग र आपूर्तिबीच मेल खाने गुञ्जायस देखिँदैन, वार्षिक १०० मेगावाट उत्पादन गर्ने हो भने पनि १० वर्ष अझ्ै लोडसेडिङ व्यहोर्नुपर्छ। के नेपालीहरूले यत्रो वर्ष अँध्यारोमै बिताउने त? अल्ट्रा सोलारका प्रबन्ध निर्देशक केआर खनाल एकदेखि डेढ लाख खर्च गरेर आफ्नै घरमा उर्जा उत्पादन गर्र्नु बुद्धिमानी हुने बताउँछन्। उनी भन्छन्, “डेढ लाखभन्दा बढीको मोटरसाइकल किन्न नहिच्किचाउनेले पूरै घरका लागि २० वर्षसम्म ढुक्क हुनसकिने अँध्यारोको विकल्प राख्ने आँट गर्नुपर्छ।”

नवीकरणीय उर्जाको गतिलो स्रोत मानिने सोलार जडान गर्न वैद्यको जस्तो खर्च र आँट कमैले गर्न सक्लान्। तर पछिल्ला वर्षमा सर्वसाधारणको सोलारप्रतिको दृष्टिकोण बदलिएको सोलार इलेक्ट्रिसिटीका प्रबन्ध निर्देशक युगरत्न ताम्राकारको अनुभव छ। उनी भन्छन्, “इन्भर्टर राख्न सक्नेले सोलार राख्न नसक्ने कुरै भएन, मूख्य कुरा दीर्घकालीन योजनाको हो।”

सर्वसाधारणमा अझ्ै पनि ग्रामीण र दुर्गम क्षेत्रमा जस्तै शहरी क्षेत्रमा पनि सोलारमा अनुदान पाइन्छ भन्ने भ्रम छ। तर यस वर्षदेखि सरकारले वैदेशिक आर्थिक सहयोग बन्द भएको जनाउँदै दुर्गम क्षेत्रमा दिँदै आएको अनुदान पनि बन्द गरेको छ। सोलार सोलुसन्सका प्रबन्ध निर्देशक राजकुमार थापा भन्छन्, “अनुदानविना पनि दुर्गम क्षेत्रमा काम गर्न सकिन्छ। कुरा नाफा कति लिने भन्ने मात्र हो। २० वाट पिकको सोलार १२-१५ हजारमा बिक्री गर्दा ७०-८० प्रतिशत नाफा हुन्छ। सुहाउँदो नाफा लिने हो र एजेन्टहरूलाई हटाउने हो भने अनुदानविना सजिलै बेच्न सकिन्छ।”

गाउँमा १५-२० हजारमा जडान हुने सोलारका लागि शहरमा ५० हजार किन तिर्ने भन्ने अन्योल पनि भएको स्पष्ट गर्दै अल्ट्रा सोलारका प्रबन्ध निर्देशक केआर खनाल भन्छन्, “तर शहर र ग्रामीण सोलार प्रणालीको प्रविधि नै फरक छ। शहरमा बढी क्षमताको प्रणाली र घरको वाइरिङ एवं विद्युतीय उपकरणका कारण एसी विद्युत प्रवाह चाहिन्छ।” अल्ट्रा सोलारले ग्राहकहरूलाई २० प्रतिशत डाउन पेमेन्टसहित क्लिन इनर्जी ब्याङ्कसँगको सहकार्यमा ९.९ प्रतिशत वार्षिक व्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ।

बिक्रेताहरूका अनुसार यस वर्ष सोलारको माग दुईदेखि तीन गुणा बढेको छ। काठमाडौं उपत्यकाका पाँच लाख घरधूरीमध्ये ५० हजारलाई सोलारका सम्भाव्य ग्राहक मान्ने व्यवसायीहरू प्रत्येक वर्ष १० हजारले रु.१ लाखको प्रणाली जडान गरे भने पनि वार्षिक रु.१ अर्बको कारोबार हुने बताउँछन्।

नेपालमा विद्युतीय उर्जाका लागि फोटो भोल्टाइक (पिभी) र पानी तताउन वा खाना बनाउन थर्मल सौर्य उर्जा प्रणालीको प्रयोग हुन्छ। बिजुलीको बिललाई आधार बनाउँदा पिभीको लागत ७-१० वर्षभित्रमा फर्काउन सकिन्छ। कम्पनीहरूले पूरै सौर्य उर्जामा आधारित वा बिजुलीबाट समेत चार्ज गर्न सकिने (हाइब्रिड) प्रणाली अघि सारेका छन्। त्यसैगरी घरमा भएका इन्टभर्टर र ब्याट्रीलाई पनि चार्ज कन्ट्रोलर र प्यानल थपेर सोलार प्रणालीमा परिवर्तन गर्न सकिने व्यवसायीहरू बताउँछन्।

बजार विस्तारसँगै सोलार कम्पनीहरूको क्षमता पनि बढ्दै गएको छ। लोटस एनर्जीले पाँच वाटको सोलार टुकीदेखि रु.४०-५० लाखको चार्जिङ स्टेशन बनाएको छ। लोटसले २० वाट पिक क्षमताको रु.१६ हजारदेखि ८० वाट पिक क्षमताको रु.६७ हजार पर्ने सोलार सेट बजारमा ल्याएको यसका सोलुसन एण्ड सेल्स कोअर्डिनेटर सहायक मनिष बज्राचार्य बताउँछन्।


सर्वसाधारणको चेतनाको कमी र शुरु लगानीको चिन्तालाई भजाएर वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) बाट गुणस्तर परीक्षण नगराई बजारमा आएका सस्ता र कमसल सोलार सेट व्यवसायीहरूका लागि पिरलो बनेका छन्। गाउँमा वितरण हुने उपकरणको तुलनामा एइपिसीले शहरमा प्रभावकारी अनुगमन नगरेकोले कमसल सोलार प्रणाली भित्रिएको व्यवसायीहरू बताउँछन्। यसबाट न्यून गुणस्तरका ब्याट्री भित्रिएर हरित उर्जाको अवधारणाविपरीत वातावरणीय जोखिम पनि बढेको उनीहरूको ठम्याइ छ।

निश्चित समयका लागि कर छुटको योजना ल्याएर सरकारले लोडसेडिङको विकल्पमा सोलारलाई अघि सार्न पहलकदमी गर्नुपर्ने व्यवसायीहरू बताउँछन्। सोलार सोलुसन्सका राजकुमार थापा राज्यले अनुदानमा भन्दा पनि गुणस्तर अनुगमन मापदण्ड र नाफाको सीमा स्पष्ट तोकिदिने हो भने सोलारको बजार स्वतः बढ्ने धारणा राख्छन्। उनी भन्छन्, “व्यावसायिक कम्पनी, ब्याङ्कहरूलाई करमा छुट दिएर भए पनि सौर्य प्रणाली जडानका गर्न प्रोत्साहन गर्नुपर्छ।”

जेनसेटका अनेकन ब्राण्ड
१० वर्षलाई लोडसेडिङ निश्चित भएर होला, १०० भन्दा बढी बिक्रेताले संसारभरका विभिन्न ब्राण्डका जेनरेटर (जेनसेट) बजारमा ल्याएका छन्। सञ्चालन खर्च महँगो भए पनि कम झ्न्झ्टिलो भएकाले पसल, ब्याङ्क, वित्तीय संस्था, एनजि'-आइएनजि'ले लोडसेडिङको विकल्पका रूपमा जेनसेटलाई नै लिने गरेको पाइन्छ। नेपालमा वार्षिक रु.३ अर्बभन्दा बढीको जेनसेट बिक्री हुने गरेको छ।

कूल बिक्रीको अधिकांश हिस्सा १ देखि १० केभिएसम्मका साना र पोर्टेबल जेनसेटले 'गटेको व्यवसायीहरू बताउँछन्। पोर्टेबल जेनसेटमा होण्डा र यामाहा को दह्रो उपस्थिति छ। मोरङ अटोले यामाहा का ०.७ केभिएदेखि २१ केभिए क्षमताका र ग्रिभ्स ब्राण्डका २५ केभिएदेखि ५०० केभिए क्षमताका जेनसेट बजारमा ल्याएको छ। विना कुनै रोकावट चौबीसै घन्टा चल्नसक्ने यी जेनसेटमा २४ महिनाको वारेन्टीका साथै बिक्रीपछिको सेवा पनि भएको कम्पनीको भनाइ छ।

सङ्ख्यामा कम भए पनि कारोबारमा १० केभिएभन्दा माथिका ठूला अर्थात् औद्योगिक जेनसेटको अंश बढी छ। औद्योगिक जेनसेटमा ग्रिभ्स, ज्याक्सन, किर्लोस्कर, कोल्हर, क्याटरपिलर, महिन्द्रा, आइसर बढी चलेका छन्। १५ केभिएको जेनसेट टेलिकम कम्पनीका लागि बढी उपयोगी सावित भएको छ भने सपिङ मल, डिपार्टमेन्ट स्टोर र ब्याङ्कहरूले त्यसभन्दा बढी क्षमताको जडान गरेका पाइन्छ। एअरकुल्ड, फ्यूल सेपरेटरलगायतका सुविधा भएका औद्योगिक जेनसेटको बजार बढ्दै गएको देखिन्छ।

ठूला जेनसेटमध्ये एक हो― अमेरिकी ब्राण्ड कोल्हर। कोल्हरको आधिकारिक बिक्रेता इन्फ्राटेकले १५ केभिएदेखि ३००० केभिएसम्मको जेनसेट बजारमा ल्याएको छ। इन्फ्राटेक प्रालिकी कर्पोरेट सेल्स तथा मिडिया अफिसर निरु पन्थीका अनुसार कोल्हर को फ्यूल सेपरेटरले डिजलमा भएको अनावश्यक पदार्थलाई अलग गरेर इञ्जिनलाई सुरक्षित बनाउँछ र एडिसी प्यानलले समस्या पहिचान गर्न सजिलो पार्दछ।

नेपाली बजारमा अनधिकृत ढङ्गले भित्रिएका जेनसेट पनि छन्। तर, बिक्रीपछिको सेवा नभएकाले तिनले सस्तो भएर पनि उल्लेख्य बजार लिन नसकेको आधिकारिक बिक्रेताहरूको दाबी छ।


सरोबरी सिएफएल


उर्जा सङ्कटलाई ध्यानमा राखेर दुई वर्षअघि नेपाल विद्युत प्राधिकरणले शुरु गरेको सिएफएल (कम्प्याक्ट फ्लोरसेन्ट ल्याम्प) प्रवर्द्धन अभियानले घोषित लक्ष्य हासिल गर्न सक्यो वा सकेन, विवाद होला। तर, त्यसयता सिएफएलको प्रयोग भने बढेको छ। गाउँ होस् वा शहर, धनी हुन् वा गरिब, ट्यूब वा चिमको विकल्पमा सर्वसाधारणहरूको रोजाइ हुनपुगेको छ सिएफएल।

४० वाटका ट्यूब वा चिमले दिनेजत्तिकै उज्यालो ५-९ वाटका सिएफएलले दिनसक्ने ठम्याएर सर्वसाधारणले प्रयोग गर्न थालेकै कारण यसको बजार विस्तार हुँदै गएको हो। सिएफएलको प्रयोगले करिब १० मेगावाट बराबर विद्युत उर्जा वचत भएको अनुमान छ। सम्भाव्य बजारकै कारण सिएफएलका ५० भन्दा बढी ब्राण्डबीच चर्को प्रतिस्पर्धा छ। वर्षैभर बजार राम्रो भए पनि लोडसेडिङको याममा ५-९ वाटका सिएफएलको बजार बढ्ने गरेको छ।

जुम्लामा मात्र २० हजार सिएफएल बिक्री भएको, 'खलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम जस्ता पहाडी जिल्लामा समेत बिक्री बढेको हिम इलेक्ट्रोनिक्सका ब्राण्ड म्यानेजर कैलाश घिमिरेको दाबी छ। उनी भन्छन्, “कमसल सिएफएल सहजै उपलब्ध हुनु गलत भए पनि सर्वसाधारणमा सिएफएल प्रयोग गर्ने चेतना विस्तार भएको छ। कमसल सिएफएल चाँडै फ्यूज हुने भएकोले उपभोक्ता आफैं गुणस्तरप्रति सचेत पनि हुँदै गएका छन्।



No comments:

Post a Comment