Monday, August 8, 2022

चेक बाउन्समा पक्राउ परेकी दीक्षा : आफ्नै सासूलाई जग्गा किनाएर १ करोड ठगी, ४ बच्चाको नक्कली पेट !

 https://www.abhiyandaily.com/newscategory-detail/412853

चेक बाउन्समा पक्राउ परेकी दीक्षा : आफ्नै सासूलाई जग्गा किनाएर १ करोड ठगी, ४ बच्चाको नक्कली पेट !

२०७९ साउन, २३  
समाचारविविध

Image Not Found

author avatar अमर बडुवाल

साउन २३, काठमाडौं । आइतवार कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ परेकी दीक्षा पुनले आफ्नै सासूससुरा र श्रीमानबाट करीब १ करोड रूपैयाँ ठगेको पाइएको छ ।

भारतीय सेनामा कार्यरत २८ वर्षीया बलबहादुर पुनसँग ३ वर्षअघि (२०७६ फागुनमा) बिहे गरेकी दिक्षाले चैतमा देशव्यापी लकडाउन हुँदा पनि हतारहतार बिहे दर्ता र नागरिकताको सिफारिश लिएकी थिइन् । 

बलबहादुरका आफन्तसमेत रहेका ताराखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष यमबहादुर श्रीषले बलबहादुरलाई नागरिकता बनाउन हतार नगर्न भनेका थिए । तर, बलबहादुरले भारतमा बिहे दर्ता र नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने भन्दै जसरी पनि काम गरिदिन आग्रह गरेपछि बिहे गरेको एक हप्ता नपुग्दै बिहे दर्ता र नागरिकताको सिफारिश दिएको वडाअध्यक्ष श्रीषले बताए ।

बलबहादुर २०७८ जेठमा भारतीय पल्टनमा गएपछि उनले आफू गर्भवति भएको र पेटमा ४ ओटा बच्चा रहेको बताएकी थिइन् । कहिलेकाहीँ गाउँ जाँदा ठूलो पेट बनाएर पुग्थिन् । ४ ओटा बच्चा भएकोले ठूलो पेट भएको र यी बच्चा जन्माउन ४० लाख रूपैयाँ लाग्ने उनले बताउने गरेकी थिइन् ।

गाउँमा बसेर बच्चा जन्माउन नसकिने भन्दै उनी पोखरामा बस्न थालिन् । पोखरामा बस्दा एउटा राम्रो र सस्तो घडेरी पाइएको भन्दै जग्गा किन्ने प्रस्ताव गरिन् । बलबहादुरका बुवा तलिकबहादुरले अहिले जग्गा नकिनौ भनेका थिए । तर, बुहारीले पछि महँगो हुने भन्दै तत्काल किन्न आग्रह गरेपछि २०७८ असारमा मात्रै जग्गा किन्न राजी भएका थिए । उनका श्रीमानले सरसापट गरेर ६० लाख रूपैयाँ पठाइदिए । उनले त्यो घडेरी सासूआमा गौमाया पुनको नाममा पास गरिन् ।

केही समयसम्म लालपूर्जा नदिएकी दीक्षाले पछि पूर्जा बैंकमा राखेर ऋण लिएको बताइन् । बैंकबाट हरेक महीना सावा ब्याजको किस्ता तिर्न भनेर गौमायालाई फोन आउँथ्यो । उनीहरूले किस्ता तिर्नलाई पैसा दिन्थे । त्यसरी करीब ३० लाख रूपैयाँ किस्ता तिरेको गौमायाले बताइन् ।

१० महीनासम्म बच्चा नजन्मेपछि कहानीमा ट्वीस्ट !

९० लाख रूपैयाँ घरबाट फुत्काउने बेलासम्म ठिकठाक चलेको पुनको धन्दामा १० महीनापछि ट्वीस्ट आयो । ठूलो पेट बोकेको १० महीना पूरा हुँदा पनि बच्चा नजन्मेपछि सासूससुराले शंका गर्न थाले । तर, उनी आफू डाक्टर भएको भन्दै ४ ओटा बच्चा भएकोले जन्मिन समय लाग्ने बताउन थालिन् ।

१५ महीनासम्म पनि दीक्षाकाे बच्चा नजन्मेपछि बलबहादुरका आमावुवाले बुहारीबाट ठगिएकाे भेउ पाए । त्यसपछि दीक्षा १ वर्षभन्दा बढी समयसम्म गायब भइन् ।

आइतवार निगालो घारीमा लुकिरहेको अवस्थामा पक्राउ परेपछि उनीबाट ठगिएका अरू आफन्त पनि सम्पर्कमा आएका छन् । उनले आफ्नै जेठानीलाई विदेश पठाइदिने भन्दै ५ लाख रूपैयाँ ठगेको पाइएको श्रीषले बताए । 

नक्कली पूर्जा छुट्ट्याउनै सकिएन 

श्रीषका अनुसार उनले दिएको पूर्जा गौमायाले उनलाई देखाएकी थिइन् । ‘कित्ता नम्बर, जग्गाको क्षेत्रफलमा आना, पैसा र दामसमेत उल्लेख गरिएको लालपूर्जा मैले पनि हेरेको थिएँ । नक्कली होला भनेर शंकै गर्न सकिएन,' उनले भने । करीब ५ आना जग्गाको पूर्जा उनले दिएकी थिइन् ।

दीक्षाले पूर्जा हातमा दिएर फिल्डमा समेत जग्गा देखाएकी थिइन् । जग्गा हेरेपछि सासूसुरा पनि खुशी भएका थिए ।

नक्कली डाक्टरको परिचयपत्र

दीक्षाले आफू सर्जन डाक्टर भएको नक्कली परिचयपत्र पनि बनाएकी थिइन् । उनी आफू फिस्टेल र गण्डकी अस्पतालमा काम गर्छु पनि भन्ने गरेकी थिइन् । तर, गाउँबाट बिरामीहरू जाँदा उनी कहिल्यै सम्पर्कमा नआएको श्रीष बताउँछन् ।

उनले पोखरामा माइती हो भनेर आमाबुवाको सबै डकुमेन्ट दिएर बिहे दर्ता गराएकी थिइन् । आमाबुवाको नागरिकता भने सक्कली नै भएको उनको भनाइ छ ।

फेसबुकबाटै टार्गेट

भारतीय सेनामा भर्ती भएको ३ वर्षपछि सामाजिक सञ्जाल फेसबुकबाट बलबहादुरले दीक्षालाई भेटेका थिए ।  बेलायतको नागरिक भइसकेको भन्दै दीक्षाले बलबहादुरलाई मायाको जालमा फसाइन् । उनी बिहे गर्न नेपाल आए । बिहे गरेर ३ महिनामै फिर्ता भए । तर, यता परिवारले करीब १ करोड रूपैयाँ गुमाउनुपर्‍यो ।

No comments:

Post a Comment